पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको अधिवेशनले पौडेल नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । परिवारको उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’, सचिव डा चैतन्य अधिकारी, कोषाध्यक्ष अर्जुन अधिकारी, सहसचिव शिव त्रिपाठी, साहित्य संयोजक डा शरण आँसु, संगीत संयोजक एम डि काफ्ले, कला संयोजक उमेद पौडेल, सदस्यमा हसिना बस्नेत, शिव संकल्प, दीपेन्द्र थापा, प्रकाश आचार्य, मिलन गिरी छन् ।
नवलपुर : नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ बोल्न र हातले केही पनि गर्न सक्नुहुन्न । तर खुट्टाको सहयोगमा भने अन्य काम गर्नुहुन्छ । साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि उहाँ जस्तै बन्ने छ । पच्चिस वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ । उहाँले खुट्टाको सहायताले लेख्ने र सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ । उहाँका बुबा मनबहादुर खाम्चा भन्नुहुन्छ, “कुपोषणका कारण शरीरका केही अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि निको बनाउने परिवारको आशा निराशामा परिणत भयो ।” अन्य व्यक्ति जस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने ठूलो छ । खुट्टाको सहायताले उहाँले कक्षा १२ कक्षा उत्तिर्ण गर्नुभएको छ । अब उहाँ उच्चशिक्षा हासिल गर्ने सुरसारमा हुनुहुन्छ । सन्तानको सपना पूरा गराउन परिवार सङ्घर्षशील छ तर अब आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मनबहादुर सताएको छ । उहाँ भन्नुहुन्छ “छोराले एसइई परीक्षा उत्तिर्ण गरेपछि पढाइएका रामपुर नगरपालिका–१ बर्दाकोट, पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आएको हो ।” यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ । अनि त्यो सपना पूरा गर्ने ठूलो अभिलाषा लिएर अगाडि बढ्नुभएका उहाँले अहिलेसम्म चार सय ४६ मुक्तक खुट्टाकै सहाराले लेखिसक्नु भएको छ । “अब रहर छ, त्यसलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने”, उहाँले भन्नुभयो । अवस्था सहज भने छैन । उहाँ परिवारको चार सन्तानमध्ये माइलो हुनुहुन्छ । आठ वर्षसम्म ओछ्यानमा बिताउनुभएका यमले आफ्नो आवाज अरूसामु पु¥याएको देख्दा आमा योगमाया औधी खुसी हुनुहुन्छ । योगमाया भन्नुहुन्छ, “मलाई विस्तारै बुढ्यौलीले छुँदैछ, ६१ वर्षकी भए, छोराको रेखदेखमै दिन बित्छ । जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ, तर कसरी पढाउने रु।” छोराको भविष्य सम्ँिझदै आँसु पुछ्दै उहाँले भन्नुभयो, “छोराको भविष्यको चिन्ताले सधँै सताउँछ । उसका लागि केही गरेरै मर्न पाए हुन्थ्यो ।”
कुश्मा ः पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको यस विषयमा रुची देखिएको छ । विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कृषिमा आधारित शिक्षा प्रदान गर्दै आएको छ । शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त यस विद्यालयका विद्यार्थीले पढाई सँगसँगै आम्दानी पनि गर्दै आएका छन् । विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुने गरेका छन् । बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले राख्ने गरेको छ । “हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ”, शिक्षक अजय ज्ञवालीले भन्नुभयो, “विद्यार्थीले खेती उब्जाउबाट बिक्री गरेको रकमको २५ प्रतिशत हामी राख्छौँ, किनभने फेरि अर्को पटक पनि लगानी गर्नुपर्ने हुन्छ ।” विद्यार्थीहरुको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ । उनीहरुले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउछन् । परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुसी छन् । “घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौँ, खेतबारीमा दिनै फाल्दासमेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुन सकेको थिएन”, अभिभावक केशव तिवारीले भन्नुभयो, “उही निर्वाहमुखी खेती भइरहेको थियो, एक वर्षअघिदेखि छोरीले विद्यालयमा सिकेअनुसारले खेती गर्न थालेका छौँ, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि बिक्री गर्न सकेका छौँ ।” विद्यार्थी गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुसी छन् । प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ । “मेरो सानैदेखि कृषि रुचिको विषय हो”, कक्षा १० अध्ययनरत विद्यार्थी रञ्जिता भुजेलले भन्नुभयो, “सानैदेखि घरमा बुवाआमासँगै खेतबारीमा जाने उहाँहरुलाई सघाउने गर्थे । सहरमा महँगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै निःशुल्क पढ्न पाएकामा खुसी छु ।” अर्का विद्यार्थी प्रदीप भुसालले कृषि पढेपछि जागिर पाउन मुस्किल नहुने र आफ्नै जग्गामा व्यावसायिक खेती गर्न पनि सकिने भएकाले बाली विज्ञान पढेको बताउनुभयो । “धेरै पालिकामा कृषि पढेका जनशक्ति चाहिने रहेछ”, उहाँले भन्नुभयो, “अन्य विषय पढेर शैक्षिक बेरोजगार बन्नुभन्दा कृषि पढेर आफ्नै घरगाउँमा नै आत्मर्निभर भएर काम गर्न ठीक लाग्यो ।” विसं २०१७ मा स्थापना भएको विद्यालयले २०७० सालदेखि प्राविधिकतर्फ बाली विज्ञान विषय पढाउन सुरु गरेको थियो । सुरुआतका दिनमा अभिभावक र विद्यार्थीलाई बाली विज्ञानका बारेमा बुझाउन ज्यादै मुस्किल भएको विद्यालयको अनुभव छ । “पहिलो वर्ष कृषि पढ्न चाहने विद्यार्थी पाउन नै मुस्किल भयो”, विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालले भन्नुभयो, “हामीले दुई/तीन वर्ष चाहिँ कृषि विषयको महत्वका बारेमा बुझाउन घरदैलो गर्नुगर्यो, कहिलेकाहीँ त प्राविधिक शिक्षा पढाई सुरु गरेर साँच्चीकै गल्ती गर्यौ कि भन्ने पनि लाग्यो, अहिले भने अभिभावक आफैँ छोराछोरी भर्नाका लागि विद्यालय आउने गर्नुभएको छ ।” विद्यालयले प्राविधिक तथा व्यावसायिक पढाइ सञ्चालनका लागि खर्च जुटाउन महायज्ञ गरेको थियो । अहिले विद्यालयसँग आफ्नै भवन, प्रयोगशाला, खेतीका लागि जमिन र छात्राबास पनि रहेको छ । प्रधानमन्त्री कृषि आधुनिक परियोजना कार्यान्वयन इकाइ धानजोन बागलुङ र विद्यालयको साझेदारीमा च्याउ टनेल, माछापोखरी, प्लास्टिक पोखरी निर्माणलगायतका संरचनासमेत विद्यालय परिसरमा बनेका छन् । “टाढाबाट आउने विद्यार्थीका लागि बस्ने समस्यालाई मध्यनजर गरेर आफ्नै होस्टेल निर्माण गर्यौ”, प्रअ रिजालले भन्नुभयो, “चमेनागृह पनि सञ्चालनमा ल्याएका छौँ । होस्टेलमा बस्ने विद्यार्थीले साँझ र बिहान खानाको मासिक रु तीन हजार ५०० तिरे मात्र पुग्छ, बस्नका लागि कुनै शुल्क लाग्दैन ।” नेपाल सरकारले यस विद्यालयलाई नमूना विद्यालयका रुपमा राखेको छ । “नमूना विद्यालयमा परेपछि सरकारबाट उपलब्ध हुने सेवासुविधाका कारण सहज भएको छ”, उहाँले भन्नुभयो । अहिले सरकारी अनुदानमा नौ बालीविज्ञान पढाउने शिक्षक छन् । भौतिक संरचना, प्रयोगशालादेखि धेरै कुरामा आत्मनिर्भर बनेका छौँ ।” यस विद्यालयमा पर्वत र बागलुङका विद्यार्थी पढ्न आउँछन् । विद्यालयस्तरको पढाइ सकेपछि कोही पनि विद्यार्थी बेरोजगार बस्न नपरेको विद्यालयका शिक्षक केदार सापकोटाको अनुभव छ । उहाँका अनुसार अहिलेसम्म यस विद्यालयबाट दुई सय बढी विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् । विद्यालयले भाडामा लिएको २० रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, माछापालन, मौरीपालन, धान खेतीलगायतका उपज फलाउने गरेका छन् । गत वर्ष १२ कक्षा सकेका विद्यार्थीले एक वर्ष ‘ओजिटी’ गरेबापत सरकारले १२ हजार र आफैँले लगाएको उत्पादन बिक्री गरेबापत सात हजार रुपैयाँका दरले जम्मा १९ हजार रुपैयाँ लान सफल भएका थिए ।
ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउँन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा प्क्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताएका छन् । सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको छ। इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागुऔषधको तस्करी विरुद्धको लडाइँको घोषणा गरेका छन् । बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागुपदार्थको तस्करी विरुद्ध लड्न अन्तरराष्ट्रिय सहयोगको लागि आह्वान गर्दै "अन्तरराष्ट्रिय अपराधको लागि अन्तरराष्ट्रिय समाधान चाहिने" कुरा उल्लेख गरेका छन् । -एजेन्सी
बागलुङ : गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् । गाउँमा पुगेका अधिकांश सडक बिना सर्भेक्षण निर्माण गर्दा बर्खाको भलसँगै बगेकाले असोज लागिसक्दा पनि सञ्चालन हुन सक्दैनन् । बर्खाको तीन महिना स्थानीयवासीलाई बजारबाट सामान ढुवानी गर्न भरियालाई बोकाउनु पर्छ । गाउँमा कोही बिरामी परेर अपरझट अस्पताल पु¥याउन परे पनि सडकका कारण बोकेरै बजार झर्नुपर्ने अवस्था छ । गाउँ पुगेका सडक बर्खाका कारण दर्जनौँ स्थानमा पहिराले परिएका छन् भने कयौँ स्थानमा खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन् । बाह्रै महिना सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकले निकै समस्या भोग्नुपरेको निसीखोला गाउँपालिका–१ मा मदन घर्तीमगरले बताउनुभयो । उहाँले सडक पहिराले बगाउँदा बजारदेखि सामान ओसारपसारमा निकै समस्या भएको बताउनुभयो । “गाउँमा बाटो छैन भनौ भने छ, तर बर्खामा गाडीनै चल्न सक्दैनन्, हिउँदमा त गाडी निरन्तर चल्छन्, बर्गा लाग्यो भने त सबै ठप्प हुन्छन्, गाउँलेले निकै दुःख पाए, पहिले सडक नआउँदा पनि दुःख पाएकै हो, अहिले सडक भएर पनि हाम्रो दुःख उस्तै छ”, स्थानीयवासी घर्तीमगरले भन्नुभयो, “हिउँदमा मात्रै अल्ली सजिलो हुन्छ, अहिले बाटोको अवस्था हेर्नुहुन्छ भने बिजोग छ, त्यस्तो बाटोमा कसरी गाडी चलुन् रु, दसैँ आउन लाग्यो अझै खुलाउने सुरसार छैन ।” उहाँले बर्खामा सडक सञ्चालन नहुँदा गाउँमा कोही बिरामी परे बोकेरै अस्पताल झर्नुपरेको र सडक निकै जोखिमपूर्ण हुने हुँदा पैदल गर्न पनि निकै समस्या हुने गरेको बताउनुभयो । “सडक भत्किएर गाडी त चल्दैन नै, मान्छे हिँड्न पनि निकै जोखिमपूर्ण भएको छ, पैदलयात्रा गर्दामाथिदेखि पहिरो झरेर पुरिने होकी भन्ने डर उस्तै छ, गाउँमा मान्छे बिरामी पर्छन्, बाटो बन्द हुन्छ, त्यो बिरामीलाई के गर्ने रु, बोकेर भए पनि अस्पताल पु¥याउनु प¥यो, हाम्लाई त सडक भएर पनि दुःख नभएर पनि दुःख,” घर्तीमगरले गुनसो गर्नुभयो । बडिगाड गाउँपालिका–७ का गाडी चालक बोमबहादुर बुढामगरले सडक बिग्रिएका कारण तीन महिनादेखि गाडी ठप्प भएको बताउनुभयो । उहाँले असार अन्तिम सातातिर सामान लिएर गाउँ गएको र सोही बेला ठूलो वर्षा हुँदा पहिरोले सडक बिग्रिएपछि गाडी गाउँमै थन्काएर राख्नुपरेको बताउनुभयो । अब दसैँमा सडक खुलेमात्रै गाडी चलाउन सुरु गर्ने चालक बुढामगरको भनाइ थियो । “बाटो बिग्रिएर खतम भएको छ, पहिराले एक ठाउँ मात्रै पुरिएको भए त स्थानीय जनताले खनेर खुलाउन सकिने थिए, धेरै ठूलो–ठूलो पहिराले ठाउँ–ठाउँमा सडक पुरिएको छ, ठूलो मेसिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था भएपछि गाडी गाउँमै छ, यति धेरै महिना भयो गाडी नचलाएको, बजार तिरै भएको भए वरपर त चलाउन सकिन्थ्यो, नुन तेल खाने, किस्ता चिर्ने उपाय त हुन्थ्यो”, उहाँले भन्नुभयो, “पहिराले गाउँमै अड्कियो, अब दसैँ आउँदै छ, गाडी बन्द गरेर बसेको धेरै दिन भयो पैसा पनि छैन केले दसैँ मनाउने रु, पोहोर साल त बजारतिरै थिए, ठिकठिकै कमाइ भएको थियो, अहिले त घाटा मात्रै, किस्ता पनि ऋण खाजेर तिर्नुप¥यो ।” लामो समयदेखि गाउँ–गाउँमा गाडी चलाउँदै आउनुभएका ढोरपाटनका देवीराम विकले बर्खाको समयमा गाडी चलाउन निकै जोखिम हुने बताउनुभयो । उहाँले गाउँका सडक निकै साँघुरा हुने, माथिदेखि पहिरो खस्ने र तलतिर भासिने हुँदा दुर्घटना हुने सम्भावना बढी हुने बताउनुभयो । विकले अहिले गाउँका सडक पहिरोका कारण क्षतविक्षत भएको भन्दै खुलाउन पनि धेरै दिन लाग्छ भन्नुभयो । “बर्खामा गाउँमा गाडी चलाउन निकै जोखिम छ, माथिबाट पहिरो आएर चाप्छ कि, तलबाट बगाउँछ भन्ने डर हुन्छ, तै पनि मान्छे बोक्नै प¥यो, सामान ओसार्न परिहाल्यो, अझ गाउँका सडक निकै साँघुरा हुन्छ, धेरै पानी प¥यो भने चिप्लिने डर हुन्छ”, चालक विकले भन्नुभयो, “सम्बन्धित निकायले सडक निर्माण गरेर मत्र छोड्छ, तर कहाँ नाली बनाउनुपर्छ, कहाँ पर्खाल उठाउनुपर्छ, ध्यान दिँदैन, बाह्रै महिना गाउँका सडक चलाउनलाई त सबै सडकको नाली निर्माण गर्नुपर्छ, नाली निर्माण भयो भने धेरै सडक बर्खामा पनि चल्छन् ।” उहाँले गाउँपालिका तथा नगरपालिकाले अनावश्यक ठाउँमा पनि बिना नापजाँच सडक निर्माण गर्दा सडक बर्खाको समयमा ठप्प हुने गरेको बताउनुभयो । गाउँका सडकबाट आएको बाढी पहिराले मुख्य सडक पनि अवरुद्ध हुने गरेको छ । बिना नापजाँच निर्माण भएका सडकका कारण धेरै बस्तीसमेत उच्च जोखिममा परेको छ । दुई/चार वटा घर भएको लेकको टुप्पामा पनि सडक खन्ने प्रवृत्ति बढेको छ, त्यसको असर कति धेरै परेको छ भन्नेकुरा सम्बन्धित निकायलाई थाहा छैन, सडक लेकको टुप्पमा त पुगेको छ तर त्यसको तलतिर कति धेरै बस्ती पहिराको उच्च जोखिममा परेका र समथर खेतीयोग्य जमिन पनि सडकदेखि बगेर आएको बाढीले बगर बनाइदिएको छ । यो एक ठाउँको समस्या होइन, धेरै ठाउँमा यस्तो भएको छ र पनि बाटो खन्न छोडेका छैनन् ।
नवलपुर ः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो । गैँडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई सङ्क्रमण देखिएकामा चिन्ता व्यक्त गर्दै किसानले धानको उत्पादन घट्ने गुनासो गरेका उहाँको भनाइ थियो । “नगरभित्रका धेरै किसानले ह्वाइट फ्लाईबारे गुनासो गर्न थाल्नुभएको छ”, शाखाप्रमुख शर्माले भन्नुभयो, “कृषकको धान खेतमा गएर हेर्दा पनि पसाउने बेलाको धानमा धेरै सङ्क्रमण देखेका छौँ, यसको नियन्त्रणका लागि माथिल्लो निकायलाई जानकारी गराइसकेका छौँ ।” कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले ह्वाइट फ्लाई सङ्क्रमण जिल्लाभरि नै देखिएको बताउनुभयो । जिल्लाको जम्मा कति क्षेत्रफलमा यसको सङ्क्रमण देखिएको छ भनेर कार्यालयले तथ्याङ्क लिने काम गरिरहेको उहाँको भनाइ थियो । “धान खेतीमा देखिएको ह्वाइट फ्लाई थप बढ्दै गएर नियन्त्रण गर्न नसकिए धान उत्पादनमा कमी आउन सक्छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “मसिनो खालको सेतो झिङ्गाले धानको पात चुस्ने, पसाउने बेलाको बाला चुस्ने गरेका कारण धानको बोट नै पहेँलो भएर जाने गरेको छ ।” किराको कारणले धान पहेँलोे भएका बेला किसानले धान खेतमा रासायनिक मल हाल्दा समस्या थप बढेको उहाँले बताउनुभयो । “जिल्लामा लगाइएका धान खेतीमध्ये केही ठाउँमा खाद्य तत्वको कमी पनि देखिएको छ तर कृषि प्राविधिकको सल्लाहबिना युरिया मात्रै राख्दा धानलाई हरियो बनाउन सहयोग गर्छ र किरालाई थप खानेकुरा मिल्छ”, उहाँले भन्नुभयो, “धान हरियो हुँदै गएपछि यसले किराको सङ्ख्या अझै बढाउने हुँदा रोगको सङ्क्रमण सजिलै फैलिन सक्छ, त्यसैले कृषि प्राविधिकको सल्लाह लिएर मात्रै धानमा मल हाल्ने तथा उपचार गर्ने गर्नुपर्छ ।” नवलपुरको मध्यबिन्दु, कावासोती, देवचुली, गैँडाकोट नगरपालिकासहित विनयी त्रिवेणी, हुप्सेकोट गाउँपालिकामा बर्खे धान लगाउने गरिएको छ । यस वर्ष जिल्लामा करिब १८ हजार आठ सय १६ हेक्टर जमिनमा बर्खे धान लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।
गलकोट : पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि पर्यटन अभियान्ता तथा सगरमाथा आरोही कृष्ण केसीले छ दिने साइकल यात्रा थाल्नुभएको छ । पर्यटन प्रवद्र्धन गर्दै पोखराका पर्यटनलाई ढोरपाटन ल्याउनका लागि उहाँले बिहीबार पोखराबाट साइकल यात्रा थाल्नुभएको छ । विभिन्न समयमा पर्यटन प्रर्वद्धनात्मक अभियान चलाउँदै आउनुभएका कृष्ण केसी गृह जिल्ला बागलुङको प्रर्वद्धनका लागि साइकल यात्रा गरेको बताउनुभयो । विश्व पर्यटन दिवसको अवसरमा छ दिने साइकल यात्रा थाल्नुभएको हो । साइकल यात्राको दोस्रो दिन शुक्रबार बागलुङ बजार आउनुभएका केसी म्याग्दी हुँदै ढोरपाटन पुग्ने योजना रहेको बताउनुभयो । धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको प्रचारका लागि आफ्नो साइकल यात्रा साङ्केतिक भएको साइकल यात्री तथा पर्यटन अभियान्ता कृष्ण केसीले बताउनुभयो । केसीलाई शुक्रबार बिहान बागलुङ कालिका मन्दिर परिसरमा बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङ र कालिका भगवती गुठी व्यवस्थापन समितिले स्वागतसमेत गर्नुभएको छ । बागलुङमा जन्मनुभएको केसीले पर्यटन अभियानलाई निरन्तररुपमा प्रवद्र्धन गर्दै आउनुभएको छ । “धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको छोटो रुप ‘धौनिढोका’को प्रचारप्रसारका लागि एकल साइकल यात्रा हो यो, यात्राका क्रममा साहसिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित कुस्मा र बलेवा जोड्ने बञ्जी पुल, अन्य झोलुङ्गे पुलको यात्रा पछि अहिले बागलुङ आएको छु”, केसीले भन्नुभयो, “११ गते विश्व पर्यटन दिवसको दिन ढोरपाटन पुग्ने गरी म्याग्दी बजार, तातोपानी कुण्ड हुँदै बागलुङको तमानखोला गाउँपालिकादेखि ढोरपाटन पुग्ने योजना छ ।” पर्यटन प्रवद्र्धनका लागि एक्लै यात्रा गरेर सांकेतिकरुपमा सन्देश दिन खोजेको बताउँदै निर्वाचनपछि पोखराका पर्यटन व्यवसायीलाई ढोरपाटन उतार्ने योजना रहेको बताउनुभयो । साइकल यात्राका क्रममा पर्वत, बागलुङ र म्याग्दीका पर्यटन व्यवसायी, उद्योग वाणिज्य सङ्घ तथा पर्यटन प्रवद्र्धन अभियान्तासँग भेटघाट गर्दै हिड्ने कार्यक्रम रहेको छ । जनयुद्धका विषयमा किताबसमेत लेख्दै आउनुभएका केसीले लोलुफेरा प्रवद्र्धनमा ठूलो भूमिका निभाई सक्नुभएको छ । नेपालका ७७ जिल्ला भ्रमण गरिसक्नुभएका केसीले बागलुङको ढोरपाटनमा पर्यटन ल्याउनका लागि विभिन्न योजना ल्याउँदै आउनुभएको छ । विश्व पर्यटन दिवसको अवसरमा ११ गते ढोरपाटनमा घोडा जात्राको आयोजना गरेको बताउनुभयो ।
तनहुँ : म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुग्नुभयो । पूर्ण अशक्त उहाँलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता हुनुभएका सारुले शुक्रबार आफ्नै घरमा कोभिडविरुद्वको खोप लगाउन पाउँदा खुसीले गद्गद् हुँदै बल्ल हामीजस्ता अपाङ्गता भएका र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पायौँ भन्नुभयो । गाउँपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिकरुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिलाई घरघरमा पुगेर कोभिडविरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देवासी खुसी भएका हुन् । सारुले जस्तै २८ वर्षीय कृष्णबहादुर थापा, सोही ठाउँ बस्ने, वर्ष ३३ का बिहिसरा थापा र २९ वर्षीय नारायणबहादुर हुन्चिङलगायतको घरमा स्वास्थ्यकर्मी पुगेर खोप दिएपछि उनीहरुले राहत महसुस गरेका छन् । स्पाइनल इन्जुरीका कारण पूर्णरुपमा शारीरिक अपाङ्गता भई ओछ्यानमा रहनुभएका २९ वर्षीय नारायणबहादुर हुन्चिङले कोभिड खोप र स्वास्थ्य सेवा पाउँदा खुसी हुँदै सामान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई यसैगरी सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयोे । अपाङ्गता भएका व्यक्ति वडा र पालिकामा आउन नसक्ने र घुम्ती शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएकाले निजहरुको घर–घरमा नै गएर खोप लगाइदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । एकीकृत घुम्ती सेवामार्फत घर–घर र टोल–टोलमा पुगेर सेवा दिँदा म्याग्देवासीमा खुसी छाएको उहाँले बताउनुभयो । चौथो दिनसम्ममा सात स्थानमा शिविर सम्पन्न हुँदा कोभिड १९ विरुद्ध वयस्क फाइजर खोप दुई सय ६७ ले लगाएकामा १७ जनाले पहिलो मात्रा, १८ जनाले दोस्रो मात्रा र दुई सय ३२ ले तेस्रो ९बुस्टर० मात्रा खोप लगाएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताउनुभयो । वडा नं १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिहीसमेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भइसकेको छ । उक्त शिविर यही असोज २ देखि ३१ गतेसम्म चल्ने गाउँपालिका कार्यालयले जनाएको छ ।
लमजुङ : सरकारले एक पालिका एक सडक पुर्याउने अभियानअन्तर्गत अघि बढाएको यहाँको एक पालिकाको केन्द्रसम्म जोड्ने सडक निर्माण अवधि सकिए पनि काम भने अधुरै छ । गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रे गर्न तोकिएको अवधि सकिए पनि काम सम्पन्न हुन नसकेको हो । दुई वष (गत असार २ गते)सम्ममा निर्माण सम्पन्न गर्ने भनी सम्झौता भएको थियो । काठमाडौँस्थित कन्ट्र्याक निर्माण प्राइभेट लिमिटेडले निर्माण गर्दै आएको यस सडक विसं २०७७ असार ३ गते सम्झौता भएर विसं २०७९ असार २ गते कालोपत्रे गरिसक्नुपर्ने सम्झौता थियो तर निर्धारित समयमा काम हुन नसकेपछि आगामी पुस १५ गतेसम्मका लागि पुनः म्याद थप गरिएको छ । प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार दुई सय २५ मा लगानीमा सात दशमलव १२१ किलोमिटर कालोपत्रे हुन लागेको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका रोड इन्जिनियर राजेश अधिकारीका अनुसार हालसम्म ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ३६ दशमलव ५१ प्रतिशत छ । हालसम्म रु नौ करोड ६० लाख २० हजार १० उक्त कार्यालयले ठेकेदार कम्पनीलाई दिइसकेको उहाँको भनाइ थियो । हालसम्म नाली र एउटा आरसीसी कल्र्भटका साथै सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने यतिबेला ग्याबेल, ग्याबिन वाल, मेसिन वाल, स्ट्रक्चरको काम भइरहेको उहाँको भनाइ थियो । सो सडकमध्ये दुई ठाउँमा एक हजार एक सय १३ घनमिटर सडक ढलान गर्ने भएको छ । उक्त सडक कोभिडका कारण र निर्माण कार्य सुरु गर्न ढिलाइ भएको जनाउँदै निर्माण कम्पनीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरे पनि पुनः म्याद थप गरिएको समयमा भने सम्पन्न गर्नसक्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडकको विभिन्न स्थानमा ६० कामदार सम्लग्न छन् । उक्त सडक निर्माण भएसँगै दोर्दी पालिका र सडक आसपासका बासिन्दालाई सदरमुकाम बेँसीसहरसम्म आउनका लागि समय समयको बचत हुनाका साथै सहज यात्रा गर्न पाउने छन् भने किसानले उब्जाएका खेतीपातीसमेत सदरमुकामसम्म ल्याउन सहज हुने भएको छ । गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले यस सडक चाँडै सम्पन्न गराउन सम्बन्धित निकायमा कुरा उठाउँदै आएको बताउनुभयो । सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडककोे यात्रामा कठिनाइ हुँदा जनताले सास्ती भोग्दै आउनुपरेकाले आफूले सक्दो पहल गर्दै आएको उहाँको भनाइ थियो ।

