पाेखरा: फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिकामा हुनुहुन्छ । उहाँले विजेता उर्फ बाबरी, धीरज मगरले विक्रान्त र धीरज नाडकरले रोनिसको भूमिका निर्वाह गर्नुभएको छ । पूर्वी नेपाल लेटाङ र सिक्किमको गान्तोकमा छायाङ्कन गरिएको बाबरीमा युवापुस्ताको प्रेम देखाइएको छ । विजेता आफ्नी साथीको विवाह अगाडिको पार्टीमा गान्तोक पुग्दा रोनिससँग भेट हुन्छ । दुवैबीच सामीप्यता भने नेपालमा बढ्छ । रोनिस नेपाल आएर विजेतालाई विवाहको प्रस्ताव गर्नुहुन्छ । पेसाले पाइलट रोनिस सिक्किम फर्किएपछि विक्रान्त उर्फ ‘सानो राजासाहेब’ को इन्ट्री हुन्छ । विजेता र विक्रान्त बच्चा देखिकै साथी हुन्छन् । विक्रान्तले विजेतालाई माया गर्नुहुन्छ । यद्यपि विजेता भने रोनिसको पर्खाइमा हुनहुन्छ । घरबाट विवाहको दबाब आएपछि विक्रान्तलाई लिएर रोनिसलाई खोज्न विजेता सिक्किम निस्किनुहुन्छ । आफूले माया गरेको विजेता अरु कसैको पर्खाइमा रहेको थाहा पाएपछि हुने अन्तरद्वन्द्व नै कथासार हो । विजेताले विक्रान्त वा रोनिस कसलाई रोज्नु हुन्छ ? जिद्दी विक्रान्तले विजेतालाई सहजै छाड्नुहुन्छ ? विजेताले आफूलाई माया गर्ने विक्रान्त र आफूले माया गर्ने रोनिसमध्ये कसलाई रोज्नुहुन्छ ? यी तथ्य थाहापाउन हलसम्म पुग्नुपर्छ । डेब्यु अभिनेता धीरज नाडकर कलाकार तृप्ती नाडकरको छोरा हुनहुन्छ । “मेरो लागि यो खास छ । आमाले झैँ मैले पनि दर्शकको माया पाउने आश गरेको छु । मैले इन्डो–नेपाली रोनिसलाई पर्दामा सक्दो जीवन्त बनाउने प्रयास गरेको छु”, अभिनेता नाडकरले भन्नुभयो । शीर्ष भूमिका निर्वाह गर्नुभएकी अदितीले विजेतामार्फत अहिलेको युवतीलाई प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “छोरी विवाहको लागि मात्र नभई जीवनयापनमा सक्षम रहेको सन्देश मेरो पात्रमार्फत प्रवाह हुन्छ । हाम्रो सक्षमतासँगै शालीनतालाई पर्दामा देखाएकी छु ।” अभिनेता धीरज मगरले निर्वाह गर्नुभएको ‘सानो राजा साहेब’ को पात्र पुर्व युवराज पारस शाहसँग केही मिल्दो छ । “मैले केही गुण उहाँको अपनाएको छु । लेटाङ पुगेर छायाङ्कन अगाडि स्थानीय युवालाई समेत बुझेर चरित्रमा ल्याएको छु”, अभिनेता मगरले भन्नुभयो । बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठले पनि फिल्ममा अभिनय गर्नुभएको छ ।
पोखरा : वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदान-प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले व्यवसायमा सङ्कट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने जनाउँदै एक अङ्कको ब्याजमा ऋण उपलब्ध गराएर सहजता प्रदान गर्न माग गर्नुभयो । उहाँले पछिल्लो समय वित्तीय संस्थाले व्याज बढाउँदा व्यवसायीमा थप आर्थिक सङ्कट निम्त्याएर व्यवसायबाट पलायन हुने स्थितिमा पुर्याउन लागेको बताउनुभयो । ठूलो लगानी रहेको पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर व्यवसायीलाई सहुलियतरूपमा ऋण प्रवाह गर्ने नीति ल्याउन उहाँले आग्रह गर्दै आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले पर्यटन मैत्रीनीति अवलम्बन गर्न सरकारले निकै ढिला गरेको गुनासो गर्नुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले पछिल्लो समय व्यवसायमा महिलाको सहभागिता निकै बढ्दै गएको र यसले आर्थिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो । उहाँले महिलाको आर्थिक सशक्तीकरणका लागि सङ्घले पर्यटन व्यवसायी महिलासँग सहकार्य गरेर अघि बढ्ने जानकारी दिनुभयो । कार्यक्रममा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सबैको साझा सोच र धारणाको आवश्यता औँल्याउनुभयो । पर्यटन क्षेत्रमा महिलाको उपस्थिति र सहभागिता बढ्दै गए पनि निर्णायक तहमा अझै पुग्न नसकेको उहाँको भनाइ थियो । संस्थाका अध्यक्ष पार्वती पाण्डेले महिला पर्यटन व्यवसायी कार्यक्रममको शोभा बढाइदिने जमातको रुपमा मात्र नलिएर उनीहरुको योगदानको मूल्याङ्कन गरेर फोरम उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो । उहाँले महिलाको संस्था भन्दै पुरुषवादी सोचले हेर्दा अझै पनि कतिपय अवसरबाट बञ्चित हुनुपरेको यथार्थतालाई प्रस्तुत गर्नुभयो । कार्यक्रममा होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी सल्लाहकार दुर्गा ढकाल, पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, ओटेफका कोषाध्यक्ष लक्ष्मी लामिछाने, कार्यक्रम संयोजक माया सुवेदीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका सदस्य र पर्यटन सम्बद्ध सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति थियो ।
कञ्चनपुर : यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका महिला व्यस्त भएका हुन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ की देवी चौधरी घर लिपपोत गर्न व्यस्त हुनुहुन्छ । थारु समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिवार्य जस्तै मानिन्छ । “अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ”, उहाँले भन्नुभयो, “दसैँ सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दसैँमा सखिया नाच्ने र रमाउने हो ।” अहिले गाउँमा अधिकांशले घर लिपपोत गरेर सजाइसकेका छन् । थारु समुदायमा दसैँ विशेष चाड भएकाले यसको रौनक एक महिना अघिदेखि नै सुरु हुन्छ । “दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छ”, उहाँले भन्नुभयो, “पूजा सकिएपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्छन ।” अन्य समुदायको भन्दा यो समुदायमा दसैँ मनाउने चलन पृथक रहेको उहाँको भनाइ छ । पछिल्लो समय सामुदायिक वनले जङ्गलबाट माटो ल्याउन निषेध गरेपछि यो समुदायलाई समस्या भएको छ । माटोले लिपपोत गरेर खरले छाएका घर थारु समुदायका पहिचान हुन् । चौधरीले भन्नुभयो, “सामुदायिक वनले माटो ल्याउन निषेध गरेपछि यस्ता घरहरु हराउन थालेका छन् ।” स्थानीयवासी लक्ष्मीराम चौधरी पनि दसैँका लागि सामान जुटाउन व्यस्त हुनुहुन्छ । उहाँ केही दिनदेखि माछाको जोहोमा लाग्नुभएको छ । “घरमा महिलाहरु घर लिपपोत गर्दैछन्, म माछाको जोहोमा छु”, उहाँले भन्नुभयो, “दसैँमा सुकाएको माछा र रक्सी थारु समुदायको विशेष हो ।” पछिल्लो समय पक्की घरहरु बन्न थालेपछि विगतको जस्तो रौनकता भने नभएको उहाँको भनाइ छ । स्थानीय सीता चौधरीका अनुसार दसैँका बेला सखिया नाच रातभरि हुने गर्दछ । यो नाचमा भगवान्को मात्रै महिमा हुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समय विभिन्न कारण एक महिना खेलिने यो नाच छोटिँदै गएको छ ।” टीका लगाइसकेपछि सबै गाउँलेहरु भेला भएर सखिया नाच नाच्ने चलन छ । तर पछिल्लो समय यो नाच लोप हुँदै गएको छ । “पहिलेको जस्तो रातभर नाच्ने गाउने चलन त हराइसक्यो”, उहाँले भन्नुभयो, “अहिले संस्कृति जोगाउन भए पनि कार्यक्रमको आयोजना गरी सखिया नाच्ने गरिन्छ ।” पछिल्लो पुस्ता आधुनिकतामा रमाउन थालेपछि सखिया नाचको मौलिकता हराउँदै गएको थारु समुदायका पाका पुस्ता बताउँछन् ।
गलेश्वर : नेपालीको महान चाड बडादशैं हाम्रो घर आगनमा आइसकेको छ । पितृपक्ष (सोह्र श्राद्ध) समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दसैं सुरु भए पनि दशैंको रौनक र मौलिकता भने कतै देखिएको छैन । दशैं सुरु हुने वित्तिकै गरिने पहिलो काम भनेको घर आगनको लिपपोत, सरसफाइ हो । रातोमाटो र कमेरोले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसँगै दसैँको उत्सव सुरु हुने गर्दछ । विगत केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेराका मड्किना (माटो निकालिने ठाउँ) पुरिदै गएका छन् । गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ । म्याग्दीका ग्रामीण भेगका अधिकांश घर पनि सिमेन्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसिमका बनाइएका छन् । बजारमा आयातित रङ किनेर घर रङ्गाउने चलन सुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको बेनी नगरपालिका–२ बगरफाँटका बाबुराम उपाध्यायले बताउनुभयो । एक समय थियो, दसँै भित्रिदै गर्दा रातोमाटो र कमेरोले घर आगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो । गाउँका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो । बाबियोले बाटेको लिङ्गे पिङ र स्थानीय काठबाट निर्माण गरिन्थ्यो, रोटे पिङ लगाइन्थ्यो, अनि गाउँभरिका सबै भेला भएर रमाउने गरिन्थ्यो । अहिले यी सबै चलन हराउँदै गएकाले दशैंको मौलिकता नै नासिएको स्थानीयवासीको भनाइ रहेको छ । दशैंमा घर लिपपोत गर्नका लागि रातोमाटो र कमेरो लिन दुई तीन दिनको बाटो हिँडेर म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने रत्नेचौर र सारेमारेमा जिल्ला भरिका महिला तथा पुरुषको भीड लाग्ने गर्दथ्यो । दशैं सुरु हुनुभन्दा चार पाँच दिन अघिदेखि नै रातोमाटो र कमेरोका मड्किनामा स्कुलका विद्यार्थीदेखि गृहिणीको भीडले माटो र कमेरो निकाल्न पालो कुर्नुपथ्र्यो । तर, अहिले रत्नेचौर र सारेमारेका मड्किनामा माटो लिन आउनेको सङ्ख्या नगन्य रहेको स्थानीयवासी हेमकुमारी सापकोटाले बताउनुभयो । त्यसैगरी दशैंका लागि आवश्यक पर्ने चिउरा चामल आदि खाद्यान्न ढिकी जातोमा कुट्ने, पिध्ने गरिन्थ्यो । तर अहिले यी सबै चलन एकादेशको कथामा परिणत भएका छन् । गाउँघरमा ढिँकीजाँतोमा अन्न कुट्ने पिध्ने चलन हराएको छ । ढिँकीजाँतोदेखि नै छोडेका छन् । दशैंमा यी प्रचलन सबै लोप हुँदै गएका छन् । दशैं पहिलेको भन्दा महँगो र पृथक बन्दै गएकोे ज्यामरुक कोटका रामकृष्ण घिमिरेले बताउनुभयो । रातो माटो र कमेरोले लिपपोत गर्ने घरमा अहिले आयातित विभिन्न कलर(रङ)लगाउन थालिएको छ । प्रत्येक घरबाट एक÷एकजना सदस्य अनिवार्य उपस्थित भएर श्रमदान गरी गरिने बाटोघाटोको सरसफाइ गर्न छोडिएको छ । “गोरेटो बाटो पुरिँदै गएका छन्, मोटरबाटो डोजर लगाएर सफा गर्न थालिएको छ । त्यस्तै पिङ लोप ह गएका छन् । दसँैका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न बजारमै पाइने हुँदा ढिँकीजाँतोमा कुटानीपिसानी गर्न छोडिएको छ । दसँैको मौलिकता नै हराउँदै गएको छ”, पश्चिम म्याग्दीको रणबाङका पण्डित हरिकृष्ण पौडेलले बताउनुभयो । मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दशैं पनि महँगो बन्दै गएको स्थानीयवासीको बुझाइ रहेको छ । पहिला–पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दशैं मनाइन्थ्यो । अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दशैं दशा बन्न थालेको वुद्धिजीवीले बताएका छन् । रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दशैंको आभाष हुने गरेको थियो ।
काठमाडौं : दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि दैनिक उपभोग्य बजारको चरम मारमा उपभोक्ता पर्ने गरेका छन् । विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्न तल्लिन हुन्छन् । त्यसो त उपभोक्ता पनि स्वयं जागरुक र जिम्मेवार नबन्दा गुणस्तरहीन खाद्यवस्तु र सामग्री उपभोग गरेर कालोबजारी गर्नेलाई बल पुगिरहेको छ । वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ । उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता आफैँ सचेत नभएसम्म बजारमा उपभोग्य सामग्रीको महँगी र कालोबजारी नियन्त्रण नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उपभोक्ताको मुहार हेरेर व्यापारीले मूल्य निर्धारण गर्छन् । अनुगमनकारी निकाय मूकदर्शक बनरिहेको अवस्था छ, त्यसैले व्यवसायीलाई अनुशासित तुल्याएर उपभोक्ता मैत्री नबनाएसम्म बजार स्वच्छ रहन सक्दैन, त्यसमा उपभोक्त स्वयं पनि जागरुक र जिम्मेवार बन्न जरुरी छ ।” ‘चाडपर्वमा हुने बजार अनुगमन तथा शान्ति सुरक्षा’ विषयमा सञ्चार केन्द्र नेपालले आज आयोजना गरेको अन्तक्र्रियामा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले बजारमा समग्र वस्तुको मूल्यवृद्धि भएको भन्दै उपभोक्तालाई अनुभूति हुनेगरी बजार अनुगमन हुन नसकेको बताउनुभयो । दसैँ, तिहारललगायत पर्वमा मात्र नभई बजार अनुगमनलाई निरन्तर अभियानका रूपमा सञ्चालन गरिनुपर्ने उहाँको धारणा छ । “बजारको प्रभावकारी अनुमगन हुन सकेको छैन । व्यापारीले उपभोक्तालाई चर्को मूल्यमा वस्तु तथा सामग्री खरिद गर्न बाध्य तुल्याइरहेका छन् । खाद्य उपभोग्य वस्तुमात्र नभई चाडपर्वमा गाउँघर जाने यात्रुलाई सडक तथा हवाई यातायातमा महँगो भाडाले पिरोलेको छ ।” चर्को मूल्य तिरेर भए पनि उपभोक्ताले सहजरूपमा सेवा पाउन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । महङ्गोमा वस्तु तथा सामान खरिद गर्दा गुणस्तरीय सामान पाउन उपभोक्तालाई मुस्किल छ । विद्यमान अनुगमन प्रणालीमा विशेषज्ञसहितको अनुगमन नहुँदा उपभोक्ताको स्वास्थ्यमाथि नै जोखिमको सम्भावना बढेको छ । आपूर्ति सहज र सुरक्षा सुदृढ उपभोक्ता अधिकारकर्मीले प्रभावकारी बजार अनुगमन नभएको गुनासो गरिरहँदा सरकारी निकायले भने दैनिक उपभोग्य बजारको प्रभावकारी अनुगमन गरी आपूर्तिलाई सहज बनाउन र शान्ति सुरक्षा कायम गर्न सक्रिय ढङ्गले लागेको बताएमने छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले आपूर्ति सहज गरी उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण तथा सामग्रीको गुणस्तर कायम गर्न सरोकारवाला निकाय समन्वयात्मक ढङ्गले सक्रियरूपमा परिचालन भएको बताउनुभयो । उहाँले आपूर्ति सहजीकरणसँगै मूल्यवृद्धि नियन्त्रण, बजारमा शान्ति सुरक्षा कायम गर्न तथा गन्तव्य पुग्ने यात्रुको सवारीसाधन व्यवस्थापनमा आफू लागिपरेको बताउनुभयो । प्रजिअ उपाध्यायले भन्नुभयो, “नागरिकको सेवालाई चुस्तदुरुस्त बनाउन र उपभोग्य वस्तुको मूल्य स्थिर र गुणस्तरीय खाद्य सामग्री सुनिश्चित गर्न वाणिज्य विभाग क्रियाशील भएर लागेको छ । चाडपर्वलक्षित शान्ति सुरक्षा योजना कार्यान्वयनमा आएको छ । चारवटै सुरक्षा निकायसँग समन्वय गरी एकीकृत सुरक्षा योजना लागू गरिएको छ ।” बजार अनुगमनको नेतृत्व वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको र त्यसलाई सहजीकरण गर्न आवश्यक सुरक्षाकर्मीको व्यवस्थापन जिल्ला प्रशासन कार्यालयले गरेको उहाँले जानकारी दिनुभयो । चाडपर्व केन्द्रीय सुरक्षा योजना कार्यान्वयनमा दसैँ, तिहार, छठलगायत चाडपर्वमा हुने सम्भावित जोखिम नियन्त्रण गर्न र शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाउन चाडपर्व केन्द्रीत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । चारवटै सुरक्षा अङ्गको समन्वय गरी एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ थियो । यसका साथै काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ । साथसाथै, सडकका खाल्डा पुर्ने तथा सरसफाइ कार्यका लागि सरोकारवाला निकायको सहकार्यमा काम भइरहेको छ । सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिबीच छलफल गरी चाडपर्व लक्षित १६ बुँदे निर्णय कार्यान्वयनमा ल्याइएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । चोरीलगायत घटनामा तत्कालै सम्बोधन हुनेगरी संयन्त्र परिचालन गरिएको छ । सम्भावित विपद्जन्य घटनाको तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको छ । नयाँ बसपार्कमा अलपत्र परेका करिब एक हजार यात्रुलाई आज मयुर यातायातका बसमार्फत गन्तव्यमा पठाइएको उहाँले जानकारी दिनुभयो । प्रभावकारी अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले बजारको अनुगमनलाई प्रभावकारी बनाइएको बताउनुभयो । विभागले चाडपर्वमा मात्र नभई निरन्तर अनगुमन कार्य गर्दै आएको उहाँले जानकारी दिनुभयो । महानिर्देशक भट्टराईका अनुसार अहिले दैनिक ५० भन्दा बढी निकायको अनुगमन भइरहेको छ । चालू आर्थिक वर्षमा विभागले तीन हजार ६०० निकायको अनुगमन गर्ने लक्ष्य लिएको छ । महिनाको तीन सयका दरले अनुगमन भइरहेको र साउन र भदौ दुई महिनामा मात्रै चार सय ५० भन्दा बढी निकायमा अनुगमन गरिएको छ । विभागको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन र खाद्य सामग्रीको गुणस्तर पहिचान गर्न विज्ञसहितको जनशक्ति आवश्यक रहेको भन्दै त्यसतर्फ पनि समन्वयका साथ काम भइरहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्ख्यात्मक भन्दा पनि गुणात्मक अनुगमनलाई ध्यान दिएका छौँ । कानून उलङ्घन गर्ने र उपभोक्ताको हकहितविरुद्ध हुने गतिविधिलाई कानूनी दायरामा ल्याउँछौं ।” विभागको अभियान ‘जागरुक उपभोक्ता : जिम्मेवार बिक्रेता’ भन्ने नाराका साथ विभागले उपभोक्ता हित संरक्षण अभियान चलाएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्नु उपभोक्ताको अधिकार हो । प्रवाह गर्नु बिक्रेताको कर्तव्य पनि हो भने बिना भेद्भाव वा सेवा खरिद गर्न पाउनु उपभोक्ताको अधिकार हो । बिक्रेताले आफूले प्रदान गर्ने वस्तु वा सेवाको नाम र सोको मूल्यसूची स्पष्टरूपमा सबैले देख्ने ठाउँमा राख्नु बिक्रेताको कर्तव्य रहेको विभागले सचेत गराएको छ । खरिदबिक्री गरिने वस्तुमा उत्पादन मिति तथा उपभोग्य मिति उल्लेख छ/छैन ख्याल गर्न उपभोक्ता आफैँ सचेत हुनुपर्ने औँल्याइएको छ । बजारमा कुनै पनि वस्तुको कृत्रिम अभाव सिर्जना गर्नु र खाद्य पदार्थलाई आकर्षक बनाउन अखाद्य पदार्थको प्रयोग गर्नु कानूनबमोजिम दण्डनीय अपराध हो । चौध सहायता कक्ष स्थापना काठमाडौँबाट बाहिरिने यात्रुको सहज व्यवस्थापन र गुनासो तत्कालै सम्बोधन गर्न सरोकारवाला निकायको समन्वयमा विभिन्न स्थानमा १४ वटा सहजीकरण कक्ष स्थापना गरिएको र यात्रुले कुनै गुनासो मर्का परे तत्कालै सम्बोधन गर्ने गरी प्रबन्ध मिलाइएको प्रशासनले जनाएको छ । चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिम रोक्न ‘टाइम कार्ड’ लागू गरिएको तथा चाडपर्वमा मात्र नभई बजारमा भएका अन्य समस्याको समाधान गरी उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न सबै संयन्त्र सक्रियरूपमा परिचालन भएको प्रजिअ उपाध्यायले बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चाडपर्वका बेला मात्र नभई वर्षभरि उपभोग्य बजारको अनुगमन गरी सही र सन्तुलित समाचार सम्प्रेषण गर्नु सबै सञ्चारकर्मीको दायित्व भएको बताउनुभयो । उहाँले जनतालाई सहज ढङ्गले उपभोग्य वस्तुको सुनिश्चितताका लागि विभाग, प्रशासनलगायत निकाय बढी सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द्रप्रसाद चौलागाइले प्रभावकारी बजार अनुगमन र महँगी नियन्त्रण्मा सरोकारवाला निकाय सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो ।
तनहुँ : तनहुँको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ । असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन् । विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउने क्रम सुरु भएको व्यवसायी बताउँछन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी किसन प्रधानले विदेशी पर्यटकको आगमन सुरु भएको जानकारी दिनुभयो । “तीन दिन अगाडिमात्रै ७० विदेशी पाहुना बन्दीपुर आउनुभयो”, प्रधानले भन्नुभयो, “आइतबार पनि २५ जना आउनुभएको छ, अब बन्दीपुरमा विदेशीको चहलपहल थप बढ्ने विश्वास लिएका छौं।” बन्दीपुर आउने पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन् । चिनियाँ पर्यटक भने बन्दीपुरमा ठप्प रहेको उहाँले बताउनुभयो । “पहिला पहिला बन्दीपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटक ठप्प छन्, युरोपेली मुलुकका पर्यटक आउँछन्”, उहाँले भन्नुभयो । विदेशी पर्यटकको घुम्ने समयका कारण नेपाल आएका पर्यटक प्याकेजमा बन्दीपुरसम्म आउने गरेको उहाँले सुनाउनुभयो । “नेपाल आएका पर्यटक पोखरा, सौराहा लगायतका ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दीपुर भ्रमणका लागि आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यहाँको रीतिरिवाज, रहनसहन देखेर उनीहरु मख्ख पर्छन् ।” बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भए पनि स्वदेशी पर्यटक भने न्यून रहेको व्यवसायी बताउँछन् । होटल व्यवसायी बसन्त पौडेलले स्वदेशी पाहुनाको आगमन घटेको बताउनुभयो । “स्वदेशी पाहुना फ्याट्टफुट्ट मात्रै बन्दीपुर आइपुगेका छन्”, उहाँले भन्नुभयो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइँ बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।
गलकोट ः आधुनिक बसपार्कको छाना हावाले उप्काएको छ भने यात्रु प्रतिक्षालयको केही भाग भासिएर चर्किएको छ । बसपार्कको टर्मिनल भवनको बीच भागबाट पानी चुँहिएर अन्डरग्राउन पार्किङस्थलमा ताल परेको छ । बसपार्कको दायाँबाँया चर्किएको भाग सिमेन्टले पोतिएको छ । उक्त दृश्य कुनै जीर्ण बसपार्कको नभएर निर्माण सम्पन्न भएर सञ्चालनमा आइनसेको आधुनिक बागलुङ बसपार्कको हो । रु नौ करोड लागतमा निर्माण सम्पन्न गरिएको बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको छ । निर्माण व्यवसायीको लापारबाहीका कारण सञ्चालनमा नआउँदै बसपार्क मर्मत गर्नुपर्ने अवस्था आइपुगेको छ । आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको एक वर्ष मात्रै बित्यो । बसपार्क सञ्चालनमा नआउँदै मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेको बागलुङ नगरपालिकाले जनाएको छ । निर्माण व्यवसायीले बसपार्क निर्माण सम्पन्न गरे पनि बसपार्क हस्तान्तरण भने भएको छैन तर बसपार्कको संरचना भने बिग्रिएको छ । बसपार्कको टर्मिनल भवनको बीच भागबाट अन्डरग्राउन पार्किङस्थलमा पानी जमेको छ भने केही भाग प्लास्टरसमेत उप्किएको पाइएपछि नगरपालिकाले निर्माण व्यवसायीलाई पत्र नै काटेर मर्मत गर्न लगाएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । “बसपार्क हस्तान्तरण त भएको छैन, तर निर्माण भइसकेका संरचना कतै चर्किएको त कतै उप्किएको प्राविधिकबाट जानकारी आएपछि निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मत गर्न भनेका छौँ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “अहिले निर्माण कम्पनीले बसपार्क मर्मत गरिरहेको छ, तर निर्माण भइसकेको संरचना कसरी बिग्रन पुग्यो, त्यो नगरपालिकाका प्राविधिकले अध्ययन गरिरहेका छन्, पूरै मर्मत नभए अन्तिम भुक्तानी रोक्छौँ ।” बागलुङ-४ स्थित दाबगरामा स्थानीयवासीले निःशुल्क दिएको जग्गामा बसपार्क निर्माण भए पनि गुणस्तरमा भने प्रश्न चिन्ह उठेको छ । बागलुङ बजारमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पूरा भए पनि बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको हो । बसपार्कको यात्रु प्रतिक्षालयको जस्ता हावाले उडाएपछि बसपार्क टिकाउ नहुने स्थानीयवासीको आशङ्का छ । अहिले बसपार्कको बिग्रको भाग मर्मत निर्माण कम्पनीबाटै भइरहेको नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले जानकारी दिनुभयो । “स्टमेट अनुसार निर्माण सम्पन्न भइसकेको संरचनामा क्षति पुगेको देखियो, तत्कालै निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मतमा खटाएका छौं , बसपार्क पूरै मर्मत नभएसम्म बाँकी रहेको रकम भुक्तानी रोकिनेछ”, गिरीले भन्नुभयो, “हस्तान्तरण नहुँदै बसपार्क मर्मत गर्न थालिनु दुःखद् विषय हो, हस्तान्तरणको एक वर्ष समेत निर्माण व्यवसायीले बिग्रे वा भत्केमा मर्मत गर्नुपर्दछ ।” निर्माण व्यवसायीले अन्तिम किस्ता रु ३८ लाख रकम भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
पोखरा : पोखरा महानगरपालिका वडा नं -१५ को वडा कार्यालय परिसरमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गतको उक्त स्वास्थ्य केन्द्रको बिहीबार महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटनपछि आयोजित चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख आचार्यले जसरी दसैँलाई सत्यको विजय र असत्यको पराजयको प्रतीकको रूपमा लिइन्छ, त्यसरी नै हामीले पनि समाज भित्र रहेका सबै खालका नकारात्मक बिम्बहरूलाई परास्त गर्दै राम्रो र स्वस्थ ऊर्जा लिएर अगाडि बढ्ने तथा एक आपसमा अपनत्व र मेलमिलापको भावनालाई लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले आज नेपाली समाज स–साना विषयमा विभाजित बन्दै गइरहेको र वर्ष भरी मिलेर बसिरहेको समाजमा निर्वाचन नजिकिन थालेपछि दूरी बढ्ने गरेको भन्दै आ–आफ्नो आस्थालाई निर्वाचनमा प्रकट गरेर समग्र विकास निर्माणको सवालमा कोही पनि मुखरित हुन नहुनेमा जोड दिए । मेयर आचार्यले यस भन्दा अगाडि वडाहरूलाई वर्ष भरिमा जम्मा ४०/४१ लाख मात्र बजेट पठाउने गरेको महानगरपालिकाको आफ्नै इतिहासमा रहेकोमा यस पटक त्यसलाई परिमार्जित गरेर प्रत्येक वडालाई ५ करोडको हाराहारीमा महानगरको बजेट छुटाइएको बताए । उनले निर्वाचित भएर आए लगत्तै छोटो समयमा बजेट बनाउनुपर्ने बाध्यता रहेकाले सबैसँग बसेर आवश्यकताको पहिचान गरी प्रोजेक्ट बैङ्क बनाएर अगाडि बढ्ने अनुकूलता नभएपनि सबैको आवश्यकता बुझेर बजेटमा समेट्ने प्रयास गरेको दाबी गरे। उनले अगाडि बजेटमा यो वर्ष धेरै पाउनुपर्नेले कम प्राथमिकता पाएको र कम पाउनुपर्नेले धेरै पाएको पनि हुनसक्छ, तर, अर्को वर्ष सबैको राय सल्लाह लिएर आवश्यकता हेरी कार्यक्रमलाई अगाडि बढाउनेछौँ। मेयर आचार्यले अघिल्लो वर्षको क्रमागतमा रहेका र अगाडि बढ्दै गरेका योजनाहरूलाई निरन्तरता दिइएको जनाए । आचार्यले पोखरा भित्र धेरै सार्वजनिक जग्गाहरू रहेको र यो वा त्यो ढङ्गले अतिक्रमित रहेको भन्दै अब जो जसले सार्वजनिक जग्गा प्रयोग गरेका छन् सबैले अहिलेसम्म प्रयोग र्गयौँ, ुअब के गर्ने हो गर्नुस्ु भनेर जग्गा छाडिदिन अनुरोध गरे । अनुरोध गर्दा पनि नछाडे महानगर आफैले तारबार लगाउने बताए । पोखरा महानगर अहिले पोखरा भित्रको सार्वजनिक जग्गा कति छ भनेर खोजी गर्न ‘टाक्स फोर्स’ नै बनाएर अघि बढेकाले पोखरा–१५ पनि धेरै सार्वजनिक जग्गा भएको वडा भएकाले त्यस्ता जग्गा बल प्रयोग गर्नु पूर्व छोड्न आग्रह गरे । यस्तै, पोखरा–१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले हिजो निर्वाचनमा कुनै दल विशेषको उम्मेदवार भएपनि निर्वाचित भइसकेपछि अबको ५ वर्ष सबैको साझा जनप्रतिनिधि भएर काम गर्ने अभिलासा लिएको बताए। उनले उमेरका हिसाबले आफूह? सानो भएको भन्दै यस वडालाई नेतृत्व गर्ने हिजोका अग्रजहरू धेरै अनुभवी, बुद्धिजीवी र धेरै समय समाज सेवामा बिताएका व्यक्तित्वहरू भएकाले काम गर्ने क्रममा कहीँ कतै त्रुटी भए सुझाव तथा मार्ग निर्देशन गर्न आग्रह गरे । उनले अग्रजहरूबाट पाएको सुझावलाई मनन गर्दै ुहाम्रो वडा, राम्रो वडा, समुन्नत नागरिकहरू बसेको वडा र सबैले अपनत्व गर्ने स्थानीय सरकारको अनुभूति गर्ने वडा बनाउन चाहेको बताए । अध्यक्ष बानियाँले पूर्वाधारलाई मात्र अगाडि बढाएर मानवीय विकास नहुने भन्दै गरिबको झुपडीमा आर्थिक अभावले गर्दा कुनै बच्चा शिक्षाको उज्यालो घामबाट वञ्चित भयो अथवा दैनिक मजदुर गरेर खाने कोही गरिब बिरामी हुँदा औषधी उपचार गर्ने पैसा पाएन भने उसले स्थानीय सरकारको अनुभूति गर्न नसक्ने बताए। उनले नागरिक स्वस्थ भए भने मात्र समाज राम्रो हुने र समाजका लागि योगदान दिन सक्ने भन्दै अहिलेको बजेटमा शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार तथा महिला सशक्तीकरण र तालिमका विषयलाई प्राथमिकता दिइएको दाबी गरे। बानियाँले यसै वर्ष वडामा रहेका विपन्न तथा मजदुर ५० जना बढीलाई निःशुल्क औषधी उपचार र स्वास्थ्य बिमाका लागि बजेट छुटाइएको र वडा नं -१५ मा आर्थिक अभावका कारण विद्यालय जान नपाइरहेकालाई वडाको सम्पर्कमा ल्याउन आग्रह गर्दै त्यस्ता विद्यार्थीका लागि १० कक्षा सम्म निःशुल्क पढाउने ग्यारेन्टी गरे । उनले पोखरा महानगरबाट झन्डै ११ करोड र प्रदेश सरकारबाट पनि २ करोड बढी बजेट प्राप्त भएको भन्दै यसपालिको बजेटमा समयाभावका कारण वडावासीसँग छलफल गर्न नपाएपनि आगामी बजेटमा प्रत्येक टोल र संघ सँस्थाहरुसँग बसेर छलफल गरेर र आवश्यकताको पहिचान गरेर बजेट निर्माण गर्ने बताए । कार्यक्रममा कार्यपालिका सदस्य मन्दिरा परियारले अबको ५ वर्ष कुनै दल र पार्टी नभनी स्वतन्त्र पूर्वक समाज निर्माणका लागि अगाडि बताइन् । यस्तै, सहरी स्वास्थ्य प्रमुख कृष्ण बास्तोलाले वडावासीलाई स्वास्थ्य केन्द्रबाट उपलब्ध सेवाको लाभ लिन आग्रह गरे। उनले केन्द्रबाट परिवार नियोजन, खोप, ओपिडी, ड्रेसिङ, लगायतका सेवा दिने जानकारी दिए । कार्यक्रममा वडाका पूर्व अध्यक्षहरू, राजनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रमुख, समाजसेवी, शिक्षक तथा टोल विकास समिति लगायत आमा समूहका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
पोखरा : पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिल थप सेवा सहित सञ्चालनमा आएको छ । थप सेवा विस्तार गर्न करिब ३ महिना देखी बन्द थियो । छिटै आउन लागेको विश्वकप फुटबल प्रतियोगिता लक्षित गरेर ठाउँ ठाउँमा ठुला स्किन सहित थप सेवा विस्तार गरेको हो । जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमा महत्वपूर्ण खेलकुद प्रतिस्पर्धाका प्रत्यक्ष प्रसारण हेर्न पाइन्छ । बारमा करिब ५ सय जना एकै पटक सेवा दिन सक्ने गरी सेवा विस्तार गरेको बारका म्यानेजर हरि पौडेलले जानकारी दिए । बारमा थप एउटा बालकोनी, फेवाफन्टलाई अझ आक्रर्षण थप गरेको पौडेलले बताए । ‘फुड, ड्रिङ तथा म्युजिक’ लाई प्रथामिकता दिए सेवा प्रदान गर्ने बताए । बारमा हरेक दिन फरक÷फरक ब्यान्डले लाइभ प्रस्तुति दिँदै आएका छन् । ग्राहकहरूको विशेष मनोरञ्जनका लागि हरेक बेला बेला ख्यातिप्राप्त ब्यान्डका चर्चित कलाकारहरूको प्रस्तुति समेत चलाउदै आएको छ । ‘फुड, ड्रिङ र म्युजिक’ सहित खेलकुद तथा परिवारिक वातावरण चाहनेहरूलाई लक्षित गरी थप सेवा सहित सञ्चालनमा ल्याएको सञ्चालक गोपीबहादुर भट्टराईले जानकारी दिए । उनले सेवा थप गर्दा करिब २ करोड लगानी गरेको उनको भनाई छ । नेपाली तथा विदेशी खेलप्रेमी ग्राहकहरुलाई स्पोर्ट्स बार एन्ड ग्रिलले स्थतरी सेवा प्रदान गरेको उनको भनाई छ । बारभित्रै पुल टेबल, डार्ट गेम, चेस लगायतका खेलहरू खेल्न मिल्ने व्यवस्था मिलाइएको उनको भनाई छ । बारमा जन्मदिन, म्यारिज एनिभर्सरी, प्राइभेट पार्टी आदिका लागि विशेष व्यवस्था समेत गरेको गरिएको छ । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए ।

