च्याङ्ग्रा अघिअघि, वडाध्यक्ष गुरुङ पछिपछि
बद्लिदो समय र मूल्य
पाेखरा | असोज १३, २०७९

पोखरा: केही काला, केही सेता–काला र केही टाटेपाटे च्याङ्ग्राहरु सडक छेउ कुनामा कुदिरहेका छन् । उनीहरुले गन्तव्य चुम्नै लागेका छन् । त्यसैले उनीहरु कुद्न अब धेरै पाउदैनन् ।
हिमालपारीका जिल्ला मुस्ताङ तथा बझाङ आसपासको जिल्लाबाट झारिएका भेडा च्याङ्ग्राहरुले यतिबेला याम्दी पुल आसपासमा हैकम जमाएका छन् ।
उनीहरुको अन्तिम गन्तव्य जौबारी हुदैं पोखराको पुरानो टुडिखेलसम्म हो । गन्तव्य नजिक आइपुगेका ति बथानले बाटो बिराइहाले भने ठेगान लगाउन एउटा समुहमा ३/४ जना गोठाला छन् ।
च्याङ्ग्राहरु सडकबाट दायाँ बाँया गर्ने बित्तिकै गोठालाहरु चनाखो भइहाल्छन् र लाइनमा ल्याइहाल्छन् । च्याङ्ग्रा अघिअघि कुद्छन् । अनि उनीहरु पछिपछि ।
लय गुमाएर एकातिर भाग्ने च्याङ्गालाई तह लाउनेमा ति गोठालाका हुलमा अरु कोही नभएर वडाध्यक्ष सुरेन्द्र गुरुङ छन् ।
उनी गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ का वडाध्यक्षका रुपमा निर्वाचित भएका थिए । वडाध्यक्ष गुरुङ यसरी च्याङ्ग्राको पछि कुद्न थालेको पाँच दिन बितिसकेछ ।
‘मुस्ताङबाट भेगखोलासम्म हामीले तीन लाएर धपाएरै ल्यायौं । त्यसपछि हेम्जासम्म ट्रकमा ल्यायौं र फेरि धापाउदै यहाँसम्म आइपुगेका छौं, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले भने, ‘च्याङ्ग्राको पछिपछि कुद्न थालेको ५ दिन भैसकेछ ।’
उनले पोखरासम्म ल्याउँदा विभिन्न समस्याहरुको सामना गरेको बताउदै मुल्य वृद्धि भएको बताए । ‘हामीले माथी खरिद गर्दा नै महंगो पर्न गयो त्यसले गर्दा पोखरेलीहरुलाई महंगो परेको हो, उनले भने, ‘के गर्ने चाइना बोर्डर खुलेको भए किन्नेहरुलाई पनि अलि सस्तो पर्न जान्थ्यो ।’
उनले गत वर्षभन्दा यसपटक पोखरामा कम भेडा च्याङ्ग्रा भित्रिएको बताए । उनका अनुसार गत वर्ष भेडा र च्याङ्ग्रा गरि १२ हजार बढी झरेको थियो । भने यस वर्ष भेडा र च्याङ्ग्रागरि करिब साढे ६ हजार पोखरा भित्रिएको छ ।
सो भेडा तथा च्याङ्ग्राहरु खोज्न पोखरेली मात्रै हैन, तनहुँ, चितवन, स्याङ्जा, बुटवल तथा काठमाडौं लगायतका स्थानदेखि आइपुग्छन् ।
तुलनात्मक रुपमा गतवर्षभन्दा केही मात्रामा मुल्य वृद्धि भएपनि च्याङ्ग्राको निर्वाध विक्री भइरहेको वडाध्यक्ष गुरुङ बताए । ‘मैले ५ सय वटा खरिद गरेको थिए । त्यसमध्ये २ सय वटा काठमाडौं गइसक्यो, उनले भने, अब यस्तै ४०/५० वटा छ त्यो पनि आज भोली मै सकिन्छ । महंगो भएपनि च्याङ्ग्रा त खोसाखोस छनी ।’
गुरुङले आफ्नो वडाध्यक्षको सेवासुविधाले मात्रै दैनिकी गुजार्न गाह्रो भएको बताउदै च्याङ्ग्रा विक्री गर्न पोखरा झरेको बताए । ‘मेरो तलबले त के नै पो हुन्छ र यो व्यवसाय सिजनल हो । दशैँमा मात्रै हुने गर्छ । त्यसैले अहिले च्याङ्ग्रा बेच्न पोखरा आएको हुँ ।’ उनले भने ।
भेडाको मूल्य केही कम छ भने च्याङ्ग्राको मुल्य साइज अनुसार निर्धारण गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार च्याङ्ग्राको मूल्य ३५ देखि ५० हजारसम्म निर्धारण गरिएको छ ।
‘विगतका वर्षहरुमा भन्दा यस वर्ष भेडा –च्याङ्ग्राको मूल्य बढ्नु ग्राहकका लागि नौलो छैन । यो महंगाईलाई मैले स्वभाविक रुपमा लिएको छु, च्याङ्ग्रा किन्न आएका पोखरा महानगरपालिका २१ का धुर्वराज पराजुलीले भने, ‘किनभने वर्तमान समयको आर्थिक अवस्था, लगानी र व्यापारीको खरिदबारे हिसाब गर्दा स्वभाविक नै मान्नुपर्छ । हुनत हामीले खान थालेको यतिका वर्ष भइसक्यो मूल्य केहीमा घटेको छैन । तर आनुपातिक रुपमा अलि नै बढेको हो की भन्ने लागेको छ ।’
पराजुली जस्तै पोखरा १९ लामाचौरका तारा गर्बुजाको परिवार पनि हरेक वर्ष च्याङ्ग्राको स्वाद लिने गर्छन ।
दशैँमा भेडा च्याङ्ग्राको मासु खाने प्रचलन अनुसार च्याङ्ग्रा किन्न पुगको बताइन् । ‘यो सिजनल जस्तै हो । हामीले चाहदैमा अरुबेला पनि किन्न पाइदैन, उनले भनिन्, ‘त्यसैले दशैँको अवसरमा खाने गरिन्छ । अर्काे कुरा यसले लेकका जडिबुटी खाएका हुनाले स्वास्थ्यबर्दक हुने विश्वासले हरेक वर्ष च्याङ्ग्रा खाने गरिन्छ ।’
बद्लिदो समय र मूल्य
याम्दी आसपासमा यतिबेला भेडा च्याङ्ग्रा किनबेचको माहौल छ ।
त्यहाँ सानोतिनो मेलानै लागिरहेको छ । च्याङ्ग्रा व्यापारी, ग्राहक र रमाइलो हेर्नेहरुको भीड देखिन्छ । त्यही भीडमा भेटिएका पुराना गोठाला जो उमेरले ३ बिसे १४ पुगे । उनले विगत सम्झदै वृद्ध प्रेम बहादुर शाहीले भने, ‘हामीले जम्मा २० रुपैयाँ नाफा राखेर च्याग्रा बेच्थेउ ।’
उनले करिब ५० वर्ष पहिले १ सय देखि १ सय ५० सम्म च्याङ्ग्रा बेच्ने गरेको बताए । ‘अहिले यहाँ रमाइलो हेर्न आएको हुँ । मेरो बेलामा च्याङ्ग्रा हेरेर बेचिन्थ्यो, स्मरण गर्दै शाहीले भने, ‘१ सय, १ सय २० देखि बढीमा १ सय ५० रुपैयाँसम्म बेचेको याद । त्यै हो २० रुपैयाँ जति नाफा खाइन्थ्यो ।’
१ सय रुपैयाँमा च्याङ्ग्रा बेचेका शाहीको उमेरसँगै बजार भाउ पनि बद्लिएको छ । र च्याङ्ग्राको मूल्य यसवर्ष ५० हजारसम्म पुगेको छ । शाहीले परिवर्तित समयानुसार मूल्य वृद्धि हुनुपर्ने तर्क राखे । ‘मुन्छेहरुले खेती किसानी गर्न छाडे । दुख गर्न छाडे । अहिले त किन्न पाए भाछ, उनले भने, ‘ मै पनि त ७४ वर्ष पुगे । त्यही भएर यो महंगी ठिकै लाइच ।’ (शाही कै भाषामा)
काभ्रेपलाञ्चोक: बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...
सर्लाही: सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहर...
पोखरा: अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...