काठमाडौं: आयरल्यान्ड वल्भसविरुद्ध दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित दर्ता गरेको छ । नेपालले आइरिश टोलीविरुद्ध ६ विकेटको जित दर्ता गरेको हो । आयरल्यान्डले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा ४ चौका सहित सर्वाधिक ३७ रनको अविजित इनिङ खेले । यस्तै दिपेन्द्र सिंह ऐरिले १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे । सन्दिप जोराले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए । आयरल्यान्डको पहिलो शिकार ओपनर ब्याटर आसिफ शेख रहेका थिए । चौथो ओभरमा उनी ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाएर ग्यारेथ डीलेनीको बलमा आउट भएका थिए । सोहि ओभरमा कप्तान रोहित पौडेल २ बल खेल्दै शुन्यमा पेभेलियन फर्किए । गुलशन झा पाचौ ओभरमा बेन व्हाइटको बलमा ४ रन बनाएर क्याच आउट भए । ३७–३ को अवस्थाबाट ओपनर कुशल भुर्तेल र सन्दिप् जोराले इनिङ सम्हाल्दै चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । सो साझेदारी सन्दिप थोमस माएसको बलमा क्याच आउट भएपछि तोडिएको थियो । आयरल्यान्डका लागि ग्यारेथ डीलेनीले २ तथा बेन व्हाइट र थोमस माएसले समान १/१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आइरिश टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाउन सक्यो । आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । तर अन्य ब्याटर भने चल्न सकेनन् । करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै रस अडेयरलाई बोल्ड गरेका थिए । पहिलो बलमा चौका पर्हार गरेका उनी आउट भएका थिए । चौथो ओभरको अन्तिम बलमा केड कार्मिकाएल ललित राजवंशीको बलिङमा १२ बलमा ८ रन बनाएर एलबिडब्लुमा फसे । मोर्गन टपिङ सातौ ओभरको दोस्रो बलमा गुल्शन झाको बलमा शुन्यमा बोल्ड भए । कप्तान निल रकलाई पनि गुलशनले नै ५ रनमा क्याच आउट गराए । ग्यारेथ डीलेनि ४ रन बनाएर ११औ ओभरमा कुशल मल्लको शिकार बने । त्यसपछि आउट हुने डोहनी थिए । उनी कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिद्वारा क्याच आउट भएका थिए । फियोन ह्याण्ड पनि १७ बल खेल्दै ११ रन बनाएर कुशल भुर्तेलकै शिकार बने । लियम मकार्थी ललितको बलमा १६ रन बनाएर आउट भए । उनले ७ बल खेलेर २ चौका र १ छक्का एलबिडब्लु आउट भए । थोमस मेयस १३ बलमा १६ रन बनाएर १९औ ओभरमा रन आउट भए । इनिङको अन्तिम बलमा म्याथिउ हमफ्रिज ६ रन बनाएको अवस्थामा रन आउट भए भन ११ नम्बरका ब्याटर बेन व्हाइट शुन्यमा अविजित रहे । नेपालका लागि ललित राजवंशी, गुलशन झा तथा कुशल भुर्तेलले समान २/२ विकेट लिए । यस्तै करण केसी र कुशल मल्लले १/१ विकेट लिए । नेपालले ८ बलरको प्रयोग गरेको थियो । जसमध्य सोमपाल्कामी, दिपेन्द्र सिंह ऐरि र अविनाश बोहराले कुनै विकेट लिन सकेनन् । आयरल्यान्ड वल्भसविरुद्ध नेपालका लागि १५ जनाको स्क्वाड मध्य आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव बाहिर रहेका थिए । सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका रहेको छ । नेपाल भोलि अर्को खेल खेलेपछि बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ ।
बेइजिङः जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्ने छन् । त्यस्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।
काठमाडौं: गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्। अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। वैशाख ५ गते विवाह तय भएको विष्णुले जानकारी दिए। झापाबाट उनीहरूको विवाह हुन लागेको हो। दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तोसमेत गरिसकेका छन्। झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्। एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्। 'के माया लाग्छ र?, मिनरल वाटर, धोकेबाज हौं तिमी, कट्टा हान्दिन्छु' जस्ता गीतहरू उनका निकै चलेका गीत हुन्। यता गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। उनी गीतसंगीतमा समेत सक्रिय छन्।
काठमाडौंः होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनले भने, “फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति उनीहरुको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको हकमा छानबिन भइरहेको छ ।” जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपाङ्ग्रे्रे सात वटा सवारी साधनलई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ । लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो । फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।
म्याग्दी: दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र‘ घ्वार्र।। गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या घट्दै गएपछि काठका ठेकीमा मदानीले दही मथेर मही पार्ने चलन हराउँदै गएको हो । करिब एक दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या बाक्लै थियो । कुनै समय गोठमा रहेका पशुचौपाया र ठेँकी हेरेर घरको हैसियत आकलन गरिन्थ्यो । अहिले समय, परिवेश फेरिएको छ । समयसँगै मानिस गाउँ छोडेर सहर र सहर छोडेर विदेश पस्न थालेका छन् । गाउँमा पशुपालन गर्ने, रैथाने सीपमा आधारित ठेकाठेकी बनाउने चुँदारा व्यवसाय पनि हराउँदै गएको स्थानीय बताउँछन् । रैथाने सीप प्रयोग गरेर जङ्गलका काठबाट बनाइने ठेकाठेकी बिक्न छोडेपछि अहिले आफ्नो पेसा नै सङ्कटमा पर्ने अवस्था आएको जिल्लाका चुँदारा व्यवसायीले बताएका छन् । गाउँघरमा कतैकतै मही पारे पनि प्लास्टिकका ठेँकीको प्रयोग हुन थालेको ५० वर्षदेखि काठका ठेकाठेकी बनाउँदै आउनुभएका बुर्तिबाङका नोठबहादुर विकले बताए । रैथाने काठका सामग्रीलाई आयातित प्लास्टिकका सामग्रीले विस्थापित गरेको उनको भनाइ छ । काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस सिपालु मानिन्छन् । ठेकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेसा भन्ने गरिएको विकले बताए । कलात्मक रुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि सङ्कटमा पर्न थालेका उनको भनाइ छ । ‘व्यवसाय नै परिवर्तन गर्ने अवस्था आएको । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग घट्दै गएपछि जीविकोपार्जन गर्नसमेत समस्या हुन लागेको छ’, विकले भने । वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आएका बेनी नगरपालिका(५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले यो पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए । १०र१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसालाई आफूले निरन्तरता दिएको भन्दै उनले दरबाट बनेका ठेकाठेकी बिक्न छोडेपछि जीविकोपार्जनमा समस्या हुन थालेको बताए । आफूले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायत ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको श्रीकृष्णलालको भनाइ छ । केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक रू २५ र ३० हजारसम्म आम्दानी हुने गरेको भन्दै पछिल्लो समय मेलापर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका उनले बताए । अहिले मुस्किलले मासिक रू पाँचरसात हजार मात्र कमाइ हुने गरेको श्रीकृष्णलालले बताए । उनले भने, ‘प्लास्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।’ बजारमा काठका सामानको बिक्री घट्दै जानु, आयातित प्लास्टिकका सामग्रीको प्रयोग बढ्नु, गाउँघरमा काठका सामान बनाउन कच्चा पदार्थको अभाव हुनुलगायत कारणले परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ । मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरुले बताउँछन् । विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायत समान बनाउने गरेका विश्वकर्माले यी सामानहरु बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गर्दछन् ।
तनहुँ: तनहुँको भिमाद नगरपालिका– मिछुर्लुङ्गमा कौराहा प्रतियोगिता हुने भएको छ । नेपालीहरुको नयाँ वर्षको दिन मगर समुदायमा प्रचलित कौराहाको संरक्षण गर्दै गाउँको पर्यटन प्रबद्धन गर्नुका साथै स्थानीयको आयआर्जनमा वृद्धि गर्ने हेतुले कौराहा प्रतियोगिता आयोजना गर्न लागेको मिछुर्लुङ्ग विकास समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । साथै कौराहा प्रतियोगिताको अवसरमा लोकदोहोरी गायक राजु परियार र लोकदोहोरी गायिका शिला आलेको पनि विशेष सांगितक प्रस्तुति हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने समुहले नगद ७५ हजार, द्धितीय हुनेले ५० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना हुने दुई समुहले १०÷१० हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् । कौराहा करिब वि.सं १९८० सालमा तनहुँको रिसिङबाट सुरु भएको पाईन्छ । कौराहा गीत भर्खरका ठिटाहरूले खैँजडी बाजा बजाएर गाउने गर्छन् भने त्यस गीतमा चढ्दो उमेरका युवतीहरू भेषभूषामा सजिएर ताल मिलाएर नाच्ने गर्छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो । चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताउनुभयो । भेटमा प्रधानमन्त्री दाहालले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै भेटघाटमा सहभागी हुनुभएका अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिनुभएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । सो अवसरमा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो । चितवनबाट प्रमुख रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौँ आएको हो । भेटघाटका क्रममा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहालसमक्ष पहलकदमीका लागि अनुरोध गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।
चितवन: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे । प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ । त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उनले बताए । हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालले बताए । उनले भने, “प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु ।” तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताए । राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गर्दै उनले अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताए । विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताए। राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको अध्यक्ष दाहालको भनाइ थियो ।
अछाम: अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएको प्रहरी निरीक्षक साउदले बताए । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

