पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोग राष्ट्रका सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको बताएका छन् । उनले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुण राख्नु आयोगका लागि चुनौतीपूर्ण रहेको पनि उल्लेख गरे । प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश, पोखराको तेस्रो वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आयोगले गरेको काम र भूमिकाको प्रशंसा समेत गरे । उनले भने, ‘देश संघीय संरचनामा रूपान्तरण भएसँगै जारी हुनुपर्ने संघीय निजामती सेवा ऐन जारी नभएको विषम परिस्थितिमा पनि प्रदेश सरकार र प्रदेश लोकसेवा आयोगबाट प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह हुँदै आएको छ ।’ पाठ्यक्रमलाई आवधिक रुपमा परिमार्जन एवम् अध्यावधिक गर्ने, परीक्षा प्रणालीमा सामयीक सुधार गर्ने जस्ता विधि र प्रक्रिया अवलम्बन गरी उम्मेदवारको परीक्षण र छनौट प्रणालीको गुणस्तरीयता कायम गर्दै योग्यता प्रणालीको संरक्षण गर्नमा प्रदेश लोक सेवा आयोग निरन्तर क्रियाशील रहनेछ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । प्रदेश प्रमुख भट्टले संविधान र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका कार्यहरुको अलावा स्मारिका प्रकाशन जस्ता रचनात्मक कार्यहरु समेत गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि नियमित कार्यहरुको प्रभावकारिता अभिवृद्धि गर्दै थप रचनात्मक कार्यहरु गर्न उत्प्रेरणा र सफलता मिलोस् भन्ने कामना गरे । उक्त अवसरमा उत्कृष्ट कर्मचारीबाट आयोगले अधिकृत छैटौं गोविन्द पौडेललाई नगद र सम्मानपत्रसहित प्रदेश प्रमुखबाट पुरस्कृत गरिएको थियो । प्रदेश प्रमुख भट्टले लोक सेवा आयोग गण्डकी प्रदेशले प्रकाशित गरेको स्मारिका समेत लोकार्पण गरे।
काठमाडौं: आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल ‘ए’ टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइतबार विनोद भण्डारीको कप्तानीमा दुवै खेलका लागि टोलीको घोषणा गरेको हो । नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग यही मार्च २८, २९ र ३० तारिख टी–२० र अप्रिल ३, ५ र ७ तारिख एक दिवसीय सिरिज खेल्दैछ । क्यानले घोषणा गरेको नेपाल ‘ए’ टी–२० को टोलीमा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकास अग्री रहेका छन् । यस्तै एक दिवसीयमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल रहेका छन् ।
स्याङ्जा: स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ६ भिडाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ५४ वर्षीय हर्कबहादुर गोदरको मृत्यु भएको स्थानीय ऋषि तिवारी(राजु)ले बताए । गोदार घर नजिकैको गोरेटो बाटो हिँड्ने क्रममा हाइटेन्सन लाइन चुटेर घाटीमा छोइँदा घटनास्थलमै मृत्यु भएको हो । प्रहरी घटना स्थलमा पुगेको र अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं: उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा जाँदैछन् । श्रेष्ठ परराष्ट्रमन्त्री भएपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री श्रेष्ठ सहितको टोली चीन भ्रमण जान लागेको हो । उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने कार्यसूची छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार एक शुभकामना सन्देशमार्फत् उहाँले नेपालीहरुको महान पर्व फागु पूर्णिमा ९होली पर्व० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ – ‘खुशीको रंगहरु छर्दै मौलिक संस्कृतिहरुको संरक्षण र सम्वर्द्धन गर्ने प्रेरणा मिलोस् भन्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’ नेपालमा पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व) मनाइने गरिन्छ । सबैले आपसी मनोमालिन्यता, रिस, राग, द्वेष, मतभेद बिर्सेर एकअर्कालाई रङ अबिर लगाएर फागु पूर्णिमा (होलीपर्व) मनाउँदै हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वासका साथ यस पर्व धुमधामका साथ मनाइने गरिन्छ ।
पोखरा: गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ । पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवद्र्धनको उद्देश्यका साथ पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ, सञ्चारकर्मी समेतको सहभागितामा कार्यक्रम गरिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । पोखराबाट नजिकै रहेको प्राकृतिक, सांस्कृतिक सँगै धार्मिक पर्यटनका दृष्टिले सम्भावना युक्त स्थानको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस पटक ठूलाकोट–ठूलास्वारा लाई समेट्न खोजिएको उहाँले बताउनुभयो । कास्कीको पोखरा महानगरपालिका वडा नं २८ मा पर्ने ठूलाकोट र मादी गाउँपालिका वडा नं ५ मा पर्ने ठूलास्वारा दुुबै गाउँ पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुुन् । ठूलास्वारामा पर्यटकलाई लक्षित गरी होमस्टे पनि सञ्चालन गरिएको छ । नेपालका २२/२४ राजाका पालादेखि नै चासो र चर्चा कमाएको ठूलाकोट–ठूलास्वारा क्षेत्र बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको क्षेत्र भएका कारण पनि रोयल ट्रेक क्षेत्रका रुपमा पनि प्रसिद्ध छ । तारामण्डल अवलोकनका लागि पनि उपयुक्त गन्तव्यका पर्ने यो स्थानलाई पर्यटकीय रुपमा प्रवद्र्धन र विकास गर्ने सोच राखिएको नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवम् पोखरा पर्यटन परिषद्का पूर्व सदस्य टीकाराम सापकोटाले बताउनुभयो । गाउँ परिचयात्मक भ्रमण अन्तर्गत शुक्रबार पोखरा–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने, जनप्रतिनिधि एवम् स्थानीयवासीसँग अन्तरक्रिया गरिएकोमा शनिबार मादी गाउँ पालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, जनप्रतिनिधि, ठूलास्वारा सामुदायिक होमस्टेका पदाधिकारीसँग छलफल एवम् अन्तरक्रिया गरिएको थियो । छुट्टाछुुट्टै भएका अन्तरक्रियामा वडा अध्यक्ष लामिछाने, गाउँपालिका अध्यक्ष गुरुङ लगायतले भिटोफ गण्डकीले प्रवद्र्धनात्मक कार्यक्रमका लागि यस क्षेत्रलाई समेटेको भन्दै आभार व्यक्त गर्नुुभएको थियो । यस क्षेत्रको पर्यटन विकासका लागि पर्यटनसम्बद्ध संघसंस्थासँग सहकार्य गर्न आँफूहरू आतुर रहेको बताउँदै उहाँहरूले पर्यटनसँग गाउँलाई जोड्न सकेमा बढ्दो गाउँ पलायनका अवस्थालाई रोक्दै उत्पादन बढाउन सकिनेमा जोड दिनुुभयो । ठूलाकोटमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष लामछाने सहित नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष टीकाराम सापकोटा, वडा सदस्य डाल्डादेवी भुजेल, देउमाडी टोल विकास संस्थाका अध्यक्ष सन्तोष केसी, पर्यटन विज्ञ रामजी शर्मा, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, प्राध्यापक दीपेन्द्र पहारी लगायतले बोल्नुुभएको थियो । त्यस्तै ठूलास्वारामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ सहित नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकारम सापकोटा, बोर्डका बरिष्ठ अधिकृत कुन्दन मिश्र, मादी गाउँपालिका होमस्टे महासंघका अध्यक्ष भीम गुरुङ, भिटोफ गण्डकी सदस्य एवम् कार्यक्रम संयोजक विमला सापकोटा, चितेपानी देउराली आमा समूहका अध्यक्ष सावित्री सापकोटा, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ डा. रामजी शर्मा, प्राध्यापक दीपेन्द्र पहारी, मादी –५ का वडा अध्यक्ष होमनाथ अधिकारी, ९ का अध्यक्ष मनोज गुरुङ, स्थानीय समाजसेवी कुमबहादुर गुरुङ, लगायतले बोल्नुभएको थियो । भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण पहारीले गर्नुभएको थियो ।
काठमाडौं: आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई-मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।
पोखरा: लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशमा जीतबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिवमा क्या. बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित भए । सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन चुनिए । अधिवेशनले २३ कार्यसमिति निर्वाचित गरेको प्रचारप्रसार उपसमिति संयोजक राजबहादुर गुरुङले जानकारी दिए । कोषाध्यक्ष निर्वाचित सदस्यहरुबाट बैठकले निर्णय गर्ने उनले सुनाए । भने, उनका अनुसार केही सदस्यहरु पछि मनोनित गरिनेछ । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापती तथा उप प्रधानमन्त्री पूर्णबहादुर खड्काले गरेका थिए । कार्यक्रममा उनले पार्टी संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले पार्टीका भातृ एवम् शुभेच्छुक संगठनहरू बलियो र क्रियाशील हुन जरुरी रहेको सुनाए । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । उनले फरक प्रसंगमा उपसभापति खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर दिएको धोकाको बताए । उनले ४ मंसिर २०७९ को निर्वाचनका बेला मतदातालाई दिएको वचन पालना नगरेर प्रचण्डले धोका दिएको बताएका हुन् । ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ’, उनले भने, ‘भन्नुपर्ने कुराहरु धेरै छन् । यसको जवाफ समयले पनि देला ।’ उपसभापति खड्काले संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थाल्ने विरुद्ध संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि कांग्रेस खरो भएर उत्रने बताए । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले विद्यमान संविधान संशोधन गरी राज्य पुनसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए । धेरै जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागूगर्न संविधान संशोधन गर्नु पर्ने, आदिवासी जनजातिको अधिकारलााई नेपालको संविधानको मौलिक हकमा राख्नुपर्नेमा उनको जोड थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा गुरुङ मगरहरुको बाहुल्यता रहेकाले महासंघ बलियो हुँदा कांग्रेस सबल हुने बताए । आदिवासी जनजातिले प्रजातन्त्रको रक्षा पहिल्यैदेखि गरिरहेको उनको भनाइ थियो । ‘जनजातिहरुमा खुल्लापन छ । त्यो भनेकै प्रजातन्त्र हो,’ उनले भने, ‘उनीहरुले आदिम कालदेखि प्रजातन्त्रको रक्षा गरिरहेका छन् । त्यसैले आदिवासी जनजाति र प्रजातन्त्रबिच पहिल्यैदेखिको सम्बन्ध छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य अब्दुल सत्तार, दिलमान पाख्रिन र सरस्वती तिवारी, नेका गण्डकी सभापती शुक्रराज शर्मा, कास्कीका सभापती किशोरदत्त बराल, प्रदेशसभा सदस्यहरु बिमला गौचनल सरस्वती गुरुङ, जीत शेरचन, जीतप्रकाश आले, तमुसंघ नेपालका अध्यक्ष भुवनसिंह गुरुङ, महासंघ कास्की अध्यक्ष आशबहादुर गुरुङ लगायतले लोकतन्त्रवादी आदिवासी जनजाति संगठित भएर पार्टीको हितमा लाग्नुपर्ने बताएका थिए ।
पोखराः लेखनाथको भण्डारढिकमा सम्पन्न सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फको उपाधि एलसी ब्रदर्शले जितेको छ । भण्डारढिक खेलमैदानमा आज (शनिबार) भएको फाइनल खेलमा घरेलु टोली आदर्श युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एलसी ब्रदर्श च्याम्पियन बनेको हो । एलसी ब्रदर्शको जीतमा म्यान अफ द म्याच बनेका किशोर गुरुङले निर्णायक गोल गरे । उपाधिसँगै एलसी ब्रदर्शले नगद रु ३ लाख ३ हजार ३ सय ३३, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आदर्श क्लबले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारे । विधागततर्फ उत्कृष्ट गोलरक्षकका रुपमा एलसी ब्रदर्शका सन्दीप राउत घोषित भए । यस्तै उत्कृष्ट डिफेन्डरका रुपमा आदर्श क्लब भण्डारढिकका अर्जुन गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा विकाश परियार पुरस्कृत बने । सो प्रतियोगिताबाट अनुशासित टिमको रुपमा आरएस बिच फुटबल क्लब पुरस्कृत भए । गत ३ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो ।

