बागलुङ: बागलुङको गलकोटमा सम्पन्न भएको बुकी कप–२०८० को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट एण्ड फिल्म्सले बागलुङको गलकोट नगरपालिका वडा नम्वर–६ को मजुवाफाँटमा पुस ८ गतेदेखी बुकी कप–२०८० आयोजना गरेको थियो । प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २७–२५, २२–२५, २१–२५, २७–२५ र अन्तिम सेटमा १५–६ को अन्तरमा उपाधि चुमेको हो । बुकी कपको उपाधि विजेता त्रिभुवन आर्मी क्लबले नगद ५ लाख, कप, मेडल र प्रमाणपत्र गरेको छ । प्रतियोगितामा उपविजेता भएको नेपाल पुलिस क्लबले २ लाख ५० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
इलाम: चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ । उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन् । प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ । उत्पादन बन्द भएपछि किसान भने यतिबेला बोटको चिया काट्न व्यस्त छन् । यतिबेला काटिएको चियाबाट पुनः वैशाख महिनादेखि उत्पादन सुरु गरिन्छ । योबेला चियाको बोटलाई छाँटकाट गर्नुपर्ने हुन्छ । मल हाल्ने बेला पनि यही हो । केही किसानले चैत महिनाभित्रै चियाको फेद वरिपरि खनेर मल हाल्ने गर्छन् । बर्खामा पलाउने झारलाईसमेत यही बेला फाल्ने गरिन्छ । आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया छाँटकाट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षदेखि किसानलाई तालिम दिन दिएकाले आधुनिक तरिकाबाट चिया काट्न थाले पनि अझै पर्याप्त सिकाइ नपुगेको सम्बद्ध किसानको भनाइ छ । गत वर्ष नैै चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि उक्त बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानलाई केही सहज भएको थियो । बीचमा चियाखेतीप्रति कम चासो दिएका किसानलाई केही राहत भए पनि अझ पर्याप्त सिकाइ नपुगेको उनीहरू बताउँछन् । सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायत स्थानमै पुगेर उक्त बोर्डले दुई हजार सात सय ९० जनालाई तालिम दिएको थियो । नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमै खपत हुने तथ्याङ्कमा उल्लेख छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको छ । उक्त बोर्डको तथ्याङ्कअनुसार इलाममा आठ हजार आठ सय ७६ किसान चियामा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती भइरहे पनि समयमा चियाको मूल्य पाउन अझैपनि किसानलाई समस्या हुँदै आएको छ ।
तनहुँ: तनहुँमा भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ । तनहुँको भानु नगरपालिका–८ देउरालीस्थित जंगलबाट भरुवा बन्दुक, २ सय ग्राम बारुद, बन्दुकमा लाग्ने ७ थान केभसहित दुईजनालाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीको टोलीले आइतबार बेलुका प्रकाउ गरेको हो । भरुवा बन्दुकसहित प्रकाउ पर्नेमा भानु नगरपालिका घर भएका ५८ वर्षीय विष्णुहरी लोहनी र ७५ वर्षीय लक्ष्मण भुजेललाई पुर्कोट प्रहरी चौकीबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो ।
काठमाडौं: जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ । जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ । इशिकावाको शुजु शहरमा केही घर र विजुलीका पोलहरू ढलेको जापानका सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । यसैगरी निगाता र टोया क्षेत्र पनि सुनामीबाट प्रभावित हुने अनुमान छ । यी क्षेत्रमा तीन मिटरसम्म उचाइको लहर उठ्ने बताइएको छ । जापानको सबैभन्दा ठूलो आणविक ऊर्जा अपरेटर कान्साई इलेक्ट्रिक न्युक्लियर प्लान्टहरुमा भने भूकम्पले क्षति नपुर्याएको बीबीसीले जनाएको छ । जापानमा सन् २०११ मा भूकम्पपछि आएको सुनामीका कारण हजारौंको ज्यान गएको थियो । सुनामीका कारण परमाणु संयन्त्रमा पनि क्षति पुगेको थियो ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा आइतबार कवि लेखनाथको समझनामा विशेष कार्यक्रमको आयोजना गरियो । कवि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थिया । कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले कविका कृति र रचनाहरुका कारण उहाँ हामिमाझ अजर र अमर रहिरहनुभएको बताउँदै सबैले आफ्नो जिवनमा असल एवं भावि पुस्ताले सम्झन लायक कर्म गर्नुपर्ने बताएका थिए । अध्यक्ष श्रेष्ठले कवि शिरोमणिको योगदानलाई जीवन्त राख्ने गरी महोत्सवस्थलमा उहाँको जन्मघर हेर्ने व्यवस्था मिलाइएको वताउँदै यसको परिकल्पनाकार व्यवसायी विश्वगोपाल श्रेष्ठप्रति धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा कवि लेखनाथका रचनाहरु वाचन गर्दै सघका पुर्वअध्यक्ष चतुराखर अधिकारीले कविका रचनाहरु प्रकृति र मानवतावादी रहेको र त्यसबेला रचना गरिएका कृतिहरु अहिलेको समयमा पनि सान्र्दभिक रहेको वताउँदै नेपाली कविताको श्रीवृद्धिमा कविशिरोमणि लेखनाथ पौड्यालको महत्वपूर्ण र विशिष्ट योगदान रहेको बताएका थिए । उक्त अवसरमा धन्यवाद व्यक्त गर्दै महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले पूर्वीय दर्शनभित्र लुकेर बसेका जटिलतालाई व्यावहारिक रूपमा सिर्जनामार्फत सर्वसाधारणसम्म पु¥याउने काम गरेको वताउँदै सामाजिक चेतना र जागरणको आवाज कवितामार्फत उठाउन कवि लेखनाथको विशेष भूमिका रहेको बताएका थिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवको ११ औं दिन आइतबार मात्रै ८० लाख बराबरको कारोबार भएको र हालसम्म ८ करोड ५० लाखको कारोबार भएको प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए । यसै गरी महोत्सवको हालसम्म ३ लाख दर्शकहरुले अवलोकन गरेका छन । आइतबार मात्रै २० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले जानकारी दिईन । हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखीएको दर्शकहरुको उपस्थीती र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले बताए । आईतबार लोकदोहोरी कलाकारहरु राजु परियार, जलुमाया गुरुङ, श्रीराम थापा, ईन्द्रा गुरुङ, मञ्जु वि.क., रामप्रसाद ढकाल, पुजा गुरुङ बाल कलाकार प्रिन्स लम्साल लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ पवन खतिवडा‘म्याकुरी’ र बेलुका लाईभ कन्सर्टमा र्यापर विवश जेके, डेभिड शंकर र ओम गुरुङ लगायतले स्टेज तताएका थिए । आइतबार लोकदोहोरी कलाकारहरु पार्वती जिसी, शिवहरी ढुंगाना, सुमन परियार, ध्रुव जि.सी, लक्ष्मी नेपाली, गगन गुरुङ, देवी महतो, दिपक अधिकारी, नविना सुवेदी र माधव चापागाई लगायतको प्रस्तुती रहनेछ । महोत्सवको सोमबार नै एक समारोहका विच पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्यले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
बाँके: बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए ।
पोखरा: साहित्यकार गोपाल बैद्य किञ्जललाई वि.स. २०८०यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलाई प्रदान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा त्रिदिवसीय जन्म जयन्ती मूल समारोह कार्यक्रम अन्तर्गत आइतवार विभिन्न संघ सस्थाको सहभागीतामा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा राखिएको मूल समारोहमा साहित्यकार गोपाल बैद्य किञ्जललाई बृद्धाबस्थाका कारण घरमै पुरस्कार अर्पण गरिएको जानकारी गराइएको थियो । कविशिरोमणि लेखनाथ पौड्यालको कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवाजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कार पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ । यसै गरी लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्र रहेको लेखनाथ पत्रकारिता पुरस्कार समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान गरेकामा कान्तिपूर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलालाई पुरस्कार अर्पण गरिएको थियो । २०६४देखि पत्रकारितामा निरन्तर सक्रिय उनले लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षका साथै तालैतालको सहरका रुपमा लेखनाथ क्षेत्रलाई चिनाउँदै लेखनाथ क्षेत्रका समाचार प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएका छन् । लेखनाथ पत्रकारिता पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना , बशन्त अधिकारी, वासुदेव पौडेल र परशुराम शर्मा , भीमपाणि बराल र सरिता तिमिल्सेना सम्मानित भईसकेका छन् । । कार्यक्रमका अवसरमा कविशिरोमणिकी कान्छी छोरीका नाममा स्थापित कुन्तिदेवी पुरस्कार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ थियो । लेखनाथ प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालद्वारा आफ्ना बाबाका नाममा स्थापित पुरस्कार ,मधुमाया ढकाल शिक्षा पुरस्कार ,ढकालकी बहिनी अम्विका ढकालद्वारा आमाका नाममा स्थापित परस्कार फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कार, कविशिरोमणिको १४० औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका अवसरमापोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको चर्चा गरेका थिए । पुरस्कृत सबैलाई बधाई ज्ञापन गर्दै साहित्यमा लाग्न थप पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पश्चिम पृतनाका पृतनापति सन्तोषबल्लभ पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल,लेखनाथ उद्योग वाण्ज्यि संघका अध्यक्ष विनोद श्रेष्ठ,लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेल , लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्ण तिमिल्सेना, सचिव तुलसी सापकोटालगायतले सम्बोधन गरेका थिए । लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।
पर्वत: पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिनुभयो । अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेकोे उहाँले बताउनुभयो । घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभयो । हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखराः: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले स्थापना गरेको सूचना केन्द्रमा केही व्यवसायीहरुले तोडफोड भएको छ । गाउँपालिकाले मर्दी पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सूचना संकलन गर्न केही महिना अघि हुमालमा सूचना केन्द्र स्थापना गरेको थियो । सोही सूचना केन्द्रमा आज (आइतबार) बिहान केही होटल व्यवसायीहरुले तोडफोड गरेको गाउँपालिकाको प्रवक्ता गणेश आचार्यले बताए । ‘गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रमा अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुसँग हामीले कार्यपालिका बैठकबाट नै शूल्क लिने निर्णयसहित कार्यान्वयनमा गएका छौं’, प्रवक्ता आचार्यले सुनगाभा न्यूजसँग भने,‘आन्तरिक तथा बाह्य पर्यटकहरुको सूचना संकलन गर्न दुई जना कर्मचारी सहित हामीले मर्दी हिमालको हुमालमा सूचना केन्द्र स्थापना गरेका छौं, त्यही सूचना केन्द्रमा आज केही व्यवसायीहरुले तोडफोड गर्नुभएको छ ।’ उनले जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त साझेदारीमा मर्दी हिमाल पदमार्गको हुमालमा पर्यटक सुचना केन्द्र स्थापना गरिएको जानकारी दिए । यसैबीच सूचना केन्द्रमा केही व्यवसायीहरुले तोडफोड गरेपछि गाउँपालिकाले विज्ञप्ती निकालेर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको ‘नेपालको संविधान अनुसूची ८, स्थानीय सरकार संञ्चालन ऐन, २०७४, आर्थिक ऐन २०८० प्रचलित नियम कानूनको अधिनमा रहेर गाउँ पालिकाको बृहत्तर हितलाई ध्यान राखी गाउँ सभाले गरेको निर्णयानुसार सञ्चालित कार्यमा अवरोध सिर्जना गर्नु संविधान, नियम र कानूनको ठाडो उल्लंघन भएको छ, कानूनी उपचारको उचित बाटो नलिई स्थानीय सरकारले नियमानुसार सञ्चालन गरेको कार्यमा अवरोध गर्ने निहित स्वार्थले प्रेरित व्यक्ति वा समुहलाई सार्वजनिक संरचनाको तोडफोड गर्दा सजायको भागिदार हुनुपर्ने व्यहोरा स्मरण गराउँदै यस्ता कार्यहरु नगर्न समेत आग्रह गरेको छ ।’ माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिका भित्र आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गरेबापत शूल्क लिने निर्णय कार्यान्वयन गरेपछि गाउँपालिका र व्यवसायीहरुबीच विवाद बढ्दै गएको छ । गाउँपालिकाले सूचना केन्द्र स्थापनापछि पदमार्गमा अवस्थित होटल तथा लजहरुलाई सरोकारवालासंगको समन्वयमा कानुनी तवरबाट नै व्यवस्थित गरी करको दायरमा ल्याउने जनाएको छ ।