पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थि...

पोखरा:    वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसी कुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख सहयोग हस्तान्तरण गरेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य समेत रहेका गुरुङले आफ्नो परिवारका तर्फबाट नगद २ लाख र हङकङस्थित नेपाली दाजुभाई बाट संकलित नगद ३ लाख गरी कुल ५ लाख नगद सहयोग हस्तान्तरण गरेका हुन् । गुरुङले हस्तान्तरण गरेको उक्त रकम १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत प्रथम पुरस्कार राशीका लागि रहेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् । सोही अवसरमा सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ र प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाहकार एवं समाजसेवी सुनिल गुरुङले समेत् नगद ५–५ हजार सहयोग प्रदान गरेका छन् । सहयोग रकम हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष गुरुङले आयोजकले अब सम्पूर्ण ध्यान पोखरा म्याराथन सफल बनाउन तर्फ केन्द्रित गर्नु पर्ने बताए । उनले भने–“अब अन्तिम समय आइपुगेको छ । कोही रिसाउँछ की भनेर चिन्ता गर्नु पर्दैन । अब सफल रुपमा सम्पन्न गर्न यहाँहरुको ध्यान पुग्न आवश्यक छ ।” उनले पोखरालाई अब लिने मात्रै नभई दिने पनि बनाउन सक्नुपर्ने कुरा औंल्याउँदै पोखरा म्याराथनमा शुरक्षाको विषय प्रमुख रहेको बताए । नेपाललाई नै अब खेलकुदको माध्यमबाट ‘फिट’ राख्नुपर्ने कुरा औंल्याउँदै तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक समेत रहेका गुरुङले आफूले सोही उद्धेश्य अनुरुप पोखरामा फिट नेपाल परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको बताए । पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि हङकङमा रक्ष (रक्स) गुरुङको संयोजकत्वमा तेक्वान्दोका ग्रान्ड मास्टर चौ बहादुर गुरुङले सहयोग गरेका छन् । त्यस्तै सहयोग गर्नेहरुमा गंगा गुरुङले १ लाख, अर्जुन गुरुङले ७० हजार, सुरेश गुरुङले ३० हजार, सुरज ९नारायण० गुरुङले ३० हजार सहयोग गरेको अन्तर्राष्ट्रिय सम्पर्क संयोजक तेज बहादुर गुरुङले जनाएका छन् । त्यस्तै हङकङबाट सहयोग गर्नेहरुमा वुद्धि गुरुङ र सुरेन्द्र ढकालले समान हङकङ डलर १–१ हजार, दिनेश गुरुङले ७ सय, भिम गुरुङले ५ सय, रक्ष (रक्स) गुरुङले ५ सय, डम्वर कुमार गुरुङले २ सय ५१ हङकङ डलर सहयोग गरेका छन् । हङकङबाट २६ जनाले पोखरा म्याराथनलाई सहयोग गरेको संयोजक गुरुङले जानकारी दिए । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सहयोग प्रति आभार व्यक्त गर्दै विदेशमा बस्ने नेपालीहरु दाजुभाईको सहयोगले पोखरा म्याराथनलाई सहजरुपमा सञ्चालन गर्न सहयोग पुगेको बताए । सो अवसरमा अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरुङले आफू पोखरा म्याराथनका लागि भनेर नै हरेक वर्ष सहभागि हुन आएको बताउँदै अर्को वर्ष भने अस्ट्रेलियन नागरिकलाई सहभागि गराउने गरी आफूले प्रयास गर्ने बताए । उनले भने–“अहिले हामीले जति सकिन्छ नेपाली दाजु भाईबाट संकलित रकम सहयोग हस्तान्तरण गरेका छौं । अर्को वर्ष आफ्नो निरन्तरता संगै अस्ट्रेसियन नागरिकहरुलाई समेत पोखरा म्याराथनमा सहभागिता गराउन प्रयास हुनेछ ।” पोखरा म्याराथनमा फुल म्याराथनमा सहभागिता जनाउन लागेका चन्द्र प्रकाश गुरुङले गैर आवाशिय नेपाली संघ अस्ट्रेलियाको नगद सहयोग १ लाख र विभिन्न साथी भाईबाट संकलित १ लाख ३७ हजार ५ सय गरी कुल २ लाख ३७ हजार ५ सय नगद सहयोग मञ्चलाई हस्तान्तरण गरिसकेको छन् ।  

पोखरा:     साहित्यकार सरुभक्त श्रेष्ठका ६ बाल पुस्तकको एकसाथ लोकार्पण गरिएको छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलका अवसरमा शुक्रबार बाल पुस्तकहरुको लोकार्पण गरिएको हो ।  उपन्यास ‘अध्याँरो कोठा’, नाटक संग्रह ‘राक्षस र बालबालिका’, चित्रकथा ‘गाँडाहरुको गाउँ’, ‘पशुपंक्षीको जुलुस’, कथा संग्रह ‘नातीका कथा’, ‘झ्याउँ झ्याउँ झ्याँकिरी’ कविता संग्रह लोकार्पण भएको छ ।  सरुभक्तसँगै साहित्यकार ध्रुव घिमिरे, बालपाठक मनुषी भण्डारी, पुस्तकका चित्रकार पल्पसा मानन्धर, अर्पिता शाक्य र प्रकाशन गृह परिचय पब्लिकेशनका निर्देशक दीपेन्द्र भट्टले पुस्तकको लोकार्पण गरे ।  लोकार्पण भएको ‘अध्याँरो कोठा’ को केही भाग यस अगावै प्रकाशन भएको थियो ।  बाल्यकालमा सुनेका कथा कविता गीतबाट आफु आकर्षित भएर साहित्यमा लागेको सरुभक्तले बताए । बालबालिकाकको साहित्यमा अभिरुची हुने भएकाले बाल सहित्यका कृति सिर्जना गर्ने उनको भनाइ छ ।  ‘आफैंलाई बालक उमेरदेखि नै  बाल साहित्यमा अभिरुची हुन्छ भन्ने मनभित्रबाट भावना उत्पन्न भएको थियो । त्यो भावनको कारणले बेलाबेलामा विभिन्न व्यस्तताको बीचमा पनि बाल साहित्यका कृति सिर्जना गरेको छु’, उनले भने ।  उनले प्रत्येक दिन जसो राती सुत्ने बेला नातिलाई कथा सुनाउने गरेको स्मरण गरे । ‘आफुले देखेका, भोगेका र पढेका विभिन्न सन्दर्भहरु जोडेर तत्काल कथाहरु सिर्जना गरेर नातिलाई सुनाउथें । नाति मेरो कथा सुन्दासुन्दै कतिखेर निदाइसक्थ्यो । पछि यी कथाहरु मैले कति पटक दोहो¥याएर नातिलाई सुनाए  कि मलाई कण्ठस्थ भो’, उनले भने, ‘एक दिन मैले के सोचे भने यी कथाहरुलाई यत्तिकै छोड्नुभन्दा लिपिबद्ध गरे अरु नातिनातिनाहरुका लागि पनि उपयुक्त हुन्छ होला भन्ने हो । ती कथाहरुमध्यबाट केही छानेर यो पुस्तक जन्मेको छ ।’ उनले धेरैजसो साहत्यिकारले बाल  साहित्यलाई अपहेलना गरेको सुनाए । बालसाहित्यलाई महत्वपूर्ण रुपमा लिनुपर्ने साहित्यकार सरुभक्तको भनाइ छ ।   बाल पाठक कुमुदिनी होम्सकी विद्यार्थी मानुषी भण्डारीले रुची अनुसारको विषयबस्तु पाठ्यक्रममा नहुने भएकाले साहित्यिक पुस्तक पढ्ने बताइन् । ‘जान्न र बुझ्न मन लागेका विषय पाठ्यपुस्तक भन्दा फरक पुस्तकबाट पाइन्छ’, उनले भनिन् । उनले सामाजिक सञ्जालको प्रयोगले पुस्तक छान्ने उल्लेख गरिन् । साहित्यकार ध्रुब घिमिरेले बालबालिका केन्द्रित पुस्तक लेख्नु भविष्यका लागि लेख्नु काम भएको उनले बताए । बाल साहित्यले बाल मनोविज्ञानलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । मास मिडियाले बाल साहित्यलाई समेट्न नसकेको घिमिरे बताउँछन् । ‘अहिले जमाना मास मिडियाको हो । मास मिडियामा विभिन्न किसिमका  खबरहरु पुग्ने क्रममा बाल साहित्यको खबर पु¥याउन प्रयोग हुनुपर्ने’, उनले भने, ‘एउटा फेसबुक पेजबाट पनि सूचनाहरु प्रकाशन गर्न सक्छौं अथवा एफएमहरु । यत्तिका एफएमहरु छन केहीले मात्रै बालबालिकाको कार्यक्रमहरु सञ्चालन गरेका छन् । टेलिभिजनको कुरा गर्दा पनि बाल कार्यक्रम कम भएका छन् ।’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठको ३ दर्जन बढी पुस्तक प्रकाशित छन् । उनको पागल बस्ती उपन्यास निकै प्रख्यात छ ।  यस अगाडि सरुभक्तले बाल साहित्यका पुस्तक बजारमा ल्याएका थिए । परिचय प्रकाशनले यस लगत्तै सरुभक्तको ९ पुस्तक बजारमा ल्याउनेछ । नेपाल लिटरेचर फेस्टिबलमा यो संस्करणमा बालबालिका केन्द्रित सेसनहरुलाई प्राथमिकता दिएको छ ।

पोखरा: ‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु ’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्डी भनेपछि रचना भएको शब्द हो यो । कानुन विद्यार्थी अञ्जनालाई शिक्षकले घमण्डी भनेर गाली गरेपछि उनको मनमा लाग्यो । त्यसपछि उनले यो शब्दको रचना गरेकी हुन् । लयात्मक रुपमा भावना पोख्ने सजिलो माध्यम हो कविता ।  भाव मिलाएर कविताले प्रहार गर्छ । कुण्ठा पोख्ने सरल र आक्रोशपूर्ण बाटो कविता नै हो । विम्बको प्रयोग गरेर कविताले प्रहार गर्छ । यो कलात्मक लयले चोटिलो प्रहार गर्छ । अञ्जना सुबेदी पनि कुण्ठा पोख्ने सकरात्मक माध्यम कविता रहेको सुनाउँछिन् ।  सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिनको सेसन ‘विद्यार्थीका कविता कुरा’ सत्रमा बोल्दै उनले सो विचार राखेकी हुन् । सत्रमा साहित्यमा लागेका ७ विद्यार्थीसँग विमर्श गरिएको थियो । कानुन अध्यनरत अञ्जनालाई सत्र सहजकर्ता अव्यग्र अस्मितको प्रश्न थियो –कानुन र साहित्य फरक विषय लाग्छ यसलाई कसरी सँगसँगै लैजानुभएको छ ?   कानुन र साहित्य भिन्न नभएको उनको विचार थियो । दुबै हाम्रो जीवनमा अपरिहार्य विषयवस्तु रहेको सुनाउँछिन् उनी ।  ‘मैले कानुन र साहित्यलाई फरक भन्नै सक्दिनँ । साहित्य हुँदैनथ्यो भने कानुनकै एउटै शब्द छ गालीबेइजती सायद गाली बेइजतीले धेरै व्यक्तिहरु जेलमा हुन्थे होला, उनले भनिन्,‘ साहित्यकै मार्फत विभिन्न विम्ब प्रतिकको प्रयोग गरेर आफनो रिस क्रोधलाई पनि सकरात्मक रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्छ ।’  अञ्जना जस्तै सहारा खतिवडा पनि साहित्य हरेक विधामा समावेश हुने सुनाउँछिन् । साहित्यमा रुची राख्ने सहाराको साहित्यीक यात्रा उस्तै रोचक छ । खेलकुदमा क्रियाशिल उनी सानैदेखि हरेक प्रतियोगितामा प्रथम आउँथिन् । विद्यालयका सबै प्रतियोगितामा प्रथम हुने सहारा ६ कक्षमा हुँदा प्रथम उपराष्ट्रपति कपमा तेस्रो आइन् । यसको चोट उनको मनमा यति गहिरो बन्यो । कापीमा शब्द पोखिए । मनका भावना पोख्दा कविता बने ।  ‘एकैपटक तेस्रो भएँ । यस्तरी धक्का लाग्यो मेरो मनमा त्यहाँबाट कलम चल्यो वेदना पोख्दा पोख्दै कविता बन्यो । त्यसरी सुरु भयो साहित्य,’उनले सुनाईन् ।  सानै उमेरदेखि कविता लेख्न थालेकी उनलाई थाहा थिएन आफूले लेखेको कविता हो भनेर । सामान्य ‘नोट प्याड’ लाग्थ्यो उनलाई । कक्षा ११ मा आएपछि विद्यालयमा कविता प्रतियोगिता भयो । प्रतियोगितामा सहभागि भइन् । त्यसपछि आफनो साहित्यक यात्रा सुरु गरेकी सहारा कविता होइन भावना लेख्ने बताउँछिन् ।  ‘मेरो विचारमा कलम चल्नका लागि कि त एकदम खुशी हुनुपर्ने रहेछ कि त एकदम नै दुखी तब मात्र कुनै कुराको रचना गर्न सहज हुने रहेछ । म यो शिर्षकमा लेख्छु भनेर लेख्दिनँ म भावना पोख्छु,’उनले भनिन् ।  कविताको रचना लय सबैको फरक हुन्छ । कोही गद्यमा रचना गर्छन् कोही छन्दमा । आशिष पौडेल पद्य कविता लेख्न रुचाउँछन्् । आफनो रुची अनुसार कविता लेख्न सकिने भनाइ राख्छन् उनी ।  ‘कसैलाई छन्द ज्ञान भएपनि गद्यमा लेख्न मनपर्छ आफूलाई जस्तोमा लेख्न मनपर्छ रुची जे मा छ त्यसमा लेख्दा हुन्छ म चाहिँ पद्यमा लेख्न रुचाउँछु,’उनले भने ।  कविताले शब्द मार्फत समाजपनि देखाउँछन् । व्यक्तिको चिन्तन विकास गर्ने अनुपम रिजाल बताउँछन् । सहजकर्ताको प्रश्न ‘कविताको महत्व कति छ पठनपाठन ?,’प्रश्नमा उत्तर दिँदै  अनुपम रिजाल कविताले मानिसको चिन्तन विकासमा भूमिका खेल्न सुनाए । पाठ्यपुस्तकमा भएका कविताले समाजको चिन्तन विकास सिकाउने उनको भनाइ छ ।  ‘पाठ्यकपुस्तकमा कविताहरु राखिन्छ नि त्यसको भूमिका धेरै छ । कक्षा १० बाट कक्षा ११ जाँदा अंग्रेजी पुस्तकमा भएको कविता देखेर म झसंग भएको थिएँ यो लेबलको कविता । १० सम्म पढेको कविता सामान्य लागेका ११ मा गएर लेबल अप भयो भिन्न लाग्यो त्यो किसिमको शब्द चयन चिन्तनले भूमिका खेल्छ । समाजको चिन्तन हुन्छ,’उनले प्रश्नको उत्तर दिँदै भने ।  चाहे पाठ्यपुस्तक मार्फत होस् वा विभिन्न कविता प्रतियोगिता । त्यसले विद्यार्थीलाई साहित्यमा तानिरहेको छ । जसैमध्येकी एक हुन् बिना घिमिरे । विद्यालय स्तरको कविता प्रतियोगिताले उनलाई साहित्यमा रुची दिलायो ।  ‘एन प्याब्सनको बाल वृहत कविता प्रतियोगितामा भाग लिएको थिएँ । मैले पनि त्यहाँ वााचन गर्ने मौका पाएँ । वाचन गरेर प्रथम स्थानमा आइपुग्दा खुशी लाग्यो । सोचेको पनि थिईन्ँ । साहित्यमा नजिकिएको व्यक्तिपनि थिईनँ । दगं परेँ । मलाई कविताप्रति रुची बढ्यो । हजुरबुबा पनि कवि नै हुनुहुन्छ,’ उनले सुनाईन् ।  साहित्यले जीवनमा पनि परिवर्तन ल्याउने विद्यार्थीले सुनाएका थिए । जीवनको बुझाइ साहित्यले सजिलो ढंगले सिकाउने उनीहरुको भनाइ थियो । अलिमियाँ कक्षमा भएको विद्यार्थीका कविता सत्रमा बिना घिमिरे, लिना गुरुङ, अनुपम रिजाल, अन्जना सुबेदी, आशिष पौडेल, करुणा विश्वकर्मा र साहारा खतिवडा वक्ताको रुपमा थिए ।   

 पोखरा:     नेपालमा अहिले मुख्यगरी २ भाषालाई मूल भाषाको रुपमा लिइन्छः भोटबर्मेली भाषा र भारोपेली भाषा । तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ । त्यो कुसुन्डा भाषा हो । त्यो २ समूहसँग मिल्दैन ।’ पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचरको ११औं संस्करणको दोस्रो दिन ‘नेपालमा कहिले मान्छे आए ?’ सेसनमा भ्यानले भोटबर्मेली र भारोपेली भाषा समूहभन्दा फरक समूहमा कुसुन्डा भाषा पर्ने दाबी गरेका हुन् । कुसुन्डा भाषा अहिले नेपालको लोपोन्मुख भाषाभित्र पर्दछ । युरोपेली देश नेदरल्यान्डमा जन्मिएका जर्ज भ्यान ड्रिम नेपालमा आफ्नो परिचयले भन्दा पनि ‘सुरेश दाइ’ नामले परिचित छन् । पछिल्लो लामो समयदेखि उनी अध्ययन, अनुसन्धानकै क्रममा उनी नेपालमा छन् । भाषाशास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आएको भन्ने यकिन प्रमाण नभए पनि भाषाको उद्भवअनुसार भोटबर्मेलीहरु १० हजार वर्षअगाडि र भारोपेली भाषा ५ हजार वर्षअगाडि आएको देखिने बताए । यादव देवकोटाले सहजीकरण गरेको सत्रमा भाषाभास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आए भन्ने तथ्य प्रमाणि गर्न डीएनए नै परीक्षण गर्नुपर्ने बताए । ‘तर, अहिलेसम्मको अध्ययनले मगर, लिम्बुलगायत जातजातिहरु १० हजार वर्षको समयदेखि अहिलेको नेपाल क्षेत्रमा बसोबास गर्दै आएको देखिन्छ,’ उनले भने । भोट बर्मेली भाषाको उत्पत्ति पूर्वी हिमाली क्षेत्रमा भएको हालसम्मको प्रमाणले देखाउने ड्रिम सुनाउँछन् । ‘यो भनेको धौलागिरी देखि, इन्डोबर्मिज बोर्डरल्यान्डसम्म पर्छ । कुनैकुनै भाषामात्र योभन्दा बाहिर पर्छ,’ उनी भन्छन् ।  हालसम्म भोटबर्मेली भाषा आयातित भनिए पनि नेपालकै पूर्वी हिमाली क्षेत्रबाट उक्त भाषाको उत्पत्ति भएको दाबी उनको छ । भाषाको बनोटको अर्को मूलस्रोतका रुपमा लिइएको भारोपेली भाषा पनि भारतीय भूगोलबाटै उत्पत्ति भएको तथ्य देखिने ड्रिमको भनाइ छ । ५ वर्षअगाडि यो क्षेत्रमा आएका उनीहरुको आनुवांशिकता भारतबाटै सुरु भएको देखिने उनले बताए ।  ‘उनीहरु लगभग यो क्षेत्रमा ५ हजार वर्षअगाडिमात्रै आएका हुन् । तर, उनीहरुको आनुवंशिकता इन्डियाबाटै सुरु भएको देखिन्छ’, ड्रिमले भने, ‘फेरि युरोप गएर फेरि भारतमै आएको देखिन्छ ।’ नेदरल्यान्डका भ्यान ड्रिम भारतीय उपमहाद्विपमा बढी चर्चित छन् । यो भूगोलमा उनी आफ्नो वास्तविक नामभन्दा पनि बढी ‘सुरेश दाइ’ले परिचित छन् । ‘सुरेश दाइ’ भारतीय महाद्विपका भाषा, संस्कृति, आनुवांशिता र वनस्पतिमाथि लामो समयदेखि अध्ययन, अनुसन्धान गर्दै आएका छन् । त्यसैले उनी पछिल्लो समय आफ्नो देशभन्दा पनि बढी समय नेपालमै बिताइरहेका छन् । नेपाली भाषा, संस्कृतिमाथि पनि अध्ययन अनुसन्धान गरेका उनै सुरेश दाइले किराती समुदायको मुख्य भाषा ‘लिम्बु भाषा’ माथि पनि अ ग्रामर अफ लिम्बु कृति पनि प्रकाशन गरेका छन् ।  त्यसबाहेक उनको द टेल्स अफ टी, ल्यांग्वेज अफ दी हिमालय लगायत कृति प्रकाशित छन् भने सयौं अन्तर्राष्ट्रिय जर्नलमा आफ्नो अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेका छन् ।   

काठमाडौं:    नेपाली महिला क्रिकेट टोलीको ८ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै भएको छ । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना सकिएको हो । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ११५ रन बनायो । ११६ रनको विजयी लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेट्टायो । मलेसियाको जितमा इल्सा हन्टरले ६९ रन बनाइन् । नेपालकी कबिता जोशीले दुई विकेट लिइन् । यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले २९ रन बनाउँदा डली भट्टले २४ रन बनाइन् । मलेसियाको जितसँगै एसिया कप खेल्ने टिमको टुङ्गो लागेको छ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै एसिया कपमा छनोट भएको थियो । अब एसिया कप वुमन्स प्रिमियर कपको फाइनलमा युएई र मलेसिया खेल्नेछन् । एसिया कपमा भने मलेसिया र युएईसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो ।

म्याग्दी:    बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५/७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन । अन्नपूर्ण–५ का वडा सदस्य पूर्णबहादुर पाइजाले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण सुरु भएको जानकारी दिनुभयो । “विसं २०७६ मा निर्माणस्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो”, उहाँले भन्नुभयो, “विसं २०७७ देखि स्थान र डिजाइन परिवर्तन गरे पनि लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा पुल निर्माण अलपत्र बनेको थियो ।” पुल निर्माण भएपछि पर्यटकीयस्थल भुरुङ्ग तातोपानीबाट प्राकृतिक उपचारस्थलका रुपमा विकसित पाउद्धार तातोपानी कुण्ड पुग्नका लागि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने बाध्यताको अन्त्य हुने पाइजाले बताउनुभयो । नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता पनि हट्ने उहाँको भनाइ थियो ।  कालीगण्डकी किनारमा प्राकृतिकरुपमा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको छ । पाउद्धार तातोपानी कुण्ड सञ्चालनका लागि अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख ११ हजारमा ठेक्का लगाएको थियो । भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने १२६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीसँग सञ्जिव उज्वल जेभीले गत साउनमा ९३ लाख ५० हजार चार सय ८६ मा ठेक्का सम्झौता गरेको थियो । कार्यालयका सूचना अधिकारी अर्जुन शर्माले निर्माण व्यवसायीले दुवैतर्फ जिप रहने ठाउँ निर्माणसँगै ‘स्टिल डेग’ लगायतका सामग्री जुटाउने कामलाई तीव्रता दिएको बताउनुभयो । आगामी असार मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको लठ्ठा टिबिएसयुले उपलब्ध गराउने भएको छ ।  कूल रु एक करोड २० लाख लागत अनुमान गरिएको उक्त पुल निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा रु १२/१२ लाख बजेट विनियोजन भएको थियो । गत जेठ महिनामा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले रु नौ लाख थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्का लगाउन स्वीकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भएको थियो । निर्माणाधीन पुलको पाउद्धारतर्फको जिप नजिकै ३३/११ केभी क्षमताको प्रसारण लाइन पर्ने भएकाले चार वटा पोल स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर सर्वेक्षण गरी बजेट स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको पूर्वाधार विकास कार्यालयका सबइञ्जिनियर रविन चोखालले बताउनुभयो । विभागीय मन्त्रालयले बजेट स्वीकृत गरेपछि विद्युत् प्राधिकरणमार्फत पोल स्थानान्तरण गरिने उहाँले बताउनुभयो । म्याग्दी क्षेत्र नं १ बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने–आउने पर्यटकको बसाई लम्ब्याउन, जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन  प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

पोखरा:    महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ ।  अहिले व्यवपार व्यवसायमा मन्दी छाइरहेकाले निजि क्षेत्रमा चरम निराश देखिन्छ । धमाधम सटर खाली भइरहेका छन् । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ । चियाचौतारीमा पनि अर्थतन्त्रको चिन्ता देखिन्छ ।  सरकारका प्रधानमन्त्री होस् या अर्थमन्त्री अर्थतन्त्रमा सुधार भइरहेको व्यक्तव्यबाजीमा रमाइरहेको अवस्था छ । आम सर्वसाधरणको चासो भने अर्थतन्त्र तङग्रिन्छ की लड्छ ? भन्नेमा छ । पोखरामा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार अर्थतन्त्र ः तङ्ग्रिन्छ की लड्छ ? यही विषयमा छलफल भयो । सरकोकारवालाले अर्थतन्त्रमा सुधार भइरहेको दाबी पेश गरे ।   व्यवसायी निरञ्जन श्रेष्ठ नेपालको अर्थतन्त्र विगत २ दकशदेखि धर्मराउदै तंग्रिरहेको बताए । ‘फेरि धर्मराउदै धर्मराउदै एउटा विन्दुमा पुग्छ । ठोस रुपमा हामीले केही गरेनौं भने यस्तै धर्मराउछ’, उनले भने ।  अहिलेको भने निजि क्षेत्र निकै निराश रहेको उनको भनाइ छ । ‘बजारमा व्यापार एकदम तल आएको छ । मागको कमी छ । माग कमी हुनुको मतलब व्यपार व्यवसायमा जो छ उ निश्चय नै निराश हुन्छ । सटर बन्दर भइरहेको छ भने निराश हुन्छ नै’, उनले बताए । बाह्य क्षेत्र सुधार भएपनि आन्तरिक रुपमा माग बढाउने काम गर्नुपर्ने उनको धारणा छ ।  ‘लगानीमा बैंकको ऋण मात्रै आधार हुदैन । व्यवसाय भनेको चक्रको रुपमा बुझ्नपर्छ । बैंकबाट त पुँजी आयो तर त्यसपछि व्यवसाय गर्दा स्वयम पुँजी चाहियो । बजारमा आत्मविश्वास चाहियो’, श्रेष्ठले थपे, ‘अर्को कुरा सबभन्दा ठूलो कुरा आन्त।िक फिर्ता दर हेरिन्छ । अहिले फिर्ता कम छ । बैंकमा पुँजी छ भने लगानी गर्न हिच्किचाउँछ ।’  अर्थतन्त्र कमजोर बन्नुमा निजि क्षेत्रको पनि धेरथोर हात रहेको श्रेष्ठ स्विर्काछन् । उनी भन्छन्, ‘आत्मविश्वास बढ्यो भने अहिलेको अवस्थामा फरक आउँछ ।’ अर्थमन्त्रीको आर्थिक सल्लाहकारसमेत रहेका गुणाकर भट्ट अर्थतन्त्र सुधार भइरहेको बताउछन् । २ वर्ष अगाडि विदेशी विनिमय सञ्चितीमा दबाब रहेको उनी सम्झन्छन् । ‘गतवर्ष पुसमा हेर्दा हामीसँग भएको विदेशी विनिमय सञ्चिती १० अर्ब २८ करोड डलर थियो । अहिले आइपुग्दा १३ अर्ब ६९ करोड डलर विदेशी सञ्चिती छ । त्यसले १२.१ महिनाको बस्तु तथा सेवा आयत गर्न पुग्छ’, उनले भने, ‘ २ वर्ष अगाडि यही बेला नीति निर्मातादेखि व्यवसायी सबै आत्तिएको अवस्था थियो नेपाल कतै श्रीलंका त बन्दैन भनेर ।  हामी त्यहाँबाट माथि उठेको अवस्था छ । एउटा महत्वपूर्ण आधार हो विदेशी विनिमय सञ्चिति ।’ भट्टले अगाडि थफे, ‘हामी ३०० अर्बको पेट्रोलिय पदार्थ आयत गर्छौं । ४०० अर्बको हाराहारीमा खाद्यन्न आयत गर्छौं । त्यस्तो मुलुकमा विदेशी विनिमय सञ्चित थोरै पनि घट्ने वित्तिकै अर्थतन्त्र हल्लिन बेर लाग्दैन, त्यहाँबाट हामी निस्कियौं ।’ डेढ २ वर्ष अगाडि बैंकहरुसँग कर्जा दिने पैसा नभएको उनले सुनाए । उनका अनुसार गतवर्ष माघमा कर्जाको औसत ब्याजदर १३ प्रतिशत थियो । अहिले कर्जाको औसत ब्याजदर ११ प्रतिशतमा झरेको छ ।  ‘बैंकहरुसँग बढी भएको पैसा करिब १०० अर्ब राष्ट्र बैंकले तानेर राख्न परेको छ । ब्याजदर पनि तल आइरहेको छ’, अर्थतन्त्रबारेका विज्ञ भट्टले भने, ‘मौद्रिक क्षेत्र, वित्तिय क्षेत्र राम्रो अवस्था देखिएको छ तुलनात्मक रुपमा । गतवर्ष बैंकहरुले ६ महिना १३७ अर्ब कर्जा प्रवाहा गरेका थिए । अहिले ६ महिनाको कर्जा प्रवाहा १९३ अर्ब देखिएको छ ।’  सरकारको वित्त व्यवस्थापन चुनौतिपूर्ण देखिरहेको उनले उल्लेख गरे । ‘सरकारको राजस्व असुली गतवर्षको तुलनामा केही सुधार भएपनि अपेक्षित रुपमा हुन सकिरहेको छैन । आार्थिक गतिविधि अपेक्षित रुपमा विस्तार हुन सकेको छैन’, उनले भने, ‘पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रह्यो । ६ प्रतिशतको अपेक्षा गरेका थियौं । आम मान्छेले महसुश गर्ने मुद्रास्फुर्ति मुल्य वृद्धि पनि उच्च छ ।’ सावधानी अपनाएकै कारण अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।  स्वतन्त्र विज्ञ भुवन दाहाल निक्षेप संकलन अनुसार कर्जा प्रवाहा नहुनु अर्थतन्त्रको समस्याको रुपमा लिन्छन् । अर्थशास्त्रमा समस्या देखिएपछि प्रभाव बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरणमा देखिने उनको भनाइ छ ।  ‘निष्क्रिय कर्जा बढेको देखिन्छ । यसले अर्थतन्त्रमा समस्या छ भन्नेमा कुनै शंका भएन । निजि क्षेत्र नीति निर्माता सबैले आत्मसाथ गरेर समस्या निराकमरणमा लाग्नुपर्नेछ’, उनले भने ।  उनले थपे, ‘दक्षिण एसियाको तथ्यांक ह¥यौं भने प्रति व्यक्ति आयमा हामी अफानिस्तानभन्दा माथि छौं । बंगलादेशको कुरा गरौं भने पनि हाम्रो भन्दा दोब्बर छ । क्षेत्रफलको कुरा गर्ने हो भने हाम्रो र त्यहाँको एउटै हो । जनसंख्याको कुरा गर्ने हो भने हाम्रोभन्दा ५ गुण बढि छ ।’  अर्थतन्त्र भताभुंग भइसकेको अवस्था नरहेको उनले दाहालले बताए । ‘हामीकहाँ समस्याहरु छन्, समस्याका कारणहरु पनि थाहा छ । अर्थमन्त्रालय, राष्ट्रबैंक, निजि क्षेत्र, बैंकरहरु सबै बसेर एक हप्तासम्म के के गनपर्र्ने हो ? रोडम्याप कोरेर त्यो अनुसार काम गर्नुपर्नेछ’, उनको सुझाव छ । एक अर्कालाई आरोप लगाएर अर्थतन्त्र माथि उकास्न नसकिनेमा उनको जोड छ । अर्थतन्त्रको आकार कसरी बढाउनुपर्ने भनेर सोच्नुपर्नेमा उनको जोड छ । स्थायी सरकारको अवस्था नआएसम्म अर्थतन्त्रलाई दौडाउने अवस्था भने नआउने दाहालको तर्क छ ।     

काठमाडौं:     निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्नमा भएको परिवर्तन, संशोधन तथा पदाधिकारीको हेरफेर भएको भए सोबारे ३० दिनभित्र आयोगलाई जानकारी दिन निर्देशन दिएको छ।         आयागले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ती विवरण तोकिएको ढाँचामा आयोगलाई उपलब्ध गराउन निर्देशन दिएको हो। राजनीतिक दलले आन्तरिक सङ्गठनका विषयमा भएका त्यस्ता परिवर्तनबारे लामो समयसम्म जानकारी नगराउने प्रवृत्ति रोक्न यस्तो निर्देशन दिइएको आयोगले जनाएको छ।         आयोगका सहायक प्रवक्ता डा थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा राजनीतिक दलले ती विवरण आयोगबाट स्वीकृत दलको विधानबमोजिम महाधिवेशन वा आयोगको अभिलेखमा रहेको केन्द्रीय कार्यकारिणी समितिबाट मात्र निर्णय गरी तथा सम्भव भएको अवस्थामा महाधिवेशनबाट अनुमोदन गरी गराई पेश गर्न भनिएको छ।         राजनीतिक दलहरूले विधानबमोजिम दलको सदस्यता वितरण, केन्द्रीय समितिलगायतका पदाधिकारी तथा सदस्यको निर्वाचन, मनोनयन वा नियुक्ति राजनीतिक दलसम्बन्धी ऐनबमोजिम हुनुपर्ने आयोगको भनाइ छ । ऐनमा उल्लेखित योग्यता पुगेका व्यक्तिलाई मात्र सदस्यता वितरण र निर्वाचन, मनोनयन वा नियुक्ति गर्न पनि आयोगको निर्देशन छ।         यस्तै दलको सङ्घीय र प्रदेश तहका समितिमा रहने प्रत्येक पदाधिकारीको पद विधानमा किटान गरी तोक्ने, ती पदाधिकारीको निर्वाचन हुने ब्यवस्था विधानमा उल्लेख गरी सोबमोजिम निर्वाचनद्वारा पदपूर्ति गर्न भनिएको छ। साथै   दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने तोकिएको ढाँचामा लेखा अभिलेख राखी बैंकमार्फत कारोबार गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ।

पोखरा:     नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा भएको छ । शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पुरा भएको र सहभागि धावकहरुका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले बताएको छ । उक्त दर्ता अनुसार पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपाल बाहेक १४ राष्ट्रका धावकले सहभागिता जनाउने भएका छन् । मञ्चले प्रतियोगिताबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको म्याराथनतर्फ १ सय ८ जनाको सहभागिता रहेको छ । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ५९०, छात्रामा ४८० को जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक रहेको जानकारी दिएको छ । जस अनुसार म्याराथनतर्फ ३१, महिला हाफ म्याराथनमा ५,  १० किमी पुरुतर्फ ११ र महिला तर्फ ३ जना विदेशीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याण्ड, साउदी अरेबिया, ताइवान, युके र अमेरीकाका धावकहरुको सहभागिता रहनेछ । पोल्याण्ड बाहेक सबै राष्ट्रबाट मुख्य इभेन्ट म्याराथनमा सहभागिता रहेको छ । म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमा अध्यक्ष हरि प्रसाद पराजुलीले सुरक्षाको दृष्टिकोणले गर्दा रुट परिवर्तन गरेको जानकारी दिए । उनका अनुसार पछिल्लो समय पोखरा म्याराथनलाई साथ दिनेहरुको संख्यामा वृद्धि भइरहेको छ । पोखरा म्याराथनलाई साथ दिन स्वस्फुर्तरुपमा सहयोगिहरु आइरहेको उनले बताए । रुट परिवर्तन पोखरा म्याराथनको यसपटक रुटमा समेत परिवर्तन गरिएको छ । यस अघिका संस्करणहरुमा प्रयोग हुँदै आएको रुटमा परिवर्तन गरिएको हो । अबको नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमि र बाकीँको दौड फेवातालको सिरानतर्फ जानेछ ।  यस पटक प्रतियोगिताको समापन समेत फेवातालस्थित ल्लनचोकको क्यापिङ साइटमा हुनेछ । यस्तै प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि चिप्सको प्रयोग गरिने भएको छ । यस अघि म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८ औं संस्करणमा भने सबै विधामा प्रयोग गरिनेछ । जसले धावकको समय निर्धारण गर्नेछ । म्याराथनलाई मुख्य प्रायोजन लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रा।लिको सफल दुधले गरेको छ । यस्तै गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, पोखरेली मञ्च युके, नेपाली समाज अस्टे«लिया तमुधी युके, गैर आवासिय नेपाली संघ, ब्रिटिश कलेज, वि विल राइज फाउन्डेसन, रोटरी क्लब ३२९२, डायमण्ड बुद्धिस्ट सेन्टर युके, तमु समाज युके, बगर भाइखलक युके, कृषि विकास बैंक लि।, लगायतको प्रायोजन रहेको छ भने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवर्द्र्धन गर्नेछ । सम्पन्न पत्रकार सम्मेलनमा खेलकुद मार्फत पोखराको प्रवर्द्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनले महत्वपूर्ण भुमिका निर्वाह गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख नविन पोखरेलले बताए । उनले भने–“हामी संग मार्केटिङको एक रणनिती हुन्छ हामी त्यही अनुसार काम गछौं । हाम्रो सोच पनि विदेशका भएका नेपाली मार्फत देशको पर्यटन प्रवर्द्धन गर्नका लागि सन्देश दिने हो । तर त्यो काम आज पोखरा म्याराथनले गरेको छ ।” सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, च्यारिटी रनर मञ्जु गुरुङ राई, मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङ, मञ्चका महासचिब कृष्ण तिमिल्सिनालगायतले बोलेका थिए । कार्यक्रममा अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरुङले गैर आवाशिय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीलाई हस्तान्तरण गरे । त्यस्तै पोखरेली मञ्च युकेले गैर आवाशिय नेपाली संघ, तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित रकम करिव १९ लाख २४ हजार २ सय ४० मञ्चका अध्यक्ष करम गुरुङले हस्तान्तरण गरे भने बगर भाइ खलक यूकेका अध्यक्ष दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार हस्तान्तरण गरे । कार्यक्रममा हालै खेलकुद पत्रकार मञ्चबाट स्पेसियल अवार्डबाट सम्मानित हुने मञ्चका आजिवन सदस्य एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई मञ्चका अध्यक्ष पराजुलीले बधाई दिएका थिए । कार्यक्रममा पहिलो पटक पोखरा म्याराथनको गीतका रचयिता आरजु विष्ट सल्यानी र यूवा गायक बिनोद बानियालाई सम्मान गरिएको थियो ।