पोखरा:  पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।  पोखरा महानगरपालिकाको आइतबार भएको १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी...

पोखरा:  पोखराको लेकसाइडमा रहेको थाउजेन माइल्स ट्राभल्स एण्ड टुरिजम प्रा।लि। दोस्रो बर्षमा प्रवेश गरेको छ ।  ट्राभल्सले टिकेटिङ, टुर, ट्रेकिङको क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको म्यानेजिङ डाइरेक्टर देवेन्द्र अधिकारीले बताए । विश्वभरी नेपालको सौन्दर्य र विविधतालाई फैल्याउनु ट्राभल्सको मुख्य उद्देश्य रहेको र लुकेर रहेका  पर्यटकीय गन्तब्यहरुको पहिचान गरी यात्रा गराउने लक्ष्य ट्राभल्सको रहेको अधिकारीको भनाई छ । नेपालमै बसेर पनि केहि गर्न सकिन्छ भन्ने योजनाका साथ ट्राभल्स सञ्चालन गरिएको र सञ्चालनको एक बर्षमा नै धेरैको मन जित्न सफल हुनुका साथै धेरैको रोजाइमा पर्नै गरेको जनरल म्यानेजर बिजय पौडेलले जनाए । हाल देशका युवा बिदेशिने क्रम बढ्दै गएको समयमा पनि रोजगारी र अवसर देखेर ट्राभल्स सगैँ टुरिजमको क्षेत्रमा कामको सुरुवात गरिएको पौडेलको भनाई छ । अहिले सम्म ट्राभल्सले ५ सय जना बिदेशी र २ सय जना नेपालीलाई सेवा प्रदान गरिसकेको छ ।

म्याग्दी:    म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीव्रता दिइएको हो ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यले गति लिएको छ ।  सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको आयोजनाले जनाएको छ । सरकारी तबरबाट राहुघाट निर्माण सुरु भएपछि म्याग्दीमा निजी क्षेत्रका जलविद्युत् आयोजना भित्रिएका थिए । निजी क्षेत्रका जलविद्युत् आयोजना भित्र्याउने र आकर्षित भएकाले राहुघाट जलविद्युत् आयोजनालाई म्याग्दीको विद्युत् विकासको गेटवे मानिएको हो ।   ९० प्रतिशत सुरुङ निर्माण  राहुघाट जलविद्युत् आयोजनाको छ किलोमिटर २ सय मिटर सुरुङमध्ये अब पाँच किलोमिटर ६३३ मिटर सुरुङ निर्माण सकिएको छ । जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । अब ५६७ मिटर मात्र सुरुङ निर्माण गर्न बाँकी रहेको राहुघाट जलविद्युत् आयोजनाको आयोजना व्यवस्थापक राज विष्टले बताउनुभयो । “अबको दुई महिनाभित्र सुरुङको ब्रेक थ्रु गर्ने लक्ष्य सहित काम भैरहेको छ,” उहाँले भन्नुभयो “बाँध, अँधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट सुरुङ निर्माणलाई तिब्रता दिएका छौ ।”  सुरुङबाट आउने पानीलाई रघुगङ्गागाउँपालिका–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघि नै जोडिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्ट सम्मको ५४१ मिटरमध्य ४५० मिटर सुरुङ निर्माण सकिएको छ ।  बाँध र विद्युतगृहको प्रगति आधाभन्दा बढी  बाँध, विद्युतगृह निर्माणको काम पचास प्रतिशतभन्दा बढी सकिएको छ । रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा निर्माणाधीन बाँधमा यसै महिनाभित्र खोला फर्काउने तयारी गरिएको छ । सत्र मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त ९पिआरओआर० प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशतभन्दा बढी सकिएको आयोजना व्यवस्थापक विष्टले बताउनुभयो । विद्युतगृहको संरचना निर्माण सकेर टर्बाइनका उपकरण जडान गर्न थालिएको छ । विद्युतगृहदेखि पानी बाहिर फाल्ने नहर बनाउन लागिएको छ ।  विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युतगृहका उपकरण आयात गर्न थालेको छ । भेलसँगको ठेक्का सम्झौताको म्याद सन २०२४ नोभेम्बर महिनासम्म थपिएको छ । ६५ प्रतिशत भौतिक प्रगति  रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भैरहेको जानकारी गराउनुभयो । “अबको १५ महिनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिएका छौं,” उहाँले भन्नुभयो ।  यसअघिका दुई वर्ष बुग्लको पहिरोका कारण बर्खायामको चार महिना बाँध निर्माणको काम रोकिएको थियो । यसवर्ष बर्खायाममा पनि बाँध, सुरुङ र विद्युतगृह निर्माणले निरन्तरता पाउँदा प्रगति सन्तोषजनक रहेको उहाँको भनाइ छ ।” घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ ।  उतारचढाव व्यहोरेको आयोजना  चौध वर्षअघि निर्माण प्रक्रीया थालिएको राहुघाट जलविद्युत् आयोजनाले विभिन्न आरोह अवरोह र उतारचढाव ब्यहोरेको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा २०६६ सालमा सो आयोजना निर्माण सुरु भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० सालमा निर्माण सकिनुपर्ने थियो तर २०७४ मङ्सिरमा रु छ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट् (जेपी)ले पनि निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न सकेन । ४५ महिनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालन गर्ने लक्ष्य थियो । कोरोना महामारी र विपद्का कारण सिभिल ठेकेदारले लक्ष्य अनुसार काम गर्न नसकेका कारण सन् २०२४ को अक्टोबर १७ सम्म ठेक्का सम्झौताको म्याद थप भएको छ । पुरानो ठेकेदारले आइभिआरसिएलले आठ वर्षमा १० प्रतिशत काम गरेको थियो । सिभिल ठेकेदार २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।  नदीजन्य निर्माण सामग्रीको अभाव  विपद् र कोरोना (भाइरस)को महामारीका कारण निर्माणमा ढिलाइ भएको राहुघाट जलविद्युत् आयोजनालाई कार्ययोजनाअनुसार निर्माण सम्पन्न गराउन नदीजन्य निर्माण सामग्रीको अभाव प्रमुख चुनौती देखिएको छ । सर्वोच्च अदालतको २०७८ असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन् गर्न नपाउँदा गण्डकी प्रदेशका कालीगण्डकी नदी आसपासका जिल्लाहरुमा नदीजन्य निर्माण सामग्रीको अभावका कारण विकास आयोजना प्रभावित भएका छन् ।  कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउँदा निर्माण प्रभावित बनेको जयप्रकाश एसोसिएट्सको राहुघाट जलविद्युत् आयोजना व्यवस्थापक हरीश अग्रवालले बताउनुभयो । “ठेक्का सम्झौताका क्रममा कालीगण्डकी नदीको सामग्री प्रयोग गर्ने उल्लेख छ । तर अदालतको आदेशका कारण तीन वर्षदेखि कालीगण्डकी नदीबाट सामग्री निकाल्न पाएका छैनौ,” उहाँले भन्नुभयो “यस वर्ष हामीलाई पचास हजार घनमिटर नदीजन्य कच्चा पदार्थ आवश्यक छ । गिटी, बालुवा र ढुङ्गा नपाउँदा सुरुङ, विद्युत्गृह र बाँध निर्माणको काम प्रभावित हुन थालेको छ ।” बेनी नगरपालिका क्षेत्रमा कालीगण्डकी बाहेकको बगरबाट १० हजार घनमिटर मात्र व्यवस्थापन गरिएको छ । म्याग्दी, राहुघाट र अन्य बगरबाट नदीजन्य वस्तुको आपुर्ति गराउन पहल गरिएको गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताउनुभयो ।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रदेश सांसद भण्डारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले हालै आयोजना निरीक्षण गरेर नदीजन्य निर्माण सामग्रीको आपूर्ति सहज बनाउन स्थानीय तह र प्रशासनसँग सहजीकरण गर्नुभएको छ ।  यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु। २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार टावर तयार भएको छ ।  विकटमा विकास गतिविधि बढ्यो  जलविद्युत् आयोजना भित्रिएसँगै म्याग्दीको राहुघाट नदी आसपासका छ वटा वडामा विकास गतिबिधी बढेको छ । ऊर्जा खोलामा परिणत हुन थालेको राहुघाटको पानीले विकट गाउँमा सम्भावना र अवसरको ढोका खोलिदिएको रघुगङ्गा गाउँपालिका–७ का बासिन्दा ध्रुवकुमार पाइजाले बताउनुभयो । “राहुघाट नदी आसपासका पिप्ले, दग्नाम, दर्मीजा, झिँ, पाखापानी र कुइनेमंगलेका छ वटा वडाका करिब एघार हजार नागरिकको दैनिकी र जीवनयापनमा जलविद्युत् आयोजनाले नसोचेको परिवर्तन ल्याएको छ,” उहाँले भन्नुभयो “राहुघाटमा निर्माणाधीन जलबिद्युत आयोजना, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा अक्करे अजिङ्गरको भिरमा मार्ग खोलेर मौवाफाँटदेखि कुइनेको छहरीसम्म करिब २० किलोमिटर सडक निर्माण गरेपछि पूरै दिनको यात्रा चार घण्टामा छोटिनुका साथै ढुवानीमा सहज भएको छ ।” जलविद्युत् आयोजनाहरुले पहुँचमार्गमा बनाएको चार वटा बेलिब्रिजबाट स्थानीयबासीले पनि लाभ लिएका छन् । प्रशारण लाइन, सबस्टेशन निर्माण र सडकको पहुँच विस्तार तथा ऊर्जाको अन्तरराष्ट्रिय बजार खोजी हुन थालेपछि जलविद्युत् आयोजनाले गति लिन थालेका हुन् । जलविद्युत् आयोजना भित्रिएसँगै राहुघाट कोरिडोरका आसपासका बस्तीमा अन्य विकास गतिबिधिले तीव्रता, आयआर्जन र रोजगारीको अवसर सिर्जना भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । जलविद्युत् आयोजनासँगै भित्रिएको सम्भावनालाई अवसरमा रुपान्तरण गरी स्थानीयबासीको जीवनस्तर सुधार गर्न जोड दिएको उहाँको भनाइ छ ।  एघार आयोजना निर्माणाधीन  राहुघाट आयोजनासँगै म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । निर्माण शुरु भएपछि भित्रिएका तीन वटा आयोजना सञ्चालनमा आइसकेका छन् । थप छ वटा निर्माणको अन्तिम चरणमा छन् । विद्युत् विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका चार वटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् । कूल ३४६.०३ मेगावाट क्षमताका छ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ आयोजना सर्वेक्षणको क्रममा छन् ।

पोखरा:  रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निशुलक स्वास्थ्य शिविरमा ३ सय १२ जनाले सेवा लिएका छन् ।  रोटरी क्लब अफ गण्डकीले शनिबार पोखरा महानगरपालिका–१७ छोरेपाटनमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य जाँच गराएका हुन् । निशुल्क स्वास्थ्य शिविरमा नेपाल आयुवेद औषधी व्यवसायी संघ कास्की र लाईफकेयर डाइनोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लिले प्राविधिक सहयोग गरेका थिए ।  क्लबका अध्यक्ष किसान सुनारले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।  ‘रोटरी क्लबले सामाजिक उत्तरदायित्वमा रहेर काम गर्दै आएको छ, मेरो कार्यकालमा पनि सामाजिक उत्तरदायित्वमा रहेर नै काम गर्ने प्रतिवद्धता गरेको छु’, सुनारले भने, ‘आजको स्वास्थ्य शिविर आर्थिक अवस्था कमजोर भएका स्थानीयहरुलाई मध्यनजर गरेर सञ्चालन गरेका छौं ।’ उनका अनुसार निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धी, श्वास कास शिर रोग, स्त्री तथा प्रसुति रोग, पेट सम्बन्धी रोग र गुद्द्धार सम्बन्धी रोगको निशुल्क जाँच तथा औषधी वितरण गरिएको थियो ।  रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरको उद्घाटन रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर पिडिजी किरणलाल श्रेष्ठले गरेका थिए । पोखरा महानगरपालिका–१७ वडा कार्यालय,बाराही टोल सुधार समिति र पुल्चोक टोल सुधार समितिको स्थानीय व्यवस्थापनमा स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।   

ढोरपाटन:     बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन् ।  निसीखोला, बडिगाड, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाको आफ्नै भवन  छ ।  ती  मध्ये केही पालिकाले अघिल्लो कार्यकालमै भवन बनाएर सेवा दिन सुरु गरेका थिए भने बडिगाड गत वर्ष आफ्नो भवनमा सरेको थियो । जैमिन, ढोरपाटन र गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छन् । काठेखोलाको भने अझैसम्म भवन निर्माण सुरुआत भएको छैन । करिब छ वर्षसम्म स्थानीयको विवादका कारण जग्गा व्यवस्थापन हुननसकेको जनाइएको छ । अघिल्लो वर्ष कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोटमा भवन निर्माण गर्ने निर्णय गरे पनि निर्माण गर्ने भनिएको स्थान सामुदायिक वन क्षेत्र पर्ने हुँदा बाँकी प्रक्रिया पुर्याइरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । सामबोट सामुदायिक वन उपभोक्ता समितिले भवन बनाउन दिने निर्णय गरी मन्त्रालयमा पठाएपछि भवन निर्माणका काम थाल्ने उहाँको भनाइ छ । भवन निर्माणका लागि माटो परीक्षण गर्ने काम सकिएकाले आगामी आर्थिक वर्षमा भवन निर्माण अगाडि बढ्ने अध्यक्ष थापाले बताउनुभयो । ढोरपाटनले पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । उसले ढोरपाटनल –ं १ को बुर्तिबाङ बजारमै भवन निर्माण गरिरहेको छ । अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको नगरपालिकाका सूचना अधिकारी चण्डिराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले दुईवटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको जनाउँदै हरेक महिना मासिक रु एक लाख ३० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । गलकोटले पनि भाडाकै घरमा कार्यालय सञ्चालन गरेको छ । गलकोट– ६ स्थित मजुवा फाँटमा करिब रु १४ करोडको लागतमा प्रशासनिक भवन निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले आठ घर भाडामा लिएर मासिक रु एक लाख ८० हजार भाडा तिर्दै आएको उहाँले बतउनुभयो । भवन विसं २०८१ पुसमा सक्नेगरी सम्झौता भएको जनाइएको छ । जैमिनीले पनि कुस्मिशेरामा चार घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । करिब रु नौ करोडको लागतमा कुस्मिशेरा बजार नजिकै भवन बनिरहेको उहाँको भनाइ छ । हालसम्म ३५ प्रतिशत काम सकिएको जनाइएको छ । नगरपालिकाले मासिक रु एक लाख ६० हजार घरभाडा तिर्दै आएको छ । निर्माण कम्पनीले सरासर काम सके आगामी वर्ष आफ्नै भवनबाट सेवा सुरु गर्न सकिने उपप्रमुख शर्माको भनाइ छ ।  बागलुङ नगरपालिका विसं २०५३ मा स्थापना भयो । लामो समय बजारमा भाडा तिरेर कार्यालय सञ्चालन गर्यो । लामो समयसम्म बागलुङ –ं ३ स्थित रातमाटामा पक्की भवन बनाएर सेवा प्रवाह गर्दै आएको नगरपालिका आफ्नो कार्यालय छाडेर विसं २०७६ मा बागलुङ बजारमा रहेको कृषि ज्ञान केन्द्रको भवनमा सर्यो । हाल सोही कार्यालयबाट सेवा दिँदै आएको छ । जिल्लाका अन्य नौ पालिका विसं २०७३ मा स्थापना भएका थिए । पहिलोपटक जनप्रतिनिध आएपछि केही पालिकाले पहिलो कार्यकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले अहिलेसम्म भवन नै बनाउन सकेका छैनन् ।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–८, जाल्पारोडको एक होटलबाट पोखरा–९, पृथ्वीचोक बस्ने वर्ष २९ का प्रविन गुरुङ, पर्वत घर भई काठमाडौंको शङ्खमूल बस्ने वर्ष २३ का निर्मल मल्ल र पोखरा–१७, बिरौटा बस्ने वर्ष २६ का राजेश ठकुरीलाई पक्राउ गरेको हो । उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।  पोखरा–८, जाल्पारोडस्थित रहेको काभ्रेली खाजाघरका सञ्चालकले बालिका तथा महिलालाई होटलमा राम्रो काम लगाइदिन्छु भनी सुरुमा सरसफाइको काम लगाएपछि विभिन्न प्रलोभनमा पारी पोखराका विभिन्न होटलमा पठाई यौन शोषण गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले बिहीबार राति १० बजेतिर पर्वत खाजाघरबाट महिलालाई बाहिर लैजान लागेको अवस्थामा एक बालिका र दुई महिलालाई उद्धार गरेको छ । 

काठमाडौं:   टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेको समूह डीमा परेको छ । शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा अमेरिकाको डल्लासमा खेल्ने छ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा तथा तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग सेन्ट भिन्सेन्टमा र जुन १६ मा बंगलादेशसँग पनि सेन्ट भिन्सेन्टमै खेल्नेछ । भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन् । उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन् । समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् । समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई÷दुई टोलीले सेमिफाइनल खेल्ने छन् । यसअघि जुन ४ देखि ३० सम्म हुने भनिएकोमा आईसीसीले मिति हेरफेर गरेको छ । अब टी-२० विश्वकप जुन १ देखि २९ सम्म हुनेछ । पहिलो खेल अमेरिका र क्यानडाबीच जुन १ मा डल्लासमा हुनेछ । गत कात्तिकमा काठमाडौंमा भएको टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो ।

पोखरा:   २५ औं ल्होछार घलेल महोत्सवमा आयोजितमा घोडा दौडको उपाधि छोम्रोङका दिपेन्द्र गुरुङले जितेका छन् । बौद्ध सृजना युवा क्लबले तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा  आयोजना गरेको घोडा दौडमा छोम्रोङका दिपेन्द्र गुरुङ प्रथम, उल्लेरीका सुमित पुन द्धितिय र छोम्रोङका अमित गुरुङ तृतीय भए । घोडा दौडमा प्रथममा भएका गुरुङले ४० हजार र द्धितीय भएका पुनले २० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।    कास्कीको माछापुच्छ«े गाउँपालिका ८/९ घलेलमा पुष १५ देखि २० गतेसम्म २५ औं ल्होछार घलेल महोत्सव भएको थियो । ल्होछार घलेल महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, पौढ भलिबल, ठेलो, रस्साकस्सी, अन्धानिशान, सामुहिक नृत्य, घोडा दौडे, महिला  कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको छ ।  

पोखरा:   गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीले कृषि मुलुकको आर्थिक मेरुदण्ड भएको बताउनुभएको छ ।  कृषि विकास निर्देशनालय गण्डकी, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा पोखरामा आजदेखि सुरु भएको प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री जिसीले मुलुकको आर्थिक मेरुदण्ड भएको बताएका हुन् ।  “हाम्रो देशको सन्दर्भमा भन्ने हो भने कृषि नै हाम्रो लाइफलाइन हो, कृषि नै हाम्रो देशको आर्थिक मेरुदण्ड हो, उहाँले भन्नुभयो, सिङ्गो मुलुकको जिडिपीमा २६ प्रतिशत कृषिको योगदान छ, त्यसका कारण हाम्रो जीवन वृत्तिको प्रमुख माध्यम कृषि नै हो ।” नेपालमा कृषि पेसालाई परम्परागत र निर्वाहमुखीबाट बिस्तारै आधुनिकीकरण र यान्त्रीकरण तर्फ लैजानु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक बोधराज कार्कीले महानगर क्षेत्रका कृषकहरूलाई यान्त्रीकरणमा अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । कृषि उपजको बजारीकरण सहित सुरक्षित ढुवानीका लागि कृषि एम्बुलेन्स समेत सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले वडावडाहरुमा कृषि उपज सङ्कलन केन्द्रहरूमा समेत स्थापना गरिएको बताउनुभयो । कृषिको आधुनिकीकरण र यान्त्रीकरणका विषयमा विद्यालय तहदेखि नै अध्ययन अध्यापन गराउनु आवश्यक रहेको पोखरा १४ का वडाध्यक्ष समेत रहनुभएका संयोजक कार्कीले बताउनुभयो । महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिका पछिल्ला केही वर्षदेखि कृषि यान्त्रीकरणको अभियानमा रहेको बताउनुभयो । “हामी कृषिको आधुनिकीकरण र यान्त्रीकरणको अभियानमा छौँ, प्रमुख कडरियाले भन्नुभयो, यसका बाबजुद पनि हामीसँग केही चुनौतीहरू छन्, टुक्रे र भिरालो जमिनका कारण यान्त्रिक उपकरणहरूको उपयोग त्यति सहज छैन, तैपनि यसप्रति कृषकहरूलाई आकर्षण गर्दै अनुदान र लागत साझेदारीमा कृषि यान्त्रीकरणको काम भने निरन्तर भइरहेको छ ।” पोखरा महानगरपालिका भित्रको कृषियोग्य जमिनलाई बाँझो नराख्ने र कृषकहरूको उत्पादनलाई बजार सुनिश्चितताका सकारात्मक अभ्यासहरू महानगरपालिकाको तर्फबाट गरिएको प्रमुख कडरियाले बताउनुभयो ।  परम्परागत र निर्वाहमुखी कृषि प्रणालीको विकल्प आधुनिकीकरण सहितको कृषि यान्त्रीकरण नै हुने व्यवसायीहरूले बताएका छन् । कृषकहरूको उत्पादन लागत कम गर्दै उत्पादनमा उल्लेख्य वृद्धि गर्न यान्त्रीकरण आवश्यक रहेको उनीहरूले बताए । उत्पादन देखी प्रशोधनसम्मका कृषि उपकरणहरू बजारमा उपलब्ध रहेका व्यवसायीहरूको भनाइ छ ।  प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरू, आयातकर्ता, वितरक, डिलर, सबडिलरहरु, सरकारी एवं गैरसरकारी सङ्घ संस्थाहरू, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरू, अनुसन्धान संस्थाहरू, सेवा प्रदायक कृषक समूह, सहकारी सङ्घ संस्थाहरू, बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको छ । १० बढी मुलुकबाट कृषि ओैजार, उपकरण तथा प्रविधिहरू प्रदर्शनी एवं बिक्री भइरहेको प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।  प्रदर्शनीले नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्‍याउने उद्देश्यले राखेको छ । सो क्रममा कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल अन्तरक्रिया हुनेछन् । प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउ बिजन, आधुनिक सिँचाइ लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको छ ।

पोखरा:    पोखरा महानगरपालिका वडा नं. १ मा वृहत् स्वास्थ्य शिविरमा २ सय जनाले सेवा लिएका छन् ।     पोखरा महानगरपालिका वडा नं.१ कार्यालयको आयोजना, मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा सहरी स्वास्थ्य केन्द्र पोखरा १ को सहकार्यमा नाक, कान र घाँटी परीक्षण सम्बन्धी वृहत्  स्वास्थ्य शिविरमा २ सय जनाले सेवा लिएका हुन् ।  शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले महानगपालिका नगरवासीहरूको स्वास्थ्य प्रति संवेदनशील रहेको बताउनुभयो ।   नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धनका लागि महानगरपालिकाले वडा स्तरीय सहरी स्वास्थ्य केन्द्र, महानगरपालिका स्तरीय सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।  वडा नं.१ का वडा अध्यक्ष सहारा प्रधानले वडामा रहेका नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई स्वास्थ्य प्रति सचेतना जगाउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो ।   उहाँका अनुसार शिविरमा सयौँ वडावासी नागरिकहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।