पोखरा:  पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।  पोखरा महानगरपालिकाको आइतबार भएको १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी...

काठमाडौं:   भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन हिजो बिहीवार बिहान नेपाल आएका थिए ।  भारत फर्कनुअघि विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरे ।  नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।  जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन बिजुली व्यापारलगायत चार वटा सम्झौतामा हस्ताक्षर भएको छ । आज स्वदेश फर्किनु अगाडि जयशंकरले बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको भनवको उद्घाटन गरे।

काठमाडौं:    सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ । सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदावी नपुग्ने’ भनी निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ । द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ जेठमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारवाही गरिपाँउ भनी निवेदन दिएका थिए । लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो । २०७३ बैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए । माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखेका थिए । त्यतिबेला व्यक्ति हत्याको आरोपमा माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए । त्यही आक्रोशमा दाहालले शान्ति प्रक्रिया विरुद्ध अदालत अघि बढ्दैछ भनी विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिविरुद्ध तत्कालिन अधिवक्ता त्रिपाठीले अवहेलनाको आरोपमा कारवाही अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

पोखरा:   प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।  शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् ।  शुक्रबार छनोट तथा सिफारिस समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएका हुन् ।  त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् ।  आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको बताए ।    प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिए । 

पोखरा:   पोखरामा तीन दिने कृषि यान्त्रीकरण एक्सपो आजदेखि सुरु भएको छ ।     ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नाराका साथ पहिलो पटक प्रदेश अन्तर्गत कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत् प्रदर्शनी सुरु भएको हो । गण्डकी प्रदेशको पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आज, भोलि र पर्सिसम्म सो मेला जारी रहने नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) की उपाध्यक्ष सुनिता नेम्खेवाले बताइन् । सो प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुल्ला रहनेछ ।   प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरु रहनेछ भने करिब ५ करोड मूल्य बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।   कृषक, कृषि कर्मी, उद्यमी, व्यवसायी, कृषि बिग्य, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी लगायत करिब २० हजारले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।  एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार र उपकरण र यन्त्रहरु तथा सेवाहरूका बारे जानकारी गराउन, नीति निर्माता तथा उपभोक्ताहरूलाई कृषि यान्त्रीकरण प्रविधि सम्बन्धी चेतना जगाउन प्रवर्द्धनमा योगदान पुर्याउन, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजारको विकास गर्ने जस्ता उद्देश्य आयोजकले लिएको छ ।

काठमाडौं:    आईसीसी पुरुष यू-१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक कार्यक्रमको आयोजना गर्दै नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाइ गरे । क्यानले दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ सम्म चल्नेछ । नेपाली टोलीः  देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुभाष भण्डारी, दिपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा, बिपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द ।

म्याग्दी:    म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो । मंगला(५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत गरेका जानकारी दिए । ‘चार वर्षअघि डोजरले जमिन सम्याउने काम भए पनि खेलमैदान प्रयोगमा नआउँदा झाडीले भरिएको थियो’, उनले भने, ‘पुस १ देखि १२ गतेसम्म सञ्चालन भएको श्रमदान अभियानमार्फत स्तरोन्नति गरिएको थियो ।’ उनका अनुसार उक्त खेलमैदानमा पुस १५ देखि १७ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ । खेलमैदानमा झाडी फाँड्ने, रहेका ढुङ्गा टिपेर व्यवस्थापन गर्ने, सम्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न एक हजार पाँच सयले श्रमदान गरेका वडाध्यक्ष खत्रीले बताए । उनका अनुसार ससाना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोटपटक नलाग्ने बनाइएको छ । बाबियाचौर, पीपलबोट, रणवाङका युवाक्लब र आमासमूहको नेतृत्वमा दैनिक २० देखि ३० जनाका दरले स्थानीयवासी श्रमदान अभियानमा सहभागी भएका पीपलबोटका युवा श्यामसुन्दर कँडेलले बताए । बाबियाचौरको मङ्गला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन खेलमैदानमा श्रमदान गरेका थिए । गाउँपालिकाले जमिन सम्याउन डोजर परिचालन गर्नुका साथै स्टेज बनाएको छ । जमिन सम्याउन डोजर भाडा र स्टेज बनाउन रु पाँच लाख बराबरको खर्च भएको गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले जानकारी दिए । ‘झाडीले भरिएको कैलाशफाँट अहिले व्यवस्थित बनेको छ । खेलमैदानले स्वरुप लिएको छ’, उनले भने । गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख बजेटबाट विसं २०७६ मा १२० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो ।  खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा एक सय २० थान ग्याबियन पर्खाल निर्माण गरिएको थियो । गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायकपर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ ।व्यवस्थित खेलमैदान अभावमा खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न तथा खेलाडीले खेल अभ्यास गर्न समस्या थियो । गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताए । कैलाशफाँटको खेलमैदानलाई पालिकास्तरीय बनाउने योजना रहेको उनको भनाइ थियो ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेको भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् ।    उनले परियोजनामा भारत एक्लैले निर्णय गर्ने नभइ यसमा नेपालको पनि निर्णय र साझेदारी रहने र त्यसैअनुसार खर्च गर्ने प्रक्रियामा रहेर मात्रै यो रकम खर्च हुने बताए ।  आज बसेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने विषय नरहेको बताए ।  भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा हिजो काठमाण्डौमा रहेको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताए। 

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । आज सार्वजनिक सूचनामा कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा ९२० अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न भनिएको छ । दरखास्त सिंहदरबारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र पेस गर्नुपर्नेछ । दरखास्तमा शैक्षिक, वैयक्तिक विवरणसहित सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनुपर्नेछ । रिक्त उपकुलपति सिफारिसका प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले गएको कात्तिक तेस्रो हप्ता शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको थियो । त्रिविका उपकुलपति डा। धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १६ गते सकिएको थियो । बास्कोटाको कार्यकाल सकिएपछि रेक्टर शिवलाल भुसालले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहनुभएको छ । 

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान सम्बन्धी मुद्धाका फरार व्यक्तिलाई प्रकाउ गरेको छ ।   कास्कीको मादी गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका १३ काहुँखोला बस्ने ४४ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई ज्यान सम्बन्धी मुद्धामा प्रहरीले प्रकाउ गरेको हो ।  जिल्ला अदालत कास्कीले गएको भदौ १८ गते क्षेत्रीलाई ज्यान सम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरिवना फैसला गरेको थियो ।   जिल्ला अदालत कास्कीले ज्यान सम्बन्धी कसूरमा गरेको फैसालाको ९ वर्ष ११ महिना १८ दिन कैद र १ लाख ४ हजार जरिवाना भुक्तान बाँकी रहेको समयमा प्रतिवादी क्षेत्री हालसम्म फरार थिए ।  ज्यान सम्बन्धी कसूरमा प्रकाउ परेका क्षेत्रीलाई जिल्ला अदालत कास्कीले कारागार चलान गर्न आदेश दिएको छ ।