भक्तपुर: बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पुर्याइएको जानकारी दिए। उनले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरे। ुभोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछुु, शर्माले भने, ‘साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नरगराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ ।’ उनका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ । परीक्षा दिने पाँच लाख बढी बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् । परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक÷एक, पर्सा र सप्तरीबाट दुईरदुई, रुपन्देहीबाट चार जना छन् । परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जापानमा एक परीक्षा केन्द्र यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए। उनका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् । प्रश्न पत्र र उत्तरपुस्तिका जिल्लाजिल्लामा परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तर पुस्तिकालगायतका सम्पूर्ण सामग्री बोर्डले सम्बन्धित जिल्ला पु¥याएको छ । बोर्डले यसवर्ष पाँच लाख प्रश्नपत्र छापेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिए। उनका अनुसार प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने छ । उत्तरपुस्तिका एवम् अन्य सामग्री कार्यालयले सातै प्रदेशबाट जिल्लाजिल्ला पठाइसकेको जानकारी दिँदै पौडेलले परीक्षाका लागि प्रदेश र जिल्लाले गर्ने तयारी पनि पूरा भएको जानकारी आएको बताए। परीक्षा सञ्चालनका लागि आवश्यक बजेट भने सातवटै प्रदेशका प्रदेश सरकार, सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। परीक्षाका लागि खटिंदै ७७ हजार चार सय ८५ जनशक्ति बोर्डका अनुसार एसइई परीक्षाका लागि प्रत्यक्षरुपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् । प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै एक सय ५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार एक सय २८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार दुई सय २२ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। त्यसैगरी एक सय परीक्षार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार नौ सय ६० सुरक्षाकर्मी परिचालन गरिने छ । परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मीको सङ्ख्या थप हुन सक्ने पौडेलको भनाइ छ । उनका अनुसार सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले थप गर्न सक्नेछ । परीक्षा उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन । यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यसवर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ । परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने जानकारी दिए। परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताए। उनका अनुसार ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।
इलामः पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष अदुवा बेचेर रु १२ लाख आम्दानी गर्नुभयो । अदुवा (बच्चा) प्रतिमन (४० किलो) रु आठ हजारका दरले एक सय ५० मन बेच्नुभएको थियो । “गत वर्ष अदुवाको मूल्य राम्रो पाइयो, त्यसैले आम्दानी पनि मनग्य भयो”, उहाँले रासससँग भन्नुभयो, “अदुवाको बजार र माग प्रशस्त भएकाले बिक्री गर्न समस्या छैन ।” उहाँले गत वर्ष १० रोपनी जमिनमा अदुवाखेती गर्दा दुई सय १० मन उत्पादन भएको जानकारी दिनुभयो । करिब ६० मन बीउका लागि राखेर एक सय ५० मन बिक्री गरेको लिम्बूले बताउनुभयो । यस वर्ष पनि खेती विस्तार गरेकाले उत्पादन पनि वृद्धि भएको उहाँको भनाइ छ । पन्ध्र रोपनीमा ६० मन बीउ राप्दा करिब तीन सय ५० मन उत्पादन भएको उहाँले बताउनुभयो । “यस वर्ष तीन सय ५० मन उत्पादन भएको छ । अहिलेसम्म बिक्री भने गरेको छैन”, लिम्बूले भन्नुभयो, “अझ भाउ बढ्ने आशामा नबेची राखेको छु, गत वर्षकै भाउ चल्यो भने रु २८ लाख हाराहारी आम्दानी हुनेछ ।” उहाँले अदुवा बिक्रीबाट आएको आम्दानीले आफ्नो दैनिक घरव्यवहार खर्चका साथै छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्दै आएको बताउनुभयो । “पाँचजना परिवारको घरखर्च र छोराछोरीको पढाइ यहीँ अदुवाखेतीले धानेको छ”, उहाँले भन्नुभयो । फुएतप्पाकै किसान रामु गिरीले अदुवाखेतीबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएको बताउनुभयो । एक सय ५० देखि दुई सय मनसम्म अदुवा उत्पादन गर्दै आउनुभएका गिरीले पछिल्लो समय भाउ राम्रो आएकाले आम्दानी बढेको बताउनुभयो । “विगत तीन वर्षयता अदुवाले भाउ राम्रै पाइरहेको छ,” उहाँले भन्नुभयो, “यही भाउ स्थिर रहिरहने हो भने किसानको आम्दानीको मुख्य स्रोत अदुवा बन्न सक्छ ।” माङसेबुङ गाउँपालिका–२ का उदय सङबाङफेले यस वर्ष अदुवा बेचेर रु तीन लाख ३३ हजार हात परेको बताउनुभयो । पछिल्लो वर्ष व्यावसायिक अदुवाखेती गर्दै आउनुभएका उहाँले अदुवाको बजार र माग राम्रो भएकाले विदेश जान छोडेर व्यावसायिक अदुवाखेतीमा जुटेको बताउनुभयो । यस वर्ष मुख्य उत्पादनको सुरुदेखि नै अदुवाले राम्रो भाउ पाएपछि किसान उत्साहित भएका छन् । जिल्लामा उत्पादित अदुवा झापाको धुलाबारीमा अहिले प्रतिमन रु सात हजारदेखि रु आठ हजार सम्ममा बिक्री भइरहेको छ । इलाममा प्रतिमन रु छ हजारको दरमा किनबेच भइरहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले बताउनुभयो । “अहिले यहाँ अदुवाको सरदर मूल्य रु छ हजार छ । यो मूल्य विगत तीन वर्षकै उच्च हो,” उहाँले भन्नुभयो, “सिजनको अन्त्यमा सधैँ नै भाउ राम्रो आउँछ, यो वर्ष पनि बढ्न सक्छ । भाउ बढेपछि किसान अदुवाखेतीप्रति आकर्षित हुन थालेका छन् ।” जिल्लाका किसानले १० मनदेखि दुई सय मनसम्म अदुवा रोप्ने गरेका छन् । अदुवा बढी उत्पादन हुने क्षेत्रका किसानले धान र अन्य खेती छाडेर यसलाई बढाएका पौडेलको भनाइ छन् । अरू खेतीको दाँजोमा अदुवाखेतीबाट नाफा बढी हुने भएकाले किसान यसप्रति आकर्षित भएका उहाँले बताउनुभयो । माउ अदुवाको मुख्य उत्पादन कात्तिकको पहिलो सातादेखि सुरु हुन्छ । मुख्य उत्पादनको बिक्री जेठसम्म हुने गर्दछ । जिल्लाको व्यापारिक केन्द्रहरू इलामसँगै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, फिक्कल, पशुपतिनगर, तीनघरे, बोल्बुङ, हर्कटे, दानाबारीलगायत बजारमा बढी मात्रामा अदुवा किनबेच हुने गर्दछ । जिल्लाको मुख्य नगदेबालीका रूपमा गरिने अदुवाखेती इलामका प्रायः सबै पालिकाका किसानले गर्दै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । समुद्र समतबाट नौ सयबाट एक हजार पाँच सय मिटरसम्म अदुवाखेती गर्न उपयुक्त मानिने केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले बताउनुभयो । उहाँका अनुसार यहाँका किसानले ठुलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्ने गरेका छन् । इलाममा तीन हजार दुई सय २५ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवाखेती हुँदै आएको केन्द्रका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष जिल्लामा ५० हजार नौ सय ५५ मेट्रिक टन अदुवा उत्पादन भएको केन्द्रसँग तथ्याङ्क छ । मसलाका रूपमा प्रयोगमा आउने यसको खपत पूर्णरुपमा भारतीय बजारमा हुने गरेको छ । पूर्वी नाका काँकडभिट्टा हुँदै भारत पश्चिम बङ्गालको नकसल पुर्याएर व्यापारीहरूले अदुवा बेच्ने गरेका छन् । अदुवाको मूल्य बढेसँगै गाउँगाउँमा पुगेर किन्ने व्यापारी बढेका छन् । ती साना व्यापारीहरूले गाउँमा नै गएर किनेको अदुवा जिल्लाको ठुला व्यापारीमार्फत झापाको धुलाबारी पुर्याएर बेच्ने गरेका किसान बताउँछन् ।
बाँकेः गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ । नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा केही वर्षयता भारतले गरेको अवरोध हटेपछि नेपाली प्लाइउड उद्योगीमा उत्साह छाएको छ । नेपालको पूर्वी नाकातिरबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिम नेपालको नेपालगन्ज नाकाबाट भने प्लाइउडको निर्यातमा भारतले रोक लगाएको थियो । भारत सरकारले प्लाइउड, बोर्ड र डोरमा एक वर्ष बिआइएस मापदण्डका लागि म्याद थप गर्ने निर्णय गरेका कारण अवरोध हटेको हो । भारत सरकारको उक्त निर्णयप्रति शिखर प्लाइउड उद्योगका सञ्चालक चम्पालाल बोथराले गुणस्तर प्रमाण चिह्न अनिवार्य गरिँदा रोकिएको निर्यात अब नियमित हुने विश्वास व्यक्त गर्नुभयो । “भारतमा नेपाली प्लाइउडको माग उच्च छ, अब नेपाली प्लाइउड भारतमा निर्यात हुनका लागि सरकारले सहजीकरण गर्न अति नै आवश्यक छ”, सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका चम्पालाल बोथराले भन्नुभयो, “शिखरले मात्रै गत वर्ष साढे रु दुई करोडको प्लाई नेपालगन्ज नाकाबाट भारत निकासी गरेको थियो ।” बाँकेको जानकी गाउँपालिका–८ इन्द्रपुरमा सञ्चालित मिडलाज इन्डस्ट्रिज प्लाइउड उद्योगका सञ्चालक रहमान मियाँले भारतले निर्यातका लागि बाटो खोले पनि गुणस्तरीय प्लाइउड उत्पादनका लागि थप लगानी लगाउन सकिने अवस्था नरहेको बताउनुभयो । “प्लाइउड कम्पनीका लागि नेपाल सरकारले निकासीका लागि स्पष्ट नीति नल्याएसम्म अब थप लगानी लगाउन सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “भारतले जम्मा एक वर्षका लागि मात्र निर्यातको बाटो खोलेको छ, लगानी लगाएर मेसिन थपेर प्लाइउड उत्पादन गर्दै गर्दा फेरि बन्द भयो भने त्यसको मर्का त हामीलाई नै पर्ने हो ।” उक्त उद्योग तीन वर्ष अघि रु २० करोड लगानीमा सञ्चालन भएको थियो । हाल उक्त उद्योगमा ३० जना कामदार रहेका छन् । नेपाली प्लाइउड इन्डस्ट्रिजका लागि ठुलो राहतको निर्णय भएको जनाउँदै ओम प्लाइउड एन्ड फर्निचर प्रालिका सञ्चालक पशुपति दयाल मिश्रले यसले नेपाली प्लाइ उद्योगका लागि निकै ठुलो राहत दिएको बताउनुभयो । “नेपाली प्लाइउडको भारत निकासी अवरोध हटाइएपछि प्लाइउडको निर्यातमा सहजता हुने र यसले नेपाली बजारको मूल्यमा प्रभाव पर्नेछ”, उहाँले भन्नुभयो, “भारत सरकारले गरेको यो निर्णय हाम्रा लागि खुसीको कुरा हो ।” ओम प्लाईले मात्रै गत वर्ष रु चार करोड बढीको प्लाई भारत निकासी गरेको थियो । भारत सरकारले गत भदौ १४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेब्रुअरी २८ पछि प्लाइउडमा बिआइएस प्रमाण अनिवार्य गरिएको जनाएको थियो । सोही सूचना रद्द गर्दै शुक्रबार एक वर्षका लागि म्याद थप्ने निर्णय गरिएको हो । सम्बद्ध उद्योग सञ्चालकका अनुसार भारतको वन मन्त्रालयले आगामी पाँच वर्षसम्म वन कटान नगर्ने र जङ्गल संरक्षण गर्ने नीति अघि सारेपछि नेपालबाट प्लाइउड आयात गरेर त्यहाँको माग धान्दै आएको छ । भारत सरकारको निर्णयसँगै नेपाल–भारत नाका पारी रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सृजना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगञ्जबाट प्लाइउडको निकासी मार्च १ तारिखदेखि रोकिएको थियो । नेपालबाट गत वर्ष रु पौने पाँच अर्बको प्लाइउड निकासी गरिएको थियो । नेपाल प्लाइउड सङ्घले यस वर्ष करिब रु आठ अर्बको प्लाइउड निकासी गर्ने लक्ष्य बाँकेका व्यवसायीको रहेको जनाएको छ । ओम प्लाइउड एन्ड फर्निचर उद्योग, योयो प्लाइउड उद्योग, मिडलाज इन्डस्ट्रिज प्लाइउड उद्योग, वागेश्वरी प्लाइउड उद्योग, शिखर प्लाइउड उद्योग र गणपति प्लाइउड उद्योग गरी छ प्लाइउडका उद्योग सञ्चालनमा रहेका छन् ।
काठमाडौं: सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम(२ र प्रदेश सभामा बझाङ–१ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी केन्द्रिय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय भएको बताए । उनले उम्मेदवारको नाम भने छलफल गर्न बाँकी नै रहेको र अर्को बैठकबाट टुङ्गो लाग्ने बताए । उनले भने, ‘‘आजको हाम्रो पार्टी केन्द्रिय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभाको निर्वाचनमा पनि उठाउने र बझाङमा प्रदेश सभाको निर्वाचनमा पनि उठाउने निर्णय भएको छ । व्यक्तिको बारेमा निर्णय गर्न सिफारिस आउँदैछ, छलफल बाँकी छ, सायद अर्को बैठकमा निर्णय हुनेछ ।’’ प्रवक्ता सापकोटाले प्रदेशमा मुख्यमन्त्री नियुक्तिबारे अझै छलफल टुङ्गिनसकेकाले बिहीबारसम्म मुख्यमन्त्रीहरुको पनि टुङ्गो लाग्ने बताए ।
उदयपुर: होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएकी त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय माछा मार्नेहरुले बेलुकी कोशीमा जाल थापेको र बिहान जाल हेर्न जाँदा मृतक मगरको शव पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । रेखाको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले बताए ।मङ्गलबार मात्र बेपत्ता तीनमध्ये ८ वर्षीय रिदम मगरको शव पनि घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो । तीन दिनअघि त्रिनपा–१४ साउनेका १२ वर्षीया रेखा मगर, १४ वर्षीय लोकबहादुर मगर र ८ वर्षीय रिदम मगर होली खेलेर सुनकोशीमा नुहाउन जाँदा नदीमा बेपत्ता भएका थिए । बेपत्ता बालबालिकाको प्रहरी र स्थानीयसहित सुनसरीको इटहरीबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी जारी राखेका छन् । हराएकामध्ये मङ्गलबार साँझ रिदम मगरको शव फेला परेको थियो । अर्का बेपत्ता १० वर्षीय लोकबहादुर मगरको शव फेला पर्न नसकेको पनि प्रहरीले जनाएको छ ।
पोखरा: सेती नदीमा हाम फालेर बेपत्ता भएका पोखरा–१६का सुगम बास्तोलाको खोजतलाजको लागि दोस्रो ड्याम खोलिने भएको छ । गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोला नभेटिएिपछि कास्की प्रहरीले भोलि (बिहीबार) ड्याम खोलेर खोज्ने तयारी गरेको हो । पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदी माथि बनाइएको पुलबाट हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोल्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए । पोखरा महानगरपालिका–१६ दिपस्थित सेती नदीमा बनाईएको ड्याम भोलि (बिहीबार)खोलेर पानीको बहाव बढाई बास्तोलाको खोजतलाज गर्ने प्रहरी निरीक्षक रानाले बताए । गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोलालाई प्रहरीले परिवारको आग्रहपछि फागुन २२ गतेपनि ड्याम खोलेर खोजतलाज गरेको थियो । बास्तोलाको परिवारले पुनः दोस्रो ड्याम खोलेर पटक खोजतलाजको लागि आग्रह गरेपछि ड्याम खोलेर खोजतलाज गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुनको स्मृति प्रतिष्ठान सञ्चालनमा आएको छ। संस्थापक अध्यक्ष पुनमगरको स्मृतिमा ‘हेमबहादुर पुन स्मृति प्रतिष्ठान’ जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भएर सञ्चालनमा आएको हो। प्रष्ठिानका सचिव मेजन पुनका अनुसार संस्थापक अध्यक्ष पुनको २० औँ स्मृति दिवसको अवसरमा गत भदौ ३१ मा नेपाल मगर संघको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमले प्रतिष्ठान सञ्चालनमा ल्याउने निधो गरेको थियो। सोही निर्णय बमोजिम संस्थापक अध्यक्ष पुन मगरका छोरा पूर्वमन्त्री उत्तम पुनको संरक्षकत्वमा प्रतिष्ठान विधिवत दर्ता भएर सञ्चालनमा आएको हो। क्याप्टेन रविन्द्र पुनमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति रहने सचिव पुनले जानकारी दिए। प्रतिष्ठानले संस्थापक अध्यक्ष पुन मगरले देखाएको बाटो फराकिलो पार्दै लैजाने अठोट गरेको सचिव पुनले जानकारी दिए। ‘हेमबहादुर पुन मगर ज्यूले मगर जातिको उत्थानमा गर्नु भएको लगानी त हामीले पूरा गर्न सक्दैनौँ। तर उहाँले देखाउनु भएको बाटो, मगर जातिलाई जागरुक बनाउन प्रतिष्ठानले जति सक्छ प्रयास गर्ने छ,’ उनले भने। संस्थाले सामाजिक कल्याणका लागि गरिब दिनदुखीको हितका लागि पनि काम गर्ने उनले जानकारी दिए। संस्थापक अध्यक्ष पुनमगर ब्रिटिश आर्मीबाट अवकाश भएपछि नेपाल आर्मीमा सेकेण्ड लेफ्टिनेन्टमा भर्ती भएका थिए। पुन मगरको विस १९७५ बैशाख ६ गते म्याग्दीको तत्कालिन शिख, हाल अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ मा जन्म भएको थियो।
काठमाडौं: विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने अभिमत प्रकट हुँदै आएको थियो । मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
पाल्पा: पाल्पामा एक युवती धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेकी छन् । रिब्दीकोट गाउँपालिका वडा नं। १ ख्याहाकी १८ वर्षीया पद्यमा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी हुन् । बिहान नौ बजेतिर नुहाउन भनी घरबाट हिडेकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि एक किलोमटिरको पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिए । वडाध्यक्ष पोखरेलकाअनुसार उनको हातको औला, पाखुरा र अन्य स्थानमा पनि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । घटनाबारे अनुसन्धानका लागि जिल्लास्थित प्रहरीको टोली र स्थानीय घटनास्थलमा पुगेका छन् । घटनास्थल पुगेका पाल्पाका प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठले पनि धारितो हतियार प्रयोग भएको हुँदा हत्या भएको हुने सक्ने बताए । अनुसन्धान जारी रहेको हुँदा घटनाको पूर्ण विवरण आउन बाँकी रहेको श्रेष्ठको भनाइ छ ।

