पृथ्वीचोक क्षेत्र पुन: अस्तव्यस्त

पाेखरा | जेठ ३०, २०८१

पृथ्वीचोक क्षेत्र पुन: अस्तव्यस्त

पाेखरा:   जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ ।

 

गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किङ निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लंघन भएको हो ।

 

पर्यटकीय राजधानीसमेत रहेको पोखराको अतिव्यवस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो । 

 

पार्किङ हटेपछि केही समय सो क्षेत्र शान्त र खुला देखिएको थियो । लामो दूरीका सवारीसाधन पृथ्वीचोकको भित्रपट्टि रहेको बसपार्कबाट छु्ट्न थालेका थिए । नगर बसलगायत छोटो दूरीका सवारीसाधनले पनि धेरैबेर नरोकी तोकेको स्थानमा यात्रु चढाउने र ओराल्ने गर्थे ।

 

पैदल यात्रुलाई पनि आउजाउ गर्न सहज बनेको थियो । तर अहिले हिजोकै अवस्थामा पृथ्वीचोक पुगेको छ । 

 

काठमाडौँलगायत लामो दूरीमा चल्ने बसले पनि सडक किनाराबाटै यात्रु चढाउन थालेका छन् । बसपार्क हुँदाहुँदै सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दा सवारी जामको समस्या देखिन थालेको छ ।

 

माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ । 

 

पोखराबाट देशका विभिन्न ठाउँमा पुग्ने सवारीसाधन पृथ्वीचोकबाटै छुटने र मृख्य राजमार्ग पनि भएकाले त्यहाँ सवारीसाधनको अत्यधिक चाप हुने गर्छ ।

 

बसपार्क, होटल, वित्तीय संस्था, अस्पताल तरकारी बजार, मासु पसललगायत व्यवसाय तथा सरकारी सेवा दिने यातायात व्यवस्था कार्यालयलगायत अड्डा पनि सोही क्षेत्रमा रहेकाले पृथ्वीचोकमा मानिसको भीडभाड भइरहन्छ । 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी हवल्दार आशिष क्षेत्रीले सवारीसाधनको बढ्दो चापका कारण पोखरामा पार्किङको समस्या देखिएको बताए ।

 

“पृथ्वीचोक क्षेत्रमा अहिले पनि पार्किङ त निषेध नै छ, यात्रु चढाउने र ओराल्न मात्र दिने गरेका छौँ,” उनले भने, “सबैतिरका गाडी पृथ्वीचोक भएर गुड्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौती भने छ, यसमा यातायात व्यवसायी र स्थानीयबासीको साथ चाहिन्छ ।”

 

सडक फराकिलो र व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले सो क्षेत्रमा रहेका अस्थायी संरचनासमेत हटाएको थियो । जीर्ण अवस्थामा रहेको बसपार्कको मर्मतसुधारको काम महानगर र प्रदेश सरकारले मिलेर गरेका थिए । यातायात व्यवसायीहरूले बसपार्क व्यवस्थित नहुँदा पार्किङको समस्या भइरहेको बताउँदै आएका छन् ।

 

पोखरा ४८ वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पर्खाइमा छ । बसपार्क बनाउन वि.सं. २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चदैँ गएको छ ।

पोखरा:    पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो ।  किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा ४ बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ ।  लेकसाईडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिषा युथ होस्टेल प्राइभेट लिमिटेडको क...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा भएको भ...

थप पढ्नुहोस्