पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थि...

पोखरा:  ‘समानताका लागि आवाज’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘आवाज’ले गण्डकी प्रदेश भित्रका ११ वटै जिल्ला प्रहरी कार्यालयमा छुवाछुत र भेदभाव सम्बन्धि सचेतनामूलक बोर्ड राख्ने भएको छ ।   गण्डकी प्रदेश प्रहरी कार्यालयमा बसको बैठकबाट जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्ष अगाडि जातीय तथा सामाजिक छुवाछुत र भेदभावसम्बन्धि सचेतनामूलक बोर्ड राख्ने निर्णय गरेको हो ।   पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिसकेको छ भने आज (सोमबार) प्रदेश प्रहरी कार्यालयको नागरिक सहायता कक्ष अगाडि बोर्ड राखिएको छ ।   सो अवसरमा बोल्दै गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानरीक्षक विकासराज खनालले गण्डकी प्रदेशमा जातीय तथा अन्य भेदभावका घटनाहरु भएमा शुन्य सहनशिलताकासाथ कानुनी दायरामा ल्याउन प्रदेश मातहतका कार्यालयहरुलाई निर्देशन गरेको बताउदै आवाजले सहयोग गरेको जनचेतनामुलक समाग्रीले कार्यक्रमलाई थप उर्जा प्रदान गरेको धारणा राखे ।     डिआइजी खनालले सामाजिक रुपान्तरणका लागि आवाजलाई आगामी दिनमा यस्तै सकरात्मक  र रचनात्मक कार्यक्रम निरन्तर गर्न सुझावसमेत दिएका थिए ।   यस्तै आवाजका सदस्य अपिल विश्वकर्माले आवाजविहीनका आवाज र विभिन्न किसिमका सामाजिक हिंसाको विरुद्धमासंस्थाले काम गर्दै आएको जानकारी दिए ।   उनका अनुसार आवाजले यसअघिदेखिनै विभिन्न वडामा गुन्द्रीमा मुक्ति संवाद, लागुपदार्थविरुद्धको सचेतना कार्यक्रम, रक्तदान कार्यक्रम लगायतका सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।  

दोलखा:  दोलखाको शैलुङमा भएको हत्याकाण्डका आरोपीहरुलाई आइतबार प्रहरी सार्वजनिक गरेको छ।   हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका–५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको हो।   गत पुसमा शैलुङ गाउँपालिकाका– ४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई उनीहरुले खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ।   युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए। उनका अनुसार गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए। (भीष्म भण्डारी)   गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर घर फर्किएपछि युवकलाई छोरीसँगै देखेपछि वादविवाद भएको थियो।   विवादपछि किशोरीका ठुलोबुबाका छोरा विशाल नेपाली पनि पुगेका थिए।​त्यसलगत्तै उनीहरुले भीष्मलाई स्थानीय वीरबहादुर तामाङको घर नजिकै बाटोमा लगेर घाँटी रेटेर हत्या गरेका थिए।   दोलखा प्रहरीका अनुसार वादविवादपछि आक्रोशित भएका ईश्वर नेपालीले आफ्नो घरको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर गई भीष्मलाई खुकुरी प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ।   त्यसपछि उनीहरुले खुकुरीले घाँटी छिनाई मृतक शवलाई धारामा पानीले पखाली स्थानीय बजिनी खोल्सामा लगेर फालेको उनीहरुले बयान दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

जाजरकोट भूकम्पबाट पीडित रुकुमपश्चिमक २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।   सहायक प्रमुख जिल्ला आिधकारी प्रवेश बढुवालका अनुसार कूल ३१ हजार छ सय २० लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम निकासा भइसकेको छ ।   जिल्लाका छवटै पालिकाका २९ हजार एक सय ३३ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।   उहाँका अनुसार सबै भन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा एक हजार पाँच सय ४७ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् ।   त्यस्तै सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय ६१, त्रिवेणी गाउँपालिकामा चार हजार एक सय १५, चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ र बाँफीकोट गाउँपालिकामा एक हजार ६ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेको उहाँको भनाइ छ ।   उहाँका अनुसार छवटै स्थानीय तहमा हालसम्म रु २५ हजारका दरले रु बहत्तर करोड ८३ लाख २५ हजार रकम लाभग्राहीले प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ३१ हजार ६ सय २० लाभग्राहीको लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७९ करोड पाँच लाख पठाएको छ ।   जिल्लामा हालसम्म २४ हजार सात सय २६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् भने पाँच हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो ।   जिल्ला अझै दुई हजार चार सय ८७ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी छ ।

पोखरा:    एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले हेम्जा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा कास्कीको हेम्जामा यो कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षण कार्यक्रममा गन्धर्व समुदायका २५ जना बालबालिकाको सहभागी बनेका थिए । उनीहरुलाई स्थापित सारंगी बाधक सम्मर बहादुर गायकले सहजीकरण गरेका हुन् । समापन कार्यक्रमा आफूले सिकेका ज्ञानलाई उनीहरुले दुईवटा गीतमा सारंगी बजाएर प्रस्तुत समेत गरेका थिए । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमा बोल्दै उनले वैदिक काल भन्दा अगाडि सारंगीको उत्पत्ति भएको बताए । एक तार हुँदै आज सारंगीको विकसित रुप चार तारसम्म आइपुगेको उनको भनाई थियो । ऐतिहासिक महत्व बोकेको सारंगी गन्धर्व समुदायसँग जोडिनु खुशीको कुरा भएको उनले सुनाए । नेपाली लोक भाकामा प्रयोग गरिने सारंगी बाजा मात्र नभएर व्यवसाय पनि भएको भन्दै नयाँ पिढीले यसको संरक्षण प्रर्वद्धनका साथै व्यवसायसँग पनि जोड्नुपर्नेमा जोड दिए । एक महिनासम्म सिकेका कुरालाई प्रयोगात्मक रुपमा देखाएकोमा उनले बालबालिकाको प्रशंसा समेत गरे । तपाईहरुले सारंगी बजाएर देखाउनुभयो, म तपाईहरुप्रति विश्वस्त भए, अब तपाइहरु जस्तो नयाँ पिढीले सारंगीको गर्विलो इतिहास जोगाउनु हुनेछ’ उनले भने । सचिव पौडेलले मन्त्रालयले गर्नुपर्ने सहयोगमा आफू सदैव तयार रहेको समेत खुलाए । प्रशिक्षण कार्यक्रमका सहजकर्ता सम्मरबहादुर गायकले यस्तो प्रकारको प्रशिक्षणले नयाँ पिढीलाई आर्कषण गरेको बताए । एक महिनको समय अवधि कम भएको भन्दै यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर आयोजना भैरहनुपर्नेमा उनको जोड थियो । गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको बताए । पछिल्लो समयमा नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेषभूषा र संस्कृति प्रति उदासिन बन्दै गइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘यो डर लाग्दो अवस्था हो, तसर्थ नयाँ पुस्तालाई क्रमिक रुपमा आफ्नो भाषाप्रति, आफ्नो बाजाप्रति, संस्कार संस्कृति प्रति आर्कषित गराउनु छ, त्यसका लागि प्रज्ञा प्रतिष्ठान कटिबद्ध छ’ उनले भने । हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा पोखरा २५ हेम्जाका वडाध्यक्ष मोतिलाल तिम्सीना, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्ण प्रसाद पौडेल, प्राज्ञ डिल कुमारी पौडेले लगायत सहभागी भएका थिए । एक महिने सारंगी प्रशिक्षण कार्यक्रम गत पौष २७ गतेबाट सञ्चालन भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए।

पोखरा:     साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३३३ रुपियाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे ।  बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंसनीय रहेको बताए । आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषा उपाध्यक्ष भएर देखाएको सव्रिmयताप्रति सधैँ गौरव लाग्ने गरेको स्मरण गर्दै वरिष्ठ कार्टुनिस्टका रूपमा समेत परिचित बरालले मुक्तक मञ्चले योग्य मात्रै होइन, सुयोग्य पात्रलाई पुरस्कार प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । प्रतिभा छनोट समितिका संयोजक साहित्यकार सरुभक्तले शेरचनको नितरन्तको साधनाको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको बताए । लेखनका अलावा अभिनयमा समेत दखल राख्ने उषाले आफ्नो पहिलो नाटकमा गरेको अभिनयको उनले स्मरण गरे । प्रतिभा छनोट समितिका सदस्य तथा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले प्रतिभा छनोट प्रक्रियाबारे जानकारी दिँदै शेरचनको परिचयसमेत दिएका थिए । उनले आख्यानकार, मुक्तककार र गीतकारका रूपमा शेरचनलाई चिनाउँदै उषाको लोभलाग्दो सक्रियता सबैका लागि प्रेरणा बन्दै आएको बताए । शेरचनको ‘अक्षरहरूका शिविरबाट’ मुक्तक सङ्ग्रह (२०५६) प्रकाशित छ भने ‘त्रासदीका हिमनदीहरू’ मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा छ ।  उनका नजन्मेका आस्थाहरू (२०४८) र सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (२०६३) गरी २ कविता सङ्ग्रह, तेस्रो रङ (कथा सङ्ग्रह, २०७०) र आधि (उपन्यास, २०७६) प्रकाशित छन् । खोलीको दुई किनार भो.. बोलको लोकप्रिय गीतकी रचनाकार शेरचनका अभीप्सा, सञ्चयन, मेरो माटो मेरो गीत, संवेदन र आकाश छुने रहर गरी ५ साङ्गीतिक एल्बम बजारमा आएका थिए । २०१२ मा पोखरामा जन्मेकी उनी हाल काठमाडौँ बसेर साहित्यिक गतिविधिमा संलग्न हुँदै आएकी छन् । कार्यक्रममा बोल्दै शेरचनले पुरस्कारले एकातिर खुसीको रङ ल्याउने र अर्कोतिर जिम्मेवारीको भारी बोकाउने गरेको अनुभव सुनाइन् । उनले माइतीमा आएर पाएको पुरस्कारले आफ्ना लागि विशेष महत्व राख्ने सुनाइन् । सो अवसरमा पुरस्कारका संस्थापक विष्णु अल्पविराम, साहित्यकार तीर्थ श्रेष्ठलगायतले शुभकामना दिएका थिए । मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षता तथा कार्यवाहक महासचिव अम्बिका भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा पूर्व अध्यक्षद्वय कृष्ण देवकोटा र प्राञ्जल, र्‍यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्ष गौरी तमुलगायतले १८९ औँ नियमित कार्यक्रममा मुक्तक वाचन गरेका थिए । मञ्चले सरुभक्तको संयोजकत्वमा रुपिन्द्र प्रभावी र कृष्ण देवकोटा सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा शेरचनलाई पुरस्कार दिने घोषणा मुक्तक दिवसका अवसरमा माघ १८ गते गरेको थियो । हरेक २ वर्षमा नेपाली मुक्तकमा योगदान गरेका मुक्तककारलाई प्रदान गरिने सो पुरस्कार यसअघि कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा, सरुभक्त, तेजनाथ घिमिरे र चेतना कार्कीले प्राप्त गरेका थिए । 

बागलुङ:    गण्डकी प्रदेश सरकारको  मन्त्रिपरिषद्को बैठक बागलुङ नगरपालिका ६ स्थित  ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा सुरु भएको छ ।  पञ्चकोटमा आगामी फागुन ९ गतेदेखि सुरु हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञको प्रचारप्रसारलाई सहयोग पु र्‍य ाउन गण्डकी सरकारको मन्त्रिपरिषद्को  बैठक पञ्चकोटमा बसेको हो ।  बैठकका लागि सोमबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरू पञ्चकोट आउनुभएको छ । प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, पुराातात्विक, पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजना अनुसार सोमवार पञ्चकोटमा बैठक सुरु भएको  मुख्यमन्त्रीको सचिवालयका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिनुभयो ।

पोखरा:    अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भइरहेको रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक तस्वीर प्रर्दशनीमा गर्न एक हप्ता समय थपिएको छ ।  फोटो प्रदर्शनी अवलोकनकर्ताले अभिरुचि देखाएकाले समय थपिएको संग्रहालय कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् । ‘पोखरामा पहिलोपटक भएर होला ! धेरैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । अल्पकालीन रुपमा फोटो प्रदर्शनी गरिएकाले अब यो मौका आउँदैन’, न्यौपानेले भनिन्, ‘अहिलेलाई एकहप्ता फेरि समय थपेका छौं ।’ फोटो प्रर्दशनी अब फागुन ७ गतेसम्म चल्नेछ । संग्रहालयले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा फोटो प्रदर्शनीमा राखेको थियो । माघ २२ गतेदेखि सुरु भएको फोटो प्रदर्शनीमा एकहप्तामा ३ हजार २ सयजना भन्दा बढीले अवलोकन गरेको संग्रहालयले जनाएको छ । माघ २२ गते ललितपुरका मेयर चिरिबाबु महर्जन र पोखराका मेयर धनराज आचार्यले संयुक्त रुपमा फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए । दिवसको अवसरमा प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनीमा राखिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिएको छ । ‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ न्यौपानेले भनिन् । प्रदर्शनीमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व युद्धका लागि तयार पारिएका नेपाली सेना, १९९० सालको महाभूकम्प आदि झल्कने २२ तस्वीर पनि राखिएको छ । साथै, २१ औं पर्वतीय संग्रहालय दिवसको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९५५ मा अन्नपूर्ण चौथो आरोहण गरेका थिए । उनले अन्नपूर्ण चौथोसँगै चुलु, काङगुरु, दक्षिण लमजुङ हिमाल आदि आरोहण गरेका थिए ।  

पोखरा:     गण्डकी प्रदेशका भलिबल खेलाडी स्व. सन्तोष थापामगरको स्मृतिमा स्याङ्जाको चापाकोटमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।    चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको प्रतियोगिता संयोजक राजन दलार्मीले जानकारी दिए ।    दर्लामीले आगामी फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने दोस्रो चापाकोट महोत्सवमा स्वर्गीय थापामगरको स्मृतिमा आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको संयोजक दर्लामीले बताए ।    ‘गण्डकी प्रदेशका भलिबल खेलाडी सन्तोष थापामगर भलिबल प्रतियोगिता खेलेर गत कात्तिकमा घर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परेर निधन भयो’,  प्रतियोगिता संयोजक दर्लामीले भने, ‘प्रदेशले महत्वपूर्ण भलिबल सदस्य गुमाएको छ । त्यसैले सन्तोषको सम्झनामा हामीले चापाकोट महोत्सवको अवसरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेका हौं ।’   उनका अनुसार चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा हुने सो प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।    चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुद छ ।    फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा  कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

पोखरा:     गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ । माघ २९ गते सोमबार बागलुङको ऐतिहासिक तथा धार्मिकस्थल पञ्चकोट बैठकमा बस्ने तयारी भएको प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन् । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलहरुमा मन्त्रिपरिषद् बैठक बस्ने योजना अन्तर्गत पहिलो गन्तव्य पञ्चकोटलाई रोजिएको प्रदेश सरकारको भनाइ छ ।