आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले अभ्यास खेलमा आज आयरल्याण्डसँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे नेपालको सिनियर टिमले आयरल्याण्ड ‘ए’(आयरल्याण्ड वुल्भ्स) सँग खेल्दैछ। नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी-२० खेल खेल्नेछ। त्यसपछि यही टिमसँग नेपालको ‘ए’ टिमले चैत १५, १६ र १८ चैतमा टी-२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल खेल्नेछ। सिनियर टिम भने मंगलबारको खेलपछि भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी-२० खेल खेल्ने तालिका छ। सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी-२० र तीन एकदिवसीय खेल्ने तालिका छ। त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले आइतबार टी-२० र एकदिवसीय खेल खेल्ने टिम घोषणा गरेको थियो। नेपाली टिम रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द।
सुर्खेत: नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला)मा टिकाराम सोमै निर्वाचित भएको एमाले सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव)मा सुशीला विश्वकर्मा निर्वाचित भइन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
ललितपुर: ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । होली खेल्ने क्रममा गएराति दुई समूहबीच झडप भएको थियो । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए । उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पाइएको छ । घटनामा संलग्न रहेको आशंकामा केहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
पोखरा: पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि सम्भव छ भन्ने अवधारणापत्र प्रस्तुत गर्दै नयाँ शैक्षिक सत्रदेखि नै देखिने गरी सुधारका काम गर्न, शिक्षा क्षेत्र सुधारको सुरुवात ९ नम्बर वडाबाट भएको सन्देश राष्ट्रव्यापी रुपमा दिन आग्रह गरे । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षामा ९ नं. वडा कार्यालयलले चासो देखाउँदै सरकारी विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलन गरिएको वडा सचिव कुलराज पौडेले जानकारी दिए । गोष्ठीमा तिन समूहले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोलविकास संस्था र वडा कार्यालयको भूमिकामा समूहगत छलफल गरी प्रस्तुतिमा आएका सुझावहरूलाई नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन गर्न गराउन सहमत भई वडा अध्यक्ष दिपेन्द्र मर्सानी, सदस्यहरू गिता चर्माकार, नन्दराम गिरी, भावना श्रेष्ठ र लक्ष्मी पहारीको रोहवरमा प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । वडा कार्यालयले प्रतिवद्धतालाई कार्यान्वयन गर्न आवश्यक बजेट र लगानी गर्ने घोषणा गरेको छ । महेन्द्र माध्यमिक विद्यालय व्यववस्थापन समितिका अध्यक्ष जगतबहादुर खत्री, प्रधानाध्यापक रामदत्त पौडेल, नवप्रभावत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिती पाण्डे, प्रधानाध्यापक मायाकुमारी थापा, सहरा बाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीले ९ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गर्दै नयाँ शैक्षिक २०८१ बाट शैक्षिक गुणस्तर अभिवृद्धि र एकरुपताका लागि सहमति जनाएका हुन् । प्रतिवद्धतामा ९ नं. वडा कार्यालयले आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा न्यायोचित बजेट विनियोजन गर्ने, अभिभावकलाई वडा शिक्षा समितिमार्फत् अभिभावक शिक्षा सञ्चालन गर्ने, पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको समन्वयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, प्रधानाध्यापकहरूले वार्षिक शैक्षिक कार्ययोजना निर्माण गरी लागु गर्ने, कार्यसम्पादनका आधारमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने, विद्यार्थीले कठिन ठानेका विषयमा आवश्यकता अनुसार अतिरिक्त कक्षा सञ्चालन गर्ने, विपन्न विद्यार्थी पहिचान गरी आर्य आर्जनका लागि सिपमुलक र उद्यमशीलता तालिम सञ्चालन गर्ने, अतिरिक्त सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्न शिक्षकको व्यवस्थापन गर्ने, वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई एकरूपताको लागि एकै प्रकारको व्याचको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । टोलविकास संस्था वडा समन्वय समिति पोखरा ९ को समन्वयमा आयोजित गोष्ठीमा अध्यक्ष उत्तम जोशी, वडा बाल मञ्चकी उपाध्यक्ष परी बस्नेत, महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर खत्री, नवप्रभात माध्यमिक विद्यालयक व्यवस्थापन समितका अध्यक्ष प्रिती पाण्डे, सहारा बाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकाली, पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन रेग्मी, सञ्चारकर्मी सुरेश रानाभाट, शिक्षक जितबहादुर खनाल, रुपा केसी लगायतका वक्ताले वडाभित्रका ३ वटा सरकारी विद्यालयको सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि वडाले गरेको पहल प्रशसनीय रहेको धारणा राखे । वडा अध्यक्ष दिपेन्द्र मर्सानीको सभापतित्वमा सम्पन्न कार्यशाला गोष्ठीमा वडा सदस्य नन्दराम गिरीले स्वागत मन्तव्य राखेका थिए भने वडा सचिव कुलराल पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: फागु पूर्णिमा (होली) पर्व पोखरासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । साथी र आफन्तबीच आपसमा रङ दलेर खुशियाली साटासाट समेत गरिएको छ । फागु पूर्णिमाको अवसरमा पोखराको लेकसाइड, लेखनाथस्थित बेगनासताल क्षेत्रमा होली विशेष कार्यक्रम समेत आयोजना गरिएको छ । लेकसाइड, बेगनासताल लगायतका क्षेत्रमा आयोजना गरिएको होली विशेष कार्यक्रममा स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाए । सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएको छ । लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरेका छन् । तस्बिर: बिबि रोकामगर
पोखरा: नेपालमा पहिलो पटक पर्यटन राजधानी पोखराको सुन्दर बेगनासतालमा प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८० सुरु भएको छ । प्रतियोगितामा ३ महिला र ११ पुरुष गरी १४ समूहको सहभागिता रहेको छ । २ सय र ५ सय मिटर गरी दुई वटा इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछ । विजेताले नगद रु २ लाख पुरस्कार हात पार्नेछ । यस्तै २ सय मिटर तर्फको विजेताले नगद रु।१ लाख पुरस्कार पाउने छ भने, उपविजेताहरुले पनि नगद पुरस्कार हात पार्नेछन् । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ड्रागन सङ्घ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता गरिएको हो ।
डोटी: डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज मृत्यु भएको बताए । ओझासँगै ढिस्कोमा पुरिएका ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको प्रनाउ श्रीवास्तवले जानकारी दिए । खड्काको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । शनिबार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ का २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो । रोस्यारासँगै माटो लिन गएका अन्य तीन महिलालाई उद्धार गरिएको बताइएको छ । स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो वढी मात्रामा प्रयोग गर्दछन् ।
काठमाडौं: वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनमा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । इलाम२ मा उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाएको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको हो । २०७९ को निर्वाचनमा निर्वाचित सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण गत भदौ २६ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचनको हुने भएको हो । एमालेले यो स्थानमा नेम्वाङकै छोरालाई उठाएको हो । प्रतिनिधि सभा निर्वाचन २०७९ मा एमाले भर्सेस गठबन्धनले चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यस बेला एमालेका उम्मेदवार नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता खड्काले २९ हजार ९०६ मत पाएका थिए । इलामका दुई वटै क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवारहरू विजयी बनेका थिए । गत निर्वाचनको तथ्यांकलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ ।
पोखरा: बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तीब्र पारिएको छ । चैतको २५ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र पारिएको आइतबार मुल आयोजक समिति तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ । बैठकमा टिकट, स्थानीय पास तथा एक दिने पासको बारेमा छलफल गरिएको छ । यही चैत १५ गतेदेखि स्थानीय पास वितरण गरिने महोत्सव मुल आयोजक समितिका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको तयारी स्वरुप आमा समूह तथा केही संघ संस्थासँग प्रारम्भिक चरणको छलफल सकिएको छ । साथै विभिन्न स्थानमा गेट बनाउने काम भइरहेको छ।त्यसै गरि सार्वजनिक बसमा ब्यानर राखिएको छ। महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् । कोरोना भाइसरका कारण बीचमा ३ वर्ष रोकिएको महोत्सवलाई गत वर्षदेखि क्लबले निरन्तरता दिएको हो ।यस वर्ष महोत्सवमा करिब ५० टन आलु बिक्री हुने आयोजकको अपेक्षा छ ।

