पोखरा:  पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँ...

पोखरा:    सूर्य नेपाल गाथा नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदै छ।  सूर्य नेपाल प्रालिको उपक्रम सूर्य नेपाल गाथाको मुख्य सहयोगमा यस वर्षको फेस्टिभल आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुन लागेको हो ।    यस वर्षको फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ । वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवम् कार्टुन प्रदर्शनी, गोर्खा वुमनः एन इको इन द स्टोरी प्रदर्शनी पनि फेस्टिभलका अवसरमा गरिने आयोजकले जनाएको छ ।   यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियसः द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता हुँदै छ । उनको यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ समेत जितेको थियो । उनको यस पुस्तकमा आधारित ओपनहाइमर चलचित्र बनेको छ ।  क्रिस्टोफर नोलनले निर्देशन गरेको यो चलचित्र सन् २०२३ को बक्स अफिसमा ब्लकबस्टर बनेको थियो । ९६औं अस्कर अवार्डमा यो फिल्म १३ विधामा मनोनीत भएको छ । प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन् । उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिभलमा चर्चा गर्नेछिन् । उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो । विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन् । उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन् । उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्टसमेत भएको थियो । यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत्प्रवचन रहने आयोजकले जनाएको छ । उनले ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिने कार्यक्रम छ । यस्तै फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडालगायतको सहभागिता रहनेछ । यसैगरी अर्थमन्त्री डा। प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको पनि उपस्थिति रहनेछ । नेता सिके राउत, लेखक खगेन्द्र संग्रौला, प्रा.डा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवम् उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैङ्कर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायतको पनि सहभागिता रहनेछ । गायक बद्री पङ्गेनी, गजलकार एवम् लेखक शीतल कादम्बिनी, कवि डा। नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिकालगायतको सहभागिता पनि रहने आयोजकले जनाएको छ ।   फेस्टिभलमा हरेक दिन साङ्गीतिक प्रस्तुति छन् । फेस्टिभलमा कुटुम्ब ब्यान्ड, डा। ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा। सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्ड आदि समूहको कन्सर्ट हुँदैछ । फेस्टिभलका अवसरमा लेखक कुमार नगरकोटीले कुटुम्ब ब्यान्डसँग रिसाइटेसन कार्यक्रमसमेत छ । फेस्टिभलको पहिलो दिन फागुन ३ मा दिउँसो साढे दुई बजेदेखि उद्घाटन सत्र सञ्चालन हुनेछ । उक्त दिन कार्टुन प्रदर्शनीदेखि विद्वत्प्रवचनलगायत कार्यक्रम सञ्चालन हुनेछन् । फेस्टिभलमा फागुन ४ देखि ७ सम्म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न सत्र सञ्चालन हुनेछन् । कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको र एघारौं संस्करणको फेस्टिभलमा आफूहरू देशविदेशबाट पाल्नुहुने हाम्रा सबै पाहुनाहरूलाई सुन्दर नगरी पोखरामा स्वागत गर्न आफूहरू आतुर रहेको आयोजक संस्थाका भरत कोइरालाले बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको उनको भनाइ छ । यसैगरी आयोजक संस्थाका केशवशरण लामिछानेले नेपाल लिटरेचर फेस्टिभल पोखरामा एउटा ब्रान्डका रुपमा स्थापित भइसकेको जनाए । ‘पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेका छन्,’ उनले भने, ‘पोखराका लागि कुनै एउटा बहुप्रतीक्षित फेस्टिभल छ भने, नेपाल लिटरेचर फेस्टिभल नै हो ।’   नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सभ्य एवम् सुसंस्कृत सहर बनाउँदै लगेको उनको भनाइ छ । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको उनले जनाए । ‘यस्ता फेस्टिभल अरू पनि यहाँ आयोजना हुनुपर्छ । यसले पोखरालाई फरक पहिचान दिन्छ । हामीले भनिरहेको हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको सहर पनि बनाउन फेस्टिभलले सघाइरहेको छ,’ उनले भने ।   यसैगरी पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले यति बेला पोखरा शब्दहरूले दुलही जसरी सिँगारिएको बताइन् । ‘यहाँ यति बेला विचारहरूको ठूलाठूला महल ठडिँदै छन्,’ उनले भनिन्, ‘पोखरा यसै पनि कला–साहित्यको सङ्गम हो । गीत सिर्जनादेखि विभिन्न कलाकर्मका लागि मानिस खोजीखोजी पोखरा आउँछन् । यहाँको प्रकृति नै यस्तो छ, जसले जोकसैलाई सजिलै सिर्जनात्मक बनाइदिन्छ ।’ कला, साहित्यदेखि राजनीति र दर्शनसम्मको भोक जगाइदिने अनि मेटाइदिने अवसर फेस्टिभलले दिएको भण्डारीको भनाइ छ । सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको फेस्टिभल एघारौं संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यतासाथ आयोजना हुने अवस्थामा आइपुगेको नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताए । यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उनको भनाइ छ । साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनले बताए ।   समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभल आवश्यक भएको महसुस गरेको आफूहरूले बर्सेनि यस्तो फेस्टिभल गरिरहेको छ । ले सहयोग पु¥याउने उनले बताए । ‘कोभिडका कारण यसअघिको संस्करण आयोजना गर्न नपाए पनि यस वर्षको फेस्टिभल आयोजना गर्न पाउँदा हामीलाई हर्षित तुल्याएको छ ।’ फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकामा आफूहरू गौरवान्वित भएको पनि भारीले जनाए ।   ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको हाम्रो अनुभव छ । फेस्टिभललाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।  

पोखरा:     कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ । ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित सम्मान अर्पण गरेको हो । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर बुधबार आयोजना गरेको कार्यक्रममा स्व.चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष रहेका राजन कार्कीलाई अर्पण ग¥यो । यो पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ नगद रहेको थियो । उनीहरुलाई वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङ, प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मो, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, प्रतिष्ठानका प्रमुख संरक्षक सर्मीला शेरचन, संरक्षक नरबहादुर शेरचन लगायतले नगदको साथमा फूलमाला, दोसल्ला र सम्मानपत्र सहित पुरस्कार तथा सम्मान अर्पण गरेका हुन् । सम्मान ग्रहण गरेपछि बोल्दै वरिष्ठ लोक गायक बस्नेतले पोखरासँगको आफ्नो साइनो पुरानो भएको सुनाए । पोखरालाई सम्झदा खिम बहादुर गन्धर्व, विर्खबहादुर गन्धर्व, झलकमान गन्धर्व, हरीदेवी कोइराला लगायतलाई सम्झने गरेको बताए । पोखरालाई सांस्कृतिक क्रेन्द्र बनाउनुपर्छ भनेर पहिलेदेखिनै आवाज उठाउदै आएको समेत उनले खुलाए ।  उनले कल्याण शेरचन, चेतन कार्की, मिन बहादुर गुरुङ, मिनकाजी गुरुङ लगायतसँग गरेको सहकार्यको समेत स्मरण गरे । डाँफे कलामन्दिरको प्रतिनिधित्व गरेर दार्जलिङ सिक्किममा गएर प्रस्तुती राख्दा पाएको तारिफ अझै ताजै रहेको उनको. भनाई थियो । नेपालमा लोकगीत र दोहोरी गीतको सुरुवात आफूले गरेको बताएका उनले अहिले समेत देश विदेशका कार्यक्रममा व्यस्त रहेको जनाए । तरुनी फकाउने गीत गाएर कुमार बस्नेत भएको भन्नेहरु समेत भएको भन्दै त्यस्तो भन्दा आफूलाई चित्त नदुख्ने बताए । हरेक देशको आ–आफ्नो संस्कृति भएकोले त्यसको संरक्षण गर्नुपर्नेमा उनको जोड छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङले स्व.कल्याण शेरचनले  अम्मरसिँह मावि पढ्दाका दिनको स्मरण गरे । शेरचन बहुमुखी प्रतिभाको व्यक्ति भएको भन्दै नाँच्न, गाउनमा मात्र नभएर खेलमा समेत अब्बल रहेको सुनाए । कार्यक्रममा सम्मानित भएका कुमार बस्नेतको समेत उनले प्रशंसा गरे । त्यतिबेलाको माहोलको कारण धर्मराज थापाले रुवाउने गीत गाउने गरेको र  कुमार बस्नेतले हँसाउने गीत गाउने गरेको खुलाए । डा.गुरुङले गीत समेत गाउदै आफूतर्फ ध्यान खिँचे । । कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, प्रतिष्ठानका उपाध्यक्ष श्रीजंग गुरुङ, सचिव जीवन दाहाल लगायतले बोलेका थिए । कार्यक्रममा कलाकारले कल्याण शेरचनले सिर्जना गरेका गीतहरु समेत सुनाएका थिए । नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार प्राप्त गर्न सफल राजन कार्कीले आमा सम्बन्धि गीत सुनाए । स्रष्टा सम्मान, एवम् स्व. चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार छनोट समितिका संयोजक खेम गुरुङको संयोजकत्वमा गठन भएको समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।  छनोट समितिको सदस्यमा पदमराज ढकाल, मनकुमार श्रेष्ठ, ज्ञानबहादुर थापा र यामबहादुर गुरुङ रहेका थिए । नेपाली लोक गीत तथा संगीतमा चर्चित गीतहरु ‘सोह्र वर्षे उमेरैमा’, ‘आहा कलिलो तामालाई’, ‘राम्दी पुल’ जस्ता गीतका सर्जक लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको स्मृतिमा कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना भएको हो । स्मृति प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि सक्रियरुपमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ । स्रष्टा कल्याण शेरचनको देहावसान पश्चात हिमाली सांस्कृतिक परिवारले २०६८ सालमा पश्चिमाञ्चल स्तरीय कौराह (चुट्का) गीत प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगिताबाट संकलित रकमले अक्षयकोष स्थापना गरी २०६९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराई प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठान समाज कल्याण परिषदमा पनि दर्ता भएको छ । प्रतिष्ठानले हरेक वर्ष साउन १२ गते शेरचनको जन्म जयन्ती र माघ २४ गते स्मृति दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । प्रतिष्ठानले स्रष्टा कल्याण शेरचनले अंगालेका विधाहरु लोक संस्कृति, शिक्षा र खेलकुद क्षेत्रमा योगदान पुयाउनु हुने व्यक्तित्वहरुलाई सम्मान अर्पण गर्ने गरेको हो । यस क्रममा वरिष्ठ नृत्य प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ फुटबल प्रशिक्षक स्व.डम्बरसिंह गुरुङ, शिक्षाविद् बलवीर सिंह नेगी, वरिष्ठ संगीतकार प्रकाश गुरुङ, शिक्षाविद् रुप बहादुर गुरुङ र वरिष्ठ खेलाडी एवम् प्रशिक्षक खड्गबहादुर रानाभाट, शिक्षाविद् स्व.योगेन्द्र बहादुर बस्नेत, वरिष्ठ लोक गायक नारायण रायमाझी, वरिष्ठ कलाकार बाबा राणालाई सम्मान तथा अभिनन्दन गरिसकेको थियो । यसैगरी सेभेन ए साईड फूटबल प्रतियोगिता, पश्चिमाञ्चल स्तरीय कौराह नृत्य साँस्कृतिक कार्यक्रम, भूकम्पपीडित विद्यालयको पुनर्निर्माण, राष्ट्रिय लोक बाजा मादल बादन प्रतियोगिता, राष्ट्रिय सारङ्गी बादन सम्मेलन, राष्ट्रिय एकल नृत्य प्रतियोगिता, राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता जस्ता महत्वपूर्ण कार्यक्रमहरु समेत प्रतिष्ठानले गर्दै आएको छ ।

काठमाडौं:    एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो ।  नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकिनन् । किर्टोन ६८ रन बनाउँदै १९५ रनको स्थितिमा आउट भएपछि खेलमा नेपालको आशा फर्केको थियो । त्यसअघि सिंह ५० रनमा आउट भएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा  अल आउट हुँदै २२४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।

पोखरा:  पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी गत महिना नेपाल फर्किए ।   करिब ४ वर्ष कतारमा मजदुरी गर्दापनि ऋण तिर्नसमेत पैसा जोहो नभएपछि उनले योजना बुने ‘बिग मनी हेबी टार्गेट’ ।   कास्की प्रहरीका अनुसार उनले कुश्मा नगरपालिका १४ का ४२ वर्षीय दीपक बहादुर क्षेत्रीलाई रुम पार्टरमात्रै बनाएनन् । आफ्नो सारथी बनाएरै व्यापारीदेखि नेतासम्मको बाँकी योजनाको फ्रेम तयार पारे ।   ति दुईको योजना अनुसार पोखराका व्यपारीदेखि उच्च तहका नेताहरुको नामसहितको योजना लिस्ट तयार भयो ।      उनीहरुको पहिलो टार्गेटमा पोखरा–१६ लामाचौर घर भई दीपमा सच्चाई सेवा केन्द्र सञ्चालन गर्दै आएका सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका प्रकाशदिप गैरे परे ।    गैरेलाई गत १८ गते म्यासेजको घण्टी बज्यो ।   जहाँ परिवारको ज्यान लिने धम्कीसहित ५ करोड रुपैयाँ फिरौती मागिएको थियो त्यसपछि दर्जी र क्षेत्री सच्चाईको भक्तका रुपमा २ पटक गैरेको प्रवचन सुन्ने बहानामा सच्चाई ​केन्द्रमा माहौल बुझ्न पुगेको प्रहरीलाई प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले बताए ।    आज  (बिहीबार) उनै दुई जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ ।   ज्यान मार्ने धम्की दिएर ५ करोड रुपैयाँ फिरौती दर्जी र क्षेत्रीलाई गएराति पोखराबाटै प्रकाउ गरेको हो ।   एपसी थापाका अनुसार १ महिना अघि नेपाल फर्केका दर्जी र क्षेत्रीले सिमलचौरमा कोठा भाडा लिएर बसेका थिए । यसअघि दर्जीको कुनै पनि मुद्धा नदेखिएपनि ४२ वर्षीय दीपककुमार क्षेत्रीको भने हातहतियार तथा खरखजना र अभद्र व्यवहारसम्बन्धि २ वटा मुद्धा दायर भएको थियो ।   क्षेत्रीको यो भन्दा पहिलेपनि दुइवटा मुद्धा देखिएको छ । अझ विस्तृतमा अनुसन्धान गर्दैछौ’, एसपी थापाले भने ।   टार्गेटमा व्यापारीदेखि नेतासम्म   एसपी थापाका अनुसार दुइजनाले तयार पारेको ८ पेजको कागजमा व्यापारी, एनआरएनएदेखि नेतासम्मका व्यक्तिहरुको नाम लेखिएको भेटिएको छ ।   उनीहरुले तयार पारेको सो लिस्टमा पारिवारिक विवरणसम्म उल्लेख गरिएको एसपी थापाले बताए ।     ‘पोखरा–८ सिमौलचौरस्थित डेरामा बस्दै उनीहरुको कोठाबाट विभिन्न सामानहरु फेला पारेका छौं, उनले भने, ‘बरामद भएका सामानमध्ये ८ पेज लामो कागज पनि छ । जहाँ विभिन्न परिवारको नामहरु उल्लेख गरेको भेटाएका छौं जसमा नेता, व्यापारीदेखि एनआरएनसम्मको नामसमेत उल्लेख गरिएको छ ।’   त्यसबारेपनि कास्की प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान गर्ने उनले बताए ।    के के बरामद भए ?   कास्की प्रहरीले ति दुइजनाको डेराबाट योजना बुनेको ८ पेज कागजको पाना बरामद गरेको छ ।   जहाँ लेखिएको छ, ‘बिग मनी बिग टार्गेट, किन्डन्याप, फिरौती, सुट आउट, प्रोटक्शन मनि, गणतन्त्र राजतन्त्र धर्म निरपेक्षता हिन्दु राष्ट्र, नेता, व्यापारी गुण्डा, भु–माफिया, औधोगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफिया लगायतका योजना कोरिएका छन् ।   यस्तै उनीहरुको साथबाट ३ थान विभिन्न किताब, नोट बुक १ थान, मोबाईल सेट ४ थान, भारतीय सिम १ थान, एनसेलको सिम ३ थान, खुकुरी १ थान, अवैध गाँजा ५ सय ७२ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, सानो ठुलो मुगा १४ थान, कालो टर्च लाइट २ थान, फलामको हेक्सा ब्लेड १ थान, रन्डा लगाउने मेसिन १ थान र पेन्चिस १ थान बरामद गरेको छ ।    पक्राउ परेका उनीहरुलाई लागुऔषध सम्बन्धि, अवैध हातहतियार तथा खरखजना, आपराधिक लाभ फिरौती रकम (एक्सटर्सन) सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान अगाडी बढाइने कास्की प्रहरीले जनाएको  छ ।

काठमाडौं:    तीन खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको हो ।    नेपालका लागि ओपनर कुशल भुर्तलले ६२ रनको अर्धसतकीय इनिङ्स खेले । उनले ५८ बलमा नौ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भिम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाए ।  बलिङमा क्यानडाका उदय भगवानले ३, साद विन जफर र इश्र्वारजोत सोहीले २÷२ तथा साहित अमदजाई र हर्स थाकेरले १÷१ विकेट लिए । नेपाल र क्यानडाबिचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिख हुनेछ । 

सोलखुम्बु:     सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । 

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग गर्ने २ जनालाई प्रकाउ गरेको छ ।  ज्यान मार्ने धम्की दिएर ५ करोड फिरौती माग गर्ने २ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   प्रकाउ परेका २ जनालाई कास्की प्रहरीले आज(बिहीबार) पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । 

पोखरा:     पोखरामा फागुन ५ गते हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई आकर्षण बनाउन विभिन्न जात–जातीको मौलिक सांस्कृतिक भेषभुषा तथा बाजागाजासहित धावकहरुलाई स्वागत गरिने भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि विभिन्न चोकहरुमा रहेर सांस्कृतिक रुपमा स्वागत गर्ने तमु धिँ नेपाल र वडा ३ का विभिन्न संघ संस्थाले प्रतिबद्धता व्यक्त गरेका हुन् । छुट्टा–छुट्टै सम्पन्न क्रममा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणलाई भव्य बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छुन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन पोखरामा तमु धिँ नेपाल र वडा नं ३ मा छुट्टा–छुट्टै भेला र छलफल सम्पन्न भएको मञ्चले जनाएको छ । पोखरा महानगर वडा नं ३ मा भएको विभिन्न समूह तथा संस्थाहरुसँगको छलफल कार्यक्रममा बोल्दै वडा नं ३ का वडाअध्यक्ष प्रकाश मान उदासले आफ्नो वडाभित्र पर्ने रुटमा सांस्कृतिक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले वडाको पहिचान गर्ने अवसर मिल्ने हुँदा सबै आमा समूह, युवा क्लब तथा टोल विकास संस्थालाई मौलिक विविध बाजा तथा सांस्कृति झ्याकिसहित उपस्थिति हुन अनुरोध गरे । अध्यक्ष उदासले वडामा रहेका फरक फरक जातजातीका मौलिक बाजाहरुको धुनले धावकलाई उर्जा थप्ने काम गर्ने हुँदै सफल पोखरा म्याराथनलाई आफ्नो वडामा स्वागत गर्ने बताए । विधता पौरखी केन्द्रकी अध्यक्ष शान्ति उदासले पोखरा म्याराथनमा सबै आमा समूह, युवा क्लब तथा टोल विकास संस्थाले आफ्नो वडा भित्र रहेको विविध मौलिक सांस्कृतिक पहिचानसहित धावकलाई स्वागत गर्ने सुनाइन् । उनले आफुहरुले फरक–फरक संस्कृति झल्कनेगरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । संघ संस्था समन्वय संयोजक शम्मर बहादुर श्रेष्ठले आ–आफ्नो ब्यानरसहित स्वागत गरिदिन आग्रह गरे । यस्तै तमु धिँ नेपालको मुख्य कार्यालय पोखरा नयाँबजारमा भएको छलफलमा तमु धी नेपालका अध्यक्ष हुम तमुले म्याराथनको रुटमा पर्ने गुरुङ समाजले जातीय पहिचानसहितको मौलिक बाजाले धावकलाई स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा म्याराथनमा आफ्नो संस्कृति देखाउँदा संसारमा फैलने उनले सुनाए । तमु धीको तर्फबाट म्याराथनको रौनक बढाउन रन फर फनमा समेत सहभागी हुने उनले बताए । तमु धिँ मा सम्पन्न कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनका विभिन्न पक्षहरु बारे चर्चा गर्दै सबैलाई म्याराथनमा सहभागिता जनाउन आग्रह गरे । उनले भने–“यो विशेष एक संस्थाको मात्रै कार्यक्रम होइन । यो समग्र पोखरेलीहरुको कार्यक्रम हो । म सबैलाई फागुन ५ गते आयोजना हुने पोखरा म्याराथन सफल बनाउन आग्रह र आह्वान गर्दछु ।”

पोखरा:   पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगिताको ४० वर्ष माथि उमेर समूहको सेमीफाइनल समिकरण पुरा भएको छ ।  बगर भाइखलकको आयोजनामा पोखरा १ टुडिखेलमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बुधबार ४० वर्षमाथिको क्वाटरफाइनल तथा ५० वर्ष माथिको एक क्वाटर र प्रिक्वाटरफाइनल खेल सम्पन्न भएको छ ।  ४० वर्षमाथिको पहिलो क्वाटरफाइनल खेलमा एक्स वारियरले आयोजक बगर भाइखलकलाई टाइब्रेकरमा ५–४ ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा १–० को अग्रता लिएको बगरले थप गरिएको अतिरिक्त तीन मिनेटमा गोल खाँदै १–१ को बराबरीमा पुगेको थियो ।  दोस्रो क्वाटरफाइनल खेलमा जोरपाटी काठमाडौंले हेटौडा भेट्रानलाई ३–० ले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको छ । अब जोरपाटीले सेमीफाइनलमा एक्स वारियरको सामना गर्नेछ ।  तेस्रो क्वाटरफाइनल खेलमा नागस्वेती भेट्रानले थापा गाउँ भेट्रानलाई ३–२ ले पाखा लगाएको छ । अन्तिम क्वाटरफाइनल खेलमा ठमेलले चावहिल भेट्रानलाई ५–१ ले हराउँदै नागस्वेतीसँगको भेट पक्का गरेको हो । प्रतियोगितामा तीन विधाका खेलहरु भइरहेको छन् । ४० वर्ष उमेर समूहमाथि, ५० वर्ष उमेर समुह माथि र ६० वर्ष उमेर समूह माथिको खेल भइरहेको छ । बुधबार नै भएको ५० वर्षमाथिको प्रिक्वाटरफाइनलमा फ्रिडम धोलाहिटीले कुपण्डोल भेट्रानलाई ३–० ले पाखा लगाएको छ । सोही विधाको क्वाटरफाइनल खेलमा संगम भेट्रानले हेटौडा भेट्रानलाई ४–२ ले पाखा लगायो । भोलि तीन क्वाटरफाइनल खेल हुनेछन भने ४० वर्षमाथिको सेमीफाइनल खेल समेत हुनेछ । यस्तै ६० वर्षमाथिको सेमीफाइनल समेत भोलिनै हुने आयोजकले जानकारी दिएको छ ।