पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लेनदेन मुद्धामा फरार रहेकी दीपा लामिछानेलाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले लामिछानेलाई आज (मंगलबार) प्रकाउ गरेको हो । जिल्ला अदालत कास्कीले २०८०÷१०÷५ गते बिगो लेनदेन मुद्धामा पोखरा महानगरपालिका–११ फूलबारी बस्ने ४४ वर्षीय दीपा लामिछानेलाई १ वर्ष कैद सजाय तोकेको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधमुद्धाका फरार प्रतिवादी २६वर्षीय रितिक परियारलाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले परियारलाई आज (मंगलबार) प्रकाउ गरेको हो । जिल्ला अदालत कास्कीले परियारलाई गएको असोज १५ गते लागूऔषध मुद्धामा १ वर्ष ७ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना फैसाल गरेको थियो । अदालतले कैद र जरिवाना फैसला गरेपछि पोखरा महानगरपालिका २० स्थायी घर भई पोखरा–१६ दीप बस्ने परियार ४ महिनापछि प्रकाउ परेका हुन् ।
मकवानपुर: साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा आर्थिक संकट भएका कारणले बोलपत्र आह्वान गरी कोइला खरिद गर्न कठिनाइ उत्पन्न भएको सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ल्याई सकिएको एवं अर्को चरणमा थप कोइला ल्याइने प्रक्रिया सुरु भइसकेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए । कोइला ल्याउने ढुवानीकर्तासँग उद्योग व्यवस्थापनले वैकल्पिक उपाय अवलम्बन गरी आपसी समझदारीका आधारमा थप कोइला उधारोमा ल्याइरहेको पनि उनले सुनाए। सिमेन्ट उत्पादन गर्न प्रयोग हुने क्लिङ्कर यन्त्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि दैनिक १०० मेट्रिकटन कोइला आवश्यक पर्दछ । यसैबीच सो उद्योगका महाप्रबन्धक पाण्डेले अब नियमित कोइला आपूर्ति भइरहने हुँदा निकट भविष्यमा उद्योग बन्द नहुने बताए। उद्योगमा साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेकामा हाल विभिन्न उपकरण जीर्ण भएको हुँदा अहिले दैनिक १० हजार बोरामात्र सिमेन्ट उत्पादन हुने गरेको सो उद्योगले जनाएको छ । रु एक अर्ब ३८ करोडको लगानीमा विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो । सो सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्ट उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा खपत गर्दै आएको थियो । अहिले सो उद्योगमा प्रशासन, प्राविधिक र मजदुर गरी एक सय ५० जनाले प्रत्यक्ष रोजगारीका अवसर प्राप्त गरिरहेका छन् । हालै सिमेन्ट उद्योगले उत्पादन गरेका करिब दुई लाख २५ हजार बोरा सिमेन्ट काठमाडौं, पोखरा, विराटनगर, जनकपुरलगायत अन्य सहरमा खपत हुन नसक्दा उद्योगले आर्थिक संकटबाट मुक्त हुन नसकेको पनि उद्योगका महाप्रबन्धक पाण्डेले बताए। महाप्रबन्धक पाण्डेले उक्त उद्योगलाई अब नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन सरकार र सम्बन्धित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग व्यवस्थापनले वैकल्पिकरुपमा नयाँ यन्त्र जडान गर्न र आवश्यक कच्चा पदार्थ कोइला खरिदका लागि अनुदान रकम उपलब्ध गराइदिन विभिन्न चरणमा वार्ता भइरहेको तथा उनीहरुलाई उद्योगको अवस्थाबारे स्थलगत अध्ययन गराइसकेको स्पष्ट पारे ।
काठमाडौं: नेकपा (एमाले)का नेता एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्थामा सुधार आएको छ। मेडिसिटी अस्पतालका अनुसार नेम्वाङको स्वास्थ्यमा सुधार आएपछि आइसियुबाट वार्डमा सारिएको हो। अस्पतालका अनुसार वार्डमा सारेर उनको फिजियोथेरापी मार्फत उपचार हुँदैछ। पूर्व मन्त्रीसमेत रहेका नेम्वाङ अझै बोल्न नसकेको अस्पतालले जनाएको छ। पाँचथरबाट प्रतिनिधिसभा सदस्य रहेका उनी माघ १७ गते ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन त्यहाँ पुगेको समयमा ब्रेन स्ट्रोक भएको थियो। ताप्लेजुङमा उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टरमार्फत ललितपुरस्थित नेपाल मेडीसिटी हस्पिटलमा पुर्याइएको थियो। टाउकोको देब्रेतर्फको नसा फुटेर पछि शल्यक्रिया गरिएको थियो। नेम्वाङकी श्रीमती भूमिका सुब्बाले नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिए । उनले चिकित्सकको सल्लाह अनुसार अन्य बाहिरी सङ्क्रमणबाट जोगाउन परिवारका केही सदस्यबाहेक अन्यलाई भेटघाटमा अस्पतालले रोक लगाएको जानकारी दिए ।
गण्डकी: गण्डकी प्रदेश सरकारले आगामी दुई वर्षभित्र प्रदेशका सबै घरधुरीमा आधारभूत स्तरको खानेपानी सेवा पुर्याउने लक्ष्य लिएको छ । प्रदेश सरकार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार हालसम्म ६४ प्रतिशत घरधुरीमा निजी धारा पुगेको छ । मन्त्रालयका सचिव इन्जिनियर गणेशराज वस्तीले पहिलो प्रदेश सरकार गठन भएयताका छ वर्षमा एक लाख ३६ हजार तीन सय ४७ घरधुरीमा खानेपानी धारा जडान गरिएको जानकारी दिए । “चालु आर्थिक वर्षमा थप ३० हजार धारा जडान गर्ने लक्ष्य लिइएकामा पहिलो चौमासिकमा छ हजार पाँच सय ५३ धारा जडान भइसकेको छ”, उनले भने, “प्रदेशका सबै घरधुरीमा आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालित छ ।” सो कार्यक्रमको निरन्तरतासहित जीर्ण खानेपानी आयोजनाहरुको मर्मतसम्भार गरी दुई वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा खानेपानी सेवा पुर्याउने लक्ष्य लिइएको सचिव वस्तीले बर्ता । “हालसम्म प्रदेशको ९४ दशमलव २५ प्रतिशत जनसङ्ख्यामा आधारभूत स्तरको खानेपानी सुविधा पुगेको छ, यसलाई छिट्टै शतप्रतिशतमा पुर्याउने गरी काम भइरहेको छ”, उनले भने । सविच वस्तीका अनुसार मध्यम तथा उच्च गुणस्तरयुक्त खानेपानीको पहुँच भने जम्मा १८ दशमलव दुई प्रतिशत जनसङ्ख्यामा पुगेको छ । मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले जनशक्ति परिचालन, बजेटको सीमा र कामको गति अहिलेकै अवस्थामा रहे ‘एक घर, एक धारा’को लक्ष्य पूरा हुन अझै केही वर्ष लाग्ने बताए। प्रदेश सरकारले सन् २०२५ सम्म शतप्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सुविधा पुर्याउने लक्ष्य लिएको छ । कूल ९१ प्रतिशत जनसङ्ख्यामा पहिल्यै आधारभूत स्तरको खानेपानी सेवा पुगेकामा प्रदेश सरकार आएपछि पहुँच बढेर ९४ दशमलव २५ प्रतिशतमा पुगेको प्रवक्ता पौडेलको भनाइ छ । मन्त्रालयले गण्डकी प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता कार्ययोजना तयार गर्न लागेको उनले बताए । मन्त्रालयका अनुसार ‘एक घर, एक धारा’ कार्यक्रमका लागि चालु आवमा सशर्ततर्फ सङ्घ सरकारबाट जम्मा रु ४९ करोड ५२ लाख बजेट आएको छ । प्रादेशिक, ससर्त र विशेष अनुदान गरेर यस वर्ष खानेपानीका लागि जम्मा दुई अर्ब १४ करोड बजेट विनियोजन भएको जनाइएको छ । आधा घण्टाको दुरीसम्म खानेपानी सेवा पुगेको अवस्थामा आधारभूत स्तरको खानेपानी सेवा पुगेको मानिने प्रवक्ता पौडेलले बताए । खानेपानी लिन आधा घण्टाभन्दा बढी समय लागेमा मात्र आधारभूत स्तरको खानेपानीको सेवा नपुगेको मान्ने गरिन्छ । खानेपानीको पूर्वाधार र गुणस्तर सुधार गरी मध्यम तथा उच्च स्तरको खानेपानी सेवा पुर्याउने कार्यक्रमलाई पनि मन्त्रालयले निरन्तरता दिँदै आएको छ । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी पुर्याउने निर्णय गरेपनि लक्ष्य अझै पूरा हुन सकेको छैन । खानेपानीमा छुट्टिने बजेट बर्सेनि घटेका कारण पनि लक्ष्य प्राप्तिमा चुनौती थपिएको मन्त्रालयले जनाएको छ ।
पोखरा: वडा प्रहरी कार्यालय पोखरा १ बगरमा स्तनपान कक्ष निर्माण गरिएको छ । शिशु भएका सेवाग्राहीलाई लक्षित गरी स्थानीय तह र जनसहभागिताको सहयोगमा स्तनपान कक्ष निर्माण गरिएको हो । उक्त कक्षको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले गरे । सो अवसरमा बोल्दै एसपी थापाले सेवाग्राहीको सहजताकालागि निर्मित सो कक्ष निकै महत्वपूर्ण रहेको धारण व्यक्त गरे । यस्तै वडाध्यक्ष प्रधानले उक्त कार्यको प्रशंसा गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बगरका पदाधिकारी, पोखरा १ का जनप्रतिनिधि, स्थानीयहरुको सहभागिता रहेको थियो ।
गोरखा: जिल्ला प्रहरी कार्यालय गोरखाले छिमेकीको ढुंगा हानेर हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका ६ मुसेखोलाका ३५ वर्षीय सन्तोष नेपाली रहेका छन् । उनले गत आइतबार बेलुकी करिब साढे ६ बजे सोही स्थानकै ४७ वर्षीय इन्द्र बहादुर बिकलाई ढुंगा प्रहार गरी हत्या गरी फरार थिए । त्यसपछि खोजी गर्ने क्रममा सोही राती गोरखा प्रहरीले नेपालीलाई पक्राउ गरेको थियो । अहिले नेपालीमाथि ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको गोरखा प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसले नेता केशवकुमार बुढाथोकीको निधनमा तीन दिन पार्टीको आधा झन्डा झुकाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । यस्तै कांग्रेसले पार्टीका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । कांग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने छ । स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गरिने उनको भनाइ छ । माघ १३ गतेदेखि जारी कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान पनि स्थगित भएको छ । कांग्रेस केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा माघ २२ गते निधन भएको थियो । स्वर्गीय बुढाथोकीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । ‘उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ । उहाँको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ,’ विज्ञप्तिमा भनिएको छ । बुढाथोकीको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति कांग्रेसले समवेदना प्रकट गरेको छ ।
गोरखा: गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए । “पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ”, उनले भने, “स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।” गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको छ । आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलव्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको उनको भनाइ छ । कार्यक्रम सुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराउँदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए । “कार्यक्रमबाट गर्भवतीको सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्योपचारमा खर्च न्यूनीकरण हुनेछ”, उनले भने, “नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीका लागि कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ ।” गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन् । दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । कार्यक्रम अब निरन्तर चल्नेछ । बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ ।