पोखरा: पोखरा महानगरपालिका–१४ ले वडाको उत्पादनलाई व्यवसायीक बजारीकरण गर्न फागुन ६ र ७ गते महोत्सव गर्ने भएको छ । पोखरा १४ को वडा कार्यालयमा आज (आइतबार) स्थानीयहरुसँग अन्तरक्रिया गर्दै वडामा उत्पादन भएका वस्तुहरुको व्यवसायीक रुपमा बजारीकरणको लागि महोत्सव गर्न लागेको जानकारी दिएको हो । महोत्सववारे जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वडाध्यक्ष बोधराज कार्कीले वडामा उत्पादनमा भएका वस्तुहरुको व्यवसायीक बजारीकरण र वडालाई उत्पादनशील क्षेत्रमा जोड दिन महोत्सव आयोजना गरेको बताए । ‘वडाको कुन टोलमा के उत्पादन हुन्छ, भन्ने जानकारी सबै वडाका टोलवासीलाई थाहा पाउनुपर्छ’,वडाध्यक्ष कार्कीले भने, ‘वडामा उत्पादन भएका कृषि जन्य वस्तु र उत्पादनशील वस्तुहरुको व्यवसायीक बजारीकरण गर्न महोत्सव आयोजना गरेका हौं ।’ दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा वडामा भएका सबै टोल तथा कृषक, उद्यमीहरुलाई निशुल्क रुपमा स्टल प्रदान गर्ने वडाध्यक्ष कार्कीले जानकारी दिए । ‘हामीले विभिन्न टोल, कृषक तथा उद्यमीहरुलाई महोत्सवमा निशुल्क रुपमा स्टल उपलब्ध गराउँछौं, उनले भने, ‘महोत्सवमा टोल तथा कृषक उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन, उत्पादन र व्यवसायीक बजारीकरण महोत्सव मुख्य उद्धेश्य हो । अन्तरक्रिया कार्यक्रममा स्थानीय लक्ष्मण कार्कीले महोत्सवमा स्थानीय वस्तु र स्थानीय कषकहरुले उत्पादन गरेका वस्तुहरुलाई प्राथमिकता दिन माग गरे । स्थानीय जीवनकुमारी बराल, शान्ता देवकोटा, राजु थापा लगायतले वडा भित्र नै उत्पादन गरेका विभिन्न किसिमका हस्तकलादेखि उत्पादनहरुले महोत्सवमा प्रर्दशनसँगै व्यवसायीक रुपमा थप हौसला प्रदान गर्ने बताएका छन् । स्थानीयहरुले अन्तरक्रिया कार्यक्रममा वडाले विभिन्न शिर्षकमा दिने अनुदान र बजेट वास्तविक कृषक, उद्यमीसम्म पुग्यो कि पुगेन भन्ने विषयले प्राथमिकता पाउने उल्लेख गरेका छन् । स्थानीयहरुले वडाका उत्पादन र कला संस्कृतिलाई महोत्सवमा स्थान दिन माग गरेका छन् । अन्तरक्रियामा बोल्ने वक्ताहरुले खेलकुद, कला, संस्कृतिलाई समेत महोत्सवमा जोड्न सुझाव दिएका छन् । पोखरा महानगपालिका १४ का वडाध्यक्ष कार्कीले महोत्सव सञ्चालन गर्न करिव २१ लाख रुपैयाँ लाग्ने अनुमान रहेको बताए । दुईदिनसम्म पोखरा १४ स्थित शुक्रराज बलभद्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने महोत्सवमा वडामा उत्पादनका भएका कृषि जन्य वस्तु, सामाग्री, विभिन्न टोल समुहको झाँकी ¥याली लगायत कलाकारहरुको प्रस्तुती रहेने वडा कार्यालयले जनाएको छ ।
पोखरा: गण्डकी ढुवानी प्रालिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको आज (आइतबार) पदस्थापन गरिएको छ । नवनिर्वाचित समितिलाई गण्डकी प्रदेशका भौतिक विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले प्रमाणपत्र वितरण गरे । यस्तै निर्वाचन समितिका संयोजक यामबहादुर खत्रीले नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । माघ १५ गते सम्पन्न भएको गण्डकी दुवानी प्रालिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनमा मनोज रसाइलीले अध्यक्षका पत्यासी इन्द्र मल्ललाई ३ मतले पराजित गर्दै निर्वाचित भएका थिए । भने, अन्य सञ्चालक समितिका सदस्यहरुमा भने सर्वसम्मत निर्वाचित भएका थिए । समितिको सदस्यहरुमा ईश्वर बस्याल, वीरबहादुर तामाङ, श्याम ताम्राकार, देवबहादुर थापा, विष्णु थापा र केशव श्रेष्ठ सर्वनिर्वाचित भएका थिए । प्रदेश सरकारले यातायात नियावली राम्रोसँग अध्ययन गरेर राजपत्रमा प्रकाशित गरेको होः मन्त्री जुग्जाली गण्डकी प्रदेशका भौतिक विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० राम्रोसँग अध्ययन गरेर राजपत्रमा प्रकाशित गरेको बताएका छन् । गण्डकी ढुवानी प्रालिको पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले यातायात नियमावली राजपत्रमा प्रकाशित गर्ने क्रममा कर्मचारीले लेख्ने र मन्त्रीहरुले हस्ताक्षर गर्ने मात्र गरेको आरोप लाग्दै आएकाले मुख्यमन्त्रीसँगको छलफलपछि मात्र राजपत्रमा प्रकाशित गरेको बताएका हुन् । ‘कुनै पनि नियावली राजपत्रमा प्रकाशित हुँदा कर्मचारीले लेख्ने मन्त्रीहरुले हस्ताक्षर गर्ने मात्र हो भन्ने आरोप लाग्दै आएको छ’, मन्त्री जुग्जालीले भने, ‘गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८०, राजपत्रमा प्रकाशित गर्नु अगाडि मुख्यमन्त्रीसँगको छलफल र अध्ययनपछि मात्र गत बिहीबार राजपत्रमा प्रकाशित गरेका हौं ।’ उनले कुनै पनि नियम,ऐन र कानून बनाउँदा कुनै व्यवसायीलाई विस्थापित गर्ने गरी निर्माण नहुने समेत बताए । ‘हामी लोकतन्त्रमा छौं कुनै पनि कुरामा चित्त नबुझे लेख्न आलोचना गर्न पाउँछौं तर सबै कुराहरु बुझ्न आवश्यक छ’, उनले भने, ‘सरकारले नियम, ऐन र कानून बनाउँदा कुनै पनि व्यवसायीहरुलाई विस्थापित गर्ने गरी निर्माण गर्दैन यसमा व्यवसायीहरु ढुक्क हुनुहोला ।’ मन्त्री जुग्जालीले हिजोका दिनमा देखिएका समस्याहरु समाधान गर्दै आफुहरुलाई अगाडि बढेको बताए । ‘हिजो यातायात कार्यालयमा जाँदाको अवस्था र अहिलेको अवस्था हेर्नुहोला, प्रविधिसँग पनि हामी अगाडि बढ्नुपर्छ’, उनले भने, ‘मन्त्रालयमा आएको करिव ९ महिना पुग्न लाग्यो, यातायात क्षेत्रमा तपाईहरुले २० औं वर्ष काम गर्नुभएको छ, तपाईहरु विज्ञ हुनुहुुन्छ तपाईहरु जस्तै व्यवसायीहरुसँग छलफल गरेर हामीले नियमावली बनाएका तयार गरेका हौं ।’ पदस्थापन कार्यक्रममा यातायात प्रालि राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेल, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी निरीक्षक भानु शर्मा र पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसी लगायतले मन्तव्य राखेका थिए ।
दाङ: श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र सा९ दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् । विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए । आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए । नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नवलपरासी: बर्दघाट नगरपालिका(४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिक–१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ स्थित कुकुरमारा नजिकैको हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । विश्वकर्माको पाखुरामा गोली लागेको छ । गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको लु ७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ ।
पोखरा: १८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते शनिबार हुने भएको छ । सो दौड सम्पन्न गर्न गठित उपसमितिको बैठकले ति दुबै इभेन्टहरु माघ २७ गते गर्न सुझाब दिए संगै मञ्चको कार्यकारी समितिको बैठकले उक्त सुझाबलाई मनन गर्दै सो दिन तय गरिएको नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका हुन् । १८ औं संस्करणको पोखरा म्याराथन पोखरा रंगशालामा सुरु भएर पोखरा ६ स्थित लेकसाइडको क्याम्पिङ चौरमा सम्पन्न हुने गरी नयाँ रुट तय भए संगै अपाङ्ग तर्फको दौडलाई एक साता अगावै सम्पन्न गर्ने गरी उपसमितिले आयोजकलाई सुझाब दिएको उपसमितिका संयोजक अमृत बरालले बताए । फागुन ५ गते हुने म्याराथनमा अत्याधि भिड बढ्ने संगै अपाङ्गतर्फको दौड समेत सञ्चालन गर्न समस्या हुने भएकोले खेलकुदको अन्तर्राष्ट्रिय मान्यता अनुरुप एक साता अगावै दौड सम्पन्न गर्ने तयारी आयोजकले गरेको मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले बताए । उनले भने–“यो अन्तर्राष्ट्रिय मान्यता अनुरुप समेत हो । हामीले समाजका हरेक वर्गलाई म्याराथनमा जोड्ने उद्धेश्य अनुरुप यो दौड समावेश गरेका हौं । उहाँहरुमा आफ्नै उत्साह हुन्छ । हामी त्यो उत्साहमा अझै उचाई थपियोस भन्ने चाहन्छौं ।” अपाङ्ग तर्फको दौडमा महिला–पुरुषतर्फ दृष्टिविहिन र ह्विलचियर दौड समावेश गरिएको छ । महिला र पुरुष दुबैतर्फका बिजेतालाई पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल, तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: आगामी फागुन पाँच गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न वडाहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले निर्देशन दिएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि शनिबार पोखरा महानगरपालिका सँग भएको छलफलको क्रममा पोखराका मेयर आचार्यले म्याराथनको रुटमा पर्ने वडाहरुमा रहेका बाधा–अवरोध हटाउँदै समग्र पोखरा महानगरवाशीलाई म्याराथनमा सहभागिता गराउने प्रतिबद्धता व्यक्त समेत गरेका हुन् । म्याराथनको संरक्षक समेत रहेको पोखरा महानगरले पोखरा अन्तर्राष्ट्रिय म्याराथन महानगरको इभेन्ट समेत भएकाले त्यसको अपनत्व महानगरले लिएको मेयर आचार्यले बताए । पोखरा म्याराथनको रुटमा हाल पोखरामा जाइकाले पानीको लागि बाटो खन्ने काम गरेको र मध्येपहाडी लोकमार्गको काम भएका ठाउँमा धावकलाई सहज हुने किसिमले सडकलाई तत्कालै बनाउन उनले निर्देशन समेत् दिएका छन् । उनले भने–“म्याराथनको दिन म्याराथनको रुट कम्तिमा पनि खेलाडीहरुलाई असहज हुने गरी राख्न भएन । सबै खाल्डाहरु पुर्न म वडाहरुलाई निर्देशन दिन चाहन्छु ।” मेयर आचार्यले सम्बन्धित निकायका व्यक्तिहरुलाई फोन समेत् गर्दै सडकका खाल्डाहरु पुर्न र धावकलाई असर नपर्ने गरी सम्याउन निर्देशन दिए । यस्तै रुटमा पर्ने वडा–वडाको सडकका खाल्टा वा अव्यवस्थित भए वडाले नै समाधान गर्न निर्देशन दिए । “जाइका र मध्यपहाडीको काममा अलि समस्या हो त्यहाँ म समन्वय गर्नेछु बाँकी वडाको कामहरु वडाबाटै गर्नुहोला” मेयरले भने, “कहाँ के गर्न पर्छ त्यो तत्कालै गर्नु । वडाको व्यवस्थापन वडाबाटै गर्नुस हामी सबै आयोजक हौं ।” पोखराका विद्यालय, आमा समूह, युवा क्लबहरुसँग समन्वय गर्नका लागि शिक्षा महाशाखालाई समेत मेयर आचार्यले निर्देशन दिएका छन् । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले रुटमा धावकलाई असर पर्ने गरी राखिएका निर्माणका सामग्री र खाल्डाहरुलाई तत्काल पुर्नका लागि अनुरोध गरे । उनका अनुसार यस पटकको रुटमा पोखराको शहरभन्दा बाहिरको रुट २५ किमि रहेको जानकारी दिए । उनले भने–“कुल म्याराथनमा २५ किमि रुट नयाँ हो । हामी शहर भित्रको सबै रुटहरुमा धावकहरुलाई कुनै समस्या नआओस भन्ने पक्षमा छौं ।” निवर्तमान अध्यक्ष तेज गुरुङले म्याराथन रुट, पुरस्कार र धावकहरुको बारेमा चर्चा गरे । उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुसरण गर्दै म्याराथनका लागि सहभागिता निश्चित गरेको सुनाए । गुरुङका अनुसार खुल्ला म्याराथनमा एक सय ५० धावकले मात्र दर्ता गराउन पाउनेछन् । यस्तै महिला हाफ म्याराथनमा ५० १० किमी पुरुषतर्फ चार सय ५०, महिलातर्फ एक सय ५० तथा पाँच किमि छात्रामा ६ सय र छात्रमा एक हजार दुई सय धावकलाई मात्र दर्ता दिने जानकारी गराए । म्याराथनलाई इलेक्ट्रोनिक डिभाइससँग जोडिएकाले व्यवस्थापन गर्न दर्तालाई निश्चित गरेको बताए । छलफल कार्यक्रममा महानगरका मेयर धनराजसहित विभिन्न वडाका वडाअध्यक्ष तथा मञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
पोखरा: कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेत र लोक गायक राजन कार्कीलाई सम्मान अर्पण गर्ने भएको छ । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मान गर्न लागेको हो । स्रष्टा सम्मान अन्तरगत ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित र स्व.चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कारबाट राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष रहेका कार्कीलाई ११ हजार १ सय ११ रुपैयाँ नगद सहित सम्मान अर्पण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोले जानकारी दिए । स्रष्टा सम्मान, एवम् स्व. चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार छनोट समितिका संयोजक खेम गुरुङको संयोजकत्वमा गठन भएको समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई सम्मान गर्ने निर्णय गरिएको हो । छनोट समितिको सदस्यमा पदमराज ढकाल, मनकुमार श्रेष्ठ, ज्ञानबहादुर थापा र यामबहादुर गुरुङ रहेका थिए । उनीहरुलाइ यहीं माघ २४ गते बुधवार साइमन पार्टी प्यालेसमा दिउँसो ३ बजे वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेर नगदको साथमा फूलमाला, दोसल्ला र सम्मानपत्र सहित सम्मान अर्पण गरिने प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए । नेपाली लोक गीत तथा संगीतमा चर्चित गीतहरु ‘सोह्र वर्षे उमेरैमा’, ‘आहा कलिलो तामालाई’, ‘राम्दी पुल’ जस्ता गीतका सर्जक लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको स्मृतिमा कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना भएको हो । स्मृति प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि सक्रियरुपमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ । स्रष्टा कल्याण शेरचनको देहावसान पश्चात हिमाली सांस्कृतिक परिवारले २०६८ सालमा पश्चिमाञ्चल स्तरीय कौराह (चुट्का) गीत प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगिताबाट संकलित रकमले अक्षयकोष स्थापना गरी २०६९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराई प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठान समाज कल्याण परिषदमा पनि दर्ता भएको छ । प्रतिष्ठानले हरेक वर्ष साउन १२ गते शेरचनको जन्म जयन्ती र माघ २४ गते स्मृति दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । प्रतिष्ठानले स्रष्टा कल्याण शेरचनले अंगालेका विधाहरु लोक संस्कृति, शिक्षा र खेलकुद क्षेत्रमा योगदान पुयाउनु हुने व्यक्तित्वहरुलाई सम्मान अर्पण गर्ने गरेको हो । यस क्रममा वरिष्ठ नृत्य प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ फुटबल प्रशिक्षक स्व.डम्बरसिंह गुरुङ, शिक्षाविद् बलवीर सिंह नेगी, वरिष्ठ संगीतकार प्रकाश गुरुङ, शिक्षाविद् रुप बहादुर गुरुङ र वरिष्ठ खेलाडी एवम् प्रशिक्षक खड्गबहादुर रानाभाट, शिक्षाविद् स्व.योगेन्द्र बहादुर बस्नेत, वरिष्ठ लोक गायक नारायण रायमाझी, वरिष्ठ कलाकार बाबा राणालाई सम्मान तथा अभिनन्दन गरिसकेको छ । यसैगरी सेभेन ए साईड फूटबल प्रतियोगिता, पश्चिमाञ्चल स्तरीय कौराह नृत्य साँस्कृतिक कार्यक्रम, भूकम्पपीडित विद्यालयको पुनर्निर्माण, राष्ट्रिय लोक बाजा मादल बादन प्रतियोगिता, राष्ट्रिय सारङ्गी बादन सम्मेलन, राष्ट्रिय एकल नृत्य प्रतियोगिता, राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता जस्ता महत्वपूर्ण कार्यक्रमहरु समेत प्रतिष्ठानले सफलतापूर्वक सम्पन्न गरिसकेको छ । स्मृति दिवसको कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको सचिव दाहालले बताए ।
पोखरा: एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते हुदैछ । पोखरा १७ छोेरेपाटनको गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसमा अडिसन हुन लागेको हो । गायन क्षेत्रमा रुची भएकाहरु आईडलको अडिसनका लागि पोखरामा भाग लिन सक्ने छन् । १६ देखि ३० वर्षसम्म उमेर समुहका युवाले निःशुल्क रुपमा अडीसनमा सहभागिता जनाउन सक्नेछन् । पुस २१ गते झापाबाट सुरु भएको सिजन ५ को अडिसन पोखरामा हुदाँ यस क्षेत्रका संगितप्रेमीहरु उत्साहित छन् । नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् । नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेट फर्म भएको निर्देश सुरेश पौडेले जानकारी दिए । उनले पोखराबाट धेरै प्रतिभाहरु नेपाल आइडलका अघिल्ला सिजनहरुमा आएको भन्दै यस पटक पनि उत्कृष्ट प्रतिभा पोखराबाट आउने बताए । नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर हुन् । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा पोखरा कै हुन् । पोखरा अडिसका लागि नेपाल आईडलको ७० जनाको टोली पोखरा आउदै छ ।
पोखरा: नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकार तस्करको नियन्त्रणमा रहेको बताएका छन् । पोखरामा आज आयोजित (शनिबार) नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम प्रदेश सभालाई सम्बोधन गर्दै गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले अहिलेको सरकार तस्करहरुको नियन्त्रणमा रहेको उल्लेख गरे । ‘यसको हाम्रो १७ खर्वको बजेट हो । १३ खर्व बढी राजश्व उठाउन पर्छ तर अहिले ३५ प्रतिशत पनि राजश्व उठ्न सकेको छैन । किन यस्तो भइरहेको छ, गुरुङले भने, ‘चुनावको समयमा यिनीहरुले भ्रष्ट र तस्करसँग साठगाँठ गरे । सबै ठाउँमा सेटिङ गरे अनि राजश्व उठ्न नसक्दा अर्थतन्त्र चलायनमान हुन सकेन ।’ उनले चुनावको समयमा सबै ठाउँमा सेटिङ गरेकाले अहिले अर्थतन्त्र चलायन हुन नसकेको टिप्पणी गरे । उपमहासचिव गुरुङले नेकपाको सरकार हुँदा संसारको देशहरु मध्ये ७ प्रतिशत आर्थिक वृद्धिदर बढी हुनेमा नेपालसमेत रहेको दाबी गरे । ‘नेकपाको सरकार हुँदा संसार भर ७ प्रतिशत आर्थिक वृद्धिदर हुनेमा नेपाल समेत थियो तर त्यो कायम रहन सकेन, उनले भने, ‘नेपालमा लगानी ग¥यो भने नेपालमा उद्योग, व्यापार, व्यवसाय ग¥यो भने देशको आर्थिक वृद्धिदर देखि रोजगार ढोका खुल्ने अवधारणा ल्याएपनि अहिले सबै बन्द भए ।’ उनले विदेशका भएका युवाहरुलाई समेत नेपालमा लगानी गर्ने वातावरण सिर्जना गरेपनि अहिलेको सरकारको कारण त्यो पुनः युवाहरुमा निराशामा परिणत गरेको उल्लेख गरे । पार्टीको जनवर्गीय संगठनहरु पाटीको नीति तथा कार्यक्रममा रहेर सञ्चालन हुन आवश्यक रहेको समेत उनले बताएका थिए । सरकार उधारोमा चलेको छ: पूर्व अर्थमन्त्री डा. खतिवडा नेपाल सरकारका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको सरकार उधारोमा चलेको बताए । ‘राजश्वमा सेटिङ भइरहेको छ । सरकारले राखेको लक्ष्य अनुसार राजश्व संकलनमा हुनेमा शंका छ, डा. खतिवडाले भने, ‘अर्थतन्त्र चलायमान हुन नसक्दा सरकारले निर्माण व्यवसायी देखि कृषि अनुदान, बीमामा अनुदान दिन सकेको छैन ।’ अहिले व्यापारीहरु उधारोको चङ्गुलमा फसेकाले त्यो उठाउन कानून बनाउन आवश्यक रहेकाले त्यसको मस्यौदा तयार गरेर सरकारलाई दिएको डा.खतिवताले बताए । उनले अहिलको शैक्षिक क्यालेन्डर बिग्रदा कलेज, क्याम्पसका विद्यार्थीहरु विदेश पलायन भइरहेको धारणा राखे ।