पोखरा: पोखरामा सम्पन्न भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा पहिलो पटक त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले पहिलो पटक उपाधि जितेको हो । यसअघि आर्मी २०७५ सालमा फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो । आर्मीले ५ वर्षपछि त्यसको बद्ला लिएको छ । २३ औं संस्करणको उपाधिसँग आर्मीले १२ लाख १ हजा नगदसहित शिल्ड प्राप्त गर्याे । यस्तै उपविजेता बनेको थ्री स्टारले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्याे । २०६५ सालयता पाँचौं पटकको फाइनलमा आर्मी विजेता बन्न सफल रह्यो । आर्मीलाई उपाधि दिलाउन कप्तान जेलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले समान १÷१ गोलको योगदान दिए । ३८ औं मिनेटमा जिलेस्पीले हेडमार्फत गोल गरे । यस्तै खेलको ८३ औं मिनेटमा फत्तेमानले गोल गर्दै अग्रतालाई दोब्बर बनाए र इन्ज्युरी समयको चौथो मिनेटमा बसन्तले गोल गर्दै च्याम्पियन बन्ने पक्का गरे । यो संस्करणको फाइनलसँगै थ्री स्टारले ७ पटक फाइनल भिडेको छ भने ५ पटक च्याम्पियन बनिसकेको छ । पछिल्लो पटक २०७५ मा यिनै दुई टोली फाइनलमा भिड्दा थ्री स्टारले आर्मीलाई पाखा लगाएको थियो । त्यसअघि आर्मीले २०६५, २०६६ र २०७२ सालमा फाइनल खेलेको थियो । राइजिङ स्टार फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै यात्राको सुरूवात गरेको आर्मीले क्वाटरफाइनलमा संकटालाई ३–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडमाथि २–१ जित निकाल्दै पाँचौं पटक फाइनल पुगेको थियो । अर्कोतर्फ उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ हराउँदै अघि बढेको थ्री स्टारले क्वाटर फाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० र सेमिफाइनलमा जाउलाखेल माथि १–० जित निकाल्दै फाइनल पुगेको थियो । थ्रीस्टारले यसअघि २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ फाइनल खेल्दा २०७४ मा उपाधि जितिसकेको छ । २३ औं संस्करणसम्म आइपुग्दा नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक समान ६ पटक , थ्री स्टारले ५ पटक, संकटा क्लबले २ पटक, अफ्रिकन युनाइटेड, सहारा, एपिएफ र आर्मी समान १ पटक च्याम्पियन बनेका छन् ।
पोखरा: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन् । पोखरामा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य सर्त रहेकाले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले जनतालाई पनि सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, “सरकार विधिसम्मत जाँदा कतिपय राजनीतिक सौदाबाजीका आधारमा वा अरू कुनै अवाञ्छित चलखेलका आधारमा सरकारले कुनैमा पनि सम्झौता गर्दैन, त्यसमा हामी प्रष्ट छौँ, तर जनतालाई पनि एउटा अपेक्षा छ, जनताको अपेक्षा वा केही आभासका आधारमा मात्र कसैलाई कारबाहीको दायरामा लिन मिल्दैन, तथ्य, प्रमाणले पुष्टि गर्नुपर्दछ ।” श्रेष्ठले देशले समृद्धिमा फड्को मार्न नसक्नुमा सुशासन स्थापित गर्न नसक्नु रहेकाले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित अन्य कदम चालिरहेको बताए । उनले भ्रष्टाचारमा संलग्नलाई सरकारले कारबाहीको दायरामा ल्याउँदा राजनीतिक दलका नेता, कर्मचारी तथा व्यवसायीले दबाब दिने गरेको उल्लेख गरे । उनले यही माघ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय समन्वय परिषद्को बैठकले प्रहरी समायोजनको काम अघि बढाउने बताए । “राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर समझदारी बनाउने र त्यसका आधारमा समायोजन समिति घोषणा गर्छौँ, समितिले समायोजन कार्यक्रम तालिका प्रकाशित गर्नेछ”, उनले भने ।
पोखरा: गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो प्रदेश सरकारले बिहीबार राजपत्रमा प्रकाशन गरेको नियमावली कार्यान्वयनमा आएसँगै दुई जिल्लामा सीमित गरिएको रुट परमिट खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। गण्डकीमा सञ्चालन हुने जीप र ट्याक्सीमा लागू गरिएको दुई जिल्ला परमिटको अव्यावहारिक नीतिगत व्यवस्था खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए। ‘व्यवसायीले चाहनाअनुसार प्रदेशभर रुट परमिट लिन पाउने व्यवस्था गरेका हौँु, उनले भने, ुतोकिएको दुईभन्दा बढी जिल्लामा जानका लागि अस्थायी रुट परमिट लिनुपर्ने झन्झट हटाएका छौँ।’ एकै ठाउँमा मात्र व्यवसायीलाई केन्द्रित हुन नदिनका लागि आवश्यकताका आधारमा प्रदेशभरको रुट इजाजत दिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। पाँच वर्षपछि दुई जिल्लामा परमिटको अव्यावहारिक नियम हटेकामा यातायात व्यवसायी र यात्रुले खुसी व्यक्त गरेका छन्। प्रदेश राजधानी पोखरा अवस्थित कास्की पुग्न अर्को जिल्लाको सडक प्रयोग गर्ने गोरखा, लमजुङ, मुस्ताङ, म्याग्दी, नवलपुर, मनाङ र बागलुङ जिल्लाका ट्याक्सी, जीप व्यवसायी र यात्रुका लागि नयाँ व्यवस्थाले सहज हुने बेनी यातायात प्रालिका सञ्चालक भोजबहादुर थापाले बताए। ‘ट्याक्सी सेवा लिने धेरै यात्रुको आकस्मिक काम परेका र बिरामी नै हुने गर्छन्’, उनले भने, ‘एकपटकलाई मात्र जारी हुने पटके लिन राति र कार्यालयबाहेकको समयमा कर्मचारीलाई फोन गरेर उनीहरूको घर, निवास र डेरामा पुगेर पटके लिनुपर्ने समस्या हटेको छ।’ सम्बन्धित सार्वजनिक सवारी धनी वा व्यवसायी कम्पनीको मागबमोजिम प्रदेशभित्रको मार्ग इजाजत दिइने भएको हो। प्रदेशभर, बहुजिल्ला, एक जिल्ला, निश्चित पालिका वा क्षेत्र तोकी मार्ग इजाजतपत्र जारी गरिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए। राजपत्रमा प्रकाशन भएको नियमावली कार्यान्वयनका लागि मातहतका कार्यालयमा पत्राचार गरिएको उनले बताए। अन्तर प्रदेश मार्ग इजाजतको हकमा सम्बन्धित निकायको निर्देशनबमोजिम कार्यालयले मार्ग इजाजत जारी गर्नसक्ने व्यवस्था गरिएको छ। एउटा मार्गका लागि इजाजतपत्र प्रयोग गरिरहेको सवारी धनी वा व्यवस्थापकले सो मार्गमा सवारी चलाउने चालकले अर्को मार्गमा सवारी चलाउने भएमा त्यसरी सवारी चलाउने मार्गको इजाजतपत्र लिनका लागि साविकको इजाजतपत्र दिने कार्यालयले दिएको सहमतिपत्र संलग्न गर्नुपर्ने व्यवस्था राखिएको यातायात व्यवस्था कार्यालय कास्की (सवारी)का प्रमुख डिल्ली रिजालले जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेशमा सार्वजनिक र निजी गरी पाँच लाख सवारीसाधन दर्ता छन्।
काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली खेल्दैछन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुँदैछ । पुलिस प्रतियोगितामा अपराजित टोली पनि हो । पुलिस लिग चरणका ९ खेलमा १८ अङ्कसहित शीर्ष स्थानमा रहेर र आर्मी ९ खेलमा ७ जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा रहेर उपाधि नजिकै पुगेको हो । पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले कप्तानी गर्नेछन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलर तथा उदीयमान खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् ।
काठमाडौं: नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो । नेपालका ११ औं नम्बरका खेलाडी दुर्गेश गुप्ता ४३ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औं नम्बरमा आएका आकाश चन्दले ३५ बलमा १८ रन बनाए । अन्तिम विकेटका लागि यी दुई खेलाडीले ६९ बलमा ४५ रनको साझेदारी गरेका थिए । नेपालका कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । अर्जुन कुमालले ६४ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाए । नेपाललाई ओपनर अर्जुन कुमाल र दीपक बोहराले पहिलो विकेटका लागि १३.२ ओभरमा ४८ रनको संयमित सुरुवात दिलाएका थिए । राज लिम्बानीको बल पुलसट खेल्ने चक्करमा एज लागेर दीपक बोहरा २२ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । उनले ४२ बल ३ चौका हानेका थिए । त्यसपछि मैदान आएका उत्तम थापा मगर ३० बलमा १ चौकासहित ८ रनमा क्याच आउट भए । त्यो समय नेपाल २१।५ ओभरमा ६५–२ को अवस्थामा थियो । एक समय नेपाल २३ ओभरमा ७१–२ को अवस्थामा थियो । स्पिनर सौम्य पाण्डेको लेन्थको बल मिस गर्दा अर्जुन कुमाल बोल्ड आउट भए । अर्जुन आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो । विशाल विक्रम केसी र गुलशन झा १–१ तथा दीपक डुम्रे र दीपेश कँडेल खाता खोल्न नसक्दा नेपाल २७।५ ओभरमा ७७–७ को दयनीय अवस्थामा पुगेको थियो । भारतका स्पिनर सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । आर्शिन कुलकर्णीले २ विकेट लिए । त्यसअघि दक्षिण अफ्रिकाको माङ्गाउगं ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । भारतको जितमा सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए । एक समय १४ ओभरमा ६२–३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ओपनर आदर्श सिंह २१, आर्शिन कुलकर्णी १८ र प्रियान्शु मोलिया १९ रनमा आउट भएका थिए । नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिएका थिए । नेपाल समूह डीबाट तेस्रो स्थानमा रहँदै सुपर सिक्स खेलेको थियो । नेपाल समूह चरणमा पाकिस्तानसँग ५ विकेट र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अव नेपालको समूहबाट सेमिफाइनलमा पाकिस्तान र बंगलादेश मध्य एक टोली पुग्नेछन् । यी दुई टोलीबीच भोलि आज हुनेछ । पाकिस्तान विजयी भएमा सोझै सेमिफाइनल खेल्नेछ । तर बंगलादेश विजयी भएमा दुबै टोलीको ६–६ अंक हुने हुँदा नेटरनरेटमा भर पर्नेछ । अर्को सुपर सिक्सबाट अष्ट्रेलिया शीर्ष र दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।
पोखरा: मञ्जुश्री संवत २८६० औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज ( शनिबार) पोखराको पोखरा सभागृहमा हुने भएको छ । प्रतियोगितामा देशभरबाट १० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रतियोगिको रुपमा मनिका लामा तामाङ, रिमाया तामाङ, दिक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ रहेका छन् । मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान जित्ने छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार प्राप्त गर्ने बैदाम तामङ समाज अध्क्षय ज्याक तामाङले जानकारी दिए । सहभागीहरुलाई ४५ दिन लामो तालिम दिइएको थियो । तामाङतामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका साथै व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, करियर सम्बन्धी तालिम, साइबर सेक्युरिटी, आत्मविश्वास, सौन्दर्यकला सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गरेका थिए । तालिममा रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ल, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी प्रदेशका पूर्व सदस्य एवम सौन्दर्यविद मिना गुरुङ्ग, चिनु गुरुङ्ग, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, दिपेन्द्र पहारी, नोभेल एकेडेमीका अध्यक्ष विश्वेश्वर आचार्य, नेपाल तामाङ्ग घेदुङ्ग का उपाध्यक्ष दीपक वाइवा तामाङ्ग, नेपाल जेसिसका पुर्व अध्यक्ष राजु केसी, चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, कलाकार माओत्से गुरुङ्ग, नेपाल तामाङ्ग घेदुङ्गका पूर्व अध्यक्ष धनप्रसाद तामाङ्ग, खोजराज गोले, विश्व दोङ्ग लगायतले तालिम प्रदान गरेका थिए । ग्राण्ड फिनालेका लागि मुख्य निर्णायकमा क्याप्टेन विजय लामा रहनुहुनेछ । गायक संगीतकार राजनराज शिवाकोटी र संजिव वाइवाको प्रस्तुति पनि उक्त दिन रहने छ । साथै कार्यक्रमको सञ्चालन आवाजको दुनियाको साथी सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले गर्नुहुनेछ । कार्यक्रम वाग्मती प्रदेशसभा सदस्य माननिय राधिका तामाङ्गको प्रमुख आतिथ्यतामा हुनेछ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको यस वर्ष गर्ने मिस तामाङ पोखराको आठौं संस्करण हो ।
पोखरा: त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर्मीमाथि ३–२ को सेटमा जित निकाल्दै एपिएफले फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गरेको हो । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले आर्मीलाई २५–२०, १४–२५, २८–३०, २५–१४ र १५–१३ को सेटमा पराजित गर्यो । अब एपिएफले उपाधिका लागि शनिबार गण्डकी प्रदेशसँग खेल्नेछ । आर्मीले तेस्रो स्थानको लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । यसअघि शुक्रबारै भएको पहिलो सेमिफाइनलमा गण्डकीले पुलिसमाथि २०–२५, २५–१५, १९–२५, ३१–२९ र १५–७ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टिमले १ लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिने छ । चौथो हुने टिमलाई सान्त्वना स्वरूप ५० हजार नगद पुरस्कारसमेत प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विधाका खेलाडीलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभाग एपिएफ, पुलिस र आर्मी गरी १० टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका छन् ।
काठमाडौं: दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई जितको लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । माङ्गाउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको हो । भारतका लागि सचिन दास र कप्तान उदय सरनले शतकीय पारी खेले । सचिनले एक सय १६ रन बनाए । उनले १ सय एक बलमा ११ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । उदयले १ सय ७ बलमा ९ चौकाको सहयोगमा शतक बनाए । यस्तै ओपनर आर्दश सिंहले २१, प्रियांशु मोलियाले १९, आर्सिन कुलकर्नीले १८ र मुसिर खानले अविजित नौ रन बनाए । बलिङमा नेपालका गुलशन झाले तीन तथा र अकाश चन्दले एक विकेट लिए । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । सुपर सिक्सको खेल अघिनै सेमिफाइनल दौडबाट बाहिरिएको नेपाल आज भारतलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ । भारतसमेत पराजित रहँदै तीन खेलमा ६ अङ्कका साथ शीर्षस्थानमा छ । नेपाललाई हराए भारत सेमिफाइनलमा पुग्नेछ । भारत पराजित भए पनि नेट रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ ।
पोखरा: गण्डकी प्रदेश महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई पहिलो सेमिफाइनलमा ३–२ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकीले नेपाल पुलिस क्लबलाई २०–२५, २५–१५, १९–२५, ३१–२९ र १५–७ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ १४ देखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसँगै ७ प्रदेशका गरी १० वटा टीमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।