रुकुम पूर्व:  रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...

पोखरा:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गर्ने बताएका छन् ।  बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरू गर्ने बताए ।  “आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।” वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र सम्मृद्धि हासिल गर्ने सरकारको लक्ष्य भएको स्पष्ट पारे ।  सरकार पुनःगठनसँगै पुँजीबजारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दैै प्रधानमनत्री प्रचण्डले वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको बताए । “रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन्,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक सङ्ख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ ।” प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिने विश्वास दिलाए ।  अघिल्लो वर्ष ऊर्जा र उत्साहका साथ आफूले कामको थालनी गरेको उल्लेख गर्दैै प्रधानमन्त्री प्रचण्डले ती थालेका काम पूरा गर्न र गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण सिर्जना भएको बताए ।  “गतवर्ष महत्त्वपूर्ण उपलब्धीहरू प्राप्त भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “तर, मेरो सङ्कल्प र हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको छु । सरकार पुनर्गठनको प्रारम्भिक चरणमै केही महत्वपूर्ण कामहरू भएका छन्, यसले सरकारको उज्यालो भविष्यलाई नै सङ्केत गर्दछ ।”

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा जारी १० औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् ।  अध्यक्षसहित प्रथम उपाध्यक्ष र द्धितीय उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदा बाँकी ५ पदाधिकारी र १९ सदस्यका लागि भने निर्वाचन सुरु भएको छ ।  महासंघको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा र द्धितीय उपाध्यक्षमा सुधिर अग्रवाल सर्वसम्मत निर्वाचित भए ।  शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको १० औं अधिवेशनबाट किसान सुनारको नेतृत्वका ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुदंैछ ।  ५ पदाधिकारीसहित १९ जना सदस्यमा निर्वाचन हुँदै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको तृतीय उपाध्यक्षसहित, महासचिव, २ सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र १९ जना सदस्यमा निर्वाचन हुन लागेको हो ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको तृतीय उपाध्यक्षमा चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनका प्रेम बहादुर विक (खाती) र नेपाल रत्न तथा आभुषण संघका निभा रत्न शाक्यको उम्मेवारी परेको छ ।  महासंघको महासचिवमा २ जना उम्मेदवारी परेको छ । सुनचाँदी व्यवसायी संघ पाँचथरका विमल धमला (निरबहादुर वि.क) र नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका टंकबहादुर बराईलीको उम्मेदवार परेको निर्वाचन समितिले जनाएको छ ।  यस्तै २ सचिव पदमा ३ जनाको उम्मेदारी परेको छ । सगरमाथा सुनचाँदी व्यवसायी संघ,उदयपुरका पृथ्वी विश्वकर्मा, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका खेमराज विश्वकर्मा (तिरुवा) र नेपाल सुनचाँदी व्यवसायी संघका केशर बहादुर विकले सचिव पदमा उम्मेवारी दिएका हुन् ।  यस्तै कोषाध्यक्षमा नेपाल रत्न तथा आभुषण संघका प्रविण शाक्य र नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका गणेश प्रसाद विश्वकर्माको उम्मेवारी परेको छ । यस्तै सह–कोषाध्यक्षमा रत्न व्यवसायी संघ नेपालका मेघ नाथ पाण्डेय र नेपाल  सुनचाँदी कला व्यवसायी संघका दिपक धनुकको उम्मेवारी परेको छ ।  यस्तै १९ पदको कार्यसमिति सदस्यमा २४ जनाको उम्मेवारी परेको छ । नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने तयारी गरेपनि अध्यक्ष, प्रथम र द्धितीय उपाध्यक्षबाहेक अन्य पदमा निर्वाचन हुन लागेको हो ।  सो महासंघमा देशभरका ३२ वटा संस्थाहरु आबद्ध छन ।  जारी अधिवेशनमा देशभरबाट कुल ३ सय ८४ जना प्रतिनिधि रहेका छन् । 

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र( का महासचिव देवप्रसाद गुरुङले बैठकपछि संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय भएको छ । पार्टी एकताका लागि वैचारिक एकरुपता र सङ्गठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र का तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र महासचिव यादव रहनुभएको छ । बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङ सहभागी हुनुहुन्थ्यो भने समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव सहभागी हुनुहुन्थ्यो ।

पोखरा:   लेखनाथको भण्डारढिकमा भोलि (शनिबार) देखि हुने खेलमहोत्सवको तयारी पूरा भएको छ । सूर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा भोलिदेखि ११ गतेसम्म लेखनाथमा हुने सूर्य तारा (नेकोस) खेल महोत्सवको तयारी पूरा भएको नेकोस गण्डकीका अध्यक्ष तथा संयोजक विष्णु पुनले जानकारी दिए  ।  उनका अनुसार सो खेल महोत्सवका उद्घाटन बिहान साढे ११ बजे लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने छन् ।  उनले राष्ट्रिय स्तरको ब्याड्मिन्टन प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय तेकवान्दो प्रतियोगिता, विभिन्न जातिका भाmँकी प्रदर्शन प्रतियोगिता र क्लबस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन हुने बताए । अध्यक्ष पुनका अनुसार फुटबलतर्फ आयोजक नेकोस र त्रिशक्ती युवा क्लब माछापुच्छ्रेबीच उद्घाटन खेल हुनेछ  । आगामी ११ गतेसम्म सञ्चालन हुने महोत्सवले खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रचारमा सघाउ पुग्ने आयोजकको विश्वास छ ।  सो खेल महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथ्लेटिक, तेक्वान्दो, खुला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्ला स्तरीय विद्यालय स्तरीय नृत्य प्रतियोगिता, संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता र लोक दोहोरी प्रतियोगिता समावेश गरिएको छ । यस्तो छ, खेल तालिका महोत्सव अन्तर्गत चैत्र २ र ३ गते खुल्ला ब्याडमिन्टन प्रतियोगिता, चैत्र ३ गते संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता, चैत्र ३ र ४ गते गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, चैत ३ गतेदेखि ११ गतेसम्म पुरुष फुटबल प्रतियोगिता, चैत्र १० गते खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता र चैत ८ देखि १० सम्म खुल्ला लोक दोहोरी प्रतियोगिता हुनेछ भने गत फागुन १९ गते एथलेटिक्स प्रतियोगिता अन्तर्गत ७ किलोमिटरका चार विधामा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ । खेल महोत्सवमा फुटबल प्रतियोगिता तर्फविजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।  प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ । महोत्सवको मुख्य प्रायोजकमा कर्माचार्य वेक्स एण्ड फुड्स प्रालि रहेको छ भने प्रवर्द्धकमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद् र राष्ट्रिय खेलकुद परिषद्को साथ रहेको छ । महोत्सवको प्रचारप्रसारकै क्रममा आयोजक नेकोस र मिडियाकर्मीबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो । सो खेलमा मिडियाकर्मीको टोलीले आयोजकलाई ८–५ गोल अन्तरले पराजित गरेको थियो ।  

काठमाडौं:    कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सुनचाँदा तथा रत्न आभुषण व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधै खुल्ला रहने बताएका छन् ।  काठमाडौंमा आज देखि सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो अभिव्यक्ति दिएका हुन् ।  उनले व्यवसायीको समस्या र गुनासो सुन्नका लागि आफ्नो मन्त्रालय सधै तयार रहेको बताए । ‘चुनौतीपूर्ण क्षेत्रबाट सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ अगाडि बढिरहेको छ’, मन्त्री गिरीले भने, ‘अहिले व्यवसायीहरुको गुनासो धेरै छन्, व्यवसायीहरुको गुनासो सुन्ने राज्यको संयन्त्रमा छु, गुनासो सुन्न मन्त्रालयका ढोका सधै खुल्ला रहनेछ ।’ उनले राज्यको कमजोर नीतिका कारण  व्यवसायीहरु मारमा परेको उल्लेख गरे । ‘जनताहरुमा अहिले निराशा बढिरहेको छ, जनताको निराशालाई आशामा बढल्ने गरी अब काम गछौं’, उनले भने, ‘राज्यको कमजोर नीतिका कारण व्यवसायीहरुम मारमा परेकाले अब व्यवसायीमैत्री नीति ऐनमा ध्यान दिन्छौं ।’ उनले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघले राज्यको राजश्वमा महत्वपूर्ण योगदान पु¥याएको बताउदै आफ्नो कार्यकालमा समस्याहरु सक्दो सुल्झाउने प्रतिवद्धता जनाए ।  यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ कला र संस्कृतिको संरक्षक भएको बताए ।  सरकारले व्यवहारिकताको पाटोलाई हेरेर कार्यनिर्देशिका बनाउनुपर्ने मल्लले धारणा राखे । ‘व्यावसायीहरुलाई पहिला थुन्ने अनि सुन्ने काम पछिल्लो समय भइरहेको छ, उनले भने, ‘ग्राहकहरु पुरानो सुन लिएर बेच्न आउनुहुन्छ । उहाँहरुसँग पुरानो बिल बिजक हुदैन । र व्यवसायीहरुले उहाँहरुको समस्या बुझेर खरिद गर्नुहुन्छ । त्यसकै आधारमा थुनामा पुग्नुपर्ने अवस्था छ । त्यसैले व्यवहारिक पाटोलाई हेरेर निर्देशिका बनाउनुपर्ने देखिएको छ ।’ उनले सुनचाँदी आयातमा भन्सार कर वृद्धि गरेकै कारण अवैध रुपमा सुन भित्रिने र तस्करी बढेको उल्लेख गरे । ‘सुन भित्राउन भन्सारमा बढाइएको १५ प्रतिशत करकै कारण सुनको तस्करी बढेको छ, उनले भने, ‘अबको सरकारले त्यो कार्यलाई कम्तिमा १२ प्रतिशत सम्म झार्नुपर्छ ।’ यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष जोत्सना श्रेष्ठले रत्न तथा आभुषणका लागि कच्चापदार्थ नेपालमै भएकाले सरकारले व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । ‘नेपालमै पाइने रत्नहरु भारतमा सस्तो मूल्यमा निर्यात हुन्छ र नेपालमा भित्राउदा हजारौ बढी तिरेर आयात गर्नुपरेको स्थिति छ । त्यसैले सरकारले यसको व्यवस्थापनमा पनि ध्यान दिन जरुरी छ ।’ आज (शुक्रबार) बाट सुरु भएको दशौं महाधिवेशन भोलि (शनिबार) सकिनेछ । नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने तयारी रहेको छ । सो महासंघमा देशभरका ३२ वटा संस्थाहरु आबद्ध छन् ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्  ।  उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए। प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गरेका छन् । प्रधानमन्त्री दाहालको निर्देशनसँग उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको उनको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

सिन्धुली:    सिन्धुलीमा नेपाल टेलिकमको एक टावरमा अपरिचित समुहले बम बिस्फोट गराएको छ । सिन्धुलिको सुनकोसी गाउपालिका १ दुम्जा स्थित बिपीपार्क नजिक आज बिहान बम बिस्फोट भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान तीन बजेतिर बिस्फोटको आवाज आएपछी प्रहरी चौकी दुम्जालाइ जानकारी गराइएको थियो । सो सम्बन्धी प्रहरीले अनुसन्धान गर्दा कुकर बम बिस्फोट भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रबत्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुम्जास्थित बिपि पार्कमा रहेको एनटिसीको टावरमा केही पड्किएको जस्तो आवाज आएको भन्ने खबर आएसङ्गै प्रहरी चौकी दुम्जाको टोली पुगेको थियो । एनटिसीको टावर रहेको कम्पाउण्ड भित्रको झ्यालमा अपरिचित समुहले कुकर बम बिस्फोट गराएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरी प्रबत्ता दहालका अनुसार कुकर बमले टावरको कम्पाउण्डको झ्यालमा सामान्य क्षती पुगेको छ । टावरको कम्पाउण्ड भित्र दुइओटा पेट्रोलको गन्ध आउने बोतल फेला परेको छ भने जनमुक्ती सेना नामक पर्चा फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:      रुसी सेनामा भर्ना भएका सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको छ । उक्त मन्त्रालयले परम्परागत रुपमा भएको सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट गरेको छ । सरकारले गत पुस ४ गते सार्वजनिक सूचना जारी गरेर सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाइए सम्बद्ध सबैलाई पुनः स्मरण गराएको छ । “रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको छ”, विज्ञप्तिमा उल्लेख छ, “रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ ।” परराष्ट्र मन्त्रालयले दिवङ्गत नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

गलकोट:    बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ । उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका–३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ ।  साल तथा कटुसको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको हो । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको मगर महिला समूहले जनाएको छ ।  रु तीन लाख लागतमा सञ्चालनमा ल्याइएको उद्योगको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा र गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कुसुम बुढाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।  उद्घाटनपछि मन्त्री थापाले साना तथा घरेलु उद्योगलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले महिला समूह मिलेर नेपाली समाजमा अत्यावश्यक रहेको दुनाटपरी उद्योग सञ्चालन ल्याएर आत्मनिर्भरको बाटोमा लागेकामा खुसी व्यक्त गर्नुभयो ।  धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रायोजनमा समेत प्रयोगमा आउन थालेको छ । दुनाटपरी  रेस्टुराँमा प्रयोगमा आउन थालेको छ । २८ जनाको महिला समूहले बङ्गुरपालन व्यवसाय गर्दै आएकामा गत वर्षको अफ्रिकन स्वाइन फिवरका कारण बङ्गुर मरेपछि दुना टपरी उद्योग सञ्चालनमा ल्याइएको उद्यमशील मगर महिला समूहका अध्यक्ष बलकुमारी पुनले जानकारी दिनुभयो ।  काठमाडौँदेखि दुनाटपरी बनाउने रु एक लाख ९२ हजारको औजार खरिद गरेर भाडामा सटर लिएर दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको पुनको भनाइ छ । अहिले महिला समूहले दुनाटपरी बनाउनका लागि प्रशिक्षण लिइराखेको उहाँको भनाइ छ ।  “झन्डै रु २२ लाखको लगानीमा खोलिएको बङ्गुरपालन व्यवसायबाट नोक्सानी भयो, महिला समूहले राम्रो आम्दानी गर्दै आएको बङ्गुरपालन व्यवसाय धराशायी भएपछि अहिले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएका छौँ, विशेषगरी सालको पातलाई सुकाएर मेसिनमा राख्दा सोझै दुनाटपरी बनेर निस्कन्छ,” पुनले भन्नुभयो, “बागलुङमा पोखरा र बुटवलबाट दुनाटपरी आयात भएको देखेपछि महिला समूहले सामूहिक रूपमा दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो, उक्त उपकरणले पाँच थरी साइजका दुनाटपरी बनाउन सक्नेछ ।” महिला समूहकै खर्चले उद्योग सञ्चालनमा ल्याए पनि स्थानीय सरकारले वनमा खेर गएको सालको पात टिप्नका लागि सहजीकरण गर्न आवश्यक रहेको पुनको भनाइ छ । उद्यमशील मगर महिला समूहले रु १५ लाख सङ्घीय सरकारको अनुदान र महिला समूहको रु सात लाख लगानीमा खाल्टेखेतमा बङ्गुरपालन गर्दै आएको थियो । गत वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण बङ्गुर फार्ममा रहेका छ सय बङ्गुर मरेपछि मगर महिला समूहले यस वर्ष दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको हो ।  बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेस्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग उच्च रहेको र आयातित दुनाटपरीलाई प्रतिस्थापन गर्न दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो ।   दुनाटपरी उद्योगले मगर महिला समूहले रोजगारी पाउने अपेक्षा गरिएको छ । दुनाटपरीलाई रु दुईदेखि रु आठसम्ममा बजारमा बिक्री गर्न सकिनेछ । बागलुङको भीमगिठेमा यसअघि नै दुनाटपरी उद्योग सञ्चालनमा आएको थियो ।