म्याग्दी: गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा उन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएका छन् । जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ । सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले फूल खेल्ने र बटिला लाग्ने समयमा बेमौसमी वर्षा, असिनापानी र रोगकीराको समस्याका कारण सुन्तला उत्पादन घटेको बताउनुभयो । “सुन्तला खेती हुने क्षेत्रफल र उत्पादनयोग्य बोटको सङ्ख्या बढेपनि प्रतिकूल मौसम र रोगकीराका कारण उत्पादकत्व नौ प्रतिशतले घटेको प्रारम्भिक अनुमान गरेका छौँ,” उहाँले भन्नुभयो, “क्रम कटिङ रिपोर्ट तयार पार्न बाँकी छ । किसनाको भनाइ र स्थलगत अनुगमन गर्दा यसपाली म्याग्दीमा सुन्तला उत्पादन घटेको पाइएको ओ ।” म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् । यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन थालिएको छ । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । सात सय छ हेक्टरमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टर भन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । गतवर्ष तीन हजार नौ सय पाँच मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो । अन्नपूर्ण गाउँपालिका–७ को दोसल्ले सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले गतवर्ष रू ७५ लाखको सुन्तला बिक्री भएकामा यस वर्ष रू २५ लाख बराबरको मात्र फलेको बताउनुभयो । “बजारको समस्या छैन तर यसपाली सुन्तलानै कम फल्यो,” उहाँले भन्नुभयो, “सुन्तला कम फलेकाले व्यापारीले अग्रिम पैसा दिएर हामीले नटिप्दै बगैँचाबाटै सुन्तला किनेका छन् ।” फल पाक्ने बेलामा कीराको सङ्क्रमणबाट औसा परेर झर्ने समस्या देखिएपछि उत्पादनमा कमी आएको किसानले बताएका छन् । पाक्ने बेलामा दाना झर्ने समस्या सुन्तला खेतीमा केही वर्षयता मुख्य चुनौतीको रुपमा देखिएको दोसल्लेका किसान बेगबहादुर पाइजाले बताउनुभयो । “सुन्तला जातका फलफूलको दानाभित्र पसेको औसाले असोजदेखि पुससम्म पहेँलो बनाइ दाना प्वाल पारेर अथवा दानालाई आफूसँगै भूइँमा खसाल्छन्”, कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले भन्नुभयो, “यसरी खसेका दानालाई सही तरिकाले बेलैमा व्यवस्थापन गर्नु पर्छ ।” भूइँमा खसेका औसालाई प्लास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने र डेढ फिट भन्दा बढी गहिरो खाडल खनेर व्यवस्थापन गर्न तालिम र प्लास्टिकको थैला वितरण गरिएको उहाँले जानकारी दिनुभयो । “झरेका दानालाई हावा नछिर्ने प्लास्टिकको बोरामा हालेर खाडलमा गाड्नुका साथै फ्रुट फलाई कीरा मार्ने खाद्यपासो प्रोटिन बेट प्रयोग गर्नुपर्छ,” कुर्मीले भन्नुभयो, “किसानलाई औसाले झरेका दाना, बगैँचा व्यवस्थापन र सरसफाइ गर्ने ज्ञान, सीप र प्रविधि सिकाउन स्थलगत तालिम सञ्चालन गरेका छौँ ।”
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवर्द्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रबर्द्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रवधि हस्तानतरण गर्न सहयोग पु¥याउने र स्वदेशी तथा विदेशी बजार विस्तारमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य लक्ष्य भएको संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह संयोजक राजेन्द्र ओझाले बताए । ‘‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने नै महोत्सवको लक्ष्य हो ।’’–सह संयोजक ओझाले भने । अहिलेको शिथिल अर्थतन्त्रका बाबजुद पनि विभिन्न व्यापारीक प्रतिष्ठानहरु एवं व्यवसायीहरुबाट प्रायोजनतर्फ महोत्सवलाई राम्रो साथ मिलेको र यसले आफुहरुलाई राम्रो हौसला मिलेको प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक समेत रहेका ओझाले बताए । महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधि, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहनेछन । महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ । महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु पनि प्रदर्शनी गरिनेछ । यस्तै, फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि महोत्सवमा राखिने ओझाले बताए । पुस ५ देखी १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्ट हुने भएको छ । दिउँसो लोक दोहोरी कार्यक्रम हुनेछन् भने साँझमा चर्चित व्याण्डहरुले स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा रत्यौली प्रतियोगिता विशेष आकर्षणका रुपमा रहने जनाइएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको छ ।
साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए । “पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पनि जनयुद्धको पेरिफेरिको कथा लेख्नु नै स्वागतयोग्य एउटा दुस्साहस गरेका हुन् भन्ने लाग्छ ।” विकासले भने, “अवश्य पनि गोधूलि गीत जनयुद्धको कथा हो, रोल्पाको कथा हो, ईश्वरीको कथा हो । माडीको कथा हो र कथा हो मानबहादुरहरूको ।” विषय प्रस्तुतिमा लेखक कहीँ नचुकेको बताउँदै उनले खास माओवादी के हो र तत्कालीन समयमा रोल्पालीहरू कसरी माओवादी बने, कसरी रणमैदानमा होमिए भन्ने कुरा उपन्यासमा प्रस्ट उल्लेख गरिएको बताए । विषयवस्तुको प्रस्तुति र शैलीका दृष्टिले आधा डुबेको र आधा उत्रेको किताबका रूपमा मगरले उपन्यासको विश्लेषण गरे । उपन्यासकार बोखिमले माओवादी युद्ध हुँदैनथ्यो भने आफू अहिले नेपालबाहिर कतै रहेको हुने जिकिर गरे । “युद्धबाट युद्धमै सहभागी भएकाहरूले वा नेपाली जनताले कत्तिको फाइदा पाए कुन्नि १ तर मैले भने निकै फाइदा लिएँ” युद्धसम्बन्धी कथा प्रतियोगिताबाट छानिएर जागिर खाएको प्रसङ्ग सम्झँदै उनले भने, “युद्धकै विषयमा रिपोर्टिङ र साहित्य लेखन गरेर मैले जीविकोपार्जन गर्न पाएँ ।” उपन्यास लेखनका क्रममा पटक पटक रोल्पा पुगेको अनुभव उनले सुनाए । कलम प्रकाशनले बजारमा ल्याएको उपन्यासमा पढाइमा अब्बल भई नर्स बन्ने सपना देखेकी रोल्पाकी एक किशोरी ईश्वरीको जीवन सङ्घर्षलाई उतारिएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा गीता लामिछाने, दीपेन्द्र श्रेष्ठ, स्ट्रगल राना, खिम लामिछाने, सुदिप घिमिरे, विष्णु बाँस्तोला, के। आर। ढकाल, विजय भण्डारी, मोती भुजेललगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलले गरेका थिए ।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ । गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो । सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ । बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ ।” यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उहाँले जानकारी दिनुभयो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन । उहाँका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन् । उहाँका अनुसार चारवटा एक महिनामै सञ्चालनमा आउँछ । आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ । ती पुलको पहुँचमार्ग बनाउने र रङरोगनलगायतका काम भइरहेको छ । गत मङ्सिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन् । आचार्यका अनुसार खहरेको पुल छ महिनाभित्रमा सञ्चालनमा आउने छ । यसपछि एउटा पुलमात्रै बाँकी रहने छ । गतको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो । तुइनखोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो । उहाँका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउनका लागि अनुमतिप्राप्त भइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुनः गृह मन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको जनाइएको छ । विस्फोटक पदार्थ ल्याउन केही ढिलाइ हुने भएपछि अन्तिम प्रयासको रूपमा भत्काउने तयारी गरिएको हो । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लोपटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक ९एडिबी०को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।
तनहुँ: मुग्लिनबाट पोखरा आउँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइते हुनेमा तनहुँ भानु नगरपालिका–१, साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका–३, चाम्बासका २१ वर्षीया सविता सुनार, १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका–२ का ३० वर्षीय प्रदीप गोदार छन् । त्यस्तै, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९, हिलेखर्कका ४० वर्षीय सुरन राई, व्यास नगरपालिका–२ का ३४ वर्षीया पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका–१ का ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका–२ का २१ वर्षीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् । साथै भानु नगरपालिका–१, साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीया नविन थापा, १२ वर्षीया दुर्गा थापा, सात वर्षीया नविना थापा, व्यास नगरपालिका–२, डाङग्रे खोल्सीका ४० वर्षीया दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९, हिलेखर्कका ५० वर्षीया सुमित्रा राई, व्यास नगरपालिका–११ मूलपानीका ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णिमा भट्टराई छन् । घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
म्याग्दी: म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५औँ शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले सयौं वर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिनुभयो । “यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्”, उहाँले भन्नुभयो । बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बङ्गुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बङ्गुर बिक्री र काटमार पनि गर्न पाइँदैन । तत्कालीन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थालेको छ । गाजने गाउँमा कुखुरा, बङ्गुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन् । जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजापताकाको सट्टामा पहेँलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेँलो र सेतो धजा चढाउने गरिन्छ । तत्कालीन राजा दिलीपबमले १५औँ शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो । पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसँगसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको हो ।
गण्डकी: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याउनुभयो । “कतिपय दलहरुले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो रु”, महामन्त्री शर्माले भन्नुभयो,“२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरुबीच छलफल गरौँ ।” उहाँले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाउनुभयो । महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताउनुभयो । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उहाँले बताउनुभयो । “देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्वपूर्ण कुरा होइन”, उहाँले भन्नुभयो, “अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।” उहाँले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
काठमाडौं: नेपाल सुपर लिग एनएसएल फुटबलमा वीरगञ्ज युनाइटेडलाई हराउँदै पोखरा थन्डर्स दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा पोखराले दशरथ रंगशालामा वीरगञ्ज युनाइटेलाई २(१ ले हरायो । पोखरालाई जिताउन जोए आइडु र स्टेफेन कोजो एनोरले गोल गरे । जोए आइडुले खेलको छैटौं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् । सुरुमा आयुष घलालने बक्सको दायाँ साइडबाट स्टेफेन एनोरलाई पास दिएका थिए । एनोरले मोसेस ग्याबाहलाई पास दिए । त्यसपछि मोसेसलले हान्ने खोजेको बल वीरगंजका खेलाडीले थोरै क्लियर गरे पनि बक्स बाहिर आइडुले भेटे र उनले कन्ट्रोल गर्दै सिधा प्रहार गरेको बलले जाली चुम्यो । वीरगञ्जका किपर दीप कार्कीले रोक्ने अवसर पाएनन् । त्यसको ५ मिनेट पछि नै वीरगञ्जले बराबरी गोल फर्कायो । सुशील लामाको प्रहार गरेको फ्रिकिकमा अकिन्स के बाफोउरले हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । तर पहिलो हाफको अन्त्यतिर स्टेफेन कोजो एनोरको क्रसमा मोसेस ग्याबाहले हेड गोल गर्दै पोखरालाई २(१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा दुवै टिमले गोल गर्न केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् र खेल पोखराले जित्यो । यो जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको धनगढी समान अंक भए पनि पोखरा गोल अन्तरमा पछि छ । वीरगञ्ज भने ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै यथावत छ ।