काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

तनहुँ:    व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ ।  केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो ।  नगरप्रमुख वैकुण्ठ न्यौपानेले सोमबार विज्ञप्ति जारी गरी वर्षायाम प्रारम्भ हुन धेरै समय बाँकी नभएकाले सडक निर्माणकार्यलाई तीव्र गतिमा अघि बढाउन यही महिनाभित्र सडक किनारका भौतिक संरचना हटाउन अनुरोध गरेको हो । साथै उनले सडक विस्तार आयोजना कार्यालमा सम्पर्क गरी मुआब्जा रकम लिन आग्रह पनि गरे।  “मुख्य बजार खण्डमा घरटहरा नभत्काउँदा काममा ढिलाइ भइरहेको छ । सडक विस्तार, विद्युत् पोल स्थानान्तरण कार्यमा सहयोग गरिदिनुहुनेछ भन्नेमा नगरपालिका विश्वस्त छ,” विज्ञप्तिमा भनिएको छ ।  मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछ । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको मूलद्वार, दुर्गा मन्दिरलगायत संरचना परेका छन् । पैतालीस जनाले पहिलो किस्ताबापतको मुआब्जा रकम बुझिसकेका उनले बताए ।

पोखरा:  अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणका लागि उपयूक्त जग्गाको खोजीमा रहेको प्रदेश खेलकुद परिषद गण्डकीले अन्तत: जग्गा पाउने भएको छ ।   पोखरा महानगरपालिका वडा नं २९ पटनेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि वडा कार्यालय २९ ले सहमति दिएसँगै परिषदले प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन सिफारिस गरेको हो ।   वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले उक्त जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त रहेको बताए ।   उनले भने, ‘कुनै न कुनै रुपले हामीले यो जग्गालाई संरक्षण गर्नुपर्छ भन्नेमा थियौं । तर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको बारेमा हामीले त्यती सोचेका पनि थिएनौं । प्रदेश खेलकुद परिषदले नयाँ योजना ल्याएको छ । हामी त्यसको स्वागत गर्छौं । प्रदेश सरकारले यहाँ रंगशाला निर्माणको योजना अघि सार्छ भने हामी त्यसका लागि तयार छौं ।’   करिब ४ सय ५० रोपनीमा फैलिएको पोखरा २९ पटनेरीको जग्गा विगतमा प्रस्तावित पशुपतीघाट क्रिकेट रंगशालाको उत्तरतर्फ पर्दछ ।   सेती नदीको कारण पशुपतीघाटको निर्माण कार्य अघि नबढेसँगै प्रदेश सरकार विगत तीन वर्षदेखि नयाँ जग्गाको खोजीमा थियो । प्रदेश सरकारले पशुपतीघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि डिपिआरसमेत तयार गरिसकेको थियो ।   परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा परिषदद्वारा गठित अध्ययन टोलीले प्रदेशका विभिन्न जिल्लाको भ्रमण र स्थलगत अवलोकन गरी जग्गाको खोजी गरिरहेको थियो ।   सोही आधारमा प्रदेश सरकारको चैत्र ९ गते भएको मन्त्रिपरिषद्को बैठकले नवलपुर र तनहुँको शुक्लागण्डकीमा गरी दुई ठाउँमा प्रादेशीक क्रिकेट रंगशाला निर्माणको घोषणासमेत गरेको छ ।   सरकारले दिएको जिम्मा पुरा गर्न टोलीले कुनै पनि बाधा अवरोध नभएको जग्गाको खोजी गरिरहेको कार्यकारी सदस्य गौतमले बताए ।   निर्माणका लागि जग्गा खोजीको पहिलो चरण पार भएको बताउँदै उनले भने, ‘सबै हिसावले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयुक्त छ । पोखराको लेखनाथ पर्यटकीय दृष्टिकोणले महत्व राख्ने भएकोले परिषदले निर्माण कार्य अघि बढाउन सिफारिस गरेको छ ।’   यता प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उपयुक्त रहेको बताए ।   ‘मैले पनि स्थलगतरुपमा अवलोकन गरेको छु । जग्गासमेत प्रयाप्त मात्रामा छ । वडा कार्यालय र स्थानियहरु समेत सकरात्मक र उत्सुक छन् । उत्तरतर्फ ३६० डिग्रीमा हिमाल देख्न सकिन्छ, उनले भने, ‘पोखराको लेकसाइड र बेगनासबाटसमेत नजिक छ । त्यो भन्दा पनि पोखरा रंगशालाको क्रिकेट मैदानबाट जम्मा १२–१३ किमिको दुरीमा छ  त्यसैले पोखरालाई क्रिकेटको हब बनाउने हो भने सबै हिसाबले यो स्थान उपयुक्त छ ।’   पोखरा २९ पटनेरीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि वडा कार्यालयबाट सहमति प्राप्त भएसँगै परिषद्ले मन्त्रालयमा सदस्य सचिब श्रीधर शर्माले सिफारिस गरेका छन् ।  

पोखरा:   तनहुँको भिमादमा मोटरसाइकल दुर्घटना हुँदा गण्डकी प्रदेशका भलिबल खेलाडी विवश आलेमगर घाइते भएका छन् ।    तनहुँको भिमादमा जारी स्थानीय प्रतियोगिता खेलेर हिजो (सोमबार) घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा भलिबल खेलाडी आलेमगर घाइते भएका हुन् ।    घाइते भएका आलेमगरको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेशका भलिबल प्रशिक्षक रमेश केसीले जानकारी दिए ।    ‘गण्डकी प्रदेशका भलिबल खेलाडी विवश आलेमगर मोटरसाइकल दुर्घटना हुँदा घाइते भएको खबरपछि हामी अस्पतालमा गएका थियौं’, प्रशिक्षक केसीले भने, ‘खेलाडी आलेमगरको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले अवस्था नर्मल नै भन्नुभएको छ ।’   उनका अनुसार घाइते आलेमगरको रिर्पोट नर्मल नै देखिएको छ ।   ‘अस्पतालमा उपचारत खेलाडी आलेमगरको रिपोर्ट आइसकेको छ । अवस्था नर्मल नै भन्नुभएको छ्, उनले भने, ‘हामी बिहान ४ बजे मात्र कोठामा फर्किएका हौं । भाईलाई केही दिन अस्पतालमै राखेर थप उपचार गर्छौ ।’   प्रदेश खेलकुद परिषद् बागमतीले चितवनको भरतपुरमा चैत २४ देखि २६गतेसम्म आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि जनाउन गण्डकी प्रदेश भलिबल संघले विवश आलेमगरसहित हरि पाण्डेको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ ।    चिकित्सका अनुसार मोटरसाइकल दुर्घटनामा घाइते भएका आलेमगरले एक महिना आराम गर्नुपर्ने भएपछि उक्त प्रतियोगिता गुमाउने छन् । विवश गण्डकीको भलिबल टिमका महत्वपूर्ण खेलाडी हुन् ।

काठमाडौं:    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकले आगामी वैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधिसभा र बझाङ– १ प्रदेशसभाको उपनिर्वाचनमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लगाउने बुझिएको छ । उपनिर्वाचनका लागि अन्य दलहरूले उम्मेदवारको टुंगो लगाइसके पनि कांग्रेस भने छलफलमै रहेको छ । कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् । इलाम-२ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ । यसअघि, सभापति देउवाले हिजो इलाम-२ को सन्दर्भमा रिपोर्ट लिएका थिए । इलामको अध्ययन गर्न महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङदम्बे र कोशी प्रदेश सभापति उद्धव थापा खटिएका थिए ।

पोखरा:  नेपाली नयाँ वर्षको अवसरमा पोखरामा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव हुने भएको छ ।   होटल संघ पोखराको आयोजनामा हुने सो महोत्सवबारे पोखरामा आज पत्रकारसम्मेलन गर्दै जानकारी दिइएको हो ।   होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले उक्त महोत्सव यही चैत २९ देखि वैशाख १ गतेसम्म महोत्सव आयोजना  हुने बताए ।   उनले सो महोत्सवपश्चात आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्बिने विश्वास रहेको बताए ।    उनका अनुसार सो महोत्सव पोखराको खहरेचोकदेखि ड्यामसाइडचोकसम्म सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित मनाइनेछ । उनले उक्त सडकखण्डका विभिन्न चौतारीमा नेपालीपन झल्किने खालका बाजागाँजासहित साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने बताए ।       उनले विशेषगरी नेपाली समुदायमा प्रचलित मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्धेश्य रहेको उल्लेख गरे ।   सो महोत्सवमा करिव ३ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा लिएको छ ।   महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी ¥याली, पर्यटक दौड प्रतियोगिता लगायतको कार्यक्रम आयोजना गरिने छ ।   सो अवसरमा होटल संघ पोखरामा आवद्ध होटलहरुमा महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुटकोसमेत व्यवस्था गरिएको संघले जनाएको छ । 

लमजुङ:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटिको नवौँ जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरे । बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष थिए । यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । उपाध्यक्षसहित उपसचिवसमेतमा विष्ट पक्ष विजयी भएका छन् । यस कमिटिको उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित भए । गुरुङले दुई सय ४२ मत प्राप्त गरे भने पौडेलले दुई सय ३७ मत प्राप्त गरे । त्यस्तै, सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी भए । राजेन्द्रले तीन सय ५८ मत प्राप्त गरे भने मिश्रले एक सय १९ मत प्राप्त गरेका थिए । उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गरे भने अधिकारले एक सय २९ मत प्राप्त गरे ।   सहसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भइन् । आइतबार भएको मतदानमा पाँच सय ३२ जना सहभागी हुनुपर्नेमा पाँच सय छ जनाले गरेका थिए । निर्वाचित कमिटिको कार्यकाल तीन वर्षे रहने छ ।

काठमाडौं:     रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  उनले भने, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने १० पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

पोखरा:    क्षत्री समाजको चौथो केन्द्रीय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ ।  क्षत्री समाजले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै चौथो महाधिवेशन दमौलीमा चैत २५ र २६ गते गर्ने जानकारी दिएको हो ।  क्षत्री समाजका महासचिव केशबहादुर केसीले तनहुँको दमौलीमा चैत २५ र २६ गते हुने चौथो महाधिवेशनमा देशभरबाट ४ सय प्रतिनिधि आउने बताए ।  ‘क्षत्री समाजको जिल्ला र प्रदेश समितिहरको अधिवेशनलाई सम्पन्न गरिसकेका छौं’, महसचिव केसीले भने,‘जिल्ला र प्रदेशको अधिवेशनपछि केन्द्रको चौथो महाधिवेशन चैत २५ र २६गते तनहुँको दमौलीमा आयोजना गरेका छौं ।’ क्षत्री समाजले विगतमा भएका सरकार पक्षसँग भएको सम्झौतालाई पालना गर्दै खस जातिको पहिचान र इतिहासलाई कायम गराउन अस आयोगको गठन गर्नुपर्ने माग समेत गरेको छ ।   

काठमाडौं:    बागमती प्रदेशसभाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे प्रदेशसभा भवन हेटौँडामा बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।   प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । बाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।   सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेसले समर्थन फिर्ता लिएको चैत २२ गते एक महिना पूरा हुँदैछ । ११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जोगाइराख्न ५६ सांसदको आवश्यकता पर्दछ । बागमती प्रदेशमा सत्तापक्षमा रहेका नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् । यस्तै, प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सदस्य छन् ।