पोखरा: गायक लोकेन सुब्बाले २१ वर्ष पछि संगीतमा पुर्नआगमन गरेका छन् । शुक्रबार पोखरामा आफ्नो नयाँ गीत “कान्छी” सार्वजनिक गर्दै सुब्बाले संगीत प्रतिको मोहले पुर्नआगमन गर्न इक्षा जागेको बताए । यसअघि उनले मायालु, बद्लिदिन्छ, भावना, परदेशी, डाँडापारी, जुनीजुनी, तिमी र म, बिर्सेको छैन, कथा लगायतका गीत सार्वजनिक गरिसकेका छन् । सन् १९९८ देखि नै संगीतमा क्रियाशिल रहेको उनले उल्लेख गरे । बीचमा हराएको जस्तो देखिएता पनि संगीत प्रतिको मोह अझै भएको भनाई उनको छ । पोखरा १० मिलनटोल स्थायी घर भएका सुब्बा हाल युके बस्दै आएका छन् । युकेलाई कर्मथलो बनाएता पनि संगीतलाई समेत अगाडि बढाइरहेको उनले सुनाए । सार्वजनिक कान्छी गीतबाट उनी आशावादी छन् । संगीत बजारको पछिल्लो मागअनुसार नै गीत निर्माण भएको दाबी उनको छ । कान्छीको शब्द उनले नै कोरेका हुन् । आवाज सँगै संगीत समेत दिएका सुब्बाकै अफिसियल युटुब मार्फत गीत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा प्रदीप श्रेष्ठ, बिनु मगरको अभिनय छ । उनीहरु दुवै जना पहिलो पटक म्युजिक भिडियो मार्फत अभिनयमा आएका हुन् । म्युजिक भिडियो करियरमा केही गर्ने आशाले आफुहरु आएको उनीहरुले सुनाए । कान्छीको म्युजिक भिडियोलाई सुभाष सुवेदीले निर्देशन गरेका हुन् । गीतको भावअनुसार नै म्युजिक भिडियो बनेको उनले बताए । पोखराको क्रेजी स्टुडियोमा रेकर्ड गरेको गीतको म्युजिक भिडियोको सम्पादन सिनेमा एवम् म्युजिक भिडियो निर्देशक नेत्र गुरुङले गरेका हुन् । गुरुङका अनुसार पछिल्लो समय पोखरामा सांगीतिक कार्यक्रमको लर्को बढेता पनि गीतसंगीत निर्माण भने कम भएको बताए । उनले पोखराका गायक, संगीतकार र गीतकारहरुले आफ्नो सिर्जना बजारमा पस्कन आवश्यकता रहेको उनले औंल्याएका छन् । राम्रो गीत चल्नका लागि टीकटक जस्ता प्लाटफर्म नै चाहिन्छ भन्ने नभएको उनले बताए । सिर्जनामा दम भए गीत आफै चल्ने भनाई उनको छ । विनोद रसाइलीले गीतको संगीत संयोजन गरेका हुन् । बबी सुनार (भाइलन), विवश खाती (गीतार), विकास गुरुङ (बेस गीतार), सुदीप गायक (बासुरी), सुभाष पौडेल, सुभाष अधिकारी र सन्तोष गुरुङले लगायतले गीत निर्माणमा साथ दिएका छन् । गीतको सम्पूर्ण छायाँकन पोखरा आसपासमा भएको हो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एव्म प्रहरी उपरीक्षक मोहनकुमार थापाले पोखरामा भोलिदेखि मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसप र चालकलाई कारवाही गर्ने बताएका छन् । कास्की प्रहरी प्रमुख थापाले आज पोखरामा मोटरसाईकल वर्कसपमा सचेतना मूलक स्टिकर टाँस्ने अभियान शुभारम्भको गर्दै मोडिफाई मोटरसाइकललाई ट्राफिक नियम उल्लघन गरेबापत कारवाही गरिएपनि नियन्त्रणमा नआएको बताए । त्यसैले सवारी जरिवाना मात्रै नभएर २५ दिन हिरासतमै राख्ने घोषणा गरे । ‘सवारी तथा यातायात व्यवस्था ऐन विपरित मोडिफाई भएका केही मोटरसाइकललाई ट्राफिक नियम उल्लघन गरेवापत जरिवाना ग¥यौं, कास्की प्रमुख थापाले भने, ‘मोडिफाई गर्ने क्रम अझै रोकिएको छैन । अब हामी मोडिफाई गर्न संग्लन हुने सबैलाई मुलुकी अपराध संहिता २०७४ मा सार्वजनिक शान्ति भंग गर्न नहुने कसुर छ । त्यसमा कसैलाई दुःख हैरानी दिन नपाईने उल्लेख गरिएको छ । त्यही कानूनलाई प्रयोग गरेर कारवाही गर्छौ ।’ उनले पोखरामा भोलिदेखि स्विकृती विना मोेटरसाइकल मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन थुनामा राखेर कारवाही गर्ने बताए । ‘पोखरामा पछिल्लो समय सवारी साधन मोडिफाई गरेर चलाउने क्रम बढ्दो रुपमा रहेको छ, केही सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही पनि ग¥र्यौ, थापाले भने, ‘‘सवारी तथा यातायात व्यवस्था ऐन विपरित मोडिफाई गर्ने क्रम नरोकिएकाले भोलिदेखि पोखरामा मोटरसाइकल मोडिफाई गर्न संग्लन हुने वर्कसप र चालक दुवैलाई २५ दिन थुनामा राखेर कारवाही गर्छौ ।’ प्रहरी उपरीक्षक एवम् कास्की प्रहरी प्रमुख थापाले कसैसँग कुनै सम्झौता नगरी कानूनको पालनामा लाग्ने बताए । जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालयले पछिल्लो समय मोटरसाइकलको स्वरुप परिवर्तन गर्नेलाई कारवाही गर्दै आएको छ । यसअघि कास्की प्रहरीले करिब ७ सय मोेडिफाई मोटरसाइकललाई कारीवाही गरिसकेको छ ।
दाङ: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दल नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा–२ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । महराले नागरिक उन्मुक्ति पार्टीसहित पाँच राजनितिक दल र एक स्वतन्त्र गरि ४८ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै महराले प्रदेश प्रमुख समक्ष ४८ जनाको हस्ताक्षरसहित दाबी पेस गरेकोले उहाँलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्त गरेको जनाएको छ । बिहीबार नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो । प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।
पोखरा: पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । चैत्र १९ देखी २२ गतेसम्म सञ्चालन गरिएको तालिम महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा सम्पन्न भएको हो । तालिमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विपद्का बेला प्राथमिक उपचार महत्त्वपूर्ण हुनुभएकाले यसका लागि आवश्यक ज्ञान हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि प्रकारको विपद्मा उद्धारकर्ताहरूलाई सुरक्षित सेवा उपलब्धता सुनिश्चित गर्न आवश्यक सिप विकास तथा उपचार विधिका बारेमा सचेतनाका लागि तालिम उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका विपद् न्यूनीकरण सहित विपद्का बेला आवश्यक जनशक्ति तयारका सन्दर्भमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । हाल तत्काल उपलब्ध हुने गरी नगर प्रहरी र दमकल सेवालाई एकै स्थानबाट सञ्चालन गरिएको उहाँले बताउनुभयो । एकीकृत आपतकालिन सेवाका लागि र्यापिड एक्सन टिम निर्माण गरी विपद्का बेला परिचालन गर्ने गरिएको प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार एडिबीको सहायतामा निर्माण गर्ने गरी लेखनाथमा विपद् व्यवस्थापन केन्द्र सञ्चालन गरिने छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी महानगर स्तरीय योजनाहरूको कार्यान्वयन गर्दै विपद् व्यवस्थापन सम्बन्धी कार्यमा गैरसरकारी संस्था, निजी क्षेत्र एवं स्थानीय समुदायलाई समेत संलग्न गराउन महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । विपद्को घटना हुनासाथ त्यस्ता घटनाबाट असर पर्न सक्ने क्षेत्रमा रहेका व्यक्तिलाई उद्धार र विपद् प्रभावित बासिन्दाको जीउधनको सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यका लागि महानगरपालिकामा विपद् प्रतिकार्य टिम तयार गरिएको प्रमुख आचार्यले बताउनुभयो । तालिमको समापनमा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माले रेडक्रसले विपद् प्रतिकार्यमा समर्पित जनशक्ति तयार तथा आवश्यक उद्धार सामाग्री सहित प्राथमिक उपचारका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । तालिम मार्फत सहभागीहरूले विपद्का बेला गर्नु पर्ने प्राथमिक उपचार र उद्धार कार्यका विषयमा आफूहरूलाई धेरै ज्ञान हासिल भएको बताएका छन् । तालिममा पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी तथा नगरप्रहरीहरुको सहभागिता रहेको थियो ।
गोरखा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रमका बिच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे । उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख समेत गरे । गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान जाने बताए । गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियोे ।
दाङ: लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागी बहुमत प्राप्त सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष दावी पेश गरिएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री नियुक्तीको लागी बहुमत सदस्य ४४ जनाको हस्ताक्षर सहित पत्र बुझाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाउन नयाँ राजनीतिक समिकरणमा सहभागी दल नेकपा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका दल नेता जोखबहादुर महरा, जनता समाजवादी पार्टीका दल नेता भण्डारीलाल अहिर, नेकपा एकिकृत समाजवादीका दल नेता भगवती अधिकारी, स्वतन्त्र सांसद खड्ग बस्नेत सहित प्रदेश सभा सदस्यहरुको सहभागिता थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछी नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको छ । माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ७ बुँदे सहमति गर्नुभएको थियो ।।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच विहीबार भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख निवास, पोखरामा गण्डकी प्रमुख भट्टले बागमती प्रमुख शर्मालाई स्वागत गर्नुभयो । यस्तै, हालै प्रमुख प्रदेश नियुक्त हुनुभएकोमा बागमती प्रमुख शर्माले भट्टलाई बधाई ज्ञापन गर्नुभयो । प्रमुखद्वयले आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले काम र अनुभवहरू पनि साटासाट गर्नुभयो । भेटका अवसरमा आपसी कार्यानुभव आदान प्रदान गर्नुका साथै आगामी दिनमा दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो । प्रदेशका सिमान्तकृत समुदाय उत्थानका लागि गर्न सकिने भूमिकालगायत विषयमा कुराकानी भएको गण्डकी प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिनुभयो । उक्त अवसरमा बागमती प्रदेश प्रमुख शर्माले बागमती प्रदेशमा निमन्त्रणा समेत गर्नुभएको थियो ।
पोखरा: पोखरामा जारी तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा आज सेमीफाइनलका खेल सञ्चालन हुने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा दोश्रो दिन हिजो विभिन्न उमेर समुहका २१ खेलहरु सम्पन्न भए संगै भोली सेमीफाइनलका खेलहरु सञ्चालन हुने भएका हुन् । प्रतियोगितामा यू–१२ गर्ल्स सिंगल्समा सारा पन्त र ऐरा खत्री र अनुश्री धोजु र जिवाश्री भट्टराई समेीफाइनलमा आमने सामने हुनेछन् । यू–१६ गर्ल्स सिंगल्समा आइशा म्याक्ग्लान र सुनिरा थापा सेमीफाइनलमा भिड्नेछन् । यू–१० गर्ल्स सिंगल्समा सारा पन्त र नैरा छोडेन घले तथा ताभिसी राना र जिवाश्री भट्टराई भिड्नेछन् । ब्वाइज सिंगल्सतर्फ अर्याशराज पौडेल, सभ्याजङ्ग कार्की, बेदान्त चालिसे र निश्चल ज्ञवाली सेमीफाइनल प्रवेश गरे । त्यस्तै यू–१६ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठ र अमन नेपाली आमने सामाने हुँदा श्रीजन भट्टराई र शाश्वत बज्रचार्य फाइनलमा स्थान बनाउन भिड्ने छन् । यू–१४ ब्वाइज सिंगल्समा सन्दिप विक र रनिश श्रेष्ठ तथा सन्दिप जीशी र स्पन्दन उदासले अन्तिम चारमा स्थान बनाएका छन् । प्रतियोगितामा यू–९ गर्ल्सतर्फ नैरा छोडेन घले र समृद्धि खत्री तथा जियोभानी केसी र ताभिसी राना एक अर्का बीच भिड्नेछन् भने ब्वाइजतर्फ जसन गुरुङ र जिवस विक्रम भट्टराई तथा सोनाम छिरिङ घले र इभान भट्टराईले अन्तिम चारमा आफ्नो स्थान पक्का गरे । उनीहरु भोली एक अर्काको सामना गर्नेछन् । त्यसै गरी यू–८ गर्ल्स सिंगल्समा अमिरा जिशी र श्रेयाश्री पाण्डे उपाधिका लागि भिड्दा यू–१२ व्वाइज सिंगल्समा विश्व विशेष डल्लाकोटी र निश्चल ज्ञवाली तथा अर्याशराज पौडेल र सभ्याजङ्ग कार्की अन्तिम चारमा भिड्नेछन् । यू–१६ गर्ल्सतर्फ सुनिरा थापा र आयशा म्याक्ग्लान तथा आरुषी तुलाचन र दिव्यता भण्डारी सेमीफाइनलमा एक अर्का बीच भिड्नेछन् । प्रतियोगिता अन्तर्गत गर्ल्स ओपन डबल्समा शाल्भी र आरुषीको जोडीले आर्शीया स्वाराको जोडी आमनो सामने हुनेछन् भने दोश्रो खेलमा आहना र आयशाले शरिसा र ग्रिस्मा अन्तिम चारमा भिड्नेछन् । त्यसै गर िब्वाइज डबल्समा अमन र सूयाशंको जोडीले यूवेन र स्पन्दन उदासको जोडी भिड्दा दोश्रो सेमीफाइनलमा सन्दिप र दोजेन गुरुङको जोडीले प्रफुल श्रेष्ठ र सुभनको जोडीको सामना गर्नेछन् । चेत्र २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा कुल १४ वटा इभेन्टमा ब्वाईजतर्फ ४० र गर्ल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनियर नेपाल र्याकिङ खेलाडीहरुको सहभागिता छ भने करिव २ लाख ३१ हजार पुरस्कार राशीमा खर्च हुने कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् । यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् । त्यस्तै यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेता तथा उपबिजेताले नगद समान रु ४ हजार र २ हजारसहित मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता विभिन्न उमेर समुहका नेपाल र्याकिङ्ग आयर्शराज पौडेल, शाल्भी शेरचन, इभान भट्टराई, जिवाश्री भट्टराई, जिवाश भटट्राई, दर्शिल श्रेष्ठ, जियोभानी केसी, शास्वत बज्रचार्य, शिर्जन भट्टराई, सन्दिप विक, इलेश गौतम, निश्चल ज्ञवाली, विशेष विश्व डल्लाकोटीले विभिन्न इभेन्टमा प्रतिस्पर्धामा छन् । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुनेछ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गरेका हुन् ।
काठमाडौं: सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो । ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसी क्यामराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिनुभयो । “ठमेलका गल्लीभित्र प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्र सवारीसाधन गुडाउन पाइनेछ”, उहाँले भन्नुभयो । ठमेल क्षेत्रभित्र जथाभावी हर्न बनाउने सवारीसाधनलाई पनि कारबाही गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै काठमाडौँ उपत्यकामा हर्न निषेध गरिसकेको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न लागिएको बताउनुभयो । “ठमेल भित्रिने र बाहिरिने नौवटै नाकामा सवारीको चाप हेरेर व्यवस्थापन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । अध्यक्ष शर्माले ठमेलभित्र सञ्चालनमा रहेका रिक्सालाईसमेत बाटोअनुसार एकतर्फी गर्दै लैजान लागिएको बताउनुभयो । ठमेलभित्र पानीका ट्याङ्करहरु बिहान ४ देखि ६ बजेसम्म सञ्चालन गरिदिन सम्पूर्ण व्यवसायी र घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको ठमेल पर्यटन विकास परिषद र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलको आज बिहानको बैठकले गरेको गरेको छ । ठमेल क्षेत्रको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ठमेलभित्रका गल्लीमा एक सय २० थान सिसी क्यामरा जडान गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने निर्णयसमेत हालै गरेको थियो ।

