काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

डोल्पा:     हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ । गत बिहिवार आगलागि घटनामा परेका तीनैजना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो । उपचारको क्रममा जिल्ला अस्पताल डोल्पामा १० वर्षीय सुलस बुढाको र १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाण्डौमा उचारकाको क्रममा मृत्यु भएको हो । गाउँ नजिकै रहेको बनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागिमा परेर गम्भीर घाइते भएको थिए । आगलागिबाट बचाउन धेरै प्रयास गरिएकोमा तीनै बालबालिकाको मृत्यु भएपछि सिंगो गाउँनै शोकमा डुबेको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताउनुभयो । मृत्यु हुनेमा एकै घरका दुइ बालबालिकाको रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारकोलागि हेलिकप्टरको व्यवस्था गरेर काठमाण्डौ पुर्याइएको थियो । डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो ।

पोखरा:     पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ । महानगरपालिकाको २८ औँ कार्यपालिका बैठकबाट महानगरका प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्वमा सटर कवल बहाल बक्यौता असुली अध्ययन समिति गठन गरेको हो ।  समितिको सदस्यहरूमा वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य, वडा नं.८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी र वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगी रहनुभएको छ भने, समितिको सदस्य सचिवमा महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया रहनुभएको छ ।  समितिलाई महानगरको स्वामित्वमा रहेका सटरहरूको अवस्था, बहाल रकम असुलीको अवस्था र बक्यौता समेतको अध्ययन गरी प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । पछिल्लो समय महानगरको स्वामित्वमा रहेका सटरहरूका विषयमा सार्वजनिक रूपमा गुनासो आएकाले यथार्थ अवस्था पत्ता लगाई यसलाई नियमन तथा निगरानी गर्नुपर्ने भएकाले अध्ययन समिति गठन गरिएको प्रमुख आचार्यले बताउनुभयो ।  यस्तै महानगरपालिकाले २०७५ सालदेखि उठ्न बाँकी बक्यौता राजश्वका विषयमा अध्ययन गर्न एक उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । वडा नं.२२ का वडा अध्यक्ष हिमलाल बरालको अध्यक्षतामा गठित समितिको सदस्यमा महानगरको सुशासन समितिका संयोजक समेत रहेका वडा नं।४ का वडा अध्यक्ष देवकृष्ण पराजुली, वडा नं.२० का वडा अध्यक्ष गङ्गा बहादुर के।सी र एक चार्टर एकाउन्टेन्ट तथा सदस्य सचिवमा महानगरको सूचना अधिकारी तथा उपसचिव कृष्ण तिवारी रहनु भएको छ । समितिलाई समग्र महानगरपालिकाको कार्यक्षेत्र भित्र २०७५ सालदेखि हालसम्म राजश्व सङ्कलनको अवस्था, बक्यौता असुल उपरको अवस्था र राजश्व सङ्कलनमा भए÷गरेका समस्याहरूको बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । समितिलाई २ महिना भित्र समग्र अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यपालिका मार्फत कार्यादेश दिइएको नगरप्रमुख आचार्यले बताउनुभयो । 

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ वर्ष २०८१ साल आगमनको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।   भट्टले शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको शुभकामना दिएका हुन् । ‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ। त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो’ – भट्टले भनेका छन् – ‘राष्ट्रको आजको प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दीगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको छ।’ नयाँ उमङ्ग र उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रिय समृद्धि र सुशासनका निम्ति जुट्न पनि उनले अनुरोध गरेका छन् ।   शुभकामना सन्देशमा भनिएको छ – ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वोपरी लक्ष्य रहेको छ। यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्न आवश्यक छ।   अर्थतन्त्रमा देखिएको संकट समाधानका लागि सबै पक्ष मिलेर अहम् भूमिका निर्वाह गर्नुपर्नेछ । सबै राजनैतिक दलकाबीच दृढ सङ्कल्प आवश्यक रहेको छ। मुलुकलाई अगाडि बढाउन दलहरूका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुनेमा विश्वस्त छु। लोकतन्त्रको उच्चतम अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न निरन्तर प्रयत्नरत रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’

काठमाडौं:    ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग खेल्दैछ । अल अमारतमा यो खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल विजयी भएको छ । ओमनको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गराएको हो । टस जितेर सुरवाती ब्याटिङ गरेको मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । यसैगरी कप्तान रोहित पौडेलले २८ रन बनाए भने ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए । यसैगरी दिपेन्द्रसिंह ऐरी २० रनमा आउट भए भने गुल्सन झा १९ र सन्दिप जोरा १२ रनमा नटआउट रहे । नेपाल विरुद्ध मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए । यसअघि मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रनको यगफल बनाएको थियो । मलेसियालाई सामान्य रनमै समेट्न दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै अविनाश बोहोराले १ विकेट लिए । मलेसियाका लागि कप्तान भिरनदिप सिंहले सर्वाधिक ६८ रनको अविजित इनिङ खेले । प्रिमियर कप अन्तरगत नेपालकै समूहमा रहेका हङकङ र कुवेतबीच भएको खेलमा हङकङ २६ रनले विजयी भएको छ।।

काठमाडौं:     आज नयाँ वर्ष मनाइँदैछ। हरेक बर्ष वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवतको पात्रोअनुसार आजबाट नयाँ वर्ष सुरु भएको हो। विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ । नयाँ वर्ष एक आपसमा सद्भाव तथा खुशियाली आदानप्रदान गर्दै मनाईन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।

पोखरा:    घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस क्लबले जितेको छ ।  घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा विद्यान स्पोर्टस क्लबले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।  विद्यान स्पोर्टस क्लबले पहिलो सेट २५–१९ जितेपनि दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२१ ले जित्दै उपाधि जितेको हो ।  क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता विद्यान स्पोर्टस क्लबले १ लाख ११ हजार १ सय ११, उपविजेता किम्चेले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए ।    बास्केटबलको उपाधि टाइम्सले जित्यो  घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पर्यटन महोत्सवमा आयोजित बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जितेको छ ।  शुक्रबार सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टाइम्सले उपाधि जितेको हो । टाइम्सले आर्मीलाई ५६–४७ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।  खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।  घोडा दौडको उपाधि देवेन्द्रलाई घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पर्यटन महोत्सवमा आयोजित घोडा दौडको उपाधि देवेन्द्र श्रीपालीले जितेका छन् ।  शुक्रबार सम्पन्न भएको घोडा दौड प्रतियोगितामा ९.५ किलोमिटर दुरी २२ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै उपाधि चुमेका हुन् ।  यस्तै कृष्ण गुरुङले २२ मिनेट ५० सेकेण्डमा दुरी पूरा गर्दै द्धितीय भए । यस्तै बिनोद गुरुङले २३ मिनेट १९ सेकेण्डमा दुरी पूरा गर्दै तृतीय भए । घोडा दौड प्रतियोगितामा विजेता देवेन्द्र श्रीपालीले ५५ हजार ५ सय ५५, उपविजेता कृष्ण थापाले २७ हजार ७ सय ७७ र तेस्रो भएका बिनोद थापाले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गरे ।  ठेलो प्रतियोगितातर्फ स्याङ्जाका दुजिक थापामगर प्रथम र पर्वतका युवराज गुरुङ द्धितीय भए । प्रथम र द्धितीय भएका उनीहरुले ८ हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।  घान्द्रुक पर्यटन व्यवस्थापन समितिले चैत २७ देखि आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सव आज सम्पन्न भएको हो । घान्द्रुक पर्यटन महोत्सवमा ३० प्रतिशत छुट दिएको थियो ।   

महोत्तरी:   महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको  पर्व चैतीछठ विधिपूर्वक प्रारम्भ भएको छ ।   शुक्रबारदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठोत्सव मनाइन्छ ।   छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा नदी किनारमा सूर्यको उपासना तथा पूजाआराधनाका साथ मनाइन्छ ।  छठोत्सवमा अस्ताउँदो र उदाउँदो सूर्यको विशेष पूजा गरिन्छ ।   अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो ।     पारिवारिक सुख, शान्ति, समृद्धिका खातिर श्रद्धापूर्वक मनाइने छठोत्सवका क्रममा आज व्रतीहरूले नहा खा अर्थात् नुहाएर भोजन गर्छन् । पर्वको दोस्रो दिन भोलि शनिबार खर्ना मनाइन्छ ।   खर्नाका दिन व्रतीहरू दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्छन् र राति अरवा अरबाइन (नुन नहालेको) खानेकुरा खाने चलन छ ।   त्यस्तै, षष्ठीका दिन पर्सी आइतबार साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाँजर,  भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय वा नदी नजिक बनाएको छठ घाटसम्म पुग्छन् ।   षष्ठीका दिन व्रतीहरूले अस्ताउँदो सूर्यको आराधना गर्दै अर्घ्य  अर्पण गर्ने परम्परा छ । त्यसको भोलिपल्ट सोमबार बिहान पुनः छठघाटमा पुगेर अघिल्लो दिनको क्रम दोहो र्‍याई  सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न गर्ने रीति छ । 

गोरखाः उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन ।   गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।   ुबुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन् । रुन्चेत र लुसीकाङवासीको वर्षौँदेखिको समस्या समाधानका निम्ति भीर खोपेर कादुरी नेपाल संस्थाको सहयोगमा आगामी पाँच महिनाभित्रमा झोलुङ्गे पुल निर्माण पूरा गर्नेगरी काम सुरु भएको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, “करिब १ करोड ३३ लाखको लागतमा झोलुङ्गे पुल निर्माण थालिएको हो ।”   झोलुङ्गे पुल सञ्चालन भएपछि रुन्चेतवासी तीनघण्टाभन्दा समय हिँड्नुपर्ने बाध्यताबाट नहुने र एक घण्टामै गाउँ पुग्न सकिने अध्यक्ष गुरुङले बताउनुभयोे । पुल नहुँदा अहिले त्यस क्षेत्रका बासिन्दाले माछीखोला पारि भिरको बाटो प्रयोग गर्दै आएका छन् ।   गत फागुन १५ गतेदेखि तीव्ररूपमा निर्माणको काम अगाडि बढेको कादुरी नेपालका प्रजेक्टका प्रबन्धक प्रदीपकुमार सिलवालले बताउनुभयो । “प्राविधिक तथा स्थानीयवासी अहिले भिरको ढुङ्गा फोर्न तल्लीन छन्, आगामी असार १ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ”, उहाँले भन्नुभयो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न छजना विज्ञसहितको टोली निर्माणस्थलमा खटिएको उहाँले बताउनुभयो ।   पुल निर्माण गर्न स्थानीवासीले रु एक लाख ७६ हजार बराबरको श्रमदान गर्नेछन् । पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब तीन सयभन्दा बढी परिवार लाभान्वित हुनेछन् ।

पोखरा:  तेस्रो संस्करणको स्टार्स समर क्याम्प २०८० बुधवार समापन भएको छ ।   स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा गत चैत १९ गते सुरु भएको कार्यक्रममा देश तथा विदेशका करिब ३५ भन्दा बढी बालबालिका सहभागी भएको कुरा आयोजकले बताए ।   परीक्षा पश्चात फुर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा योगा,नाटक, पब्लिक स्पिकिङ,फेस पेन्टिङ, गायन, नृत्य, सँगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ, चित्रकला जस्ता ४५ भन्दा बढी गतिविधिहरू भएको कुरा कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् ।   कार्यक्रममा सहभागी बालबालिकाहरूले व्यक्तित्व विकास, सिर्जनात्मक सिकाई, मानसिक स्वास्थ्य, सामाजिक पाटोबारे बुझाउन पाएको कुरा गुरुङले बताइन् ।   लेकसाइडमा आयोजना भएको कार्यक्रममा चर्चित समर क्याम्प मेन्टर एलिजावेथ रोब सहभागी भएकी थिइन्। एलिजावेथले यस्ता कार्यक्रम नेपालमा भएको थाहा पाउदा आफू ज्यादै खुसी लागेको र बालबालिकालाई फाइदाजनक भएको कुरा बताइन्।   १० दिने कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिए वापत सुहना गुरुङलाई स्टार्स समर क्याम्प च्याम्प घोषणा गरियो । आयोजकले आवास, यातायात, खानाखाजा, स्वास्थ्यकर्मी तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको आयोजकले जनाए ।   कोभिडले आक्रान्त पारेको बेला समर क्याम्पको खाका कोरेको संयोजक गुरुङले बताइन् ।   "कोभिडले घरमा थुनिँदा बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा निकै असर गरेको देखेँ। यो कार्यक्रम आयोजना गर्न पाए निकै राम्रो हुन्छ जस्तो लाग्यो ।" उनले भनिन्, " त्यति मात्र हैन अहिलेको बालबालिका कोठामा एक्लै घन्टौँसम्म मोबाइल चलाएर बस्छन्। उनीहरूलाई ग्याजेट एडिक्सनबाट छुटाउनु पनि कार्यक्रमको उदेश्य थियो। " उनले निकै प्रभावकारी भएको हुनाले वार्षिक रूपमा गर्दै आइरहेको यस कार्यक्रमलाई वर्षमा दुई पटक गर्ने जनाइन् ।