काठमाडौंः ठुलो परिमाणको लागूऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागूऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागूऔषध ५ सय ३एम्पुल एवम् मनोनिपक पदार्थ नाइट्रोभेट १ हजार २सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागूऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुई जना भारतीय कारोबारीसमेत छन् । विशेष सूचनाका आधारमा प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । उहाँका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन् । बूढानीलकण्डबाट मोरङका नवीन धिताल, ललितपुर महालक्ष्मीबाट सप्तरीका परमानन्द मेहता, विकास कार्की, काठमाडौंबाट भारतीय नागरिक विकास कुमार तथा काठमाडौं चाबहिलबाट सुनसरीका सञ्जय लिम्बू र विकास मण्डललाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरू सबैसँग खैरो हेरोइन बरामद गरिएको हो । यस्तै नियन्त्रित लागूऔषध नाइट्रोभेट ट्याब्लेट बिक्री गरिरहेको छ भन्ने सूचनाका आधारमा कोटेश्वरस्थित ब्युरोबाट खटिएको टोलीले काठमाडौंको चन्द्रागिरिबाट धिरजकुमार साह र गोकर्णेश्वरबाट भारतीय नागरिक धिरज कुमार तथा गोकर्णेश्वरबाटै सुरेश तामाङ र छिरिङ तामाङलाई पनि पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । उनीहरूबाट पनि विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ । उनीहरूलाई चैत १० गतेयताको दश दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको र सबै जनामाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
पाल्पाः पाल्पाको रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी कोरिडोर सडक खण्डअन्तर्गत कालीआँप ट्याक्टरले ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका छन् । स्याङ्जाको चापाकोटबाट रामपुर–७ रातमाटातर्फ आउँदै गरेको लु ९२ प ८२५७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट गइरहेको लु ४ त ४०२ नम्बरको ट्याक्टरले बिहीबार दिउँसो ठक्कर दिएको थियो । घाइते हुनेमा स्कुटर चालक चापाकोट नगरपालिका–२ स्याङ्जाका २४ वर्षीय छविलाल श्रेष्ठ, स्कुटरमा सवार रामपुर नगरपालिका वडा नं. ७ रातमाता पाल्पाका ४९ वर्षीय विष्णु कुमारी श्रेष्ठ र बौदीकाली गाउँपालिका–२, डेढगाउँ बस्ने शान्ता श्रेष्ठको ७ वर्षीय छोरा संस्कार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो । घाइतेहरूको रामपुर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनमा अन्नपूर्ण गाउँपालिका१०/११ घान्द्रुकमा जारी पर्यटन महोत्सवमा भलिबलतर्फ विदान स्पोर्टस् हाउस वालिङ र अन्नपूर्ण युवा क्लब उपाधिका लागि भिड्ने भएका छन् । आज (बिहीबार) भएको पहिलो सेमिफाइनल खेलमा ताङ्वे यवा क्लबलाई २५–२३, २५–२१ र २५–१७ को सोझो सेटमा पराजित गर्दै वालिङ फाइनलमा प्रवेश गरेको भलिबल प्रतियोगिता संयोजक अनिल गुरुङले जानकारी दिए । उनका अनुसार दोस्रो सेमिफाइनल खेलमा अन्नपूर्ण युवा क्लब किम्चेले देउराली युवा क्लब भुक देउरालीलाई २६–२८, २३–२५, २५–११, २५–१७ र १५–१२ को सेटमा पराजित गर्दै फाइनलमा वालिङसँगको भेट पक्का गर्याे । अब उपाधिका लागि भोलि शुक्रबार दिउँसो प्रतिस्पर्धा हुनेछ । कुल ६ टिमको सहभागिता (लिगकम नकआउट) रहेको भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई पुरस्कृत गरिनेछ । खुला बास्केटबलतर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको अन्नपूर्ण बास्केटबल समितिका अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । उनका अनुसार आज भएको पहिलो क्वाटरफाइनल खेलमा टाइम्स क्लबले दाङलाई ५९–१९ ले पराजित गर्याे । यस्तै दोसो क्वाटरफाइनल खेलमा आर्मी क्लबले घान्द्रुक टिम ‘ए’लाई ५९–३८ ले हरायो । तेसो क्वाटरफाइनल खेलमा मर्दीखोला क्लबले घान्द्रुक टिम ‘बि’माथि ४६–४१ ले जीत निकाल्यो भने अन्तिम क्वाटरफाइनल खेलमा सेञ्चुरी युवा क्लबले पुन युनाइटेड नदीपुरलाई ६६–५० ले पराजित गर्दै सेञ्चुरी क्लब सेमिफाइनलमा प्रवेश गर्याे । अब शुक्रबार पहिलो सेमिफाइनल खेल बिहान ७ बजे विभागीय क्लब आर्मी क्लब र मर्दीखोलका बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अर्काे सेमिफाइनल खेल टाइम्स क्लब कामाण्डौं र सेञ्चुरी युवा क्लब छोम्रोङबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि ह्विलचियर बास्केटबलको प्रदर्शन गरिने गुरुङले जानकारी दिए । कुल १२ टिमको सहभागिता रहेको खुला बास्केटबलतर्फको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सनमलाई चक्रीय पदमार्ग दौडको उपाधि घान्द्रुक पर्यटन महोत्सवमा आयोजित चक्रिय पदमार्थ दौड प्रतियोगिताको उपाधि सनम गुरुङले जितेका छन् । पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजित दौड प्रतियोगिताको निर्धारित ५.५ किमी दुरी ३२ मिनेट ४६ सेकेन्डमा पार गर्दै सनमले उपाधि जितेका हुन् । यस्तै स्थानीय उमेश नेपालीले ३३ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै द्वित्तिय बने भने घान्द्रुककै कृष्ण परियारले ३३ मिनेट २० सेकेन्डमा दुरी पार गर्दै तृतीय बनेको महोत्सवका आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उनका अनुसार प्रथम द्वित्तिय र तृतीउ बनेका धावकहरुले क्रमश मेडल तथा प्रमाणपत्रसहित नगद रु १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे । कुल ३६ धावकको सहभागिता रहेको दौडमा १२ वर्षकी बालिकादेखि ५८ वर्षको वृद्धालेसमेत प्रतियोगितामा भाग लिगेका थिए । उक्त दौड मेश्रेम बराह माविबाट सुरु भएर चक्रिय पदमार्ग वडा नं. १० को कार्यालय हुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, नब्रुथी बराह मन्दीर, कायमा बराह, सात सय घान्दु्रकेले मान्दै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयमा आएर टुंगिएको थियो । शुक्रबार क्लबस्तरीय पुरुष भलिबल, खुला बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता ठेलो प्रतियोगिताको फाइनल गरिने महोत्सवका संयोजक अमृत लामा गुरुङले जानकारी दिए । उनका अनुसार हरेक दिन बेलकी राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुती दिदैं आएका छन् । महोत्सवको समापन समारोहका प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल रहनेछन् भने बेलुकी चर्चित लोक तथा दोहोरी गायक राजु परियारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
पोखरा: सहचालकले चलाएको हुँदा पोखरा महानगरपालिका २५ स्थित सुइखेतमा यात्रुवहाक बस दुर्घटना भएको खुलेको छ । म्याग्दीको बेनी नगरपालिका ६ बस्ने ३२ वर्षीय बस चालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा सहचालक बेनी नगरपालिका ४ तातोपानी का २५ वर्षीय विनोद दर्जीले चलाएको कारण बस अनियन्त्रित भई दुर्घटना भएको कास्की प्रहरीले उल्लेख गरेको छ । दुर्घटनापछि घाइते भएका सहचालक दर्जीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको छ । सो दुर्घटनामा परि घाइते भएकामध्ये सहचालक सहित ७ जना डिसचार्ज भइसकेका छन् भने म्याग्दीको मालिका गाउँपालिका १ दरवाङका ७२ वर्षीय नर बहादुर पुन र बेनी नगरपालिका ७ का ६१ वर्षीय टेक बहादुर कार्कीको उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । आज विहान करिब ३ बजे काठमाण्डौबाट बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस हेमजानको सुइखेलमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न शुद्धीकरण अभियान सुरु गरेको छ । गाउँपालिकामा सञ्चालित किसान सूचीकरण कार्यक्रमअन्तर्गत सहजकर्ता छनोट गरी उनीहरुलाई तालिम दिइएको हो । किसानलाई कृषि पेसामा प्रोत्साहन गर्ने, अनुदान, सहयोग तथा अन्य सेवासुविधालाई कृषकमैत्री बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत गाउँपालिकाका आठवटै वडाका तीन हजार छ सय घरधुरीमा पुगेर सहजकर्ताले विवरण सङ्कलन गरेपछि वडा कार्यालयले प्रमाणीकरण गरेसँगै परिचयपत्र वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । “कृषकको पहिचान आवश्यक छ, अब परिचयपत्र पाएका कृषकलाई मात्रै अनुदान वितरण गरिनेछ”, उहाँले भन्नुभयो । गाउँपालिकाले बुधबार कृषकको पहिचानका लागि छनोट भएका सहजकर्तालाई तालिम दिएर पालिकाभित्रका सबै घरधुरीमा स्थलगत तथ्याङ्क सङ्कलनका लागि परिचालन गरेको छ । तालिमका अवसरमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुनले सूचीकरण अभियानले व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न सघाउने बताउनुभयो । “कृषिकर्ममा लागेकाको वास्तविक तथ्याङ्क आउँदा आगामी दिनमा कार्यक्रम बनाउन सहज हुन्छ, एक जना पनि कृषक नछुट्ने गरी तथ्याङ्क ल्याउने गरी सहजकर्ता परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो । कृषकलाई उत्साहित गर्न उन्नत बीउबिजन, सिँचाइ, सिँचाइ, प्रविधि हस्तान्तरण, मलखाद एवम् किसान बजार व्यवस्थापन प्रोत्साहनका लागि सघाउने गाउँपालिकाले जनाएको छ । सरकारको मापदण्डमा आठ आना वा सोभन्दा बढी जग्गामा कृषि गर्नेलाई सूचीकरण गरी किसान परिचयपत्र लिनुपर्ने प्रावधान रहेको छ । सहजकर्तालाई गाउँपालिकाकी कृषि शाखा प्रमुख कृति आचार्यले सहजीकरण गर्नुभएको थियो । सहजकर्ताको तथ्याङ्कलाई वडा कार्यालयबाट प्रमाणीकरण भएपछि चालु आवमै परिचयपत्र वितरण गर्ने तयारीमा रहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । किसान भएरपनि परिचयपत्र नपाउँदा पहिचानविहीन बनेका किसानले परिचयपत्रको माग गर्दै आइरहेका छन् ।
सिन्धुलीः सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको स्थानियले जनाएका छ्न । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ भने बिस्फोट गर्नेहरुको खोजी हुनुका साथै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसअघि २ चैतमा पनि सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो ।
अछामः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । विनायकबाट तोली गइरहेको ट्याक्टर दुर्घटना हुँदा चालक बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक रहेका छन् । बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । घाइते दुवै जनालाई उपचारका लागि एम्बुलेन्सबाट जिल्ला अस्पताल, मंगलसेन ल्याइएको छ । चालक भारतीलाई बढी चोट लागेको छ भने विकको खट्टा भाँचिएको बताइएको छ ।
पोखरा: नेपाली नयाँ वर्ष २०८१ सालको स्वागतार्थ पोखराको लेकसाइडमा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव आजदेखि सुरु भएको छ । होटल संघ पोखराको आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही वैशाख १ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित सो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्बिने विश्वास लिएको छ । पोखराको खहरेचोकदेखि र ड्यामसाइडचोकदेखि र्याली आयोजना भएको थियो । सो र्यालीमा विभिन्न जातजातिको मौलिक सांस्कृतिक झाँकी, बाजागाजासहित नृत्यहरु प्रस्तुत गरिएको थियो । महोत्सव अवधिभर होटल संघ पोखरामा आवद्ध होटलहरुमा पर्यटकलाई २० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । महोत्सवलाई करिब ३ लाख पर्यटकले अवलोकन गर्ने जनाएको छ । तस्बिर: अर्जुन गाहा (सुशान्त)
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वानी प्रदुषणलाई रोक्न कसरत गरेको छ । प्रहरी उपरीक्षक महोन कुमार थापाले कास्की प्रहरीको कमाण्ड सम्हालेदेखि ध्वनी प्रदुषणलाई रोक्न स्वरुप परिवर्तन गरिएका (मोडिफाइड) मोटरसाइकललाई कारवाहीको अभियान नै थाले । सोही अभियानलाई निरन्तरता दिदैं कास्की प्रहरीले अनावश्यक ध्वनी प्रदुषण गर्ने प्लाष्टिकका बाजालाई नियन्त्रणमा लिएको छ । विभिन्न चाडपर्व, मेलापर्वहरुमा ध्वनी प्रदुषण हुने गरी विभिन्न किसिमका प्लाष्टिकका बाजाहरु बजाउँदै हिड्ने र ध्वनी प्रदुषण गर्ने भन्ने जनगुनासो आधारमा पोखराको विभिन्न स्थानबाट १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजा नियन्त्रणमा लिएको कास्कीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ६ लेकसाईडमा हुन गई रहेको ‘१९ औं फेवा महोत्सव तथा नयाँ वर्ष २०८१’ लाई मध्यनजर गर्दै ध्वनी प्रदुषण रोक्ने उद्देश्यले पोखरा ३ तेर्सापट्टीबाट विभिन्न प्लाष्टिकका ठुलो र सानो बाजाहरु ७ सय १५ थान र लेकसाईडबाट १ हजार २ थान गरी जम्मा १ हजार ९ सय १५ वटा ध्वनि प्रदुषण निकाल्ने प्लाष्टिकका बाजाहरु नियन्त्रणमा लिइएको हो । यससँगै कास्की प्रहरीले मोडिफाइड मोटरसाइकलमाथि पनि निगरानी बढाइरहेको छ ।

