पाल्पा: पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो । फाइनल खेलमा एपिएफले पहिलो र दोस्रो सेट १८–२५, १७–२५ अङ्कका साथ गुमाएको थियो । तेस्रो, चौथो र पाँचौँ सेटमा २५–१९, २५–१७ र १८–१६ अङ्कसहित जित निकाल्दै एपिएफले उपाधि हात पार्न सफल भएको हो । एपिएफसँग फाइनल खेलमा प्रतिस्पर्धा गरेको बागमती उपविजेता बनेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशले तृतीय स्थान ओगटेको छ । कोशीलाई ३–० को सोझो सेटमा हराउँदै लुम्बिनीले तृतीय स्थान ओगट्न सफल भएको हो । लुम्बिनीले २५–१०, २५–१६ र २५–२२ अङ्कका साथ जित हात पारेको छ भने यससँगै कोशी प्रदेशले सान्त्वना स्थान हासिल गरेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः नगद रु दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजारसहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा एपिएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । एपिएफका निरुता थगुन्ना उत्कृष्ट सर्भर, महेश चौधरी उत्कृष्ट कोच, बागमतीका प्रगतिनाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र लुम्बिनीका मीना सुनार उत्कृष्ट स्पाइकर हुनुभएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पुरस्कार वितरण गर्दै रामपुरमा राष्ट्रियस्तरको खेल हुनु महत्त्वपूर्ण कुरा रहेको बताउनुभयो । उहाँले खेलाडीलाई बौद्धिक सम्पत्तिको रूपमा लिनु आवश्यक रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले पूर्वाधारको अभावमा राष्ट्रियस्तरका अन्य खेल सञ्चालनमा समस्या भएको जनाउँदै पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता जनाउनुभयो । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेलगायतले सदरमुकामबाट टाढा रहेको रामपुरमा राष्ट्रियस्तरको खेलकुदले यस क्षेत्रको पहिचानका साथै पर्यटन तथा आर्थिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभएको छ । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना, प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा प्रायोजन, नेपाल भलिबल सङ्घको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल सङ्घ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य सङ्घको प्रवर्द्धनमा प्रतियोगिता भएको हो । गत फागुन १८ गतेदेखि छ दिनसम्म भएको खेलमा आठ समूहको सहभागिता रहेको थियो । रामपुरमा पहिलोपटक राष्ट्रियस्तरको खेल आयोजना भएकाले पनि यस क्षेत्रका स्थानीयमा खेल क्षेत्रमा उत्साह थपिएको छ । ।
काठमाडौं: सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले खोप लगाएका हुन् । एकतीस जिल्लाले अझै रिपोर्ट बुझाएका छैनन् । “रिपोर्ट पठाएका ती जिल्लाले पनि कोहीले भर्खरै अभियान सञ्चालन गरेका छन्”, उनले भने, “हिमालका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन गरेका छन् ।” उनका अनुसार हिउँका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान सुरु भएको छैन । दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ देखि आगामी चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ । भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ । खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइँदै छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्र रहेका छन् । यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिने छ । शाखाका प्रमुख डा गौतमले खोप सुरक्षित र प्रभावकारी रहेको जनाउँदै यसले ८५ प्रतिशतलाई दादुरा–रुबेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताए ।
गण्डकी: केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमत गुमाउनुभएका मुख्यमन्त्री पाण्डेले संविधानतः ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँ समीकरणअनुसार सरकार गठनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रलाई प्रदेशसभाको गणित सहज छैन । मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने आधार पनि अहिलेलाई देखिन्न । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी)का एक प्रदेशसभा सदस्य हुनुहुन्छ । सरकार गठनका लागि प्रदेशसभाका ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । राप्रपालाई साथमा लिँदा पनि कांग्रेसले सरकार बनाउन नसक्ने स्थिति छ । राप्रपा नयाँ सत्ता समीकरणमा सामेल भएमा भने एमाले–माओवादी केन्द्रलाई सरकार गठनका लागि बहुमत पुग्छ । राप्रपाले नयाँ सत्ता गठबन्धनलाई सहयोग गर्नेरनगर्ने कुनै टुङ्गो छैन । केन्द्रमा पनि राप्रपा सत्तागठबन्धनबाहिर छ । एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यसहित ३० सदस्य रहेको नयाँ गठबन्धनलाई राप्रपाको मत निर्णायक हुने देखिएको छ । राप्रपा सरकार गठनमा संलग्न नरहने निर्णय गरेमा भने नयाँ सत्ता समीकरण अनुसार सरकार बन्न नसक्ने अवस्था छ । कांगे्रस–एमाले या कांग्रेस–माओवादी वा तीनै दल मिलेर सरकार बनाउने सम्भावना पनि तत्काललाई निकै कम देखिन्छ । यसबीचमा राप्रपाले गण्डकीमा लिने निर्णय प्रतिक्षाको विषय बनेको छ । स्वयं मुख्यमन्त्री पाण्डेले नै मध्यावधि चुनावको सम्भावना औँल्याएका बेला गण्डकी प्रदेशको सत्ता–राजनीतिमा एकखाले अन्योलता देखिएको छ । राप्रपा गण्डकी प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले नयाँ सत्ता गठबन्धनको गुणदोषका आधारमा आवश्यक कदम चालिने बताउनुभयो । “सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय राप्रपाले अघि सारेका मुद्दा र मागका विषयमा केन्द्र सरकार कसरी प्रस्तुत हुन्छ, त्यसमा भरपर्छ”, उहाँले भन्नुभयो, “एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले हामीले परिपक्क निर्णय लिन्छौँ, अहिले नै के हुन्छ भन्न सकिने अवस्था छैन, हामी केन्द्रको निर्देशनलाई पर्खिरहेका छौँ ।” उहाँले राजनीतिक निकासका लागि जुनसुकै दलहरुसँग वार्ता र सम्वादका लागि राप्रपा तयार रहेको बताउनुभयो । नेता गुरुङले राजनीतिक दलहरु सरकार बनाउने र गिराउने खेलमा मात्र संलग्न नभई मुलुकको समृद्धि र नागरिकको सेवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने आधार नदेखिएकाले संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठन हुने बताउनुभयो । उहाँले नयाँ समीकरण अनुसार नै सरकार गठन हुने दाबी गर्नुभयो । “सरकारको जिम्मेवार तहबाटै जसरी मध्यावधि चुनावबारे धारणा आएको छ, त्यसरी प्रस्तुत नहुनुपर्ने हो”, प्रमुख सचेतक नेपालीले भन्नुभयो, “हामीले मध्यावधि चुनावको कल्पनासमेत गरेका छैनौँ, राजनीतिलाई सहज निकास दिन सबैखाले पहलकदमी एमालेले लिन्छ ।” नयाँ गठबन्धनको सरकार बनाउन निर्णायक देखिएको राप्रपासँग सम्वाद भइरहेको जनाउँदै उहाँले प्रदेशस्तरमा राप्रपासहितको समीकरण बन्न सक्ने धारणा राख्नुभयो । “गठबन्धनबारे केन्द्र तहबाट पनि पहल भइरहेको छ, प्रदेशमा पनि हामी सघन छलफलमा छौँ”, प्रमुख सचेतक नेपालीले भन्नुभयो, “नयाँ गठबन्धनकै सरकार बन्छ, हाम्रो सम्पूर्ण प्रयास त्यसतर्फ केन्द्रित छ ।” गठबन्धनले प्रदेशको राजनीतिक शक्ति सन्तुलनका आधारमा सरकार गठनको प्रकृयालाई अगाडि बढाउने उहाँले बताउनुभयो । माओवादी केन्द्र प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशलाई मध्यावधि चुनावमा जान दिन नहुने बताउनुभयो । “राप्रपासँग छलफल चलिरहेको छ, नयाँ गठबन्धन अनुसारकै सरकार बन्छ, सरकारको नेतृत्व कस्ले गर्ने विषय केन्द्रबाट टुङ्गिन्छ”, उहाँले भन्नुभयो, “सबै राजनीतिक दलहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ, मुलुकलाई अन्योलमा राख्नुहुँदैन ।” अरु दलको नेतृत्वमा पटक–पटक प्रदेश सरकारका सहभागी भएको भन्दै अब बन्ने सरकारको नेतृत्वमा माओवादी केन्द्रको बलियो दाबी रहने नेता चुमानले बताउनुभयो । चारपटकसम्म प्रदेश सरकारमा पुगेको माओवादी केन्द्रले अहिलेसम्म मुख्यमन्त्री पाउन सकेको छैन । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं कांग्रेसका प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले सरकारले संवैधानिक प्रकृयालाई अबलम्बन गर्ने बताउनुभयो । “३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ, विश्वासको मत पाएमा सरकार सहज रुपमा अगाडि बढ्छ नत्र संवैधानिक व्यवस्थाअनुसार सरकार गठनको अर्को प्रकृया सुरु हुन्छ”, उहाँले भन्नुभयो । मन्त्री थापाले पनि मध्यावधि चुनावको सम्भावनालाई नकार्न नसकिने धारणा राख्नुभयो । “राप्रपाले नयाँ गठबन्धनलाई साथ दिएमा सरकार बन्न सक्छ, नत्र प्रदेश सरकारको गठन सहज देखिन्न, मध्यावधि चुनावमा पनि जानसक्छ”, उहाँले भन्नुभयो । मन्त्री थापाले केन्द्रमा हुने सरकार फेरबदलले प्रदेशमा पनि राजनीतिक अस्थिरता निम्ताएको बताउनुभयो । विसं २०७४ मा प्रदेश स्थापना भएयता गण्डकीमा पाँचवटा सरकार बनिसकेका छन् । यसअघि एमालेका पृथ्वीसुब्बा गुरुङ, खगराज अधिकारी र नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । गोरखा–२ (२) बाट प्रदेशसभामा निर्वाचित मुख्यमन्त्री पाण्डेले गत वैशाखमा सरकारको नेतृत्व सम्हालनुभएको थियो ।
पोखरा: पोखरा महानगरपालिका–२ बेसीमार्गमा सरकारी जग्गा मिचेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । सरकारी जग्गामा व्यक्तिले मिचेर बनाइएका संरचनामा वडा कार्यालयको पहलमा आज (बिहीबार) डोजर लगाएर भत्काएको हो । पोखरा महानगरपालिका–२ का वडाध्यक्ष विवसमान प्रधानाङ्गले सरकारी जग्गा मिचेर बनाइएका १ सय मिटर क्षेत्रको अस्थायी संरचना हटाइएको बताए । ‘वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सार्वजनिक जग्गा मिचेर व्यक्ति र विद्यालयले वाल निर्माण गरेका थिए’, वडाध्यक्ष प्रधानाङ्गले भने, ‘जिल्ला नापी कार्यालय कास्कीको फिल्ड वुकमा यस स्थानमा सार्वजनिक बाटो कायम छ, सरकारी जग्गामा निर्माण भएका अस्थायी संरचना हटाउन सूचना प्रकाशित गरिएपनि नहटाएपछि आज हटाएका हौं ।’ उनले अस्थायी संरचना हटाइएका सार्वजनिक क्षेत्र वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सडक निर्माण हुने बताए । पोखरा महानगरपालिका–२ ले सार्वजनिक जग्गा मिचेर बनाइएका वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुल गेटसम्म करिव १ सय मिटर लम्बाई र ६ मिटरको चौडाइमा पक्की सडक बनाउने योजना अगाडि सारेको छ ।
काठमाडौं: पुर्नगठित मन्त्रिपरिषद बिहीबार बसेको पहिलो बैठकले दुई वटा निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वुमन को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने एउटा निर्णय छ । साथै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय पनि भएको छ
पोखरा: पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगिता दोस्रो दिन ७ खेल भएका छन् । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भेट्रान्सतर्फ १ र पुरुषतर्फ ६ खेल भएको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए । भेट्रान्सतर्फको खेलमा सात गाउँ पुन मगर समाजले रामबजारलाई पराजित गरेको उनले बताए । पुरुषतर्फको खेलमा खेलमा सात गाउँ पुन मगर समाजलाई गलेश्वर बास्केटबल क्बलले हरायो । दोस्रो खेलमा आयोजक पुन युनाइटेड क्लबलाई रामबजारले पराजित ग¥यो । बुधबारको खेलमा मर्दीखोलाको २ टिम अघि बढ्यो । जसमा मर्दीखोला मरुनले घोरेपानीलाई र मर्दीखोला ओरन्जले आउटसाइडलाई पराजित ग¥यो । अर्को खेलमा चिमखोलालाई स्वाँतले हरायो । भने, अन्तिम खेलमा क्याङले घान्द्रुकलाई हराएर अघि बढ्यो । फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन हुने संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । जसअन्तर्गत भेट्रान्सतर्फ ६ र पुरुषतर्फ १९ टिमको सहभागिता छ । महिला टिमको अन्तिम टुंगो बिहीबार लागेपछि खेलतालिका सार्वजनिक गरिने उनले बताए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।
काठमाडौं: काठमाडौंको लाजिम्पाटस्थित मगर हाउस भान्सा घरमा महाशिवरात्री साँझ हुने भएको छ । मगर हाउस भान्सा घरका सञ्चालक ईश्वर जंग थापामगरले शुक्रबार महाशिवरात्री साँझ आयोजना गरेको बताए । ‘मगर हाउस भान्सा घरमा हामीले शुक्रबार महाशिवरात्री साँझ गर्दै छौं’, सञ्चालक थापामगरले भने, ‘महाशिवरात्रीको अवसरमा सांस्कृतिक कार्यक्रमसँगै प्रत्येक हप्ताको शुक्रबार मौलिक सांस्कृतिक साँझको शुभारम्भ गर्दै छौं ।’ उनले संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए मान्छे हराउँछ भन्ने मान्यतालाई मूर्तरुप दिन हप्ताको शुक्रबार सांस्कृतिक साँझको शुभारम्भ गर्न लागेको बताए ।
पोखरा: पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । बुधवार आयोजित एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्महरूलाई समर्थन मूल्य प्रदान गर्नुभएको हो । ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरिएको हो । पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका कृषकहरूलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । चिसापानी च्याउ फार्म पोखरा २२ का सन्दीप बहादुर क्षेत्रीले समर्थन मूल्य बापत ११ हजार १६६ केजी च्याउको रु।४ लाख ८५ हजार ९४० प्राप्त गरेका छन् । भुर्जङ्खोला च्याउ फार्म पोखरा १९ का सुष्मा सुनार गहतराजले ७ हजार ५६० केजी च्याउको रु।३ लाख ६२ हजार ९२०, शोभा अर्गानीक मल्टी एग्रो फार्म पोखरा २६ का मुकुन्द खड्काले ९ हजार ७१४ केजी च्याउको रु।३ लाख १७ हजार ४४, ग्रिन लाई म मसरुम फार्म पोखरा २४ का चोविन्द्र बहादुर कुँवरले रु।३ लाख १ हजार ७४० पाएका छन् । सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा ३३ का प्रताप सुवेदीले ९ हजार ११३ केजी च्याउको रु।३ लाख ८२२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा ११ का धुव्र बहादुर थापाले ५ हजार २२५ केजी च्याउको रु।१ लाख ७४ हजार २२६, भोर्लेटार च्याउ उद्योग पोखरा ३२ का मनोरञ्जन पौडेलले ६ हजार २०३ केजी च्याउको रु।१ लाख ६८ हजार ७०६, अधिकारी अर्गानीक च्याउ फार्म पोखरा १४ का मिना अधिकारीले २ हजार ७२४ केजी च्याउको रु।८३ हजार ४४४ र वि।मु अधिकारी च्याउ फार्म पोखरा १४ का हरिमाया अधिकारीले १ हजार २५६ केजी च्याउको रु।४९ हजार ६०० समर्थन मूल्य बापत पाएकी छिन् । यस्तै एस के कँडेल कृषि फार्म पोखरा २८ का सन्तोष कँडेलले ३ हजार ९५० केजी सिमीको रु।६९ हजार ९५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले ३ हजार ६७० केजी सिमीको रु।६२ हजार ८९०, राति पोखरी कृषि फार्म पोखरा २२ का अग्निमाया बरालले ८२५ केजी सिमी र १ हजार ७५४ केजी गोलभेँडाको रु।३५ हजार ४२१, निलम कृषि फार्म पोखरा १४ का याम बहादुर घर्तीले २ हजार ६७ केजी गोलभेँडाको रु।२३ हजार ४७५, रोशन एन्ड रोहित कृषि फार्म पोखरा १४ का रमेश खनालले २१ हजार ३१४ केजी गोलभेँडाको रु।२ लाख १९ हजार ३२९, पोखरा हिमाल कृषि फार्म पोखरा १४ का बुद्ध गुरुङले १ हजार ७५ केजी सिमी र २८२ केजी गोलभेँडाको रु।१५ हजार ५२४ र हरियाली कृषि फार्म पोखरा ३३ का शुकदेव सुवेदीले २९१ केजी कोदोको रु।८ हजार ७३० बुझेका छन् । कृषकहरूलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले पोखरा महानगरपालिका कृषकहरूको साथमा रहेको बताउनुभयो । “कृषि उपजहरूको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र कृषकहरूका लागि निकै महत्त्वपूर्ण छन्, प्रमुख आचार्यले भन्नुभयो, कृषि व्यवसायमा लागेका कृषकहरू हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको छ, तपाँईहरु उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुहोस् महानगरपालिका साथमा छ ।” कृषि व्यवसायको प्रवर्द्धनका लागि आवश्यक प्राविधिक सहयोगका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । समर्थन मूल्य प्राप्त गरेपछि कृषकहरूले कृषि व्यवसायका क्रममा आफूले बेहोर्नु परेको नोक्सानीमा मलहम लगाउन पोखरा महानगरपालिका सारथी बनेको प्रतिक्रिया दिएका छन् । यसले आफूहरूलाई प्रोत्साहन मिलेको उनीहरूको तर्क छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा मन्त्री शक्ति बस्नेतले बुधबार पद तथा गोपनीयताको शपथ लिए । माओवादीका संस्कृति, नागरिक तथा पर्यटन उड्डयन मन्त्री हितबहादुर तामाङले यसअघि शपथ लिइसकेका छन् । यसैगरी, सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले)का तर्फबाट नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरि उप्रेतीले पद तथा गोपनीयताको शपथ लिए। कानुन न्याय, तथा संसदीय मामिला मन्त्री पदम गिरीले यसअघि शपथ लिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नवनियुक्त मन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिए। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले यसअघि शपथ लिइसकेका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीद्वय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र सहरी विकास मन्त्री धनबहादुर बुढाले पद तथा गोपनीयताको शपथ लिए । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन गरे। नवनियुक्त मन्त्रीले संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।