पोखरा: ब्रान्डेड र गुणस्तरीय पर्फ्युमका पारखीहरुलाई लक्षित गरी ‘इना सेन्टर’ले आफ्नो पाँचौं आउटलेट पोखरा सभागृहचोकको मिडटाउनमा खोलेको छ । ब्रान्डेड पर्फ्युमको व्यवसाय गर्दै आएको इना सेन्टरका काठमाडौंको सिभिल मल, बबरमहल रिभिजिटेड, धर्मपथ र दरबार मलसँगै पोखरामा पनि पाँचौं आउटलेटको रुपमा सञ्चालनमा ल्याएको हो पोखरामा शनिबारदेखि सञ्चालनमा आएको सेन्टर बिहान ११ बजेदेखि साँझ साढे ७ बजेसम्म खुला रहने प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताए । उनका अनुसार सेन्टरमा क्लिभ क्रिस्टियन, लिक्विड्स इमेजिनरिज, निसेन, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत पर्फ्युमहरू उपलब्ध रहेको छ । पोखरामा पनि ब्रान्डेड पर्फ्युमका पारखीहरु रहेको हुँदा उनीहरुको सेवाका लागि नयाँ आउटलेट थपेको बताए । ‘कतिपयले अनलाइनबाटै अर्डर गर्नुहुन्थ्यो, कतिपय काठमाडौं नै पुगेर पनि किन्नुहुन्थ्यो, उनले भने, ‘अब पोखरेली ग्राहक भएकै ठाउँमा हामी आएका छौं । पोखराको आउटलेटमा अहिले २ हजारदेखि ५० हजारसम्मका पर्फ्युम उपलब्ध छ ।’ काठमाडौं बाहिर पोखरासँगै धरान, इटहरी र चितवन लगायत सहरमा पनि इना सेन्टरकोे आफ्नै आउटलेट थप्ने योजना छ । इना सेन्टर पोखरा आउटलेटको नेपाली फिल्मकी कलाकार वर्षा राउत, युवा उद्यमी वैभव पौडेल र पत्रकार रामकृष्ण ज्ञवालीले शनिबार संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
म्याग्दी: गत साल २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ । गत वर्ष २५ हजार दुई सय ७९ जना पर्यटक भित्रिएका र छ हजार एक सय ६० जना घोडेपानी हुँदै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताए । सबैभन्दा बढी चैत महिनामा पाँच हजार आठ सय ४९ जना पर्यटक घोडेपानी आएका छन् । वैशाखमा चार हजार चार सय १४, जेठमा एक हजार दुई सय ८१, असारमा चार सय ४१, साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८ र कात्तिकमा चार हजार तीन सय ५७ जना पर्यटक आएका छन् । कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७ र फागुनमा दुई हजार चार सय ७७ जना पर्यटक आएका थिए । २०७९ मा २६ हजार तीन सय एक जना पर्यटकले घोडेपानी घुमेका थिए । घोडेपानी टोल सुधार समितिका उपाध्यक्षसमेत रहेकी होटल व्यवसायी जुलीठकुरी पुनले कोरोनाअघिकै लयमा फर्कन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताइन् । “अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ”, उनले भनिन्, “आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ ।” कोरोनाअघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए । समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् । घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्छन् । पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाइ होटल तथा रेष्टुराँलाई रु ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न हरेक नेपालीले रु ५० र विदेशीले रु एक सय ५० शुल्क तिर्नुपर्छ ।
काठमाडौँ: सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने भएको छ । स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको, बेरुजु बढेको, विकास निर्माणका काममा ढिलासुस्ती भएको, सेवा प्रवाह र सुशासन कमजोर बनेकोलगायतका अनियमितताका समस्या बढ्दै गएको गुनासो आउन थालेपछि सरकारले निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाउने कार्यलाई निरुत्साहित गर्न लागेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्षदेखि कुनै पनि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने नीतिलाई उच्च प्राथमिकतासाथ कार्यान्वयन गर्ने प्रस्ट पारेको छ । मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने गरी लोक सेवा आयोगबाट सिफारिस भई आएका शाखा अधिकृत र उपसचिवलाई स्थानीय तहमा पठाइने बताउनुभयो । मन्त्रालयका अनुसार अहिले २०७ स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तह सञ्चालन गर्दै आएका छन् । मन्त्रालयले यसै साता लोक सेवा आयोगबाट सिफारिस गरिएका ३० जना नयाँ शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर स्थानीय तहमा पठाइसकेको छ । स्थानीय सरकार सञ्चालन ऐनले गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिवलाई सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृत बनाई पठाउनुपर्ने व्यवस्था गरेको छ । अधिकांश गाउँपालिका र नगरपालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेको मन्त्रालयले जनाएको छ । यो समाचार गोरखापत्र अनलाइनमा नरेन्द्र सापकोटाले लेख्नुभएको छ ।
काठमाडौं: गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको छ । ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका छन् । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागीले क्षति गरेको हो । आगलागीमा परेर दुईजना घाइते भएका छन् । इस्मा–१ का हिमाल राना र मुसिकोट नगरपालिका–७ का प्रेम राना घाइते भएको र दुवै जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले बताए । जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ । डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगोले क्षति गरेको छ । भुमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्कलगायतका गाउँमा गरी झन्डै २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए। आगोले गाउँनै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए। क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ । त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दन गाउँपालिका–६ पडरीमा अस्ति शुक्रवार भएको आगलागीमा १४ जनाको घरगोठ जलेको थियो । त्यहाँ हिजो फेरी आगो फैलिएको थियो । विभिन्न ठाउँमा लागेको धेरैजसो आगो नियन्त्रणमा लिएको र क्षतिको विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीले पदभार ग्रहण गरेपश्चात गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ । विभिन्न ११ जिल्लाका अस्पतालहरूको सेवालाई प्रभावकारी बनाउनको लागि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मको ओपीडी सेवा सञ्चालन गर्ने भनेर प्राथमिकताका साथ मुख्यमन्त्री अधिकारीले कार्यभार सम्हाल्नु हुँदा पहिलो निर्णय गर्नुभएको थियो । यो निर्णय अनुसारको सेवा प्रदान गर्ने कार्य केही अस्पतालले सुरु गरिसकेका छन् भने केही अस्पताल निर्णय कार्यान्वयन गर्नको लागि आन्तरिक तयारीमा समेत जुटेका छन् । सेवा सुरु गरेको अस्पतालको तथ्यांक हेर्दा यो प्रभावकारी देखिएको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले निर्णय कार्यान्वयन हुन थालेको बताउनुभयो । ‘कार्यान्वयनको तहमा हेर्ने हो भने म्याग्दीको बेनी अस्पतालमा ७ बजेदेखि ७ बजेसम्म सञ्चालन भइरहेको छ, लमजुङ अस्पतालमा पनि सञ्चालनमा रहेको छ, मध्यविन्दु अस्पतालमा समेत सञ्चालनमा गएको छ । मैले हिजो मात्र अपडेट लिएको थिए स्याङजा अस्पतालले यहीं आइतबार वा सोमबारबाट सुरु गर्दैछ’ उहाँले भन्नुभयो । अरु धेरैं अस्पतालमा यो सेवा ७ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्ने भनेर तयारी भइरहेको समेत उहाँले खुलाउनुभयो । यो सेवाको कार्यान्वयनको लागि आवश्यक पर्ने स्रोतको लागि मुख्यमन्त्रीबाट स्विकृत भएर स्रोत सुनिश्चित गर्नको लागि फाइल अगाडि बढेको समेत उहाँले जानकारी दिनुभयो । ‘यो सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि थप जनशक्ति र स्रोत के चाहिन्छ हामीले त्यो आकलन गरिसकका छौं । त्यसको बन्दोवस्तीको लागि माननीय मुख्यमन्त्रीज्यू अहिले हाम्रो विभागीय मन्त्री पनि हुनुहुन्छ उहाँले स्वीकृत गरेर अर्थ मन्त्रालयमा थप स्रोत सुनिश्चित गर्नको लागि फाइल अगाडि बढेको छ’ सचिव डा.शर्माले भन्नुभयो । उहाँका अनुसार सेवा सुरु भएका अस्पतालको तथ्यांक अनुसार सेवा थप भएको समयमा सेवा लिनेको संख्या ४५ प्रतिशत रहेको छ । ‘१० बजेदेखि ५ बजेसम्मको अवस्थामा ५५ प्रतिशत र बिहान र बेलुकाको समयमा ४५ प्रतिशतले सेवा लिएको छ । यसरी हेर्दा थोरै जनशक्ति र स्रोतले यो कार्यक्रम प्रभावकारी भएको छ । बिहान ७ देखि बेलुका ७ को ओपीडीको अवधारणले ४५ प्रतिशत सेवाग्राहीलाई फाइदा देखिएको छ’ उहाँले थप्नुभयो । यसले टाढा गाउँबाट उपचारको लागि सदरमुकाम झरेका बिरामीको खर्च बचाउनुको सट्टा उनीहरूलाई जिल्ला अस्पतालको सेवा लिनमा सहजता बनेको उहाँले सुनाउनुभयो । ‘माननीय मुख्यमन्त्रीज्यूले यो ढोका खोल्नु भएको छ । यो अत्यन्तै अपेक्षित छ, यसबाट के पनि सिकाइ भयो भने बिहान गाउँबाट सदरमुकाममा आउँछन् उनीहरू सदरमुकाम आइपुग्दा बेलुका हुन्छ, अस्पतालको १० देखि ५ को समय टरेको हुन्छ । बेलुका उनीहरू बजारमा आएर स्थानीय स्वास्थ्य क्लिनिक, पोलिक्लनिकहरूमा देखाएर औषधी पोको पारेर जाने अवस्था थियो । उनीहरूलाई अस्पतालको सेवाले समावेश गर्न सकेको थिएन, यो विशेष सिकाइ भएको छ’ उहाँको भनाइ थियो । अब अर्को वर्षको कार्यक्रममा विशेष कार्यक्रमको रुपमा लिएर जाने तयारी मन्त्रालयले गरेको समेत उहाँले बताउनुभयो । न्युनतम स्रोत र साधनको सहयोगले पनि विशेष काम गर्न सकिन्छ भन्ने पुष्टि भएकोले यसलाई निरन्तर लैजाने हिसाबले व्यवस्थित गर्ने तयारी भएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा बोल्दै उहाँले मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको प्रमुख पहिचान तथा चिनारी बनेको बताउनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘विश्व संगीतको बजारमा प्रभाव पार्ने संगीत हामीसँग छ । संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक छ । मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्नुपर्दछ।’ उहाँले पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले विदेशी संगीतलाई प्रतिस्थापन गरी नेपाली संगीतलाई स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । देशको पहिचान जोगाइराख्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न, देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धन अनिवार्य रहेको प्रदेश प्रमुख भट्टको भनाई छ । ‘गीत संगीतले सजिलै स्रोता र दर्शकको मन र मस्तिकमा प्रभाव पार्न सक्छ । हामीले रचना गरेको गीत संगीतले समाजलाई सकारात्मक सन्देश दिनुपर्छ र त्यसले समाजलाई सही दिशामा डो¥याउनुपर्छ ।’– उहाँले भन्नुभयो । मौलिक संगीतको सिर्जना गर्ने, संगीत क्षेत्रको विकासमा योगदान पु¥याउने र यसलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण योगदान पु¥याउनुहुने नेपाली संगीतकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दै उहाँले देशभरका उत्कृष्ट कलाकारलाई सम्मान गर्ने यस्ता कार्यक्रमको निरन्तरताको कामना पनि गर्नुभयो । ‘अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन’ नाराका साथ आयोजित दोश्रो राष्ट्रिय संगीत अवार्डमा विभिन्न २६ विधामा सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको आयोजक संस्था कास्की खबरका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिनुभयो । उक्त अवसरमा नेपाली संगीत र कला क्षेत्रमा पत्रकारितामार्फत् योगदान पुु¥याएकोमा पत्रकारहरु रञ्जन अधिकारी, गौरव त्रिपाठी र कमल सरगमलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सागर कार्की, साहिल गायक लगायतका संगीतकर्मीलाई पनि सम्मान गरिएको थियो ।
पोखरा: मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले यस्तो बताएको हो । समाजमा भएका घट्नाहरुलाई आधार बनाएर सिनेमा निर्माण गरिएको निर्देशक एवम लेखक उपेन्द्र सुब्बाले जानकारी दिए । उनले भने ,“मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफुलाई पाउनेछन ।” सामाजिक विषयवस्तु आफ्नो रुचीको विषय भएकाले पनि सिनेमा मार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजेको उनले बताए । “सिनेमा छ्या भन्ने बनाएको छैन । पत्याउने सिनेमा बनेको छ । फरकधारको सिनेमा बनाउने प्रयास हो ।“, उनले भने । निर्देशक सुब्बाले मनसरा धानको नाम भएको उल्लेख गरे । पुर्वतिर पाइने धान जसको ढांट अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाएता पनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाजसङ्ग जोड्ने प्रयास सिनेमा माध्यम गरेको उनले बताए । मनसरा धानको विशेषता मन परेर नै सिनेमाको कथा बनाइएको भनाई उनको छ । उपन्यास लेखन भन्दा सजिलो सिनेमा लेखन भएको उनले उल्लेख गरे । लेखनमा नै सुब्बा आनन्द मान्छन । अभिनेता प्रविन खतिवडाले मनसरा सोसल ड्रामा भएको बताए । श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई मनसरामा प्रस्तुत गरिएको उनले बताए । समाजिक कथामा सिनेमा निर्माण भएकाले परिवारले बसेर हेर्न मिल्ने सिनेमा बनाइएको भनाई उनको छ । उनी सिनेमामा साधारण कृषकको भुमिकामा देखिएका छन् । मिश्रित समाजको कथा भएकाले मनसरा दर्शकको रोजाइमा पर्नेमा उनी विश्वस्त छन् । नायिका मिरुना मगरले मनसरा समाजको रियल कथामा आधारित रहेको बताइन । जारीमा दर्शकबाट पाएको माया स्वरुप मनसराको आफ्नो भुमिकालाई पनि दर्शकले रुचाउनेमा उनी आशावादी छिन । कुनै पनि कलाकारले निर्देशकले दिएको भुमिका अनुसार नै आफुलाई सिनेमामा प्रस्तुत गर्ने हुँदा मनसरामा पनि निर्देशकले दिएको भुमिकालाई आफुले सक्दो निभाउने प्रयास गरेको उनले बताइन । अभिनेत्री मेनुका प्रधान पनि मनसरा बाट आशावादी देखिन्छन् । सिनेमामा आफ्नो भुमिकालाई दर्शकले मन पराउनेमा उनी ढुक्क छिन् । सामाजिक कथा भएकाले सिनेमा हेर्न हल सम्म पुग्न दर्शकलाई उनको आग्रह छ । कार्यकारी निर्माता सिजन दाहालले सिनेमाको छायांकन काठमाडौं नजिकैको गाउँ ललितपुर स्थित सिमाखो र पांचथरको गाउँमा भएको जानकारी गराए । उनका अनुसार उक्त गाउँका नागरिकहरु भाडामा बसेर खेती किसानी गर्छन । लकडाउनको समय देखि नै स्कृप्टको तयारी भएको र अहिले आएर सिनेमा निर्माण गर्ने समय जुरेको उनले उल्लेख गरे । कर्मसियल सिनेमा जत्तिकै लगानी मनसरामा लागेको भनाई उनको छ ।
पोखरा: युनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसरमा १२ औं संस्करणको पोखरा महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । अमरसिंहचौरमा गत पुषको २६ देखि माघको ८ गतेसम्म आयोजना गरेकोे पोखरा महोत्सवबाट कुल ३८ लाख ९५ हजार बचत भएको क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाले जानकारी दिए । उनका अनुसार महोत्सवमा कुल आम्दानी १ करोड ७४ लाख ३० हजार भएको थियो भने खर्च १ करोड ३५ लाख ३५ हजार खर्च भएको थियो । उनले महोत्सवबाट बचत भएको (३८ लाख ९५ हजार) बचत रकमले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य निर्माणमा खर्च गरिने बताए । सोही कार्यक्रमको अवसरमा क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान अर्पण गर्याे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अध्यक्ष राजु श्रेष्ठ लगायतले सम्मानपत्र, दोसल्ला, मालाले सम्मान गरे । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री समेत रहेका बेदबहादुर गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा रहेको एकमात्र अब्बल क्लब युनाइटेड क्लब रहेको धारणा व्यक्त गरेका थिए । क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका महासचिव दिनेस सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
पोखरा: पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै संघको कार्यालयको उद्घाटन गरेको छ । संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले लोकदोहोरी रेष्टुरेण्ट व्यवसाय सम्मानित, मर्यादित र सुरक्षित बनाउनका लागि व्यवसायहरुनै लाग्नुपर्नेमा जोड दिए । आफुहरुको व्यवसाय कोरोना अगाडि सम्म नेपाल सरकारमा सुचिकृत नभएका कारण त्यतिवेला प्रहरी प्रसासनबाट सास्ती खेप्नुपरेको वताउदै कोरोना पछि व्यवसायलाई सुचिकृत गरी मापदण्ड र अनुसुची बनाएको र त्यसपछिमात्र हाल आएर रात्रिकालिन व्यवसायलाई चौबिसै घण्टा खोल्न सरकार तत्पर रहेको बताउदै अध्यक्ष श्रेष्ठले संस्थाको मर्यादाभित्र रहेर व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह समेत गरे । त्यस्तै पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगरले ब्यवसाय संगै रोजगार प्रदान गर्ने व्यवसाय लोकदोहोरी रेष्टुरेण्ट भएको वताउदै लोकदोहोरी व्यवसायले लोक संस्कृतिको संरक्षणमा समेत लागेको बताए । आर्थिक मन्दीका कारण रोजगार नपाउने अवस्थाका कारण युवाहरु विदेश पलायन भइरहदा लोकदोहोरी रेष्टुरेण्ट व्यवशायीहरुले केही हद सम्म रोजागार प्रदान गरिरहेको वताउदै थापा मगरले पैसा र नेपाल सरकारले चाहेर मात्रपनि नेपालको मौलिक लोक संस्कृति बचाउन नसकिने बताए । लोक संस्कृतिको संरक्षणमा व्यवसायहरु लाग्नुपर्ने उनको भनाइ रहेको थियो । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव शंकरविरही गुरुङले लोकदोहोरीको कलाकार उत्पादन गर्न र कलाकारलाई बचाइ राख्न लोकदोहोरी रेष्टुरेण्टको मुख्य भुमिका रहेको बताए । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका सल्लाहकार लोकेन्द्र कुमार राईले रात्रीकालिन ब्यवशायहरु २४ घण्टा खुल्नु खुसीको कुरा भएतापनि त्यसमा चुनौती रहेको बताउदै व्यवसायहरुले विशुद्ध रुपमा व्यसाय गर्दै सम्मानित र मर्यादित ढंगले व्यवसाय गर्न सके व्यवसायीले सम्मान पाउने बताए । त्यस्तै अर्का सल्लाहकार जय कुमार परियारले संघले व्यवसायहरुको हक हितको लागि एकजुट भएर काम गर्न आग्रह गरे । ससुराली रोधी घरका सञ्चालक टंक पौडेलले संघबाट व्यवसायीहरुलाई दुख पर्दा साथ र सहयोग पाइरहेको बताउदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राखे । उक्त अवसरमा पोखरामा भर्खर सञ्चालनमा आएका ससुराली, जुनेली, मान्द्रो र सारंगी रोधी घरले संघको सदस्यतासमेत लिएका थिए । हाल पोखरामा २६ वटा दोहोरी सांझहरु संघमा आवद्ध रहेका छन । संघका अध्यक्ष जीवन गुरुङ भीमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिरेन्द्र केसीले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन सचिव दिलु लामाले गरेकी थिइन् ।

