काठमाडौं: तेस्रो लगानी सम्मेलन आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचनण्डले शुभारम्भ गर्नुभएको हो । सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता हुनेछ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९÷९ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । १० सत्रमा सञ्चालन हुने सम्मेलनमा पचासभन्दा बढी वक्ता रहने वोर्डले जनाएको छ ।
काठमाडौं: जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छिन् । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो । जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री कामीकावा वैशाख २३ गते काठमाडौँ आइपुग्ने छिन् । विदेशमन्त्री कामीकावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको नेपालस्थित जापानी दूतावासले जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेशमन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दूतावासले जनाएको छ ।
इलाम: इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा दुई ठाउँमा मतगणना हुनेछ । वडागत रुपमा १ नम्बर वडाबाट मतगणना सुरु गरिने छ । जसमा फाकफोकथुमबाट सुरु गरी क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने सहमति भएको छ । सर्वदलीय सहमतिअनुसार एउटा वडाको मत गनिसकेपछि परिणाम सार्वजनिक गरिने छ । मत गणनामा इलाम क्षत्र नम्बर २ का मतदाता मात्र उम्मेदवारको प्रतिनिधि बस्न पाउने छन् । इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा हिजो उपनिर्वाचन भएको हो।
पोखरा: आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित १३ वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारी सहित चार विधाको नोमिनेसन सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं’ उनले भने । अवार्ड कार्यक्रलाई सहयोग गर्नेहरु समेत थपिदै गएका छन् । शनिबार अवार्ड कार्यक्रमको लागि मुस्ताङ गल्फकोर्षले ११ हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम मुस्ताङ गल्फकोर्षका सञ्चालक इन्द्रधारा विष्टले मञ्च अध्यक्ष बराललाई हस्तान्तरण गरेका हुन् । यसैगरी थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुनले १० हजार रुपैयाँ सहयोग गरेका छन् । पुनले सहयोग रकम सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, अन्तरराष्ट्रिय समन्वय उपसमिति सह–संयोजक सुर्दशन रञ्जितको उपस्थितिमा अध्यक्ष बराललाई हस्तान्तरण गरेको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका महासचिव पौडेलले बताए । बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो । नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्याएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेलेका थिए । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो ।
गुल्मी: गुल्मीमा गएराती मलामी बोकेको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । गएराती जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–४ मौरीओडार स्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणी बाट मलामी लिएर लिम्घा तर्फ फर्कीने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यस बहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्ष पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी घाइते भएका छन् । ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना, चालक जिल्ला गुल्मी सत्यवती गा.पा.४ लिम्घा बस्ने २९ वर्षका शंकर बि।क घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये ४ जनालाई थप उपचारको लागी पाल्पा पठाइएको छ । अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ । घाइते मध्ये केहिको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप ब्रेक फेल भई सडकदेखी अन्दाजी ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । जीपमा १३ जना सवार रहेका थिए । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब निरीक्षक ज्ञानबहादुर खत्रीको कमाण्डमा ट्राफिक सहित ७ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ । भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो । उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी(का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
पोखरा: पोखरामा आजदेखी सुरु भएको एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जित्नुभएको छ । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर च्याम्पियन बन्नुभयो । ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो । पुरुषतर्फ च्याम्पियन इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गर्नुभयो । अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा पूरा गरी तृतीय हुनुभयो । महिलातर्फ च्याम्पियन इड्डाले निर्धारित दूरी पार गर्न एक घण्टा छ मिनेट समय लगाउनुभयो । यसैगरी उपविजेता गुआमका मानामी लिजिमाले एक घण्टा ४२ सेकेण्डमा र तृतीय हुन सफल उज्वेकिस्तानका एलिना खाकीमोवाले एक घण्टा चार मिनेटमा पार गर्नुभयो । दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले बर्चस्व राखेका हुन् । पुरुषतर्फ भारतका मुरलीधर नैरले एक घण्टा दुई मिनेट तीन सेकेण्डमा तोकिएको दूरी पार गरी उपाधि जित्नुभयो । यसैगरी कौसिक विनयले एक घण्टा तीन मिनेट २६ सेकेण्ड लगाउँदै उपविजेता बन्नुभयो । नेपालका विपन खत्कत्वाले एक घण्टा पाँच मिनेट २५ सेकेण्ड समय लगाउदै तृतीय हुन सफल हुनुभयो । महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी एक घण्टा सात मिनेट ५१ सेकेण्डमा पूरा गरी विजेता बन्नुभयो । नेपालका श्रेवी महर्जनले एक घन्टा ११ मिनेट ४५ सेकेण्डको पूरा गर उपविजेता बन्दा नेपालकै शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल हुनुभयो । यसैगरी राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले एक घन्टा पाँच मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बन्नुभयो । प्रविन थारुले एक घन्टा छ मिनेट २० सेकेण्डमा पार गरी द्धितीय र मुकेश थारुले एक घण्टा १५ मिनेट ११ सेकेण्डको समय लगाउँदै तृतीय हुन सफल हुनुभयो । महिलातर्फ एक घन्टा ११ मिनेट ४५ सेकेण्डको समयमा दूरी पार गर्दै श्रेवि महर्जन च्याम्पियन बन्नुभयो । शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गरी द्धितीय र ज्ञानु कुमारी चौधरीले एक घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल हुनुभयो । यसैगरी जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बन्नुभयो । भारतकै कृषिभ पटेल द्धितीय र नेपालका यजु महर्जन तृतीय हुनुभयो । महिला जुनियरतर्फ नेपालका श्रेवी महर्जन विजेता बन्दा भारतका दुर्विशा पवार द्धितीय र प्रेरणा श्रवण कुमार तृतीय हुनुभयो । नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
पोखरा: बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजाको भोटे क्याम्पमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन । बागलुङबाट तनहुँ जाँदै गरेको गरेको ग १ ख ९२९७ नम्बरको बस आज (शनिबार) साँझ ७ः३० बजे अनियन्त्रित भई पोखरा महानगर–२५ हेमजामा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटना हुँदा बसमा सवार ३६ जना यात्रु मध्य १६जना यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक नीलबहादुर खड्काले जानकारी दिए । घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । तनहुँबाट बागलुङको पञ्चकोटका लागि गएको बस बागलुङबाट फर्किने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । सच्चाइएको: बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजामा दुर्घटना हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं ।

