पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले सुदूरपश्चिममा बनेका दुनाटपरी गण्डकीमा बजारीकरणका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको वनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर नपा ९, राजघाट, कञ्चनपुरको टोलीले प्रदेश प्रमुखसँग भेट गरी आवश्यक सहयोगका लागि अनुरोध गरेको थियो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले आवश्यक सहजीकरण गर्ने बचनवद्धता प्रकट गर्नुभएको हो । ‘अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जंगलमा रुखका पातपतिङ्गरकै कारण डढेलो फैलन पुगेको हो । यदि पातलाई सही उपयोग गर्ने, दुना टपरी बनाउने हो भने यो समस्या केही कम हुने थियो ।’ उहाँले भन्नुभयो । स्वआर्जनमा वृद्धि, मुलुकको आर्थिक विकासमा टेवा, महिला दिदीबहिनीले घरमै बसेर अर्थोपार्जन गर्न सकिनेभएकाले पनि यसको बजारीकरण हुन आवश्यक रहेको उहाँको ठम्याई छ। ‘प्लाष्टिककै कारण विश्वमा प्रदुषण बढ्दो छ । हामीले दुनाटपरीको अधिकतम प्रयोग गरेमा प्लाष्टिकजन्य सामाग्री प्रयोगमा कमी आउनेछ र वातावरण स्वच्छतामा टेवा पुग्नेछ ।’ उहाँले भन्नुभयो – ‘विश्वसमुदायको ध्यान अब प्रदुषण न्यूनिकरणमा रहने र यस्ता प्लाष्टिकको विकल्पका साधनको उच्चतम प्रयोग गर्ने अवस्था हुने भएकाले हतोत्साही नभइकन यस्ता घरेलु उद्योगको प्रवर्द्धनमा जुटौँ ।’ टोलीमा सुदूर पश्चिम प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहनुभएका सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी, वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरज भण्डारी, दुनाटपरी उत्पादन समूहकी संयोजक फूलकुमारी चौधरीसहित सदस्यहरूको सहभागिता रहेको थियो ।
पोखरा: पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घुस लिएको अभियोगमा दुई इन्जिनियरसहित तीनजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पोखरा महानगरपालिकाका इन्जिनियर शिवराज बराल, सब–इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियर कन्सल्टेन्सीका सुरज कुँवरविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । अख्तियार पोखराको टोलीले इन्जिनियर बराल र सब इन्जिनियर रोकायालाई पक्राउ गरी अनुसन्धानका लागि अख्तियार मुख्यालय टङ्गाल पठाएको थियो । अख्तियार पोखराको टोलिले सब–इन्जिनियर रोकाय र कन्सल्टेन्सीका कुँवरलाई १ लाख ५० हजार घुस लिइसकेको अवस्थामा चैत २८ गते प्रकाउ गरेको थियो । तीनै जना मिलेर घर निर्माणको प्रमाणपत्र दिन ३ लाख ५० हजार रुपैयाँ घूस माग गरेको अनुसन्धानमा खुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए । गोदार इन्जिनियरिङका कर्मचारी कुँवरमार्फत रकम लिई दुई लाख बरालले आफ्नै खातामा राखेको देखिएको छ । तीनै जनाविरुद्ध भ्रष्ट्राचार निवारण ऐन २०५९ बमोजिम तीन लाख पचास हजार बिगो कायम गरी ऐन अनुसार बिगो र जरिवाना मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता घिमिरेले बताए ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड २०८० को तयारी तीव्र छ । यही वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । जसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् । ज्योत्सनिका मरासिनी (क्रिकेट) १३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएको नाम हो ज्योत्सनिका मरासिनी । स्याङ्जामा जन्मिएकी मरासिनीले २०७७ सालमा दाङमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट डेब्यु गरेकी थिइन् । १३ वर्षको उमेरकी मरासिनीले आफूभन्दा दोब्बर बढी उमेरका दिदीहरू विरुद्ध क्रिकेट खेल्दै धेरै चर्चा बटुलेकी हुन् । उनले प्रदर्शन पनि उत्तिकै राम्रो गरेकी थिइन् । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेकी ज्योत्सनिकाले कम उमेरका कारण २०७९ मा मलेसियामा भएको यु–१९ विश्वकप गुमाएकी थिइन् । यस वर्ष भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा १६ वर्षकी ज्योत्सनिका प्रतियोगिताकै उदीयमान खेलाडी घोषित भइन् । २०८० मा भएको सिनियर टोलीको एसिसि महिला प्रिमियर कपको क्लोज क्याम्पमा परे पनि अन्तिम टोलीमा भने नाम बनाउन सकिनन् । उनले नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने केन्द्रीय सम्झौतामा उदीयमान खेलाडीको रूपमा स्थान बनाएकी छन् । यस वर्ष नेपालगन्जमा भएको सुशील कोइराला मेमोरियल यु–१९ क्रिकेट प्रतियोगितामा ज्योत्सनिका चौथो सर्वाधिक रन बनाउने खेलाडी बनिन् । चितवनमा भएको मैयादेवी यु–१९ राष्ट्रिय क्रिकेटमा गण्डकी उपविजेता बन्यो । उक्त प्रतियोगितामा ज्योत्सनिका सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा रहिन् । प्रदेशस्तरीय प्रधानमन्त्री कपमा उनी उत्कृष्ट बलर घोषित भइन् । दिलासा राना (ब्याटमिन्टन) १० वर्षको उमेरमा बाबाले खेलेको खेल पछ्याएकी दिलासा राना सानै उमेरमा अन्तर्राष्ट्रिय खेल मात्र खेलेकी छैनन्, नेपाललाई अन्तर्राष्ट्रिय पदकसमेत दिलाएकी छन् । लकडाउनको समयबाट उनले ब्याडमिन्टन खेल्न सुरु गरेकी हुन् । उनले यो वर्ष नेपालमा भएको साउथ एसियन रिजन जुनियर च्याम्पियनसिपमा ३ पदक जित्न सफल भइन् । त्यसमा उनले एक रजत र दुई काश्य पदक जितेकी हुन् । उनले २०७९ मा गण्डकी प्रदेश भएको नवौँ राष्ट्रिय खेलकुदबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन् । त्यसयता उनले जुनियर स्तरमा राष्ट्रिय प्रतियोगितामा आफ्नो पकट जमाउन सफल भएकी छन् । उनले पुष्पलाल राष्ट्रिय यु–१९ प्रतियोगितादेखि अन्तर प्रदेश राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पदक जितिसकेकी छन् । उनले फागुनमा काठमाडौँमा भएको १३ औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टनमा जुनियरतर्फ उपाधि जितेकी हुन् । चितवनमा भएको अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा दिलासाले ३ पटक हार पारिन् । उनले डब्बलमा प्रथम, मिक्स डब्बलमा दोस्रो र सिङ्गलमा तेस्रो भइन् । गत पुसमा भएको ललितपुर मेयर कपको दोस्रो र दोस्रो मोहन भुंगल फाउन्डेसन जुनियर राष्ट्रिय प्रतियोगितामा पहिलो हुन सफल भइन् । बादल कार्की (एथलेटिक्स) एथलेटिक्सका भविष्य हुन्, बागलुङका बादल कार्की । बागलुङ काठेखोला गाउँपालिका ७ का १७ वर्षीय बादलले नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउनेदेखि म्याराथन दौडनसमेत भ्याइसकेका छन् । उनले भारतको नागाल्यान्डमा भएको यु–२० साउथ एसियन क्रस कन्ट्री प्रतियोगिता अन्तर्गत ८ किमी दौडमा नेपालको तर्फबाट काश्य पदक जितेका थिए । यस्तै पोखरा सञ्चालन हुने सफल पोखरा म्याराथनमा २ वर्ष अघि नै भाग लिएका थिए । सानै उमेरमा उनले ४२ किलोमिटर दुरी पूरा गरे । कार्कीले भर्खरै सकिएको १४औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्स खेलमा दुई स्वर्ण पदक जित्न सफल भए । १५०० र ८०० मिटर इभेन्टमा उनले स्वर्ण पदक जितेका हुन् । उनले तेस्रो पटकमा राष्ट्रपति रनिङ शिल्डमा पदक जित्न सफल भएका हुन् । उनी जिल्ला, प्रदेशमा पदक जित्दै केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिएका थिए । उनले प्रदेश स्तरमा दुई स्वर्ण, एक रजत र एक काश्य जितेका थिए । जिल्ला स्तरीय प्रतियोगितासमेत उनको प्रदर्शन उत्कृष्ट थियो । २०७९ मा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा ३ हजार मिटर स्टपल चेजमा दौडेका बादल छैटौँ भएका थिए । पोखरा सभागृह हलमा हुने स्पोर्ट्स अवार्डमा उदीयमान खेलाडी सहित कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष र महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार सहित ट्रफी पाउने महासचिव पौडेलले खुलाए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको मञ्च अध्यक्ष दीननाथ बरालले जनाए । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुमराङ रेष्टुरेन्ट लेकसाइड, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल व्युटी पार्लर, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रा.लि., सहारा क्लव हङकङ, राष्ट्रिय महिला भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङ, पोखरा १५ वडा कार्यालय, वल्र्ड लिंक, मोहन भूगोल फाउन्डेसन लगायत सहयोगी रहेको बरालले खुलाए । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।
पोखरा: बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ । विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार महेश त्रिपाठीले ‘खजुरे ब्रो’ सामाजिक कथामा आधारित सिनेमा भएको जानकारी गराए । उनका अनुसार सिनेमामा सामाजिक विषयवस्तुलाई रमाइलो तवरले प्रस्तुत गरिएको छ । सिनेमाको आफ्नो भूमिकालाई लिएर उनी आशावादी छन् । आइरहेका नेपाली सिनेमाभन्दा केही फरक भएकाले पनि सिनेमा दर्शकलाई मन पर्ने विश्वास त्रिपाठीलाई छ । सिनेमाका मूख्य पात्र रेयर राइले ‘खजुरे ब्रो’ आफ्ना लागि टर्निङ पोइन्ट हुनेमा आशावादी छन् । कन्टेन्ट अनुसारलाई आफुलाई अभिनयमा ढाल्ने प्रयत्न गरेको उनले बताए । सिनेमामा रेयर नै ‘खजुरे ब्रो’ पात्रमा देखिदैछन् । कलाकार पुष्कर कार्कीले सिनेमामा आफ्नो सस्पेन्स भूमिका भएको उल्लेख गरे । सामाजिक विषयवस्तु भएकाले पनि दर्शकको रोजाईमा ‘खजुरे ब्रो’ पर्नेमा उनी विश्वस्त छन् । चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव रघुनाथ सापकोटाले मनसरा, पुजार सार्की र फर्कीफर्की जस्ता सिनेमाले ‘खजुरे ब्रो’ को व्यापारमा असर नगर्ने उल्लेख गरे । सिनेमाको छायाँकन दार्जलिङ, धरान र काठमाडौंमा गरिएको हो । अहिलेसम्म एक करोड पचास लाख माथिको खर्च भइसकेको निर्माण पक्षले जनाएको छ । सिनेमाको कथा सुरज सुनुवारले लेखेका हुन् । निर्देशन समेत उनकै हो भने निर्माता नबिन मानन्धर हुन् । सिनेमामा महेश त्रिपाठी, रेयर राई, पुष्कर कार्कीका अलवा नीति शाह, बिनिता थापा मगर, शन्तीला तामाङ, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।
गण्डकीः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिनुहुने भएको हो । मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराउनुभएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिनुभयो ।
काठमाडौंः डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन । विदेश जान मरिहत्ते गर्नेहरु धेरै छन् यहाँ तर उहाँको डढेलो बढेसँगै मन पनि अत्तालिरहेको छ । डढेलोको विषयमा बुझ्न सञ्चारकर्मीको फोनको घण्टीले उहाँलाई एकैछिन फुर्सदै हुँदैन । “विभिन्न स्थानका लागिरहेको वन डढेलोले देश नै जलिरहेको छ, म कसरी विदेश जान सक्छु र रु” उहाँ भन्नुहुन्छ, “आजभोलि त निन्द्रा नै राम्रोसँग लाग्दैन । कतै डढेलेले ज्यानै लिएको छ त कतै, चराचुरीङ्गी र वन्यजन्तु डढेलोसँगै तितरबितर छन् त कतै जङ्गलका काठ चलेर राज्यको अथाह सम्पत्ति खरानी भइरहेको छ ।” उहाँका अनुसार देशभर वन डढेलोको अवस्था झनझन विकराल बन्दै गइरहेको छ । बिहीबार मात्रै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागेको छ । जङ्गलमा लागिरहेको आगोले कतिबेला कुन बस्ती जलेर खरानी हुने हो भन्ने चिन्ताले उहाँलाई सताएको छ । प्राधिकरणमा डढेलो विज्ञको रुपमा काम गरिरहनुभएको उहाँलाई डढेलोको समयमा कसरी डढेलो व्यवस्थापन कार्य र क्षति न्यूनीकरणमा लागि पर्नुभएको छ । नेपालमा सञ्चारकर्मीदेखि विभिन्न डिभिजन वन कार्यालय, वन उपभोक्ता समूहलगायतले उहाँसँग नै डढेलोबारे जानकारी लिइरहनुहुन्छ । गत मङ्गलबार बिहान ११ः३० बजेतिर प्राधिकरणलाई ललितपुर गोदावरी नगरपालिका–६ आनन्द वनमा डढेलो फैलिएको भन्ने खबर आउँछ । डढेलोको कारण नजिकै रहेको कुष्ठरोग अस्पतालसमेत जोखिममा रहेको थाहा पाएपछि डढेलोविद् शर्मासहितको टोली आगो नियन्त्रणका लागि ललितपुर जानुभएको थियो । “जङ्गलको आगोबाट अस्पताललाई कसरी सुरक्षित गरेर राज्यको सम्पत्ति जोगाउने भन्ने चिन्ता भयो”, शर्माले भन्नुभयो, “लेलेतर्फको जङ्गलमा लागेको डढेलो फैलिँदै आनन्दवनसम्म आइपुगेको रहेछ । हामीले पोटेबल फाएर ड्रोन, पोटेबल फाएर पम्प, चारवटा दमकलको सहायताले बल्लतल्ल आगो निभायौँ ।” ललितपुरका विभिन्न स्थानमा लागेको डढेलो कतै नियन्त्रणमा आउन सक्यो कतै अझै बाँकी नै छ । डढेलोकै कारण गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वरमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहारी र रमेश पहारीको मृत्युसमेत भइसकेको छ । शर्माका अनुसार नेपालमा साधारणतया वर्षमा २५ सयको हाराहारीमा डढेलोको घटनाहरु हुन्छन् । “८० प्रतिशत वन डढेलोको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गर्छन्”, शर्माले भन्नुभयो । डिभिजन वन कार्यालय ललितपुर डिभिजन कार्यालयका वन अधिकृत थीरप्रसाद कोइरालालाई पनि अहिले देशका विभिन्न स्थानमा लागिरहेको डढेलोले चिन्तित बनाएको छ । डढेलोका कारण जङ्गलमा लागेको आगोले चराचुरुङ्गी र अन्य वन्यजन्तुहरु पनि जलेका छन् । उनीहरुको बासस्थानमै खलल पुगेको छ, काठ, दाउरा, जडीबुटी पनि डढेलोका कारण क्षति पुगेको उहाँको भनाइ छ । गत चैत १९ गते पनि रौतहट जिल्ला गैँडाटारको राष्ट्रिय वनमा डढेलो लागिरहेको छ, भन्ने खबर पाउन साथ डिभिजन वन अधिकृत शैलेन्द्र मिश्रको मन अतालिन थाल्यो । जङ्गलसँगै जङ्गल आसपासमा रहेका काठ दाउरा कसरी सुरक्षित गर्ने भनेर । वनमा लागिरहेको आगो नियन्त्रण गरेर काठ दाउरा जोगाउन सर्लाहीको हरिवन, बाराको निजगढ, गौर र चन्द्रपुर नगरपालिकाबाट चार वटा बारुणयन्त्र घटानास्थल गए । आगो नियन्त्रणको प्रयास रहँदारहँदै पनि घाटगद्धी गरिएको साल, कू–काठ, दाउरा जलेर खरानी भयो । यसैगरी चैतको दोस्रो साता मधेस प्रदेशस्थित वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले महत्तरीस्थित गौसला नगरपालिका–११ को राष्ट्रिय वनमा आगो लागिरहेको र काठ जलिरहेको भन्ने खबर मन्त्रालय मातहतको डिभिजन वन कार्यालय महोत्तरीलाई पठाउनुहुन्छ । त्यसपछि महोत्तरीका डिभिजन वन अधिकृत सन्तोष झासहितको टोली आगलागीका कारण जलिरहेको काठ बचाउन जङ्गलतिर लाग्नुहुन्छ । आगो नियन्त्रणका लागि निरनतर २८ घण्टा खटिएको अनुभव अधिकृत झा सुनाउनुहुन्छ । तर त्यति लामो सयमसम्मको प्रयास गर्दागर्दै पनि रु एक करोड ६० लाख मूल्य बराबरको काठ र दाउरा आँखै अगाडि जलेर खरानी भएको देख्दा उहाँ निकै भावुक बन्नुभयो । नेपाल–भारतबीचको विद्युत् व्यापारका निर्माण गरिएको हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणका क्रममा छ वर्षअघि काटिएको काठ बिक्री हुन नसक्दा जङ्गलमै राखिएको थियो । हिजो तस्करीबाट काठ जोगाउन मुस्किल आज वन डढेलाबाट काठ कसरी जोगाउने भन्ने मुस्किल रहेको बताउनुहुन्छ, धादिङका डिभिजनल वन अधिकृत विष्णु आचार्य । “कतिपय जिल्लामा जङ्गलभित्र काटेर राखिएको काठ बिक्री भएका छैनन् । कतिपय स्थानका ढलापढा तथा सुखढ खडा काठहरु यतिकै छन् । पातपतिङ्गर उत्तिकै छन्”, उहाँले भन्नुभयो, “अनि यसले जङ्गलको आगो छिटो फैलाएको छ र जङ्गलमा रहेका काठदाउरा, वन्यजन्तु तथा अन्य जैविक विविधताको संरक्षण कसरी गर्ने भन्ने चुनौती रहेको छ ।” सुक्खायाम बढेसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको वन डढेलोको कारण देशका विभिन्न स्थानमा आगलागीका घटना बढिरहेका छन् । वन तथा वातावरण मन्त्रालयका अनुसार वन डढेलोका कारण के कति काठहरु जले भन्ने यकिन तथ्याङ्क भने आइनसकेको जानकारी गराएको छ । डढेलोका कारण वन क्षेत्रमा कटान गरी राखिएको काठ र ढलापढा तथा सुखढ काठहरु वन डढेलोबाट जोगाउन मुस्किल रहेको अन्य डिभिजनल वन अधिकृतहरुको गुनासो छ । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पनि डढेलो नियन्त्रणमा आउन नसक्दा वन क्षेत्रभित्र रहेका काठ जोगाउन चुनौती थपेको बताउनुहुन्छ छ । “वन डढेलो नियन्त्रणका लागि हामीले जनचेतनामूलक कार्यक्रमहरु गर्दै त आइरहेका छौँ, यसो हुँदाहुँदै पनि वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रण हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका नीति कार्यान्वयनमा केन्द्रीय सरकार र स्थानीय तहसँगको सहकार्य जरुरी छ ।” कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले पनि वन क्षेत्रमा लाग्ने डढेलोको कारण काठ दाउरा जोगाउनै मुस्किल भइरहेको बताउनुभएको छ । “वन डढेलोको घटनाहरुबाट कसरी काठ र दाउरा जोगाउने भन्ने नै अहिलेको मुख्य चुनौती रहेको छ”, उहाँले भन्नुभयो, “वन डढेलो धेरैजसो मानवीय कारणले लाग्ने भएकाले नियन्त्रणका लागि हामीले सिसी क्यामरा जडानलाई प्राथमिकता दिएर अगाडि बढेका छौँ ।” सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) का अध्यक्ष ठाकुर भण्डारीले वन क्षेत्रका काठले बजार नपाउँदा डढेलासँगै जलिरहेको बताउनुभएको छ । “हामीले समयमा नै वनको काठ नै बाहिर बजारमा ल्याउनुपर्छ भनेका थियौँ, तर काठले बजार नपाउँदा बजारमा नआउने उता विदेशी काठ आयात गर्नुपर्ने यो कस्तो बिडम्बना हो ?” प्रतिप्रश्न गर्दै उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम गर्न सामुदायिक वन कार्ययोजना परिमार्जन गर्नुपर्ने, वन उद्यम विकास गरेर वन पैदावारको सदुपयोग गर्नुपर्ने, तालिम गोष्ठी सञ्चालन गर्नुपर्ने, नियन्त्रणका पर्याप्त आधुनिक औजारहरुको व्यवस्था हुनुपर्छ ।” वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपक खरालले पछिल्लो सय बढ्दै गइरहेको वन डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्ष २०८१/८२ का बजेटमा डढेलो नियन्त्रणका कार्यक्रमलाई प्रथामिकतामा राखिने जानकारी दिनुभएको छ । “अहिले देशका विभिन्न स्थानमा आगोलागीका घटनाहरु बढिरहेका छन् । हामीले प्रदेश सरकारसँग पनि समन्वय गरेर डढेलो नियन्त्रणका प्रभावकारी गतिविधि अगाडि बढाउन निर्देशन दिएका छौँ”, उहाँले भननुभयो । मन्त्रालयले डढेलोबाट काठ जोगाउन सुरक्षित सतर्कता अपनाउन भन्दै डिभिजनल वन कार्यालयलाई परिपत्र गरिसकेको थियो । मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले सबैलाई काठ व्यवस्थापनको लागि परिपत्र गरिसकेको भए पनि काठ दाउरा जलेको खबर दुःखद् पक्ष रहेको बताउनुभयो । मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ । कडाइका साथ कानुन कार्यान्वयन नहुँदा मानवीय लापर्वाहीका कारण वन डढेलो बढेको सराकारवालाहरुको भनाइ छ । वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । “यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ”, ऐनमा उल्लेख छ । वन डढेलो व्यवस्थापन रणनीति २०६७ डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायहरुका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिनका लागि पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ । वन डढेलो व्यवस्थापन रणनीति २०६७ डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायहरुका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिनका लागि पूर्वतयारी गर्ने लगायतका लक्ष्य राखेको छ । यसैगरी आगोको व्यवस्थित प्रयोगबाट पारिस्थितिकीय प्रणालीमा सकारात्मक प्रभाव र स्थानीय जनताको जीविकोपार्जनमा टेवा पु¥याउने, आन्तरिक तथा अन्तरदेशीय डढेलो विपद् तथा यसबाट उत्पन्न जलवायु परिवर्तनलगायत वातावरणीय समस्या समाधानका लागि द्विपक्षीय, बहुपक्षीय समन्वय, सहकार्य र सहयोग विस्तार गर्ने रणनीतिमा उल्लेख छ । नयाँ बन्ने वनसम्बन्धी नीति, रणनीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनहरुमा वन डढेलोको विषय समावेश गरिने वन तथा भूसंरक्षण मन्त्रालय र अन्तर्गतका निकायहरुको संस्थागत संरचना सुधार गरी वन क्षेत्रबाहेकका अग्निप्रकोप व्यवस्थापन तथा नियन्त्रण सम्बन्धित निकायसँगको समन्वयमा डढेलो व्यवस्थापन संरचना वा संयन्त्रको विकास गरिँदै लगिने रणनीति छ । रणनीतिको प्रभावकारी कार्यान्वयन गर्नका लागि विज्ञहरुले सुझाएका छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताउनुभयो । “मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा कामहरू मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा कामहरू मात्रै गर्न निर्देशित गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस अवधिमा सरकारबाट भएका कामहरूलाई हेर्ने हो भने इतिहासले नै सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन् ।” सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल श्रीलङ्का नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताउनुभयो । “शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजस्व सङ्कलनमा सुधार आएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीमैत्री वातावरण सिर्जना गरिएको छ ।” पछिल्लो समय बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको र सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार आएको उल्लेख गर्दै उहाँले पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदा पर्यटन क्षेत्रमा उत्साह थपिएको बताउनुभयो । सरकारले चालेको सुशासनका कार्यहरूबारे प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास भएको छ ।” मिटरब्याज पीडितहरूको पक्षमा उठाइएका कदम, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण र नागरिकता प्रदान जनताको पक्षमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राहादानी, सवारी चालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम र सामाजिक न्यायको क्षेत्रमा महत्त्वपूर्ण काम भएको बताउनुभयो । उहाँले देशभरिका ५५ लाखभन्दा बढी विद्यार्थीका लागि यसपटक पनि समयअगावै पाठ्यपुस्तक पुर्याइएको, किसानहरूका लागि समयमै रासायनिक मलको प्रबन्ध भएको, बिपन्न र असहाय नागरिकका लागि अस्पतालमा दुई हजार ९ सय निःशुल्क शैया तथा गैरआवासीय नेपालीहरूका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनु, बङ्गलादेशसँग पनि विद्युत् बिक्रीको सहमति हुनु र देशभित्र विद्युत् उत्पादनमा जोड दिनुले देशको आर्थिक भविष्य उज्वल रहेको छ भन्ने स्पष्ट भएको बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिका–२३ पन्चासेकी एक महिला खाना पकाउने क्रममा आफैले लगाएको कपडामा एक्कासी आगो लाग्दा जलेर घाइते भएकी छिन् । बिहीबार बेलुका आफ्नै घरमा खाना पकाउने क्रममा आफैले लगाएको कपडामा एक्कासी आगो लाग्दा ८२ वर्षीय भैखु नेपाली जलेर घाइते भएकी हुन् । खाना पकाउने क्रममा आफैले लगाएको कपडामा आगो लागेर जलेर घाइते भएकी नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । नेपालीको दुवै खुट्टा र कम्मरको ३६ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउनुभएको छ । उहाँले प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४ को शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सन्देशमा भन्नुभएको छ, “स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो ।” बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले समाचारमाथि नागरिकको सहज पहुँच स्थापित हुने बताउँदै उहाँले यस प्रकारको पत्रकारिताले सञ्चार माध्यमबाट सबै वर्ग समुदायको आवाज मुखरित हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउँदै उहाँले सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्बाध रूपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो भन्नुभएको छ । युनेस्कोले तय गरेको ‘पृथ्वीका लागि प्रेसः वातावरणीय सङ्कटको युगमा पत्रकारिता’ भन्ने नाराले समेत वातावरणीय सङ्कट निवारणमा प्रेसको भूमिका अपेक्षा गरेको उहाँको भनाइ छ । सन्देशमा उल्लेख छ, “नेपाली सञ्चार जगत् संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने छ भन्ने पूर्ण विश्वासका साथ राज्यका तीन वटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्यसम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न प्रेस जगत्लाई सफलता प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु ।”