काठमाडौं: सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । यसअघि कांग्रेस(माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए । ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । जस अनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएका सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘कतै विश्वासको मत फिर्ता लिने, कतै मन्त्रीहरुलाई बर्खास्त गर्ने भइरहेको छ । राजनीतिक रुपमा सहज होस्, केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस् भनेर गरिएको हो’, सञ्चारमन्त्री शर्माले भनिन् । नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रदेश प्रमुख नेकपा एमाले निकट हुन् ।
काठमाडौं: नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेका हुुन् । प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभको बैठकमा अनिवार्य उपस्थित हुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निदेएशन (ह्विप) जारी गरिन्छ ।’’ कांग्रेस सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले २१ फागुन नयाँ गठबन्धन बनाएका थिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)सहितको नयाँ गठबन्धन बनेको छ । गठबन्धन फेरिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ ।
काठमाडौं: कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपबहादुर खत्रीको मृत्यु भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “जुनेली यातायातको बसको ठक्करबाट उनी गम्भीर घाइते भएर अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएका उनका हिजो उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।” बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए ।
काठमाडौं: राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार संसद भवन नयाँ बानेश्वरमा नेकपा (माओवादी केन्द्र)का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । सङ्घीय संसदको निर्वाचन कार्यतालिका अनुसार दाहाल र शर्माले उम्मेदवारी दर्ता गराएका हुन्। दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा नेकपा (एकीकृत समाजवादी)का बेदुराम भुसाल छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका किरणबाबु श्रेष्ठ छन् । भोलि (मङ्गलबार) बस्ने राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ ।
गाेरखा: नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशन अन्तर्गत आइतबार राति सकिएको मतगणना अनुसार उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले हराएर विजयी भएका हुन् । थापाले २८० मत पाउँदा नेपालीले २०५ मत ल्याए । नयाँ कमिटीको उपाध्यक्षमा कमल दानी र कृष्ण काप्रीलाई हराएर मेनबहादुर अधिकारी विजयी भए । अधिकारीले २७० मत प्राप्त गर्दा दानीले १२१ र काप्रीले ७१ मत ल्याए । सचिवमा सर्वाधिक ३५३ मत ल्याएर काजीराम रोका विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए । उपसचिवमा मनोज जोशी र शान्ति चापागाईं निर्वाचित भएका छन् । जोशीले २६५ मत सहित विजयी हुँदा प्रतिस्पर्धीहरू विष्णुप्रसाद पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत पाए । अर्को उपसचिवमा चापागाईंले ३२० मत पाउँदा नानीमाया थापाले १५० मत ल्याइन् ।
म्याग्दी: प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गिएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार ३०० मिटर हो । टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए । ‘पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको लर्को लागेको छ’, उनले भने, ‘टोड्केको दायाँ र बाँया रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।’ मङ्गला–२ सहश्रधारादेखि नवविवाहित श्रीमतीलाई लिएर आइतबार टोड्के आएका आरुस किसानले स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन चङ्गा बनाएको अनुभव सुनाए । ‘गुराँस, चराको चिरविर आवाज र हिमालको दृष्यले लठ्ठै बनायो’, उनले भने, ‘हिमाल हेर्दै गुराँससँग रमाउँदा दिन बितेको पत्तै भएन ।’ गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने मङ्गला गाउँपालिका–१ पूर्णगाउँका ७० वर्षीय दुर्गादत्त आचार्यले बताए । आचार्यले आइतबार टोड्केमा पुगेर गुराँसका बोटमा रमाउने र फोटो खिचाएर फर्किए । टोड्केमा गाडा रातो र रातो रङको गुराँस पाइन्छ । गुराँसको फूलबाट जुस बनाउनका लागि अध्ययन गर्न काठमाडौँबाट केही दिनमा प्राविधिक टोली टोड्के आउन लागेको होटल व्यवसायी भीम शेरचनले बताए । गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमिका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्य पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ । सो ठाउँमा यस वर्ष गुराँस पार्क बनाउन रु पाँच लाख बजेट विनियोजन भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । टोड्के घुमेर फर्कदा याममा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुँदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दूरीको सडक प्रयोग गर्न सकिन्छ । उनान्तीस किलोमिटर दूरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवतजावत गर्ने क्रममा प्राकृतिक उपचारस्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किलोमिटर दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिकस्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ । पैदलयात्रा गर्न चाहनेका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरबार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । धौलागिरि हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घन्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे (घरवास)को सुविधा छ ।
पाेखरा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको सचिवालयले बताएकाे छ । सभामुख घिमिरेले विश्वासको मत लिने सम्बन्धि व्यवस्थाका लागि फागुन २९ गते कार्यव्यवस्था परामर्श बैठक बोलाएका छन् । उक्त बैठकले सो सम्बन्धमा कार्यसूची तय गर्नेछ । नयाँ सत्ता गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी आबद्ध छन् ।
पोखरा: नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल फेदिखोला गाँउपालिकाकाे प्रथम अधिवेशनबाट टकबहादुर गुरुङ(आचम) अध्यक्षमा चयन भएका छन् । टकबहादुरको नेतृत्वमा १५ सदस्ययि कमिटि गठन गरेको छ । सो समितिको उपाध्यक्षमा सुमन गुरुङ, सचिवमा रामकाजी गुरुङ, उपसचिवमा गौतम गुरुङ र राजकुमार जिटी, कोषाध्यक्षमा मिना गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा अर्जुन गुरुङ, सुवास गुरुङ, बुद्धिमाया गुरुङ, तारा भुजेल, कृष्णमान श्रेष्ठ, उत्तम गुरुङ, बमबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ र सन्तोषी गुरुङ चयन भए । नवनिर्वाचित कमिटिलाई अध्यक्ष मण्डलका अध्यक्ष लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका उपाध्यक्ष चिनमाया गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । अध्यक्ष मण्डलमा महासंघको प्रदेश सचिवालय सदस्य अविलास गुरुङ र स्याङजा जिल्ला सचिव लक्ष्मी थापामगर रहेकी थिइन् । नवनिर्वाचित अध्यक्ष टकबहादुर गुरुङले फेदिखोला गाँउपालिकामा बसोवास गर्ने आदिवासी जनजाति समुदायलाई महासंघको झण्डा मुनि गोलबन्द गर्न सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय सचिव एवम गण्डकी प्रदेश इञ्चार्ज, नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुमबहादुर गुरुङले आदिवासी जनजातिहरुले राजनीति र राजनीतिक शक्ति नबुझाले पछाडि पारिएको धारणा राख्दै राजनीतिक चेत, जागरण, अधिकारप्रति सजग हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य देवी थापा, जिल्ला सचिवालय सदस्य एवम फेदिखोला इञ्चार्ज पुष्पराज बराल, महासंघ गण्डकी प्रदेश उपाध्यक्ष चिनमाया थापा, महासंघ प्रदेश सचिवालय सदस्य तथा फेदिखोला वडा नं.२ का वडाध्यक्ष अविलास गुरुङ, महासंघ स्याङजा जिल्ला अध्यक्ष तथा फेदिखोला गाँउपालिका उपाध्यक्ष देउकुमारी गुरुङ, महासंघ जिल्ला सचिव लक्ष्मी थापामगर लगायतले शुभकामना व्यक्त गरेका थिए । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ स्याङजा खेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा टकबहादुर गुरुङले स्वागत र भिमकुमारी गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा व्यक्त गरेका छन् । नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । ल्होसार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।