काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकले आगामी वैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधिसभा र बझाङ– १ प्रदेशसभाको उपनिर्वाचनमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लगाउने बुझिएको छ । उपनिर्वाचनका लागि अन्य दलहरूले उम्मेदवारको टुंगो लगाइसके पनि कांग्रेस भने छलफलमै रहेको छ । कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् । इलाम-२ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ । यसअघि, सभापति देउवाले हिजो इलाम-२ को सन्दर्भमा रिपोर्ट लिएका थिए । इलामको अध्ययन गर्न महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङदम्बे र कोशी प्रदेश सभापति उद्धव थापा खटिएका थिए ।
पोखरा: नेपाली नयाँ वर्षको अवसरमा पोखरामा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव हुने भएको छ । होटल संघ पोखराको आयोजनामा हुने सो महोत्सवबारे पोखरामा आज पत्रकारसम्मेलन गर्दै जानकारी दिइएको हो । होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले उक्त महोत्सव यही चैत २९ देखि वैशाख १ गतेसम्म महोत्सव आयोजना हुने बताए । उनले सो महोत्सवपश्चात आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्बिने विश्वास रहेको बताए । उनका अनुसार सो महोत्सव पोखराको खहरेचोकदेखि ड्यामसाइडचोकसम्म सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित मनाइनेछ । उनले उक्त सडकखण्डका विभिन्न चौतारीमा नेपालीपन झल्किने खालका बाजागाँजासहित साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने बताए । उनले विशेषगरी नेपाली समुदायमा प्रचलित मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्धेश्य रहेको उल्लेख गरे । सो महोत्सवमा करिव ३ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा लिएको छ । महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी ¥याली, पर्यटक दौड प्रतियोगिता लगायतको कार्यक्रम आयोजना गरिने छ । सो अवसरमा होटल संघ पोखरामा आवद्ध होटलहरुमा महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुटकोसमेत व्यवस्था गरिएको संघले जनाएको छ ।
लमजुङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटिको नवौँ जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरे । बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष थिए । यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । उपाध्यक्षसहित उपसचिवसमेतमा विष्ट पक्ष विजयी भएका छन् । यस कमिटिको उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित भए । गुरुङले दुई सय ४२ मत प्राप्त गरे भने पौडेलले दुई सय ३७ मत प्राप्त गरे । त्यस्तै, सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी भए । राजेन्द्रले तीन सय ५८ मत प्राप्त गरे भने मिश्रले एक सय १९ मत प्राप्त गरेका थिए । उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गरे भने अधिकारले एक सय २९ मत प्राप्त गरे । सहसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भइन् । आइतबार भएको मतदानमा पाँच सय ३२ जना सहभागी हुनुपर्नेमा पाँच सय छ जनाले गरेका थिए । निर्वाचित कमिटिको कार्यकाल तीन वर्षे रहने छ ।
काठमाडौं: रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने १० पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए ।
पोखरा: क्षत्री समाजको चौथो केन्द्रीय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ । क्षत्री समाजले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै चौथो महाधिवेशन दमौलीमा चैत २५ र २६ गते गर्ने जानकारी दिएको हो । क्षत्री समाजका महासचिव केशबहादुर केसीले तनहुँको दमौलीमा चैत २५ र २६ गते हुने चौथो महाधिवेशनमा देशभरबाट ४ सय प्रतिनिधि आउने बताए । ‘क्षत्री समाजको जिल्ला र प्रदेश समितिहरको अधिवेशनलाई सम्पन्न गरिसकेका छौं’, महसचिव केसीले भने,‘जिल्ला र प्रदेशको अधिवेशनपछि केन्द्रको चौथो महाधिवेशन चैत २५ र २६गते तनहुँको दमौलीमा आयोजना गरेका छौं ।’ क्षत्री समाजले विगतमा भएका सरकार पक्षसँग भएको सम्झौतालाई पालना गर्दै खस जातिको पहिचान र इतिहासलाई कायम गराउन अस आयोगको गठन गर्नुपर्ने माग समेत गरेको छ ।
काठमाडौं: बागमती प्रदेशसभाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे प्रदेशसभा भवन हेटौँडामा बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । बाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेसले समर्थन फिर्ता लिएको चैत २२ गते एक महिना पूरा हुँदैछ । ११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जोगाइराख्न ५६ सांसदको आवश्यकता पर्दछ । बागमती प्रदेशमा सत्तापक्षमा रहेका नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् । यस्तै, प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सदस्य छन् ।
काठमाडौं: एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा रजत पदक जितेकी छिन् । सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडी सँग ३–२ ले पराजित भएकी हुन्। त्यसअघि यू–२१ महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले स्वर्ण पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुला र यु २१ दुवैको फाइनलमा पुगेकी थिइन्। अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका थिए। एरिका र विप्लभलालका साथ प्रशिक्षकद्वय दीपक श्रेष्ठ र कुशल श्रेष्ठ छन्।
कास्की: कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यानकी १५ वर्षीया सोनिसा सुनार पोखरा बसेर पढ्थिन् । उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन्। कक्षा ९ को वार्षिक परीक्षा सकिएपछि घर निस्किएकी थिइन् । उनीसँगै आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिम घर सल्यान जाँदै थिइन् । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन । घर जानका लागि चारैजना चढेको ग १ ज ५५४७ नम्बरको बोलेरो जीप आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा सडकबाट दुई सय ५० मिटर तल खसेर दुर्घटना भयो । दुर्घटनापछि घाइते चारै जनाको अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । यो पनि पढ्नुहोस भदौरे जीप दुर्घटना: घाइतेको मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै पोखराको हरिचोक सल्यान रुटमा चल्ने जीप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते सोनिसाको हात र खुट्टामा चोट छ भने परिवारका अन्य सदस्यको अवस्था मध्यम छ । सोनिसा जीपको अघिल्लो सिट थिइन् । ग्रामीण सडक भए पनि जीपको गति तीव्र थियो । ‘सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरीत दिशाबाट एउटा मोटरसाइकल आयो । मोटरसाइकल तीव्र गतिमा थियो । घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जीप भिरमा खस्यो’, सोनिसाले दुर्घटनाबारे बताइन् । उनका अनुसार घुम्तीमा दायाँ मोडिनुपर्ने जीप बायाँ मोडिएर भिरबाट तल खसेको थियो । दुर्घटनापछि स्थानीयले उद्धार गरी अस्पताल ल्याएको सोनिसाको भनाइ छ । ‘दुर्घटनापछि पनि म पूरै होसमा थिएँ । हामीलाई गाउँकै अन्यले उद्धार गरी अस्पतालमा ल्याएका हुन्’, उनले भनिन् । उक्त दुर्घटनामा परि पोखरा–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको छ । घाइते १० जनामध्ये ६ जनाको मणिपाल र अन्य ४ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । परिषद्मा आइतबार खेल संघहरुसँग बैठक बस्दै १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरुलाई निर्देशन दिएको हो । परिषद्ले सबै खेल संघहरुलाई बैशाखभित्र सबै खेलहरु सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडीहरुको छनौट गर्न निर्देशन दिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै घोषणा गरिसकेको छ । बैठकमा बोल्दै परिषद्का सदस्य सचिव श्रीधर शर्माले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखमा हुने पूर्व तयारीका लागि करिव १ करोड ७५ लाख खर्च हुने बताए । उनले छनौट प्रतियोगिताहरु एक जिल्लामा मात्रै सिमित नगरी सम्भव भएसम्म प्रदेशका सबै जिल्लामा आयोजना गरी तयारी गर्नसमेत आग्रह गरेका थिए । सो बैठकमा प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, ३६ वटै खेल संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।