पोखरा:  पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम  दिइएको छ ।  साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्य...

काठमाडौं:    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।  सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।

काठमाडौं:    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिनको प्रतिवेदन संसद्‌मा पेस गर्न माग गरेको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले बालकुमारी घटनाबारे छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा पेस गर्न माग गरेका हुन् ।   साथै सो घटनामा छानबिन आयोगको प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र घटनामा दुई युवाको हत्या भएको प्रधानमन्त्रीको अभिव्यक्तिका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेले माग गर्दै आएको छ ।  शुक्रबार बसेको संसद बैठकमा पनि सांसद भट्टराईले उक्त माग गरेका छन् । 

ढोरपाटन:     बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिनुभयो । हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उहाँ बताउनुहुन्छ । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ । “बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो ९बिहीबार० दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन”, अदैले भन्नुभयो, “एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मङ्सिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।” गत मङ्सिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो । तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन् ।  ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन् । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो । हिमपातले जनजीवनमा सामान्य असर परेको उहाँले बताउनुभयो । 

काठमाडौं:     आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ । बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, बैठक सञ्चालनका लागि आवश्यक गणपूरक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो । यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर बैठकमा  सुनाउने छन् भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेस गर्ने तयारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।  अर्थ मन्त्री प्रकाशशरण महतले भन्सार विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा प्रस्तुत गर्नेछन् । साथै, बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८०लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा दिलकुमारी थापाले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्। अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ लाई पनि सभा समक्ष पेस गर्नेछन् ।  यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन् भने, आजै सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव समेत पेस गर्ने तयारी रहेको महासचिव पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

काठमाडौं:    नेपालले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा इराक विरुद्ध ५-० फराकिलो जित दर्ता गरेको छ । खेलको सुरुवाती समयमा खेलमा आफ्नो पकड बनाउन नसकेको नेपालले त्यसपछि भने लगातार आक्रमण बुन्यो । इराकले बल राख्ने बित्तिकै हाइ–प्रेस गर्दै नेपालले इराकलाई सहजै बल राख्न दिएको थिएन । सातौं मिनेटमा नेपाल गोल गर्नको निकै नजिक पुगेर चुक्यो । साम्बाको क्रसमा रेखा पौडेलले बक्स भित्रबाट गरेको प्रहार पोस्टको बाहिरपट्टि लागेर बाहिरियो । नवौं मिनेटमा रेखाको पासमा अमिषा कार्कीको प्रहार ब्लक हुन पुग्यो । ११औं मिनेटमा साम्बाको फ्रि-किक प्रहार पोस्टमाथि बाट बाहिरियो । १४औं मिनेटमा साम्बाले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले आफ्नै हाफबाट खेलेको पासमा आफ्नो तिव्र गतिको प्रयोग गर्दै उनले सुन्दर फिनिशका साथ नेपाललाई खेलमा अग्रता दिलाएकी हुन् । १६औं मिनेटमा साम्बाले नै नेपालको दोस्रो गोल गरिन् । इराकी डिफेन्डर दिरिन मुल्लाबाकरबाट बक्स भित्र नै बल खोसेर उनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । १९औं मिनेटमा रेखाले गोल गर्ने राम्रो अवसर खेरा फालिन् । उनको प्रहार गोलरक्षक जाहरा अल सदेइले बचाइन् । २१औं मिनेटमा प्रिती राईले साम्बाको पासमा गरेको प्रहार पनि अल सदेइले बचाइन् । २६औं मिनेटमा अनिता बस्नेतले कर्नरबाट पोस्टमा प्रहार गरिन् । पहिलो खेलमा उनले सिधै कर्नरबाट गोल गरेकी थिइन् । रिबाउन्डमा साम्बाले पोस्टभन्दा माथि प्रहार गरिन् । २८औं मिनेटमा अनिता बस्नेतले बक्सको दायाँ भागबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । ३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पूजा रानाले गरेको क्रसमा सहजै हेडर मार्फत गोल गर्दै उनले नेपालको अग्रता पनि तीन गोलको बनाइन् । ४४औं मिनेटमा उनले अर्को गोल थपिन् । रेखाको पासमा उनले गरेको पहिलो प्रहार अल सदेइले बचाएपनि दोस्रो पटकमा गोल गर्दै उनले खेलमा व्यक्तिगत चौथो गोल गरिन् । ४८औं मिनेटमा अमिषा कार्कीको प्रहार अल सदेइले बचाइन् । ६०औं मिनेटमा प्रितीले बक्सको छेउबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । ६८औं मिनेटमा प्रितीकै फ्रि–किकले पोस्टको दिशा लिन सकेन । ८०औं मिनेटमा साम्बाले पाँचौं गोल गरिन् । प्रितीको थ्रु–पासमा साम्बाले खेलमा रन बनाउँदै उनले इराकी गोलकिपरलाई बिट गर्दै खेलमा नेपालको र व्यक्तिगत पाँचौं गोल गरिन् । पहिलो हाफमा  सावित्रा भण्डारी ‘साम्बा’ ले चार गरी कुल पाँच गोल गरेसँगै आफ्नो अन्तराष्ट्रिय करियरमा ४४ खेलमा ५० गोल पुर्याएकी छन् । नेपालको समूहमा २ खेलमा ६ अंक भएको छ । नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४–१ को सानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्ने छ । प्यालेस्टाइनले आज आफ्नो दोस्रो खेलमा सिरिया विरुद्ध खेल्नेछ । पहिलो खेलमा प्यालेस्टाइनले इराक माथि ३–० को जित निकालेको थियो । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजङ्ग बराल नियुक्त भएका छन् ।  विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा आज बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवम् अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । बराललाई शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवम् प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको उल्लेख छ । 

पोखरा:     ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ नारासहित क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा “स्व. पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार“ द्वारा वरिष्ठ पत्रकार, सामाजिक अभियन्ता, अधिकारकर्मी एवम् राजनीतिज्ञ कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुम तमु,“स्व. घनबहादुर स्मृति पुरस्कार“ लमजुङ, घाम्राङका साहित्यकार केयरसिं तमुलाई, “स्व. क्या. मिनबहादुर स्मृती पुरस्कार“ कलाकार मनबहादुर तमु (माधव), “लालशोभा उत्कृष्ट आमा अवार्ड“ चितवन, माडीका अनुपम तमुका आमा शान्तामाया तमु र “उच्च शिक्षा पुरस्कार“ गोर्खा, सिरानचोकका ई. टकबहादुर तमुलाई सम्मान गरिएको थियो ।  यस्तै “खेलाडी सम्मान“ द्वारा चीनको हाङजाउ शहरमा भएको १९ औं एसियन गेममा नेपाललाई रजत पदक हासिल गर्न सफल एरिका तमुलाई २५ हजार रुपैयासहित प्रतिष्ठानले सम्मान गरिएको थियो भने विभिन्न खेल संस्था, खेलाडीहरु र संघ संस्थाका अगुवाहरुको तर्फबाट नगद, सम्मानपत्रसहित सम्मान गरिएको थियो ।  कार्यक्रममा यू.के. निवासी प्रनिशा तमुले प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी फार्मेसीमा स्नातक तह अध्ययनरत स्नेह तमुलाई शैक्षिक सहयोगका लागि ल्यापटप हस्तान्तरण गरिएको थियो ।  ग्रामिण भेकका सामुदायिक विद्यालयमा अध्ययनरत नेपालका २५ जिल्लाका २५० भन्दा बढी विद्यार्थीहरुलाई विभिन्न अक्षयकोषदाता सहयोगीहरुको कोषबाट छात्रवृत्ति वितरण गरिरहेको प्रतिष्ठानलाई आगामी वर्षदेखि थप ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि तमु धिं युके, तमु धिं बेल्जियम लगायत विभिन्न दाताहरुले ११ लाख २५ हजार रुपैया अक्षयकोष रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रममा पोंचोंको तमु समाज, चिउली पार्चे तमु समाज, पैंयूखोला तमु समाज, प्रतिष्ठानका विद्यार्थी कलाकारहरु एवम् जोनिशा तमुको नृत्य प्रस्तुतिले थप मनोरञ्जन प्रदान गरेको थियो भने प्रतिष्ठानका नयाँ आजिवन सदस्यहरुलाई सदस्यता प्रदान गरिएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कृषि मन्त्री माननीय वेदबहादुर तमु (श्याम)ले शुभकामना व्यक्त गर्नुहुदै तमु साँस्कृतिक प्रतिष्ठान एक उत्कृष्ट संस्था रहेको क्रियाशिल रहेको बताउनुभयो। उहाँले राज्यले गर्न नसकेको कार्य तमु संस्कृतिक प्रतिष्ठानले गरेको र दक्ष युवा स्वदेशमै केही गर्ने युवाहरु निर्माण आजको आवश्यकता रहेको बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष चित्र तमुको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, सम्मानित हुम बहादुर गुरुङ, एरिका गुरुङ आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्रीजंग गुरुङ र कार्यक्रम सञ्चालन सचिव कञ्चन गुरुङ, विद्यार्थी समितिका सचिव कविता तमु र सह–सचीव प्रज्वल तमुले कार्यक्रम सन्चालन गर्नुभएको थियो। 

काठमाडौं:     क्यानडा–११ ले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ । तेस्रो खेलमा ४ विकेटको जितका साथ क्यानडा–११ ले सिरिज आफ्नो पक्षमा पारेको हो । मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक बनाए । किर्तनले ७९ बलमा ६ चौकासहित ५८ रनको योगदान दिए । यससँगै क्यानडाले ३ खेलको सिरिज २/१ ले आफ्नो पक्षमा पारेको छ । क्यानडाले पहिलो खेल ४ विकेटले जितेको थियो । दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले आक्रामक सुरुवात दिलाएका थिए । उनले ३१ बलमा २ चौका र ४ छक्कासहित ४२ रन जोडे । अर्का ओपनर सृमन्थ विजयरत्ने ११ बलमा १० रन जोड्दै पाँचौ ओभरमा पेभेलियन फर्केका थिए । नवौं ओभरमा जोन्सन आउट हुँदा टोलीको स्कोर ५८ रन थियो । दुवै साहब आलमको बलमा विकेटकिपर अर्जुन कुमालबाट स्टम्पिङ आउट भएका थिए । दिलप्रित बज्वा ११ रन र हर्ष ठाकर २ रनमा आउट हुँदा क्यानडा केहि समस्यामा परेको थियो । तर अर्को एण्डमा निकलस किर्तनले इनिङ सम्हाले । निखिल दत्त ३५ बलमा १४ रन जोड्दै आउट भए । त्यसपछि नवनित धलिवल र किर्तनले बलियो साझेदारी गर्दै जितनजिक पुर्याए । छैटौं विकेटका लागि यी दुईले ६७ रनको साझेदारी गरे । धलिवल ४३ बलमा ४ चौकासहित ३२ रन जोड्दै आउट भए । नेपालका लागि साहब आलमले ४ तथा शेर मल्ल र बसिर अहमदले १(१ विकेट लिए । त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोडेको थियो । नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० रन कटाउन सकेनन् । पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो । ब्याटरहरुले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् । ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भएका थिए । लगत्तै अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे । २१ औं ओभरमा अर्जुन कुमाल पनि स्टम्पिङ आउट भए । उनले ५३ बलमा २ चौकासहित २७ रन जोडे । २४ औं ओभरमा कप्तान सन्दीप कट बिहाइन्ड भए । उनले २८ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए । उनी आउट हुँदा नेपाल ८७-४ को स्थितिमा थियो । राशीदले खान २५ बलमा १९ रन जोडे । सुजन थपलियाले किर्तनको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बलमा २० रन बनाए । बसिर अहमद ४० बलमा ३ चौकासहित २५ रन जोड्दै रनआउट भएपछि नेपाल संकटमा परेको थियो । त्यसपछि प्रतिश २० बलमा १९ रन जोड्दै हर्षको बलमा क्याच आउट भए । लगत्तै अर्को बलमा साहब आलम गोल्डेन डक आउट भए । अन्तिम विकेटका रुपमा हेमन्त ६ रनमा रनआउट भएका थिए । नेपालले आजको खेलका लागि टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् । आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसी टोलीमा आएका छन् ।क्यानडा(११ ले टोलीमा दुई परिवर्तन गरेको शह । दिलप्रित बज्वा र कलीम साना टोलीमा आएका छन् । क्यानडाका लागि कलीम साना नेपाल भ्रमणमा पहिलो पटक खेल्न लागेका हुन् ।

पोखरा:   ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो ।   लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे ।    उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको एट टु नाइन एफसीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्याे ।    सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा लामागाउँ गुम्बाका सन्तोष गुरुङ घोषित भए । उनलाई  सर्वाेत्कृष्ट खेलाडीको ट्रफिसहित नगद रु १० हजार प्रदान गरेको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । गुरुङका अनुसार सोही टिमकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक बने ।   यस्तै सर्वाधिक गोलकर्ताका रुपमा एलसी ब्रदर्शका अजित गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा एट टु नाइन एफसीका मनिल गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै धुव्र घिमिरे ट्रफि र जनही नगद ८ हजारसहित पुरस्कृत भए ।   प्रतियोगिताबाट अनुशासित टिमका रुपमा एन टु क्याफे टुंडिखेलको टिम नगद रु १० हजारसहित ट्रफिद्वारा पुरस्कृत बन्यो ।    प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहन कुमार थापा, क्लबका सल्लाहकारहरु, क्लबका अध्यक्ष तथा आर्थिक सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए ।   गत १ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको थियो ।