काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

धनगढी:   सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाका सभामुख भीम भण्डारीले बझाङ १ बाट गत वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी भण्डारीलाई शपथ खुवाएका हुन् । चुनावी प्रचारकै क्रममा भण्डारीका बुवाको निधन भएको थियो । उपचुनावमा विजयी भएका उनी बुवाको काजकिरियामा बसेकाले शपथ रोकिएको थियो । ०७९ मंसिरको प्रदेश सभाको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २०८० असार ५ गते सडक दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका भण्डारीले दिवंगत पृथ्वीबहादुरकै छोरा एवम् नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका हुन् । भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । भण्डारी निर्वाचित भएसँगै प्रदेश सभामा एमालेका सांसद ११ पुगेका छन् । यसअघि प्रदेश सभामा एमालेका १० सांसद थिए । भण्डारीको शपथसँगै अब मुख्यमन्त्री दीर्घ सोडारीका लागि विश्वासको मतको ढोका पनि खुलेको छ । यसअघि एमालेले दुई पटकसम्म सोडारीलाई विश्वासको मतमा रोकिसकेको छ ।

विराटनगर:     कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मत कार्कीलाई मुख्यमन्त्रीको दाबी पेश गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका छन् । अहिले सांसदहरू सनाखतका लागि पुगेका छन् । एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै एमाले र माओवादीका ५२ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । ती सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्रसहित सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा बोलाइएको छ ।  

पोखरा:   कास्कीका मादी गाउँपालिका–५ स्यालटुडा छाचोकबाट पोखरातर्फ आउँदै गरेको टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।  आज बिहान १०:४५ बजेको समयमा छाचोकबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ४२९८ नम्बरको टिप्पर दुर्घटना हुँदा नुवाकोटका दुईजना घाइते भएका हुन् ।  टिप्पर दुर्घटना हुँदा नुवाकोट ककनी गाउँपालिका–३ घर भई पोखरा महानगर–२६ बस्ने ३५ वर्षीय धनबहादुर तामाङ र ५२ वर्षीय कृष्णबहादुर लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कास्की प्रहरीले जनाएको छ ।  स्यालटुडा छाचोकबाट ढुङ्गा लोड गरेर पोखरातर्फ आउँदै गरेको टिप्पर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो । दुर्घटनापछि चालक फरार रहेको र अहिले खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

विराटनगर:    एमाले-माओवादीको गठबन्धले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् । प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्। एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका छन्। एमाले माओवादी गठबन्धनले एमाले संसदीय दलका नेता समेत रहेको हिक्मत कार्कीलाई प्रदेशको छैटौँ मुख्यमन्त्रीको रूपमा दाबी पेस गरेको हो। प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारी गरेका छन् । प्रदेश प्रमुख  खापुङले बुधबार साँझ संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए । यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए ।

पोखरा:     पोखरामा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधवारदेखि सुरु भएको छ । यससँग सम्बन्धित महानगरपालिकाका कर्मचारी तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि सुरु गरिएको प्रशिक्षण कार्यक्रम शुक्रवार सम्म चल्नेछ । कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले विद्युतीय सेवामा आधारित नागरिक सेवा निकै प्रभावकारी हुने भएकाले घर तथा भवनहरू निर्माणका लागि यस प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । ‘प्रविधिको विकास तिव्रत्तर रूपमा अगाडी बढिरहेको छ, प्रमुख आचार्यले भन्नुभयो, समयको गतिसँगै सेवामा आधुनिकता र प्रविधिको उपयोग अपरिहार्य जस्तै भइसक्यो ।’ विकसित प्रविधिको आत्मसाथ गर्न सकिएन भने वैज्ञानिक ढङ्गले काम वा सेवाको गुणस्तर कायम गर्न नसकिने उहाँले बताउनुभयो । पोखरामा आगामी दिनमा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम लागु गर्न आवश्यक पूर्वाधार तयार गरिने उहाँले बताउनुभयो । ‘यसमा लाग्ने जनशक्ति र पूर्वाधारको तयार गरी यथाशीघ्र लागु गरिनेछ’, उहाँले भन्नुभयो । ६० वर्षदेखि मापदण्डको पर्खाइमा रहेको पोखरामा निकै मिहिनेत पश्चात् मापदण्ड सम्बन्धी आचारसंहिता जारी गरिएको उहाँले बताउनुभयो । पोखराको भौगर्भिक तथा वैज्ञानिक अध्ययन गरी कुन स्थानमा कस्तो प्रकारको संरचना निर्माण मिल्छ भन्ने कुराको निक्र्यौल पश्चात् उक्त आचारसंहिता जारी गरिएको उहाँले उल्लेख गर्नुभयो । पोखरामा निर्माण हुने भवनहरूलाई ऊर्जा सबलीकरणयुक्त बनाउने सम्बन्धमा युरोपियन युनियनको सहयोगमा बिन परियोजना लागु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । ‘अव पोखरामा बन्ने घर तथा भवनहरू वातावरणमैत्री र ऊर्जा सबलीकरणयुक्त बनाइनेछ ।’ प्रमुख आचार्यले भन्नुभयो, ‘यसका लागि बिन परियोजनाको सहायतामा आवश्यक तयारी गरिनेछ ।’ जलवायु परिवर्तनको असरका कारण जनजीवन तथा वातावरणमा देखिएका अल्पकालीन तथा दीर्घकालीन समस्याहरूको समाधानका लागि पनि दिगो निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो । युएनडिपीको सहयोगमा लागु गर्न लागिएको इलेकट्रोनिक बिल्डिङ परमिट प्रणाली ९इबिपिएस० एक वेबमा आधारित प्रविधि हो । जसलाई युएनडिपीले २०१५ मा निर्माण अनुमति प्रक्रियालाई व्यवस्थित गर्नको लागि विकसित गरेको थियो । यसको प्रयोगले सेवामा जबाफदेहिता, दक्षता र पारदर्शिता बढ्नुका साथै राष्ट्रिय भवन संहिताका प्रावधानहरूलाई एकीकृत समेत गर्दछ । हाल देशभरका १९ नगरपालिकाहरुले यसको प्रयोग गरिरहेका छन् । यसको प्रयोगका लागि युएनडिपीले स्रोत कोड प्रदान गर्नेछ । सूचना प्रविधि विभागले नगरपालिकाहरूलाई ई–प्रणालीहरू इबिपिएस वा राजस्व सम्बन्धित सफ्टवेयर र अन्य निःशुल्क कार्यान्वयन गर्न क्लाउड स्पेस प्रदान गर्दछ । नगरपालिकाहरूको अनुरोधका आधारमा प्रयोगकर्ता नाम र पासवर्ड भने सूचना प्रविधि विभागले उपलब्ध गराउँदछ । विभागले नगरपालिकाहरूलाई क्लाउड स्पेस सहित १ वर्षको परीक्षण अवधिका साथ अपरेटिङ विन्डोज सिस्टम’ पनि उपलब्ध गराउँछ । तिन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा महानगरपालिकाका ३३ वटै वडाका प्राविधिकहरूलाई प्रशिक्षण प्रदान गरिनेछ । 

काठमाडौं:     नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ । कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज दिउँसो १ बजे र दलको बैठक २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने तय गरेको थियो । तर, मंगलबार निधन भएका पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सूर्यमान गुरुङको अन्त्येष्टि आज हुने भएकोले बैठक सारिएको कांग्रेसले जनाएको छ । संसदीय दल कार्यसमितिको बैठक अब शुक्रबार ८ बजे र दलको बैठक साढे ८ बजे ल्होत्से हलमै बस्ने कांग्रेसले जनाएको छ ।  

काठमाडौं:     नेपाल प्रहरीले ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।      

काठमाडौं:    आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति क्षेत्रमा भेटिएकी छिन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिनुभयो । उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको बताउनुभयो ।   “अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ”, प्रवक्ता अधिकारीले भन्नुभयो । उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् । परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएको छ ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुग्नुभएको छ। बुधबार बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको हो। अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको गरिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । उहाँले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गर्नुभएको थियो ।