पोखरा: पिप्ले बास्केटबल क्लबले यु–२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ । महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यु–२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३–४३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाइभ वाई फाइभ बास्केटबलको पहिलो क्वाटरमा पिप्लेले १८–१२ को स्कोर निकालेको थियो । दोस्रो क्वाटरमा ३०–९, तेस्रो क्वाटरमा १६–१० र अन्तिम क्वाटरमा २५–१२ को स्कोर निकालेको हो । उपाधिसँगै पिप्लेले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता केबिएले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पिप्लेका पुस्कल छन्त्याल प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए । उनले ट्रफी हात पारे । यस्तै केबिएका विपुल गुरुङले सर्वाधिक स्कोररको ट्रफी हात पारे । उनले खेलभर कुल १३ स्कोर गरे । २८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको थियो । शनिबार नै फाइनल खेल हुने भनिएपनि वर्षाका करण खेल आइतबार भएको हो । फाइनल खेलको समापनमा बोल्दै खेलकुद परिषद गण्डकीका उपाध्यक्ष तथा गण्डकी बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले आगामी वर्षदेखि प्रदेशले प्रतियोगितालाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । बास्केटबल पनि लोकप्रिक खेल मध्येकै एक रहेको र यसको प्रतियोगिताहरु हुँदै आइपनि अझ चर्चामा ल्याउन आवश्यक रहेको उनले सुनाए । क्लबका अध्यक्ष आनन्द तझ्याले युवा खेलाडी लक्षित गरेर यु–२३ बास्केटबलको आयोजना गरेको बताए । प्रतियोगितालाई सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले अब महेन्द्रपुल युथ क्लब पुनः जागरण भएको र हरेक वर्ष विभिन्न खेल गतिविधिको आयोजना गर्ने बताए ।
पोखरा: पोखरा महानगरपालिका ३३ बरपाण्डेथुमस्थित शान्ती उदय उच्च माविको कार्यालय,कक्षाकोठा तोडफोड गरी ल्याप्टप लगायत विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले ४ बालकलाई पक्राउ गरेको छ । विद्यालयको कक्षाकोठा, कार्यालय तोडफोड गरेर ल्याप्टप, ईलेक्ट्रोनिक डिभाईसहरु चोरी गरेको आरोपमा प्रहरीले शनिबार ४ बालकलाई पक्राउ गरेको हो । पोखरा ३३ बरपाण्डेथुमस्थित शान्ती उदय उच्च माविको कार्यालय,कक्षाकोठा तथा कम्प्युटर ल्याव शाखाको ढोका फोरी चोरी भएका विभिन्न कम्पन्नीका १० थान ल्याप्टप,७ थान चार्जर, ५ थान माउससहित ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले टोलिले बालकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए । प्रहरीले चार बालको साथबाट बरामद गरेको चोरी भएको सामान । फोटो: कास्की प्रहरी उनका अनुसार बालकहरुले विद्यालयको ल्याप्टप, कम्प्युटर,सिसि क्यामेरा, सिसिटिभि मटिनर, लाईट, प्रोजेक्टर,साउण्ड स्पीकर कन्ट्रोलर,स्टेशनरी कागजातमा समेत क्षति पुर्याएको बताए । विद्यालय तोडफोड गरी ल्याप्टप लगायतका सामान चोरी गरेको आरोपमा प्रकाउ परेका चारै जना बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारप्रति जनताको आशा बढाउनको लागि स्पष्ट योजनाका साथ कार्यसम्पादन गर्नुपर्ने बताउनु भएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आर्थिक वर्ष ०८०/०८१ को कार्य प्रगति विवरण सहितको छलफल कार्यक्रममा बोल्दै उहाँले कर्मचारीलाई कामको गति बढाउन निर्देशन दिनुभयो । ‘प्रदेशको औचित्य पुष्टि गर्ने कुरा तपाईको हातमा छ, कर्मचारीको प्रभावकारी कार्यसम्पादनले जनतामा आशा जगाउँछ’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । यसको लागि मन्त्री, सचिवदेखि कर्मचारीको कार्य प्रगति विवरण आफूलाई चाहिने उहाँले खुलाउनुभयो । प्रि–मनसुन सुरु भइसकेको भन्दै मनसुनका कारण हुने क्षतिलाई न्यूनिकरण गर्न तथा विपद्का घटना भइहालेमा तत्काल उद्धार राहत लगायतका कार्यगर्नको लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । ‘प्रि–मनसुनले खतराको घण्टी बजिसक्यो, मनसुनले सबैभन्दा बढी प्रभाव पार्ने हाम्रो ठाउँ हो’ उहाँले भन्नुभयो । त्यसका लागि ¥यापिड रेसपोन्स टोली सहित ‘सेन्टर एक्सन रुम’लाई सक्रिय बनाउनुपर्ने बताउनुभयो । प्रदेश सरकार अन्तरगतका सबै कार्यालयले गरेको दैनिक कार्यप्रगति विवरण आफूलाई उपलब्ध गराउन उहाँको आग्रह थियो । संविधानले दुईवर्ष सरकार नफेर्ने कल्पना गरेको भएपनि समर्थन गर्ने दलले सर्मथन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भन्ने प्रावधानका कारण स्थिर सरकार बन्न नसकेको बताउनुभयो । दैनिक कार्यमा असर पर्नेगरी कर्मचारीलाई बिदामा नबस्न समेत उहाँको आग्रह थियो । संविधानले सरकार रिक्तताको अवस्था कल्पना नगरेको कारण सेवा प्रवाह कुनैपनि समयमा रोक्न नहुने बताउनुभयो । ‘जनतालाई डेलिभरी दिनसक्नुपर्छ, पारदर्शी ढंगले काम गर्नुपर्छ, परिपक्क नभएका विषयहरु बाहिर लैजानु हुँदैन’ उहाँले भन्नुभयो । मुख्यमन्त्री अधिकारीले साना टुक्रे योजनामा बजेट छुट्याउँदा प्रभावकारी नहुने भन्दै आगामी आर्थिक वर्षको नीति तथा योजना एवं बजेट निर्माण गर्दा विशेष ध्यान दिन निर्देशन दिनुभयो । ‘निर्णय भएका काममा ढिलाई नगरौं, अत्यन्त उच्च मनोबलका साथ काम गरौं, काम गर्दा राजनीतिक रंग नदिनुहोला’ उहाँल थप्नुभयो । मुख्यमन्त्री अधिकारीले फेवातालको बारेमा सर्वोच्च अदालतले गरेको फैसलाको कार्यान्वयनको अवस्थाबारे समेत चासो राख्नुभयो । गण्डकी प्रदेशका प्रम्ुख सचिव लक्ष्मी कुमारी बस्नेत र सूचना अधिकारी राजन भट्टराईले आर्थिक वर्ष ०८०/०८१ को कार्य प्रगति विवरण प्रस्तुत गर्दै विवरणप्रति मुख्यमन्त्री अधिकारीले राखेका जिज्ञासा मेटाउनुभएको थियो । उहाँहरुले प्रदेशस्तरका आयोजना कार्यान्वयनमा कतिपय संघीय कानूनहरुले अवरोध सिर्जना गर्दा आयोजना समयमै सम्पन्न गर्न नसकिएको बताउनुभयो । रोयल्टी र राजस्व बाँडफाँटको विद्यमान कानूनी व्यवस्थ तथा अभ्यास मूलतः नेपाल सरकारको अनुकूल भएकोले प्रदेशले प्राप्त गर्ने समानीकरण र रोयल्टी लगायतको अनुदान एवं राजस्व न्यून हुँदा प्रदेश सरकारलाई स्रोत व्यवस्थापन गर्न कठिनाई भएको समेत खुलाउनुभयो । प्रदेशमा रहेक तथा स्थापना हुने ठूला उद्योग व्यवसाय दर्ता र नवीकरणका लागि प्रदेशस्तरमा सम्बन्धित निकाय नहुँदा कठिनाई भोग्नुपरेको, संघीय विनियोजन ऐनको कारण प्रदेश सरकारले नेपाल सरकारका इकाईलाई सिधै बजेट अख्तियारी प्रदान गरी कामकाज गराउन कठिनाई भएको, प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यालय भवन रहेका जग्गाको स्वामित्व प्रदेश सरकार मातहत ल्याउनुपर्ने लगायतका विषय उहाँहरुले मुख्यमन्त्री अधिकारी समक्ष राख्नुभएको थियो ।
पोखरा: ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत स्याङजा जिल्लामा १० दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रादेशिक क्रिकेट संघको ब्यवस्थापनमा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले शुभारम्भ गरेका छन् । सो अवसरमा बोल्दै सदस्य सचिव शर्माले खेल्छ गण्डकी कार्यक्रम जनजनमा खेलकुद कार्यक्रमको पहुँचका लागि परिषदको महत्वकाँक्षी योजना मध्येको एक कार्यक्रम रहेको जनाउँदै गण्डकीमा महिला क्रिकेटका लागि उर्वर भूमी समेत रहेकोले कार्यक्रम मार्फत अझै उर्जावान खेलाडीहरु उत्पादन हुनेमा परिषद विश्वस्त रहेको बताए । परिषदले प्रदेशको खेलकुद विकासका लागि अभियान नै चलाएको बताउँदै उनले खेल संघहरुलाई संस्थागत सुधार संगै जवाफदेहिता पारदर्शितालाई मुख्य आधार बनाएको उल्लेख गरे । उनले भने–“संघहरुले गर्ने व्यवहार, कार्यक्षमतामा सुधार, पारदर्शी बनाउँदै अघि बढनु आजको आवश्यक्ता हो ।” खेलाडीहरु मैदानमा मात्रै नभई समाज रुपान्तरणका लागि समेत आफूलाई स्थापित गर्दै अघि बढ्नुपर्ने औंल्याए । प्रदेश खेलकुद परिषद खेलाडीहरुको हितका लागि संधै चिन्तित रहेको जनाउँदै खेलाडीको समस्याका बारेमा राजनितिक दलका नेताहरुले खेलकुदमा विश्वासको वातावरण जगाउनु पर्ने सदस्य सचिब शर्माले बताए । खेल्छ गण्डकीमार्फत नयाँ खेलाडीहरुको खोजी गर्दै उनीहरुलाई आफ्नो क्षमता अनुसार खेलकुदको मार्गमा अग्रसर गराउँदै खेल संस्कृतिको विकास गराउनु कार्यक्रमको अर्को ध्येय रहेको उनको भनाई थियो । खेलकुद क्षेत्र लैङ्गिक विभेद नभएको एक मात्र क्षेत्र रहेको जनाउँदै यो अभियानलाई समाजको तल्लो तह सम्म लैजानु पर्ने सबैको दायित्व रहेको सदस्य सचिब शर्माले बताए । खेल्छ गण्डकी मार्फत यो वर्ष सम्पूर्ण कार्यक्रम महिलातर्फ केन्द्रित गरिएको जनाउँदै समाजमा पछि परेका वर्गहरुलाई समेटन कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले जनाए । कार्यक्रममा आफ्ना भनाई राख्दै राष्ट्रिय यू–१९ टिमका प्रमुख प्रशिक्षक प्रशिक्षक जगत बहादुर टमाटाले प्रदेश खेलकुद परिषदले खेल्छ गण्डकी कार्यक्रममार्फत महत्वपूर्ण कार्यक्रम अघि सारेकोमा खुसी व्यक्त गर्दै यसले यूवा खेलाडी उत्पादनमा भूमिका खेल्ने बताए । उनले भने–“यो कार्यक्रम महत्वपूर्ण हुनेछ । प्रदेश खेलकुद परिषदले नेपाली महिला क्रिकेट विकासका लागि अघि सारेको यो कार्यक्रम सर्हानिय छ ।’ प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको १० दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति स्याङजाका सचिव रत्न गुरुङले समेत आफ्नो भनाई राखेका थिए । प्रशिक्षण कार्यक्रममा विभिन्न ६ जिल्लाका ३५ जनाको सहभागिता रहेको छ । उनीहरुलाई राष्ट्रिय यू–१९ टिमका प्रमुख प्रशिक्षक जगत बहादुर टमाटा, प्रादेशिक क्रिकेट गण्डकीका मुख्य प्रशिक्षक रिजन प्रजु र महिला टोलिका प्रशिक्षक गोवीन्द प्रधानले प्रशिक्षण दिनेछन् । प्रदेश क्रीकेट संघ गण्डकीका कोषाध्यक्ष तथा स्थानीय कार्यक्रम संयोजक दिवाकर थापाले खेलाडीहरुको टेक्निकल अनेलिस्टको रुपमा प्रशिक्षण कार्यक्रमलाई सहजीकरण गर्न छन।
पोखरा: यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र बस्तुभाउ जलेर नष्न भएको थियो । तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष मार्फत राहत स्वरुप झण्डै एक लाख बरावरको आर्थिक सहयोग गरेको हो । सो अवसरमा बोल्दै बाग्लुङ नगरपालिका वडा नं १२ का अध्यक्ष कोपिलामणी शर्माले पोखरामा रहेको यूनाइटेड क्लबले बाग्लुङमा आइपुगेर आफ्नो वडामा आगलागीबाट क्षती भएको परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै यूनाइटेड क्लबको सिको अन्य क्लवहरुले समेत गर्न सकेको खण्डमा पिडितले सानो भएपनि राहत पाउने बताए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थापनाकालदेखी पोखरा महोत्सवको आयोजना गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको यूनाइटेड क्लबले २०७२ को बिनाशकारी भुकम्प पश्चात विपदको क्षेत्रलाई समेट्नेगरी छुट्टै विपद ब्यवस्थापन कोष निर्माण गरी अगाडी वढेको बताए । उक्त कोषका लागि हरेक बर्ष तिहारको अवसरमा देउसीभैलो कार्यक्रम मार्फत रकम संकलन गरी दैवी प्रकोपमा परेकालाई युनाइटेड क्लबले राहत रकम प्रदान गर्दैै आइरहेको बताए । क्लबको सामाजिक दायरा फराकिलो रहेको वताउदै अध्यक्ष श्रेष्ठले क्लवले हाल सम्म पश्चिमको कैलालीको कैलारी गाउँपालिकाका हावाहुरी प्रभावित, पूर्वको उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावित, कास्कीको सराङकोट पहिरो प्रभावित, जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितलाई विपद ब्यवस्थापन कोष मार्फत राहत प्रदान गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए । सो अवसरमा वोल्दै आगलागीबाट पूर्ण रुपमा क्षती भएका यदुनाथ पाध्याले आफुहरु जंगलमा लागेको आगो निभाउन जाने बेलामा घरमा कोही नभएको अवस्थामा एक्कासी जंगलबाट आएको आगोले घर, गोठ, बस्तुभाउ केहीपनि बांकी नरहेको वताउदै सहयोगीहरुको साथले आफुमा आत्मबल थपिएको बताए । उक्त कार्यक्रम मा बागलुङ समाज पोखरा र बागलुङ अर्जेवा पोखरा सम्पर्क समाज बाट समेत आर्थिक सहयोग प्रदान गरिएको थियो । बाग्लुङ समाज पोखराबाट ३१ हजार १० र अर्जेवा पोखरा समाजबाट संकलित २० हजार रुपैया बाग्लुङ समाज पोखराका अध्यक्ष ठाकुर प्रसाद सापकोटा र पदाधिकारी द्धारा आगलागी प्रभावितहरुलाई प्रदान गरिएको थियो । सो कार्यक्रममा बाग्लुङ नगरपालिका वडा नं १२ का वडा सदस्य महानन्द शर्मा, युनाइटेड क्लब का कोषाध्यक्ष सुर्य बहादुर बानिया, बागलुङ समाज पोखराका निबर्तमान अध्यक्ष डिल्लि प्रसाद शर्मा, बागलुङ समाज पोखरा का उपाध्यक्ष नरेश सुबेदि, कोषाध्यक्ष बालकृष्ण सापकोटा, दुमनाथ शर्मा लगाएतको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तब्य ठाकुर प्रसाद सापकोटा र युनाइटेड क्लबका कार्यसमिति सदस्य जयराम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।
कैलालीः कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिनुभयो । उहाँको अनुसार गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी विष्टले बताउनुभयो। दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
काठमाडौंः आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ । चैत्र मसान्त २०८० सम्म नेपालको विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ बराबरको पुगेको नेपाल राष्ट्र बैकले जनाएको छ । नेपाल राष्ट्र बैकले आइतबार जारी गरेको ९ महिनाको नेपालको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ बराबरको पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ । बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्क बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । २०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिले कुल गार्हस्थ्य उत्पादनमा ३३.५ प्रतिशत कुल आयातमा १०४ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगका अनुपात २८.९ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेको थियो ।
पोखरा: फिल्म घरज्वाइँको टिजर सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट आज (आइतबार) फिल्मको टिजर सार्वजनिक गरिएको हो । अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्म घरज्वाइँ असार २८ गतेबाट प्रदर्शनमा आउने छ । फिल्म घरज्वाइँमा अभिनेता दयाहाङ र अभिनेत्री मिरुनासँगै शिशिर वाङ्देल, राज थापा मगर, कविता आले, बुद्धि तामाङ र सुनील मगरलगायतका कालाकारहरुको पनि भूमिका रहेको निर्माण पक्षले बताएको छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा अनिल बुढाको निर्देशन रहेको यो चलचित्रका निर्माता जनक घर्ती रहेका छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गर्नुभएको छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान कांग्रेस नेतृत्वसँग गम्भीरतापूर्वक छलफल गरेको र सोमबार बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढङ्गले अघि बढने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भीरतापूर्वक छलफल गरेको पनि स्पष्ट पार्नुभयो ।आइतबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सोमबार ९भोलि० बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मैले त्यही ढोका खोल्नकै लागि गम्भीरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगेपनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढङ्गले अगाडि बढ्ने वातावरण बन्छ ।’’ यता, प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री उपप्रधानमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो ।