काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:    सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।

पोखरा:  सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीका बालकहरुलाई नगद तथा फलफूल सहयोग गरिएको छ ।    सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङसहित महासचिव कुमार गुरुङ र क्लब शुभेच्छुक कृष्ण गुरुङसहितको टोलीले एकेडेमी अवलोकन गर्नुका साथै बालकहरुलाई सहयोग गरेको हो ।   पोखरा नयाँबजार घर भइ हाल हङकङ निवासी सहारा क्लब हङकङ महासचिव कुमार गुरुङ र घान्द्रुक घर भइ हाल हङकङ निवासी क्लबका शुभेच्छुक कृष्ण गुरुङले नगदसहित फलफूल वितरण गरेका हुन् ।    टोलीलाई क्लबका पूर्व अध्यक्ष केशबबहादुर थापाले खादा लगाएर स्वागत गरेका थिए ।   कार्यक्रम सञ्चालन एकेडेमी संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले गरेका थिए । उनका अनुसार एकेडेमीको तेस्रो ब्याचमा हाल २३ जना बालक आश्रित छन् ।    सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालले क्लब सदैव फुटबलमार्फत निरन्तर सामाजिक सेवामा क्रियाशील रहेको बताउँदै एकेडेमीमा ३० जनासम्म बालकलाई राख्ने लक्ष्य रहेको बताए ।   एकेडेमीका बालकलाई निशुल्क आवासीय सुविधासहित शिक्षा र फुटबल सिकाउने गरिएको छ ।   

टीकापुर:   कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना हुदाँ किशोरीको मृत्यु भएको छ ।    मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियार रहेकी छिन् ।   लम्की चुहा नगरपालिकाको धोबेनी खोला नजिक भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएको यूके ०४ पिए १९०५ नम्बरको भारतीय एम्बुलेन्स आज बिहान दुर्घटना भएको थियो ।   भारतको हल्द्वानीबाट उपचार गरी बर्दिया फकिएको एम्बुलेन्समा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परि अञ्जलीको मृत्यु भएपनि अन्य ५  जना सकुसल रहेको बताइएको छ ।   हाल एम्बुलेन्स  चालक प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   कास्की प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने जेसिबीलाई नियन्त्रणमा लिएको छ ।   विशेष सूचनाका आधारमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित इदिखोलामा नदीजन्य पदार्थको अवैध उत्खनन् गरिरहेको ना १ क ४७४२ नम्बरको जेसीबीलाई  नियन्त्रणमा लिइएको हो ।   आवश्यक अनुसन्धान र कारवाहीका लागि माछापुच्छ्रे गाँउपालिकाको कार्यालय लाहाचोक पठाइएको कास्की प्रहरीले जनाएको छ ।    

पोखरा:     पोखरामा रहेका सिसिटिभि बिक्रेताहरुद्धारा स्थापित पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारी र सिसिटिभि क्यामरा टिएनडी ब्राण्डका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  टिएनडी ब्राण्डका सेल्स म्यानेजर एरिका ह्वाङ, कन्ट्री सेल्स म्यानेजर नविन भण्डारी, हाइटेकको तर्फबाट नेपालका लागि टिएनडी ब्राण्डको एक्जुकेटिभ सेल्स म्यानेजर सुरज भट्ट लगायतको टोलीलाई पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारीहरुले स्वागत संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा बोल्दै टिएनडीका सेल्स म्यानेजर एरिका ह्वाङले टिएनडी ब्राण्डको सिसिटिभि क्यामेरा राम्रो भएको बताउदै पोखरामा रहेका सिसिटिभि बिक्रेताहरु मिलेर लायन्स क्लब गठन गरी ब्यापार ब्यवसायको प्रवद्र्धनमा जुटेकोमा खुसी ब्यक्त गरे ।  टीम मिलेर काम गरेको खण्डमा जुनसुकै काममा पनि सफलता हात लाग्ने बताउदै पोखराका सिसिटिभि क्यामेरा बिक्रेताहरु संगठित भइ टीम बनाएर लागेकोमा उनले प्रशंसा समेत गरिन । ग्राहकको चाहनालाई मध्येनजर गरी टिएनडी ब्राण्डले भरपर्दो क्यामेराहरु उत्पादन गरेको उनको भनाइ रहेको थियो ।  हाइटेक इन्टरनेश्नल नेपालका सेल्स म्यानेजर सुरज भट्टले हाइटेक मार्फत नेपालका लागि टिएनडी ब्राण्डका सिसिटिभि क्यामेराहरु उपलब्ध गराउदै आएकोमा पोखरामा रहेका व्यवशायीहरुले स्वस्थ प्रतिस्पर्धा मार्फत ब्यवशाय गरेकोमा खुसी ब्यक्त गर्दै आफुहरु व्यवशायीको हितमा काम गर्ने समेत बताए ।  हाइटेकले आगामी दिनमा एक क्षेत्र एक डिलरमात्र प्रदान गरेर व्यवसायीहरुलाई साथ दिने उनको भनाइ रहेको थियो । त्यस्तै टिएनडीका टेक्निकल हेड उत्कल सन्जेलले टिएनडी ब्राण्डमा कुनैपनि समस्या उत्पन्न नहुने वताउदै ब्यवशायीहरुले ब्राण्डको सामाग्री ग्राहकलाई विक्री वितरण गरेको खण्डमा सहज हुने समेत बताए ।  त्यस्तै डिएनडी ब्राण्डका अधिकृत बिक्रेता आयुषा इन्टरनेश्नलका सञ्चालक अनिल कुमार श्रेष्ठले ब्यवशायीहरुले लोकल सामान भन्दापनि ब्राण्डको सामानहरु बिक्री वितरण गरेको खण्डमा कुनैपनि समस्याहरु आइपरेमा समाधान गर्न सहज हुने बताए ।  पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका अध्यक्ष सनरोज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य सुदिप ओझा, क्लबका निर्वाचित अध्यक्ष दिनेश महर्जन लगायतले बोलेका थिएभने कार्यक्रमको सञ्चालन उपाध्यक्ष तथा गोम्जा आइटी टेक्नोलोजीका सञ्चालक रावत गोम्जा तामाङले गरेका थिए ।   

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकालाई बुझाएको छ ।  शनिबार ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट भेडावारी कास्कीबाट खटिएको प्रहरीको टोलिले ना १ क ४७४२ नम्बरको जेसिवी नियन्त्रणमा लिएको हो ।  अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको जेसिवी नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि माछापुच्छ्रे गाउँपालिकालाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।   

पोखरा:    पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्। पोखरा ३० खुदीमा लागूऔषध कारोबार भएको सूचना पाएपछि खानतलासी गर्दा खैरो हिरोइनसहित पक्राउ परेका हुन्। सडक किनारमा पार्किङ गरिराखेको ग ११ प ७७४५ नम्बरको स्कुटरबाट ०.६२ ग्राम खैरो हिरोइन बरामद भएको हो। कारोबारमा संलग्न भएको आरोपमा पोखरा ३० खुदीका २६ वर्षीय किरण पौडेल र २४ वर्षका वसन्तराज घिमिरे पक्राउ परेका छन्। उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए।

पोखरा:   नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यक्तिगत गाली–गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गर्नुभएको छ ।    सोमबार पोखरामा आयोजित ‘पुष्पलाल जन्मशताब्दी समारोह २०८१’ विचार गोष्ठीमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका अधिकारीले यस्तो आग्रह गर्नुभएको हो । ‘वैचारिक बहस गरौँ, व्यक्तिगत गाली–गलौज बन्द गरौँ, यति गरें पुग्छ अहिले, आ–आफ्नो विचार छन्, संगठन छन् दृष्टिकोण छन्’ पुष्पलाल अध्ययन केन्द्र कास्कीका अध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो । पुष्पलालको बाटो ठिक हो भन्ने कम्युनिष्टहरू नै भौतारीदा समस्या देखिएको उहाँको भनाई छ ।  ‘म कसैको टिप्पणी गर्न चाहन्न, यत्रो त्याग तपस्या र समर्पणबाट यहाँसम्म आउनुभएको छ, निरन्तर त्यसमा निष्ठापूर्वक लाग्नुभएको छ, र, पुष्पलालको बाटो ठिक हो भनेर हामी हिडिरहेका छौँ, तर भौतारीयाँै, भङ्गालै भङ्गाला हिड्नुपर्ने कारण के ?’, उहाँको प्रश्न थियो । कम्युनिष्टहरूमा रणनीतिक रुपमा दुविधा नभएपनि कार्यनीतिका कारण पछाडि परेको उहाँले बताउनुभयो । ‘हामी कार्यनीतिका कारण पछाडि प¥यौँ, रणनीतिक रुपमा दुविधा छैन, अहिलेको परिस्थितिमा कसरी जाँदा ठिक ठाउँमा जान्छौँ त्यसको विश्लेषण गरौँ’ उहाँको आग्रह थियो ।  इतिहासको बखान गरेर मात्र रमाउन कम्युनिष्टहरू नहुनेमा उहाँको जोड छ । ‘कम्युनिष्टहरूले इतिहासको भजन कीर्तन गरेर बस्ने होइन वर्तमानमा उभिएर भविष्य निर्माण गर्ने हो’ उहाँले भन्नुभयो ।  यसभन्दा अगाडिसम्म कम्युनिष्टहरूले सिद्धान्तको आधारमा संगठन गर्ने तथा त्यो संगठन संर्घषको लागि हो भनेर भन्ने गरेकोमा अहिले त्यसमा शैली र मनोविज्ञान थप्नुपर्ने अवस्था आएको उहाँले थप्नुभयो ।   कार्यशैली र व्यक्तिको मनोविज्ञानले समेत लक्ष्यलाई असर पु¥याउने गरेको अनुभव उहाँले सुनाउनुभयो । पुष्पलाल जन्मशताब्दी समारोह समिति काठमाडौँको आयोजना तथा पुष्पलाल अध्ययन केन्द्र कास्कीको सह–आयोजनामा भएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन लगायतमा पुष्पलालको योगदान विषयमा बाम बुद्धिजिवी तथा लेखक रामराज रेग्मी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, र रामबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत गरेको कार्यपत्रमाथि दधिराज सुवेदी, गोपीरमण उपाध्याय, विश्ववन्धु भण्डारी  टिप्पणी गर्नुभएको थियो ।  कार्यक्रममा पुष्पलाल अध्ययन केन्द्र कास्कीका उपाध्यक्ष सोमनाथ अधिकारी प्यासी, महासचिव भीम कार्की, नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, नेकपा माओवादी केन्द्र कास्कीका इज्चार्ज रामजी बराल जीवन, राष्ट्रिय जनमोर्चाका शंकर बराल, नेकपा नेतृ सावित्रा दुरा आस्था र डा. मनिष भट्टराईले समेत पुष्पलालको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।   पुष्पलाल जन्मशताब्दी समारोह २०८१ का संयोजक लोककृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुण्य प्रसाद पौडेलले गर्नुभएको थियो ।

तनहुँ:   निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् ।   मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । म्याग्दे गाउँपालिकाको मौरीओडार, थर्पुलगायत ठाउँमा सवारीसाधन तथा पैदल यात्रामा समस्या बढेको स्थानीय बताउँछन् ।   ‘दुईपाङ्ग्रे सवारीसाधनलाई निकै सास्ती हुने गरेको छ । हिलोका कारण चिप्लिएर दुर्घटनासमेत हुने गरेको छ’, म्याग्दे–४ मनहरिका गौरवराज रानाले भनन्नुभयो । पानी परेपछि म्याग्देका विभिन्न ठाउँमा आवागमनमा निकै सास्ती हुने गरेको भन्दै निर्माणमा ढिलासुस्ती हुँदा नागरिकलाई सास्ती भएको उहाँको भनाइ छ ।   रानाका अनुसार थर्पु बजारबाट अकला मन्दिरसम्मको भागमा काम नहुँदा समस्या भएको छ । अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भए पनि थर्पु बजारबाट अकलासम्मको भागमा कामको गति शून्य रहेको उहाँको भनाइ छ । रानाले भन्नुभयो, ‘म्याग्देको रिठ्ठेपानीमा सडक नै जलमग्न छ । साना सवारीसाधन आवतजावतमा समस्या हुँदै आएको छ ।’   मुग्लिन–पोखरा सडक प्रयोग गर्दै पोखरातर्फ जानेले भने वैकल्पिक सडक प्रयोग गर्न सकन्छन् । यो सडकमा धुलो र हिलोले सास्ती खेप्न थालेपछि सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् । सदरमुकाम दमौलीको भोर्लेटारचोकबाट कलेस्ती, लमजुङको मध्य नेपालको दुइपिप्ले, न्यौपानेवेशी, कास्कीको रुपा गाउँपालिकाको पोल्याङ, देउराली, राजाको चौतारा, पोखरा महानगरपालिकाको शिशुवा हुँदै पोखरा निस्कन सकिन्छ ।   यो सडक पूरै कालोपत्र गरिएको छ । धुलो र हिलोको सास्ती रहेकाले आफू यही मार्ग हुँदै पोखरा आवतजावत गर्ने गरेको दमौलीका सुदीप मोहम्मदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा पृथ्वीराजमार्ग हुँदै पोखरा जानसक्ने अवस्था छैन । वैकल्पिक सडक प्रयोग गरी पोखरा जाने गरेको छु । बाटो सफा छ, कालोपत्र छ । धुवाँधुलो केही छैन ।’   पृथ्वीराजमार्गको अवस्थाका कारण आजभोलि धेरैजसो साना तथा निजी सवारीसाधन यही बाटो हुँदै आवजावत गर्नेक्रम बढेको छ । पर्यटक बससमेत यही बाटो हुँदै पोखरा पुग्ने र पोखराबाट दमौली हुँदै काठमाडौं जाने गरेका छन् । दमौलीबाट पृथ्वीराजमार्ग हुँदै पोखरा जाँदा ४९ किलोमिटर दूरी छ भने दमौलीबाट पोल्याङ हुँदै पोखरा पुग्न ५९ किलोमिटर पर्दछ ।   मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा केही प्रगति भए पनि पश्चिम खण्डमा प्रगति निराशाजनक छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म ५६ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २३ प्रतिशत प्रगति भएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।   उहाँको अनुसार पूर्वी खण्डको म्याद अवधि वैशाख २ गतेदेखि सकिएको छ भने पश्चिम खण्डको म्याद चार महिना बाँकी छ । पूर्वी खण्डको म्याद सकिए पनि कामलाई निरन्तरता दिइएको पाण्डेले बताउनुभयो ।   यो खण्डमा वि.सं. २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको थियो ।   पश्चिम खण्डको म्याद अवधि वि.सं. २०८१ भदौ १२ गतेसम्म रहेको छ । यो खण्डमा वि.सं. २०७८ जेठ २ गते सम्झौता भई वि.सं. २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।