पोखरा:   कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुस सत्लेमा भदौ ९ देखि ११ गतेसम्म हरितालिका तीज मेला हुने भएको छ ।   हिमशिखर युवा क्लब धम्पुसले ९ औं हरितालिका तीज मेला तथा विविध स...

सोलुखुम्बुः  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले सोमबार बेस क्याम्प पुगेर शान्ति, सुरक्षाका बारेमा पर्यटकसँग सचेतनामूलक अन्तरक्रिया गरेको हो ।   जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालसहित बेस क्याम्प पुगेको टोलीले सुरक्षामा कुनै कमी भए जानकारी गराउन पर्यटकलाई आग्रह गर्नुभयो । पाँच हजार ३६४ मिटर उचाइमा अवस्थित आधार शिविर अहिले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ बनेको छ । पर्यटकको चहलपहल बढीरहेका बेला आधार शिविरमा गस्ती गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।   प्रनाउ घिमिरेको कमाण्डमा अस्थाई प्रहरी चौकी दिङबुचे सोलुखुम्बुका प्रहरीहरु समेत सो क्षेत्रमा परिचालन भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिनुभयो । “सगरमाथा क्षेत्रको चार हजार ४१० मिटरको उचाइमा अवस्थित दिङबुचे भन्दा माथि प्रहरी चौकी छैनन् । यसले गर्दा पर्यटकलाई असुरक्षित महसुस हुनसक्ने भएकाले गस्तीमार्फत शान्ति, सुरक्षाका बारेमा चेतनामूलक अन्तरक्रिया गरेका हौँ”, उहाँले भन्नुभयो ।   हिमाल आरोहणको सिजन सुरु भएकाले सगरमाथा क्षेत्रमा विदेशी तथा स्वदेश पर्यटकको घुइँचो बढ्न थालेको प्रनाउ घिमिरेले बताउनुभयो । सुरक्षाको प्रत्याभुति दिलाउने र केही असहज भए अपनाउनुपर्ने सुरक्षा उपायका बारेमा जानकारी दिने उद्देश्यले गस्ती टोली परिचालन गरी अन्तरक्रियामा गरिएको उहाँको भनाइ छ ।  

अछाम:      गोठको छानामा आगलागीमा परेर अछामको मेल्लेखमा २ बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६ षोडशाका दीपक बोहराकी अन्दाजी आठ वर्षीया छोरी भावना बोहरा र रमेश बोहराकी अन्दाजी ६ वर्षीय छोरा गोपाल बोहराको घटनास्थलमै मृत्यु भएको हो । घरबाट करिब ५० मिटर नजिक रहेको गोठमा स्याउला र पराल राखेको स्थानमा बालबालिकाले लाइटर लिएर गएपछि गोठमा आगलागी भएर मृत्यु भएको वडा अध्यक्ष तिलक कडायतले जानकारी दिनुभयो ।  ‘‘भावना र गोपालले लाइटर लिएर गएका रहेछन्, त्यसैबाट आगो लाग्यो र उनीहरु त्यसैमा परेका रहेछन् तर बचाउन सकिएन ।’’ घटनास्थलमा रहनुभएका वडा अध्यक्ष कडायतले भन्नुभयो । घर नजिकैको गोठमा आगलागी भएपछि थाहा भए पनि दुई वटै बालबालिकालाई बचाउन नसकिएको बताइएको छ । घटनाका बारेमा थप जानकारीका लागि प्रहरी टोली पुगेको वडाध्यक्ष कडायतको भनाइ छ ।

काठमाडौंः  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ हुने भएको छ । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १ बजे सहभागी हुनुहुने जनाइएको छ । चन्द्रागिरी नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल ९ब्रिज० र एउटा फ्लाइओभर रहेका छन् ।   बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

काठमाडौंः  प्राध्यापक एवम् प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गर्नुभएको छ ।   आज बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवम् प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गर्नुभयो । भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताउनुभयो ।   प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन, यसबारे गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने भन्ने थियो । मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा खुला प्रतिस्पर्धाको घोषणा गरेको थिएँ । त्यसपछि यसको पक्षमा वातावरण बनाउन म लगातार लागिरहेँ र सफल पनि भयौँ । यसले प्राज्ञिक क्षेत्रलाई सकारात्मक दिशा दिएको छ ।”   देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टीमा आबद्ध हुने स्वतन्त्रता सबैलाई छ । तर, अब कुन पार्टी भनेर नहेरौँ । जो सक्षम छ, इमान्दार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो । राम्रो हेरौँ, मेरिट हेरौँ । यसले मात्रै देशमा नयाँ परिस्थिति बन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु ।”   भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्री दाहालको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ । यो आफैँमा राम्रो नजिर हो । यसले नयाँ लिगेसीको प्रारम्भ हुन्छ । यसले उच्च शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउने हाम्रो विश्वास छ । यसका सकारात्मक परिणाम आउँदै जानेछन् । हामी खुसी छौँ । तपाईलाई हार्दिक धन्यवाद छ ।”   छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । सार्वजनिक रूपमा हस्तक्षेप नगर्ने सङ्कल्प घोषणा गर्न दलहरूलाई अनुरोध गर्दै उहाँले शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने बताउनुभयो ।   प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेमा डा.गौरीशङ्करलाल दास, डा.गोविन्द पोखरेल, डा.सन्दुक रूइत, डा.अर्जुन कार्की, डा.जेपी अग्रवाल, डा.नरेशमान बज्राचार्य, डा.असीम ढकाल, डा.भगवान कोइराला, डा.विष्णु उप्रेती, डा.धर्मकान्त बास्कोटा, डा.देवेन्द्रराज पाण्डे, डा.लवदेव अवस्थी, डा.मदन उपाध्याय, डा.महेश मास्के, केदारभक्त माथेमालगायत ६६ प्राज्ञिक हुनुहुन्छ ।  

काठमाडौं:      अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।  भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहनुभएका अर्का उपसचिव भुपालराज शाक्य हुनुहुन्छ । तीन दिने अमेरिका बससाइँका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्ने मन्त्री पुनको सचिवालयले जनाएको छ । यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ । मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुँनेछ । भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न सङ्क्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने फोरम हो । मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा सङ्क्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुनुहुनेछ । ती बैठकमा मन्त्री पुनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए)–२१ बैठकको तयारी, विश्व बैंकले आगामी पाँच वर्षका लागि नेपालमा गर्ने लगानी साझेदारीको प्राथमिकता निर्धारण, सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनासहित पाइपलाइनमा रहेका अन्य आयोजनाको वित्तीय व्यवस्थापनलगायत विषयमा छलफल गर्नुहुनेछ । मन्त्री पुनले केही दिनअघि ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा विश्व बैंक र एसियाली विकास बैंकका काठमाडौँस्थित आवासीय प्रमुखहरुसँग छलफल गर्नुभएको थियो । उक्त बैठकमा माथिल्लो अरुण आयोजनाको वित्तीय व्यवस्थापन सक्दो छिटो गर्ने सहमति भएको थियो । ‘गेम चेन्जर’ आयोजनाका रुपमा रहेको माथिल्लो अरुणको वित्तीय व्यवस्थापनको नेतृत्व विश्व बैंकले गर्दैछ । विश्व बैंक र आइएमएफको बैठकमा मन्त्री पुनले यही वैशाख १६ र १७ गते काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलन तथा नेपालमा लगानी अनुकूल वातावरण निर्माणमा सरकारका तर्फबाट भएका सुधार प्रयासबारे विश्व बैंकसहित विकास साझेदार र निजी क्षेत्रलाई अवगत गराउनुहुनेछ ।  ती बैठक तथा भेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जाजरकोट, रुकुम र बझाङमा भूकम्पका कारण भत्किएका निजी आवास तथा शैक्षिक संस्थाका भवन पुनःनिर्माण एवं दिगो विकास लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा सहायता बढाउन विकास साझेदारलाई आग्रह गरिने मन्त्री पुनले बताउनुभयो ।  उहाँका अनुसार अन्तर्राष्ट्रिय विकास साझेदारबाट नीतिगत सुधारका लागि प्राप्त हुँदै आएको सहायता कार्यान्वयन प्रभावकारी बनाउने तथा सहायताका थप क्षेत्र र सम्भावना पहिल्याउने विषयमा समेत छलफल हुनेछ ।

काभ्रेपलाञ्चोक:     काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त)को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो । फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताउनुभयो । उहाँका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो । मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ । प्रहरीका अनुसार रुखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो । घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्नुभएको छ । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्व छ ।

पोखरा:     अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत सार्दिखोला कार्यालयमा लगाइएको ताला आइतवार एक्याप प्रतिनिधि, जनप्रतिनिधि र व्यवसायीको सहमतीमा खुलेको छ ।   एक्यापका कारण गरिखाने वातावरण नबनेको भन्दै स्थानीय व्यावसायीहरूले चैत १२ गते ताला लगाएका थिए । स्थानीयको गुनासो सुनी माग पुरा गर्ने सहमती पछि उक्त ताल्चा खुलेको माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले जानकारी दिए ।  ‘संरक्षण क्षेत्र व्यवस्थापन समिति स्थानीय जनमैत्री नभएको, प्रधान कार्यालय र ल्वाङ कार्यालयले सार्दिखोलाको समितिलाई आफ्नो अन्डरमा चलाउन खोजेको लगायत विभिन्न माग राख्दै तालाबन्दी गरेका थिए,’ उनले भने, ‘आज स्थानीय तहका जनप्रतिनिधि, एक्याप कार्यालय प्रतिनिधि र व्यावसायीहरुको छिटोभन्दा छिटो स्थानीयको गुनासो सुन्दै माग पुरा गर्ने सहमतीमा ताला खुलेको छ ।’ स्थानीयहरुले ढुंगा, गिट्टी, बालुवा लगायत बस्तु नजिकको बजार क्षेत्रमा लगेरउ बेच्न पाउने वातावरण बनाउन माग गरेका थिए । पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन प्रवद्र्धनमा पहल गर्ने पनि माग गरेको प्रवक्ता आचार्यले बताए । एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समितिले राजीनामा दिनुपर्ने र मजदुरलाई काम गरेर खाने वातावरण बनाइदिनुपर्ने माग उनीहरूको छ । स्थानीय व्यावसायीहरुको माग सम्बोधन गर्ने सहमती भएको उनको भनाइ थियो । 

काठमाडौं:     एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११:१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन् । नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ ।  नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा कतारसँग ३२ रनले विजयी भएको थियो । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, अनिल साह, सन्दीप जोरा, करण केसी, विवेक यादव, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी र अभिनास बोहरा रहेका छन् । समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा छ । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो भने दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छन् । यस्तै समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन् । समूह ‘बी’मा ओमान चार अङ्कका साथ शीर्ष स्थानमा तथा युएई चार अङ्ककै साथ दोस्रो स्थानमा छ । सो समूहमा कुवेत तेस्रो स्थानमा छ ।।

पोखरा:    १४ औं वार्षिकोत्सवको अवसर पारी यूनाइटेड क्लबले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार पोखरा १४ छिनेडांडामा रहेको शुुक्रराज बलभद्र माविमा खेलकुद सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको खेलकुद सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीले यूनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरदा आफ्नो वडामा रहेको विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । आगामी दिनमा यूनाइटेड क्लबले सामाजिक काम संगै देशमा विद्यमान अवस्थाहरुलाई मध्यनजर गरी कार्यक्रमहरु अगाडि वढाउनुपर्नेमा समेत जोड दिए । सो अवसरमा बोल्दै यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव विशुद्ध सामाजिक कामकै लागि आयोजना गरिने भएकाले पोखरा महोत्सवको आम्दानीबाट बचत रकममध्ये केही रकम विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक, खेलकुद सामाग्रीहरु वितरण गर्दै आइरहेको बताए । त्यस्तै विद्यालयका प्रध्यानाध्यापक नारायण प्रसाद भण्डारीले यूनाइटेड क्लव पोखरामा स्थापित भइकन राष्ट्रिय स्तरको क्लबका रुपमा आफुलाई चिनाउन सफल रहेको वताउदै यूनाइटेड क्लबले आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी खेलकुदका सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । यूनाइटेडको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुदको बिकासमा टेवा पुग्ने उनको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै यूनाइटेड क्लबका कार्यसमिति सदस्य तथा खेलकुद सामाग्री वितरण कार्यक्रमका संयोजक सन्तोष कार्कीले यूनाइटेड क्लबले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसरमा विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गर्दै आइरहेकोमा १४ औं वार्षिकोत्सवमा शुक्रराज बलभद्र स्कुलमा अध्ययनरत विद्यार्थीहरुको खेलकुदको बिकासमा केही थप मदत होस भन्ने अभिप्रायले खेलुकद सामाग्री वितरण गरिएको बताए । निर्माण समितिको संयोजक ब्यवस्थापन समिति संयोजक तिकलराम लम्सालले यूनाइटेड क्लबको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई राहत पुग्ने बताए । यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठल पोखरा महोत्सव सफल बनाउन वडा नम्बर १४ वासीको समेत ठूलो देन रहेको बताए । यूनाइटेड क्लवले आगामी दिनमा पर्यटकीय गन्तब्य निर्माणलाई जोड दिने वताउदै वडा नम्बर १४ संग सहकार्य गरी वडा भित्र पर्यटकीय गन्तब्य निर्माण गर्न आफुहरु तयार रहेको बताए । यूनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार लेखनाथ २७ अर्चलेमा रहेको कविशिरोमणी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको महासचिव सुनारले जानकारी दिए ।