काठमाडौंः शनिबारदेखि सुरु हुने नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पुरा भएको छ । शुक्रबार एमाले प्रचार विभागले पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । परिषद् बैठक ललितपुरको सनराइज हलमा दुई दिनसम्म चल्ने छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, र केन्द्रीय पदाधिकारी गरी २ हजार ४५४ जना सहभागी हुने पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् । त्यस्तै लेखा र निर्वाचन आयोगका प्रतिवेदन पनि पेस हुनेछन् । बैठकले पार्टीको समग्र कामको समीक्षा र आवश्यक निर्देशन दिने एमालेले जनाएको छ । दुई महाधिवेशनको बिचमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ । त्यस्तै वैशाख १० गते पार्टी स्थापना दिवसका अवसरमा हीरक महोत्सव आयोजना गर्दैछ । जसमा एक जनालाई सम्मान गर्ने एमालेले जनाएको छ । महोत्सवमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेता सहभागी हुनेछन् ।
पोखरा: गण्डकीको संसद् बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन् । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो । कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले कुनै जानकारी गराएको थिएन ।
काठमाडौंः सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरेले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । सभामुख घिमिरेले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिन्ह (लोगो) र खादा ओढाएर बधाई ज्ञापन गर्नुभयो । सङ्घीय संसद्को कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनु अघि सभामुख समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानुनी व्यवस्था छ । सो अवसरमा सचिवालयको तर्फबाट सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद् सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद् नियमावलीलगायत अन्य कानुन कागजातहरू उपलब्ध गराउनुभयो । सांसद खान जनता समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको हो । केही समयअघि सो पार्टीका मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद् सचिवालयलाई जानकारी गराएको थियो । स्नातक तहसम्म अध्ययन गर्नुभएकी सांसद खान २९ वर्षकी हुनुहुन्छ । राससको जिज्ञासामा सांसद खानले भन्नुभयो, “सांसदलाई कानुन तोकेको जिम्मेवारी पूरा गर्न र खासगरी महिलाको मुद्दा प्रभावकारी रुपमा उठाउने प्रयत्न गर्नेछु ।” रुपन्देहीको रोहिणी गाउँपालिका–२ पोखरभिन्दीमा जन्मनुभएकी सांसद खान अहिले बाँकेको डुडुवा गाउँपालिका–३ बाट प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ रुपन्देहीबाट विवाह गरेर बाँके जानुभएको हो । सांसद खानको अहिले बाँके कार्यक्षेत्र रहेको छ ।
काठमाडौंः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवम् सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “श्रम स्वीकृति लिनेमध्ये १३ हजार तीन सय ७३ जना अदक्ष अर्थात् सीप नभएका, ५१ हजार तीन सय २८ जना सीप भएका, पाँच हजार छ सय ८४ जना अर्धदक्ष, चार सय ८२ जना व्यावसायिक दक्षता र ६६ जना उच्च दक्ष भएका छन् ।” यसै गरी चालु आवको साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार छ सय २२, मङ्सिरमा ७१ हजार दुई सय ७६, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७ र फागुनमा ६५ हजार छ सय ५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । विभागको तथ्याङ्क अनुसार चैतमा मात्रै १७ हजार आठ सय १८ जना नेपाली रोजगारीका लागि युएई पुगेका छन् । सोही महिनामा साउदी अरेबियामा १३ हजार छ सय ४१ जना, कतारमा ११ हजार दुई सय ४ जना, मलेसियामा १२ हजार छ सय २ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा नौ सय ६४ जना पुगेका छन् । यसै गरी रोमनियामा दुई हजार दुई सय सय ९९ जना, क्रोएसियामा नौ सय ६० जना, साइप्रसमा सात सय ८१ जना, जापानमा एक हजार तीन सय ५१ जना, माल्दिभ्समा चार सय ९३ जना, मौरिससमा छ सय २० जना र दक्षिण कोरियामा छ सय ५७ जना रोजगारीका लागि गएका तथ्याङ्कले देखिएको छ ।
सिन्धुपाल्चोकः त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र थामी रहेको प्रहरीले जनाएको छ । दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा बेलुली लिन हिँडेको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै बिहान सात बजेको आसपासमा दुर्घटनामा परेको थियो । मृतक तीनै जनाको शव पोष्टमर्टमका लागि दोलखास्थित जिल्ला अस्पताल लगिएको छ । यो पनि पढ्नुहोस सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: दुई जना मृतकको पहिचान खुल्यो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईका अनुसार बसमा ५५ जना सवार थिए । दुर्घटनामा घाइते ५२ जनामध्ये सात जनाको अवस्था गम्भीर छ । बस सडकबाट करिब एक सय ५० मिटर तल खोँचमा खसेको थियो । स्थानीय र प्रहरीले घाइतेलाई उद्दार गरी धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल पुर्याएका थिए ।
काठमाडौं: साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ औं ओभरमा पूरा गर्यो । फाइनल पुग्न असफल भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना भने सकिएको छ । नेपालले अब शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो हुने टोली फाइनल खेल्ने टोलीसँगै एमर्जीङ कपका लागि छनोट हुनेछन् । यता यूएई भने आइतबार हुने फाइनलमा ओमान र हङकङको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज हुँदैछ । यूएईको सहज जितमा आलिशान शराफुले अर्धशतक प्रहार गरे । उनले ४१ बलमा ४ चौका र २ चक्का सहित ५५ रन जोडे । विष्णु सुकुमारनले २८ बलमा २८ रन जोड्दै रनगति घट्न दिएका थिएनन् । कप्तान मोहमद वासिमले ११ र आसिफ खानले १० रन जोडे । सायद हैदरले १४ तथा आयन खानले ३ रन बनाए । त्यसअघि नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । नेपालका लागि सन्दीप जोराले ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । इनिङको पहिलो बलमा नै कुशल भुर्तेल कट बिहाइन्ड भएपछि नेपाल दबाबमा पर्यो । जुनेद सिद्दिकी र ओमिद रहमानले उत्कृष्ट बलिङ गर्दै नेपाललाई पावरप्लेमा चल्न दिएनन् । ओमिदले आसिफ शेखलाई एलबीडब्लु धरापमा पार्दा नेपाल ११-२ को अवस्थामा पुग्यो । कप्तान रोहित पौडेल विकेट जोगाउने धुनमा रक्षात्मक हुँदा १८ बलमा ५ रन जोड्दै कट बिहाइन्ड भए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले इनिङ सम्हालेर रन जोड्दा अर्कोतर्फ भने निरन्तर विकेट पतन जारी रह्यो । कुशल मल्ल ३ रनमा बसिल हमिदबाट बोल्ड भए । दीपेन्द्र सिंह ऐरी पनि ५ रनमा आयान खानको एलबीडब्लू धरापमा परे । त्यसपछि सन्दीप जोरा लेग स्पिनर मोहमद फारुकको बलमा क्याच आउट भए । ५० रन जोडेका उनी आउट हुँदा नेपाल ८०-६ को स्थितिमा पुगेको थियो । सोमपाल कामी पनि २ रन जोड्दै बसिलको बलमा क्याचआउट भए । तल्लोक्रममा गुलशन झा र करण केसीले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याए । करण ११ बलमा २ छक्कासहित १७ रनमा बोल्ड भए । गुलशनले अन्तिम ओभरमा आउट हुनुअघि १५ बलमा १ चौका र १ छक्कासहित २० रन जोडे । यूएईका लागि प्रयोग भएका सबै ६ बलरले विकेट लिए । जुनेद सिद्दिकी, अलि नासिर र बसिल हमिदले २/२ तथा ओमिद रहमान, आयन खान र मुहमद फारुकले १/१ विकेट हात पारे । आज हुने अर्को सेमिफाइनलमा ओमान र हङकङ खेल्नेछन् । फाइनल जित्ने टोली एसिया कपमा छनोट हुनेछ । फाइनल आइतबार तथा तेस्रो स्थानको खेल शनिबार हुनेछ ।
बागलुङः बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते बन्नुभएको थियो । घाइते सुनारलाई आफन्त र छिमेकीले उद्दार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मुत्यु भएको निसीखोला–४ का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिनुभयो । समाजसेवीसमेत रहनुभएका सुनारको मृत्यले खाडचौर गाउँ स्वतब्ध बनेको उहाँले बताउनुभयो । मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन् ।
पोखरा: गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले आह्वान गरेको प्रदेश सभामा कांग्रेस संसदीय दलले बहिस्कार गर्ने भएको छ । शुक्रबार बसेको संसदीय दलको बैंठकले शुक्रबार दिउँसो ३ बजे बोलाइएको प्रदेश सभा बैंठमा अनुपस्थित हुने निर्णय गरेको हो । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख कृष्ण धिताललाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।
काठमाडौं: एसीसी टी-२० प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ। ओमनको अल अमेरत रंगशालामा शुक्रबार पहिले ब्याटिङ गर्दै नेपालले ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो। नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए। उनले ४० बलमा चार चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, गुल्सन झालले २० र करण केसीले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। यूएईका लागि अलि नसिर र बलिस अहमदले २/२ तथा जुनैद सिद्दिकी, ओमिद शफी रहमान, आयान अफजल खान र मुहम्मद फारूकले १/१ विकेट लिए।