मनाङ: मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । हिमपहिरोले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।” दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक पर्यटक आगमन बढ्न थालेको छ । भारी हिमपातसँगै आएको हिमपहिरोले जोखिम भने बढाएको छ । बाटो नै नछेकिए पनि जोखिम भने छ । सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ ।” समय सकिनलाग्दा आएको भारी हिमपातले पहिरो गएको छ । किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको छ । यस क्षेत्रमा आएको हिमपहिराले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द भने भएको छैन । यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन उहाँले अनुरोध गर्नुभएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई समयमा मनाङमा पर्यटक घुम्न आउने गर्दछन् ।
पाेखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । नेकपा माओवादी केन्द्रका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास मन्त्री सुशील सिम्खडालाई आज बर्खास्त गरेका हुन् । दुई मन्त्रीलाई बर्खास्त गरेर मुख्यमन्त्री पाण्डेले दुवै मन्त्रालय आफु मातहत राखेको बताइएको छ ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले बागमती प्रदेशमा पहिलो पटक सञ्चालन हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरे संगै जिम्मेवारी समेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजनामा यहि फागुन ३० देखि चैत्र ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिम्मेवारी तोकेको हो । परिषदको सोमबार सम्पन्न कार्यकारी समितिको बैठकले परिषदका सदस्यहरुलाई विभिन्न ९ खेलका लागि संयोजकको जिम्मेवारी दिएको हो । परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न बैठकले परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ र ऋषीराम गौतमलाई अनुगमन समितिको सदस्यमा तोकेको छ । त्यसै गरी पुरुष भलिबलको संयोजकमा परिषदका सदस्य बसन्तराज दवाडी, महिला भलिबलको संयोजकमा शुभकन्या गुरुङ, फुटबलतर्फ आकृती भण्डारीलाई संयोजक तोकेको छ । क्रिकेटको संयोजकमा परिषदका सदस्य केशव पाठक, तेक्वान्दोमा योगिता सहानी, बक्सिङमा कार्यकारी सदस्य ऋषीराम गौतम, कराँतेमा योगेन्द्र शेरचन, एथलेटिक्समा गिरमान गुरुङ, पौडीमा योगेन्द्र गुरुङ र ब्याडमिन्टनको संयोजकमा बिनय थापालाई जिम्मेवारी दिएको छ । प्रतियोगिता अन्तर्गत महिला/पुरुष फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, व्याडमिन्टन, एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल, पौडीखेलहरु सञ्चालन हुनेछन् । सम्पन्न बैठकले महिला फुटबलको २१ देखि चैत्र १ गते सम्म नवलपुरमा प्रशिक्षण हुने छ भने पुरुष फुटबल, तेक्वान्दो, एथलेटिक्स, पौडी, ब्याडमिन्टनको छनौट खेलहहरु यहि फागुन २६ र २७ गते पोखरामा तथा कराँतेको सोही मितिमा पर्वतमा छनौट खेल आयोजना गर्ने गरी निर्णय गरेको छ । त्यसै गरी भलिबल महिला तथा पुरुष र बक्सिङको छनौट खेल २३ र २४ गते पोखरामा हुनेछ भने महिला क्रिकेट छनौट फागुन २६ देखि २८ गते सम्म पोखरामा हुनेछ । सदस्य सचिब शर्माले सबै खेलका लागि खेलाडी छनौट गर्न परिषद र सम्बन्धित खेल संघ मार्फत खुल्ला आह्वान गरिने जनाउँदै छनौटमा सफल हुने खेलाडीलाई कम्तिमा पाँच दिनको बन्द प्रशिक्षणमा समावेश गर्ने बताए । छनौटलाई पारदर्शी र मर्यादित बनाउन आग्रह गर्दै सदस्य सचिब शर्माले सबै सदस्यहरुलाई पहिलो पटक अन्तर प्रदेशमा हुने सहभागिताले दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत तयारीले प्रभाव पार्ने बताए । बजेटको सिमिततालाई ध्यानमा राख्दै छनौट कार्यक्रम गरेको बताउँदै उनले सिमित श्रोत र साधनका बाबजुद पनि खेलाडीहरुको मनोबल उच्च बनाउने गरी कार्य गर्नु पर्ने उनको भनाई थियो । बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि गण्डकीबाट ९ खेलमा करिव २ सय ५० खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिता अन्तर्गत अधिकांश खेलहरु चितवन र फुटबल खेल भने हेटौडामा हुने भएको छ ।
काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी–२०आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दै छ । खेल टियु क्रिकेट मैदानमा ११ः३० बजे सुरु हुनेछ । नेपाल लिग चरणमा ४ अंकका साथ उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको हो । ५ अंक जोडेको नेदरल्यान्ड्स भने शीर्षस्थानमा रहेर फाइनल पुग्न सफल भयो । लिग चरणमा नेपाल र नेदरल्यान्ड्सले एक अर्कासँग १–१ खेल जितेका थिए । नेपालले नामिबियासँग पनि १ जित र १ हारको नतिजा निकालेको थियो । नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा हराउँदा दोस्रो खेल भने वर्षाले रद्द भएको थियो । सन् २०२१ मा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो । त्यसबेला नेपाल १ सय ४२ रनको अन्तरले विजयी भएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच पछिल्लो ५ मध्य ३ खेलमा नेपालले जित हासिल गरेको छ । प्रतियोगिताको सुरुवाती दुई खेलमा हार बेहोरेको नेपाल त्यसपछि लगातार दुई जितका साथ फाइनल पुगेको हो ।
काठमाडौं: नयाँ समीकरण बनेसँगै बसेको चार दलका शीर्ष नेताको बैठकले सरकार सञ्चालनसम्बन्धी आठ बुँदे सहमति गरेको छ । संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेससँगको सहकार्यलाई तोड्दै यो नयाँ समीकरण निर्माण भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो सहमतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्षले हस्ताक्षर गर्नुभएको छ । सहमतिपत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ । चार राजनीतिक दलबीच भएको सहमति यस प्रकार छ: नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालकाबीच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भई निम्नअनुसार निष्कर्षमा पुगेका छौं । १. राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने । २. रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेद्वार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वारलाई समर्थन गर्ने । ३. सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने । त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने । ४. सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने । ५. सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने । ६. सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने । ७. यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने । ८. हामी चार राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिकसामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं ।
पोखरा: विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल(२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपिएफ र महिलातर्फ सुदूरपश्चिम प्रदेशले हात पारेका छन् । सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै बागमतीले लुम्बिनीलाई २७–६ अंकले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको छ । त्यसैगरी महिलातर्फ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–४ अंकले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै लुम्बिनी उपविजेता बनेको छ । साथै कोशीले प्रदेशले बागमती प्रदेशलाई १६–४ को फराकिलो अन्तरले हराउँदै तेस्रो स्थान पक्का गर्न सफल भएको हो । उपाधीसँगै पुरुष र महिलातर्फका विजेता टिमले क्रमशः प्रथम, द्धितीय र तृतीय टोलीले ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । भने, प्रतियोगितामा उत्कृष्ट खेलाडी र (हाई स्कोरर)लाई नगद रु ५ हजारसहित ट्रफी प्राप्त गरेका छन् । साथै, अन्य सहभागी टिमलाई सान्त्वना पुरस्कारसहित सहभागीताको प्रमाण पत्र प्राप्त गरेका हुन् । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम र महिला टिम ६ गरी १५ टिमको सहभागी रहेको थियो ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा महानगरपालिकामा ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । रास्वपाका सार्वजनिक मामिला विभागका सदस्य उत्तम पौडेललेको नेतृत्वमा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा सार्वजनिक सम्पत्तिको खोजी गरी महानगरको स्वामित्वमा ल्याएर संरक्षण गर्न, अवैध अतिक्रमण र भोगचलन गरिएको भए ति ठाउँमा सार्वजनिक पहुँच विस्तार र व्यवसायिक प्रयोजनमा लगाउँदा प्रतिस्पर्धाका आधारमा कर तथा भाडाको दायरामा ल्याउन आग्रह गरेको छ । यस्तै पोखरालाई ‘ग्रिन सिटी’का रुपमा विकास गर्न भन्दै महानगरले अव बन्ने सबै भवन÷संरचनामा हरियो रङ लगाउने नीति ल्याएको भन्ने विषयमा सञ्चार माध्यममा आएका हुँदा यसको सत्यतामा स्पष्ट पार्न ध्यानाकर्षण बुझाएको उल्लेख गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सार्वजनिक मामिला विभागका सदस्य पौडेलको नेतृत्वमा प्रदेश महामन्त्री नविन त्रिपाठी, रास्वपा क्षेत्रीय सभापति लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ३ जना बिना विभागीय मन्त्री बनाउने भएका छन्। शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्। तीन मन्त्रीको आज पाँच बजे शपथ हुने मौखिक जानकारी गराएका छन्। लिखित जानकारी केही बेरपछि पठाइनेछ। नयाँ गठबन्धन बनेपछि एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दैछन् ।
काठमाडौं: राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ दिएका छन् । सोमबार सङ्घीय संसद् भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिह्न लगाइदिन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरिन् । समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो । आइतबार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम हुनुभएका २० सांसदको बिदाइ भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदलाई बिदाइ गरिएको थियो । राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुनेछ । रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।