पाेखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुर्व्यहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । उनीविरुद्ध गत फागुन २८ गते बिहान साढे ७ बजेको समयमा १५ वर्षकी बालिकालाई यौन दुर्व्यहार गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि बाल यौन दुर्व्यहार कसुरमा ५ दिन म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता आगामी चैत्रको अन्तिम साता हुने भएको छ । उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा हुन लागेको हो । सो प्रतियोगिता चैत्र २५ देखि ३० गतेसम्म पोखरा रंगशालामा आयोजना हुने गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा गठित आयोजक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गर्दै गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट टिमको सहभागिता गराइने बताइएको छ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणको तयारी सुरु भएको गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए।
काठमाडौं: राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्। दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन छ । माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत ल्याए । जम्मा ५६ भोट खसेको थियो ।
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबिच लिखित सहमति भएको हो । सहमति पत्रमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भएको उल्लेख छ । सहमति पत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने भनिएको छ ।त्यस्तै राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वारलाई समर्थन गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ । त्यस्तै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने पनि दलहरूबिच सहमति भएको छ । देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बिचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने भनिएको छ ।
पर्वत: कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताउनुभएको छ । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो । “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानून र नीतिको अभावमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ । सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो । मन्त्री गिरीले कतिपय नीति तथा कानुन अहिलेको परिस्थिति प्रतिकुल रहेको भन्दै मुलुक र आम नागरिकका लागि आवश्यक नीति तथा कानून निर्माण जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले आवश्यक ऐन तथा कानुन निर्माणको जिम्मेवारी र दायित्व आफ्नो काँधमा आएको भन्दै सबै मन्त्रालय र सरोकारवालासँगको समन्वयमा अघि बढ्ने समेत उल्लेख गर्नुभयो । मन्त्री गिरीले मुलुक चरम आर्थिक सङ्कटमा रहेका बेला यसको सुधारका लागि उचित कानुन निर्माण अहिलेको आवश्यकता भएको बताउनुभयो । “अहिलेका नीति लगानीमैत्री छैनन्”, उहाँले भन्नुभयो, “लगानी र व्यवसायीमैत्री कानुन बनाउन हामी लाग्छौँ ।” वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नका लागि गम्भीर रहेको भन्दै मन्त्री गिरीले मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला सरकार परिणाममुखी काम गर्नेगरी अघि बढेको बताउनुभयो । उहाँले न्याय क्षेत्रमा रहेका विकृति विसङ्गतिको पनि अन्त्य गरिने दाबी गर्नुभयो । उहाँले वर्तमान सत्ता गठबन्धन आगामी चार वर्ष नै टिक्ने जिकिर गर्नुभयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप, सङघीय निजामती ऐन र शिक्षा ऐन तत्काल सदनबाट पास गरेर देशलाई निकास दिने समेत उल्लेख गर्नुभयो ।
काठमाडौं: इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ । शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।
गण्डकी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था देखिएको छैन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नयाँ गठबन्धन दलसँग नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का ७ (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० सदस्य छन् । प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको आवश्यकता पर्दछ । गठबन्धनलाई बहुमतका लागि एक प्रदेशसभा सदस्य अपुग भइरहेका बेला दुई प्रदेशसभा सदस्य रहेको राप्रपा सरकार निर्माणमा निर्णायक देखिएको हो । नयाँ सरकार गठनका लागि प्रदेशसभाको गणित अनुकूल नभएपछि गठबन्धनमा आबद्ध दलहरूले राप्रपाको साथ खोजेका छन् । एमाले र माओवादी केन्द्रका नेताहरूले राप्रपासँगको संवादलाई अगाडि बढाएका छन् । एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले राप्रपाले गठबन्धनलाई समर्थन गर्ने दाबी गरे । ‘राप्रपाले गण्डकी प्रदेश सरकार गठनमा सहयोग गर्नेमा हामी ढुक्क छौँ, जिम्मेवार दलका रूपमा राजनीतिक स्थिरताका लागि भूमिका खेल्नु उसको पनि दायित्व हो’, उनले भने, ‘विगतदेखि नै राप्रपासँग सहकार्य हुँदै आएको हो, अहिले पनि मिलेरै अगाडि बढ्ने वातावरण तयार हुँदैछ ।’ राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयले पनि गण्डकीमा गठबन्धनलाई सरकार गठन गर्न सहज हुने देखिएको प्रमुख सचेतक नेपालीले बताए । हिजोको बैठकबाट सङ्घ सरकारलाई समर्थन नगर्ने निर्णयमा पुगेको राप्रपाले प्रदेश सरकारलाई समर्थन गर्नुपर्ने परिस्थिति आएमा भने पार्टी अध्यक्षले सम्बन्धित प्रदेशसँग परामर्श गरेर उपयुक्त निर्णय लिनसक्ने निष्कर्ष निकालेको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कुसुम बूढा पुनले पनि गण्डकीको सत्ता राजनीतिमा देखिएको अन्योलता हटाउन राप्रपाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । संसदीय दलको बैठकले परिवर्तित सन्दर्भमा नयाँ सरकार निर्माण प्रक्रियामा सहज र स्वाभाविक राजनीतिक निकासका लागि सहयोग गर्न दलहरूलाई आह्वान गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए । २७ सिटको कांग्रेससँग राप्रपा मिल्दा पनि बहुमत नपुग्ने हुँदा राप्रपाले एमाले–माओवादी केन्द्रसहितको गठबन्धनलाई नै सघाउने नेता चुमानको विश्वास छ ।
काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । लोसपाको हिजो बसेको संसदीय दलको बैठकले संसदमा प्रतिपक्षको भूमिका रहने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । साथै आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई मतदान गर्ने लोसपाले निर्णय गरेको छ । कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ । लोसपासँग राष्ट्रिय सभामा एक जना र प्रतिनिधि सभामा चार जना सांसद छन् ।