काठमाडौं: मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारी रहेका छन् । उनले क्यानडा पठाइदिने भन्दै दुवई लगेर मानब बेचबिखन गर्ने गरेको प्रहरीले बताएको छ । टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानडा पठाइसकेको भनि प्रलोभन देखाउँदै पीडितलाई दुवई पु¥याई बन्धक बनाई राख्ने गरेका थिए । घटनामा संलग्न रही फरार रहेका हवारीले क्यानडा जानको लागि ३० लाख रूपैयाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रूपैयाँ रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेका उनीविरुद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूकोसमेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैँक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तब्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताउनुभयो । उहाँले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा एवं एडिबीका नेपालस्थित उच्च अधिकारीको पनि उपस्थिति रहेको थियो ।
स्याङ्जाः दश वर्ष कोरिया बसेर फर्कनुभएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थाल्नुभएको छ । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उहाँले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गर्नुभएको हो । “दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको थिएँ”, उहाँले भन्नुभयो, “त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरी आम्दानीसित जोडिएको छु ।” कोरियाबाट ड्रागनखेती गर्छु भन्ने सङ्कल्प साथ गाउँ आउनुभएका उहाँले दुई वर्षअघि तीन सय बिरुवा लगाउनुभएको थियो । बिरुवाले प्रशस्त फल दिएपछि त्यसलाई विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाउनुभएको छ । “नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत भएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेको थिएँ यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य छ ।” सुरुमा आफूले उत्पादन गरेको फलका बारेमा बुझाउँदै हिँड्नु परे तापनि अहिले उत्पादन हुनासाथ घरबाटै बिक्री हुने गरेकाले बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ । प्रतिकेजी रु पाँच सयका दरले बिक्री गर्दै आउनुभएका उहाँ मागअनुसार आपूर्ति गर्न नसकको बताउनुहुन्छ ।
पोखरा: वडा प्रहरी कार्यालय बैदामले प्रहरीले गत ६ गते लेकसाइडमा ग १३ प ४०९ नम्बरको स्कुटरलाई गरेको ग १२ प ३३९७ नम्बरको स्कुटरले ठक्कर दिएर फरार रहेका युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा महानगरपालिका वडा १७ बस्ने २१ वर्षीय कुशल गुरुङ रहेका छन् । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले एउटै दिशामा गएको स्कुटरलाई ठक्कर दिई स्कुटरमा सवार पोखरा २७ कि गायत्री थापालाई घाइते बनाई गाली गलौज गरी फरार रहेको बताउदै सूचनाको आधारमा कुशललाई पक्राउ गरिएको बताए । डिएसपी शर्माका अनुसार कुशललाई ठक्कर दिएको स्कुटरसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो । हाल पक्राउ परेका कुशलविरुद्ध वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहार सम्बन्धि मुद्दामा थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
पोखरा: वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको तर्क छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुक्रबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघले टेवानको भ्रमण टोलीसँग गरेको अन्तक्र्रियामा उक्त कुरामा जोड दिइएको हो । वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष अनिलकुमार अग्रवालले सातामा कम्तीमा २ उडान हुनुपर्ने माग गरे । उनले मधेश प्रदेश र गण्डकी प्रदेश सरकारका प्रमुखमार्फत चाँडै नै उडान निरन्तरतामा पहल गर्नुपर्ने उनको भनाइ थियो । २ वर्षअघि तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र लालबाबु राउतको पालामा बुद्ध एयरले दुई सहरबीच उडान सुरु गरे पनि १ वर्षयता रोकिएको छ । नेपालका ६ महानगरमध्ये पोखरा र वीरगञ्जबीच आपसमा धार्मिक एवं पर्यटकीय सम्भावना छन् । प्रमुख अतिथि टेवान अध्यक्ष कमला गिरीले पोखरा र वीरगञ्जका उद्योग व्यवसायीबीच आपसी सहकार्यमा जोड दिइन् । उनले गण्डकीका ११ वटै जिल्लामा टेवानको कार्यक्रम भए पनि अन्तरप्रदेशबीच पनि विविध पर्यटनसम्बद्ध कार्यक्रम गर्नुपर्छ भन्ने सोचका लागि पहिलो पल्ट कार्यक्रम लिएर मधेश प्रदेश आएको बताइन् । वीरगञ्ज औद्योगिकमात्र नभई धार्मिक, पुरातात्विक, प्राकृतिक, पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेको ठाउँ रहेकोले पर्यटनको राधजानी पोखरासँग विविध विषयमा सहकार्य गर्न सकिने उनको भनाइ थियो । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले धन्यवाद ज्ञापन र संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले संघका गतिविधिबारे बताए । कार्यक्रममा टेवान सचिव एवं पर्यटन प्रवद्र्धन कार्यक्रम संयोजक शोभा अधिकारी पौडेल, टेवान उपाध्यक्ष प्रभा सुवेदी, वीरगञ्ज उद्योग वाणिज्य संघ सदस्य नीलम सिंह, अर्का सदस्य अनुज अग्रवाल लगायतले दुवै सहरको पर्यटकीय सम्भावनाका बारेमा बोलेका थिए ।
काठमाडौं: उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो । भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् । प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं: धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको छ । फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटमा सुरु भएको छ । पहिलो चरणको छायांकन यसअघि मनाङमा सम्पन्न भइसकेको छ । निर्देशक अशोक थापाले बिहीबारदेखि पुन मगरको उद्गमथलो रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले दशक लामो सशस्त्र युद्धको क्रममा युवायुवतीबीच अंकुराएको प्रेमलाई देखाउँछ । छायांकन गर्न पुगेको ‘खुश्मा’को टिमलाई मौकोटबासीले स्वागत गरेका थिए । मैकोट अभिनेता धीरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट दुई वर्षको उमेरमा बेलायत गएका थिए । निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् । सहनिर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ । माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।
पोखरा: आकर्षक तलबको प्रलोभन देखाई माल्टा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् । प्रहरीका अनुसार विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं- यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् । श्रीलंका र मालदिभ्सका लागि अमेरिकी पूर्वराजदूत तथा भारतका लागि अमेरिकी नियोग उपप्रमुखको भूमिका निर्वाह गरिसकेका अमेरिकाका पूर्वकूटनीतिज्ञ केशप यतिबेला यूएस चेम्बर अफ कमर्शमार्फत सक्रिय छन् । लामो समय दक्षिण एसियामा रही काम गरेका केशप यस क्षेत्रको अर्थतन्त्र, व्यापारलाई नजिकबाट नियालेका छन् । नेपालमा अमेरिकन चेम्बर अफ कमर्श स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका केशपले नेपालमा अमेरिकी लगानी भित्र्याउनका लागि पनि विभिन्न स्थान र समयमा पैरवी गर्दै आएका छन् । सन् २०२१ मा नेपालमा अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम)स्थापना गर्दा र सन् २०२२ नोभेम्बरमा यूएस चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनका लागि पनि उनको विशेष भूमिका रहेको अमेरिकन चेम्बर अफ कमर्श, नेपाल (एमच्याम) का महाप्रबन्धक अमीरराज थापाले बताए । 'एमच्याम स्थापनापछि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र तत्कालीन परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी साउद) लाई साक्षी राखेर अमेरिकी चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनेमा पनि उहाँको योगदान ठूलो थियो', थापाले भने । उनले एमच्यामका लागि उक्त मान्यताले ठूलो अर्थ राख्ने बताए । उक्त मान्यताप्राप्तपछि एमच्यामका लागि विश्वका विभिन्न देशमा फैलिएको यूएस चेम्बर अफ कमर्शको नेटवर्कसम्मको पहुँचमा सहज मात्रै भएको छैन विश्वास पनि आर्जन भएको उनको भनाइ छ ।