पोखरा: पोखरामा जारी नेकपा एमालेको कास्कीको ११ औं जिल्ला अधिवेशनमा अन्तिम दिन उम्मेदवारीको अन्तिम सूची प्रकाशन भएको छ । मंगलबार निर्वाचन मण्डलले अन्तिम नामावली प्रकाशन गरेको हो । अधिवेशनले १ सय २१ सदस्यीय उम्मेदवार चयन गर्नेछ । नयाँ नेतृत्वको लागि दुई प्यान बनेको छ । यद्यपि अध्यक्षमा एक जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । माधव बास्तोला र बैनबहादुर क्षेत्रीको अध्यक्षमा उम्मेदवारी परेको हो । उनीहरुले छुट्टाछुट्टै प्यान बनाएका छन् । यद्यपि विवेक त्रिपाठीको उम्मेदवारी अध्यक्षमा परेको छ ।
हेटौँडाः बागमती प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टीले दिएको समर्थन फिर्ता लिएको छ । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान वज्राचार्यले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बागमती प्रदेश प्रमुखलाई जानकारी गराएको बताउनुभयो । हाम्रो नेपाली पार्टीले गत वर्ष पुसमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिएको थियो । संसदीय दलका नेता वज्राचार्यले प्रदेशमा आफूहरुले मुख्यमन्त्री माग गरेको बताउँदै मुख्यमन्त्री नपाएमा विपक्षमा बस्ने बताउनुभयो । यसअघि नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै वर्तमान सरकार अल्पमतमा परेको छ । यस प्रदेशमा हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् ।
काठमाडौंः इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको छ । पाँचथर तथा ताप्लेजुङ जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसन लाइनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाउँपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेशनमा जडान गरिएको छ । २०७८ साल साउन २३ गतेबाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनी गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पूरा गरेको हो। यो आयोजना निर्माण सम्पन्न गर्नका लागि एक सय ९४ करोड रुपियाँ लागत लागेको छ । जसमध्ये संस्थापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र बाँकी ७० प्रतिशत नविल बैङ्क लिमिटेडको एकल लगानीबाट सम्पन्न गरिएको छ । यो आयोजना याँङवारक गाउँपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावर हाउसमा पानी खसाली विद्युत उत्पादन गरिएको छ । आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावर हाउसको काम लटिनाथ कन्स्ट्रक्सन कम्पनी प्रालि र इन्टेक तथा पाइप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो । यसको हाइड्रोमेकानिकलको काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो । यस आयोजनामा जडित इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरू युरोपियन प्रविधिको छनोट गरी जेपट हाइड्रो अस्ट्रियाबाट खरिद गरिएको कम्पनीका कार्यकारी सञ्चालक सतिस न्यौपानेले जानकारी दिनुभयो । जेपट हाइड्रो अस्ट्रियाबाट आयात गरिएको टर्वाइन र गामेशा स्पेनबाट आयात गरिएको जेनेरेटर राखिएको छ । कन्ट्रोल रुममा राखिएका प्यानल वोर्डहरु क्रोएसियाको प्रो–इन्ट्रीगिस कम्पनीबाट आयात गरिएको समेत न्यौपानेले बताउनुभयो । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको छ । गुरुप्रसाद न्यौपानेको अगुवाइमा प्रवर्द्धन गरिएका न्यौपाने समूहको अगुवाइमा रहेका आयोजनाको सङ्ख्या १६ पुगेका छन् । यो उत्पादित विद्युत अमरपुर सबस्टेशनमा जडान गरी आरपुर–दमक १३२ केभि ट्रान्समिसन लाइनमार्फत नेपालभर आपूर्ति भएको छ ।
पोखरा: नेकपा एमाले कास्कीको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । कास्कीमा नयाँ नेतृत्वका लागि माधव बास्तोला र बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठीले उम्मेदवारी दिएका हुन् । बास्तोला र क्षेत्रीले प्यानल बनाएर उम्मेदवारी दिएपनि त्रिपाठीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् । २०७४ को निर्वाचनबाट जिल्ला समन्वय समिति कास्कीका सभापति समेत बनेका क्षेत्री एमाले कास्कीका सचिव हुन् । युवा संघको केन्द्रीय उपाध्यक्षसमेत बनेका अध्यक्षका उम्मेदवार बास्तोला मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष समेत हुन् । माधव समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा राधिका शाही योगी र सिता परियारले उम्मेदवारी दिएका छन् । क्षेत्री समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् । अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचन गर्ने कार्यतालिका छ । उक्त अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधिले भाग लिइरहेका छन् । जिल्ला अधिवेशन चैत १० गते सुरु भएको हो ।
बाँके: कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा बाँसगढी नगरपालिका वडा नं। ४ बर्दियाका २२ वर्षीय अनिल विकलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १२ गते विकले आफ्नी श्रीमती २१ वर्षीया सुशीला सुनारको ढाडमाथि धारिलो हतियार प्रहार गरि घाइते बनाएको र उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याएका थिए । धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि विकले औषधि उपचारका लागि अस्पताल पुर्याएको जानकारी पाएर प्रहरी त्यहाँ पुग्दा सुशीला सुनारको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको प्रहरीले जनाएको छ । अस्पतालबाटै विकलाई मङ्गलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका विकमाथि थप अनुसान्धान जारी रहेको कोहलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विक दम्पती कोहलपुर नगरपालिका वडा नं। १४ पार्वतीपुरस्थित वागेश्वरी होम पाइप एण्ड पोल उद्योगमा काम गर्दै आएका थिए ।
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन सुरु गरिएको छ । सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली २४ सै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए । उनले सीमासँग जोडिएका जिल्लाका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको बताए । यसकासाथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ । जिम्मेवारी ईलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायतका वर्तमान स्थितिबारे जानकारी लिनुकासाथै सीमा सुरक्षाको अवस्था, सीमा स्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणबारे जानकारी अद्यावधिक हुनगई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामिप्यता अभिबृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेशहरु समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा ईलाकामा बन्दोवस्तीका सामग्रीसहित परिचालन हुनेछ । साथै एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती सञ्चालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग ‘लिङ्कअप’ गरी गस्तीलाई चक्रको रुपमा निरन्तरता दिने जनाइएको छ ।
ललितपुर: ललितपुरमा दुई जनाको हत्या भएको घटनामा पक्राउ परेका १८ जनामध्ये चारसहित पाँच जनाविरुद्ध मुद्दा चलाइने भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ परेका चार र फरार एकजना गरी पाँच जनाविरुद्ध मुद्दा चलाइन लागिएको जानकारी दिएको हो । प्रहरीका अनुसार खोटाङका विजय राई, सुलभ राई, भोजपुरका मुकारुङ राई र काठमाडौँका छेङ्वीहाङ राई विरुद्ध मुद्दा चल्नेछ । उनीहरु यसअघि नै पक्राउ परिसकेका छन् । यस्तै घटनापछि फरार राजु गुरुङको खोजी भइरहेको र उनीविरुद्ध पनि मुद्दा चल्ने प्रहरीको भनाइ छ । ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा दुई युवाको हत्याको कारण ‘पुरानो रिसिइबी’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यो पनि पढ्नुहोस ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप, दुईजनाको मृत्यु ढोलाहिटीस्थित डि–पोपिना रेस्टुरेन्टमा सोमबार राति दुई जनामाथि चक्कु प्रहार भएको थियो । घटनामा सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो । रोबसको कोखमा चक्कु प्रहार गरिएको छ । पुजनको तिघ्रामा प्रहार गरेर रेस्टुरेन्टमा लामो समय राखेर ओभर ब्लिडिङ्ग गराएको भेटिएको छ । पुजन राईलाई सुमेरु अस्पतालमा र रोबसलाई पाटन अस्पतालमा भर्ना गरेपछि प्रहरीले खबर पाएको थियो । राति ११ बजेतिर घटनाबारे खबर पाएपछि अनुसन्धान थालिएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
काठमाडौं: प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । उनका अनुसार भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले बङ्गलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढङ्गले बसोबास गर्नाका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा निजहरुलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये विश्वास र मियाँलाई यही चैत ९ गते पक्राउ गरिएको थियो भने अन्य तीनजनालाई सोमबार पक्राउ गरिएको हो । निजहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको सूचना अधिकारी पोखरेलले बताए ।
धनुषा: धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् । आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई बी.एल.१२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रक्ता रञ्जन अवाले जानकारी दिए ।