पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

सर्लाही:     सर्लाहीको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ। गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो। आगलागीबाट हरिवन नगरपालिका–३ मोहनपुरका रोहन भुजेलको घर र दुईवटा फार्म घर जलेका छन्।  भुजेलको बस्ने एउटा घर र बाख्रा र कुखुरापालन गरेको दुईवटा फार्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। विद्युत सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन्। घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित रु ११ लाख बराबरको क्षति भएको हो। यसैगरी, गए राति नै कविलास नगरपालिका–१० सलेमपुरमा एक घरमा आगलागी भएको छ। आगलागीबाट सोही स्थानका वासुदेव महतोको गोठघर नष्ट भएको छ। आगलागीबाट दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।  दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो।

काठमाडौं:  भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।   दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ।   भोजपुरकै आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।   आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। भोजपुरबाट उदयपुर, धरान, इटहरी तर्फ जाँदै गरेका यात्रु सवार बोलेरो दुर्घटनामा परेको उनले जानकारी दिए।   उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्दा मृत्यु भएको बताए।   दुर्घटनामा घाइते भएका घाइते भएका सबैको अहिले धरानमै उपचार भइरहेको छ। दुर्घटनामा बोलेरो चालक भोजपुर आमचोक गाउँपालिका-१ का ३६ वर्षीय प्रकाश राई पनि घाइते भएका छन्।

इलाम:      प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाएका थिए । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन् ।  यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ ।

इलाम:     इलाम प्रतिनिधी सभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ्ग विजयी हुनुभएको छ ।  निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार डम्बर बहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गर्दै नेम्बाङ्ग प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । अन्तिम मत परिणामअनुसार नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ ह्जार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्बाङ्गको निधन पछि उक्त स्थानमा उपनिर्वाचन भएको हो । सुहाङ सुभाष नेम्बाङ्गका कान्छा छोरा हुनुहुन्छ । २०४६ सालमा काठमाडौंमा उहाँको जन्म भएको हो । उहाँ कानूनमा स्नातक उत्तिर्ण हुनुहुन्छ । सुहाङ नेम्बाङ्गलाई उपनिर्वाचनमा नेकपा एमालेले नेकपा माओबादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उम्मेद्वारका रुपमा इलाम(२ मा उम्मेद्वार बनाएको थियो । यसअघि २०७९ मा भएको आम निर्वाचनमा काँग्रेसका खड्का सुहाङका पिता सुभाष नेम्बाङ्गसँग ११४ को झिनो मतान्तरले पराजित हुनुभएको थियो । उपनिर्वाचनको मत परिणामअनुसार पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगीमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । पहिचान पक्षधर केहि राजनैतिक दल र संगठन सहित ४२ घटकहरुको समर्थन रहेको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिले चौथो स्थान प्राप्त गरेको छ । घण्टी चुनाव चिन्हमा ५ हजार ५० मत प्राप्त भएको छ । उपप्रधानमन्त्री एवम् गृहमंत्री रवि लामिछाने अध्यक्ष रहेको यो पार्टीले पत्रकार मिलन कुमार योङ्गहाङ्ग लिम्बुलाई उम्मेद्वार बनाएको थियो । गत शनिबार उपनिर्वाचन भएको थियो । १२ राजनैतिक दल सात स्वतन्त्रसहित १९ जना उम्मेद्वारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । जम्मा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ को उपनिर्वाचनमा ६९ हजार ३ सय ७४ मत खसेको थियो ।

पोखरा:    पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने २ शिक्षकलाई प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ११ फुलबारीस्थित शिवशक्ति माविमा सञ्चालक भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोपमा २ शिक्षकलाई हिजो (आइतबार) प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।  विद्युतीय माध्यमबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा पोखरा ११ फुलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोलालाई ८ थान उत्तर पुस्तिका र ३ थान मोबाइल सहित प्रकाउ गरेको प्रहरीले जनाएको छ ।  प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले उनीहरुलाई प्रकाउ गरेको हो ।   

पोखरा:     विगत केही दिनदेखि गण्डकी प्रदेशका विभिन्न भूभागका वनजंगलमा आगलागीका कारण नियन्त्रण गर्न नसक्ने गरी डढेलो फैलिएको छ। हालसम्म प्रदेशका ४ सय ६७ स्थानको ८ हजार २ सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागी सकेको तथ्यांक प्राप्त भएको छ।  यसका कारण कैयौं जङ्गली जीवजन्तुको मृत्यु भएको र बास स्थान मासिएको तथा मानव समेत घाइते भएका विवरणहरू समेत प्राप्त भएका छन्। यो क्रम निरन्तर जारी रहेमा वातावरणीय प्रदुषण बढ्नुका साथै मानव बस्ती समेत जोखिममा पर्ने र वायुप्रदुषणको स्तर अत्याधिक बढ्दै जाने देखिन्छ। यसरी फैलिरहेको डढेलो र त्यसले गराएको प्रदुषणप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चिन्ता व्यक्त गर्नुभएको छ । सोमबार एक अपिल जारी गर्दै उहाँले आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि गण्डकी प्रदेशबासी सचेत हुनुपर्ने आवश्यकता देखिएको समेत बताउनुभएको छ। डढेलोले पर्यावरण, जडिबुटी, ठुलो मात्रामा काठ दाउरा, चराचुरुङ्गी वन्यजन्तु, पूनरुत्पादित साना विरुवामा नोक्सान गरी जैविक तथा पर्यावरणीय क्षति बढाउदै जनजीवनमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पारेको मुख्यमन्त्री अधिकारीको उल्लेख गर्नुभएको छ । वनजंगलमा रहेका खानेपानीका पाइपलाइनमा नोक्सानी पुर्‍याउनुका साथै वन जंगलसँग जोडिएका बस्तीमा थप जनधनको क्षति हुनसक्ने सम्भावना बढाएको छ। सुख्खा तथा हावाहुरी चल्ने यो मौसममा आगलागी र डढेलोको जोखिम बढ्दो छ। यी घटनाक्रमहरूले प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ र चिन्ता समेत बढाएको छु मुख्यमन्त्री अधिकारीले जारी गर्नुभएको अपिलमा भनिएको छ। आफ्नो क्षेत्रको पर्यावरण संरक्षण गरी मानवीय अस्तित्वको रक्षा गर्नु सबैको दायित्व र कर्तव्य भएकोले आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि गण्डकी प्रदेशबासी सचेत हुनुपर्ने आवश्यकता देखिएको उहाँले खुलाउनुभएको छ ।  विपत्ति आइपरेमा भने सरकारका विपद व्यवस्थापन संयन्त्रहरू उद्धारका लागि हरहमेसा तम्तयार रहेको भन्दै तत्काल सम्बन्धित ठाउँमा खबर गर्न आग्रह समेत गर्नुभएको छ । 'डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदुषणको जोखिम रहिरहने, सिमसार सुक्ने, बाढी पहिरो समेतको जोखिम बढ्ने हुनाले यस्ता दुःखद प्राकृतिक विपत्तिबाट जोगिन विशेष सावधानी अपनाउनुहुन र कसैगरी त्यस्ता विपत्ति आइपरेमा सरकारका विपद व्यवस्थापन संयन्त्रहरू उद्धारका लागि हरहमेसा तम्तयार रहेको हुँदा तत्काल सम्बन्धित ठाउँमा खबर गर्नुहुन गण्डकी प्रदेशबासी सबै दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछु'अपिलमा भनिएको छ।  

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुमा सिद्ध मावि र कालिका मावि विजयी भएका छन् । पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका लागि रचना चौधरीले ४८ रन हानिन् । एलिना श्रेष्ठले ११ रन बनाइन् । लक्ष्मी माविको बलिङमा सुनिता घिसिङले २ तथा सुप्रिया गुरुङले १ विकेट  लिइन् । १ सय ३१ रनको लक्ष्य पाएको लक्ष्मी माविले १२.४ ओभरमा ६२ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । लक्ष्मीका प्रिति भट्टराईले १० तथा मोनिका जैसवालले ७ रन बनाए । सिद्धका बलर रचना चौधरीले २ रन खर्चिएर ७ विकेट लिइन् । सुसिला दिमडुङले २ रन खर्चिएर ४ विकेट लिइन् । खेलमा रचना सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् । अर्को खेलमा कालिकाले सिर्जना माविलाई १ सय ४१ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको कालिकाले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो ।  सो खेलमा कालिकाकी रिया गुरुङले प्रतियोगिताकै पहिलो शतकिय पारी खेल्दै अभिजित १ सय १ रन प्रहार गरिन् । कृष्टा तिलिजा पुनले ३६ रन बनाइन् । सिर्जनाका बलर सुस्मिता पौडेलले १ विकेट लिइन् ।  प्रत्युत्तरमा सिर्जनाको पारी ८२ रनमै समेटियो । कालिकाकी बलर श्रद्धा गुरुङले ५ तथा पूर्णिमा गुरुङ र अञ्जना सिंखडाले समान २ विकेट लिए । खेलमा प्रतियोगिताकै पहिलो शतर प्रहार गरेकी रिया गुरुङ सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।  

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।  सोमबार पोखराकोे लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्ट एण्ड मुस्ताङ बारमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पत्रकार सम्मेलनको आयोजना गरेर मनोनयन सार्वजनिक गरेको हो । यही वैशाख  २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्डअन्र्तगत मनोनयनको वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा स्थान बनाए । १७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की समावेश बने । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएको महासचिव पौडेलले खुलाए ।   स्पोर्ट्स अवार्डमा कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गर्ने जनाएको छ ।   वर्ष खेलाडी पुरुष र महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।  वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक,वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार सहित ट्रफी पाउने अध्यक्ष बरालले बताए । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिने समेत मञ्चले जनाएको छ । मञ्च अध्यक्ष बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलन तथा मनोनयन सार्वजनिक समारोहमा मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव पौडेलले बोलेका थिए ।

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  जमानत जफत हुनेहरूमा राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, जनमत पार्टीकी सुशीला देवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगरको जमानत जफत भएको हो ।   उक्त उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् भने कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले भने जमानत जोगाए । निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।’तर निर्वाचित उम्मेदवारको हकमा भने यो कुरा लागू नहुने ऐनमा उल्लेख छ ।