पर्वत : पर्वतको जलजला गाउँपालिका–२, मल्लाजमा भएको एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको ब्यूरोका एसपी होविन्द्र बोगटीले पुष्टि गरे । ‘विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं’, उहाँले बताउनुभयो, ‘अहिलेसम्मको जाँचमा लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’ यो पनि पढ्नुहोस पर्वतमा एक दम्पती मृत फेला, हत्याको आशंका १९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए । जिल्ला र प्रदेशबाट खटिएको अनुसन्धान अधिकृतको टोलीले आरोपी पक्राउ गर्न नसकेपछि संसद्मा समेत प्रश्न उठेको थियो । त्यसपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले सीआईबीको टोली पठाएका थिए । पर्वतमै पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृतमा जानकारी दिने प्रहरी तयारी छ ।
मुस्ताङ: मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्। प्रदेश नं.३–०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अनामनगरको लिबर्टी कलेजका ३३ जना विद्यार्थी लिएर गएको गाडी दुर्घटनामा परेको प्रहरीको भनाइ छ। बसमा सवार २१ जना सामान्य घाइते भएका छन्। उनीहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा सिराहा लहान १२ का २० वर्षीय आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमी ३ बस्ने वर्ष २० का अनुज न्यौपाने, सिराहा गोलबजार ६ बस्ने वर्ष २१ कि ज्योति कुमारी साह, गुल्मी रुरु ५ बस्ने वर्ष २१ कि समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुर ८ बस्ने वर्ष २० कि प्रतिक्षा खड्का छन्। यस्तै, ओखलढुंगा घर भई भक्तपुर चाँगुनारायण बस्ने वर्ष २० कि बिन्दा दाहाल, काठमाडौं ९ एयरपोर्ट बस्ने १९ वर्षकी अनामिका थापा, कैलाली गोदावरी १० बस्ने वर्ष २१ को ध्रुवराज जोसी, भोजपुर ९ बस्ने वर्ष २० का पेसल बस्नेत, महोत्तरी जलेश्वर १ बस्ने वर्ष २२ कि रम्मा कुमारी, पाँचथर कुम्भायोग १ बस्ने वर्ष २३ को आदेश लावती पनि घाइते छन्। सुनसरी हरहरी ८ बस्ने २२ वर्षका निशान रसाइली, बटेश्वर २ बस्ने वर्ष २४ का सुरज कुमार परियार, बर्दिया मधुवन ६ का २० वर्षीय सुवास नेपाल, काभ्रे तेमाल ६ बस्ने २१ वर्षका सौगात त्रिपाठी, सर्लाही कौदेना १ बस्ने वर्ष २० को राहुल साह, काठमाडौँका साईरस तामाङ, सुर्यबिनायककी अनामितका सुवार, जनकपुर ११ का दीपक कुमार निधी, हरिवन ४ का २२ वर्षीय निरञ्जन साह र डोटी शिखर ८ बस्ने २१ वर्षका रोहित बलायर पनि घाइते रहेका मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले बताए।
रुकुम पश्चिम: ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान त्रिवेणीको सिम्रुत बजारमा भएको दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–७, खाराका ४५ वर्षीय जयबहादुर गिरीको मृत्यु भएको हो । सिम्रुत बजारमा आज बिहान विपरीत दिशाबाट आएको रा १ ख ३२१७ नम्बरको ट्रकले गिरी सवार रा६प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट चालक गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । ट्रक चालक छत्रेश्वरी गाउँपालिका–७, सल्यान निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनमा प्राप्त जितले एमालेलाई खुसी तुल्याएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले चुनावले आफ्नो दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको देखाएको प्रतिक्रिया दिनुभयो । एमालेको अगुवाइ र उपस्थितिमा देश निर्माण गर्न सकिन्छ भन्ने सन्देश पाएको जिकिर पनि उहाँले गर्नुभयो । “अन्य राजनीतिक पार्टीमा सङ्गठित व्यक्तिले पनि ‘सूर्य’लाई मत हालेको देखिन्छ । विचारका हिसाबले आफ्ना दलको नेतालाई मान्ने तर मुलुक सञ्चालनको जिम्मेवारीमा एमाले खोज्ने प्रवृत्ति मतदातामा देखियो । यो एमालेका लागि नयाँ जिम्मेवारी पनि हो ।” आफ्नो दललाई पहिचान विरोधी हो भनेर समाजलाई साम्प्रदायिक विभाजन गर्ने दूषित मनसाय बोकेकाहरूले लगाएको आरोप र अस्वीकृत भएको उहाँको भनाइ छ । पहिचानका नाममा अतिवादी प्रवृत्तिलाई समाप्त पारिएको जनाउँदै उहाँले जनताले युवालाई अनुमोदन गरेको स्पष्ट देखिएको बताउनुभयो । विधायकको मुख्य भूमिका कानुन निर्माण हो, त्यस्तो महत्वपूर्ण थलो संंसदमा कानुनी पृष्ठभूमिका प्रतिनिधिलाई नै जनताले रोजेकामा उहाँले सन्तुष्टि व्यक्त गर्नुभयो । “प्राप्त मतभारबाट उत्साहित मात्र नभएर आफूप्रति गरिएको भरोसालाई डगमगाउन नदिई मुलुकलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको राष्ट्रिय सङ्कल्पमा दृढ भएर अघि बढ्छौँ”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले उपनिर्वाचनबाट देशले राजनीतिक परिपक्वता खोजेको सङ्केत गरेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार मुलुकलाई अघि बढाउन दुई/तीन आयाम छन् । “अब सबै मिलेर काम गर्नुपर्छ । देशको समृद्धिका लागि मिलेर जाऔँ भन्ने सन्देश पाइएको छ । राजनीतिमा अघि बढ्न त्याग, समर्पण, परिपक्वता आवश्यक हुन्छ भन्ने सन्देश आयो”, उहाँले भन्नुभयो । नेपाली कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङले आफ्नो दलले निर्वाचनको परिणामलाई सकारात्मक रूपमा ग्रहण गरेको बताउनुभयो । आफ्नो दल निर्वाचनमा पराजित भए पनि कांग्रेसप्रतिको जनताको भरोसा कायमै छ भन्ने जिकिर पनि उहाँले गर्नुभयो । “निर्वाचनले एमाले र नेपाली कांग्रेसमै जनताको भरोसा छ भन्ने देखाएको छ । यसबाट नयाँ राजनीतिक दलको पनि परीक्षण भएको छ”, उहाँले भन्नुभयो । आफ्ना मतदाता यथावत् रहेको र तिनले कांग्रेसलाई माया गरिरहेको जनाउँदै उहाँले अब पार्टी जनताका माझमा पुग्न र अलि बढी खट्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनले सङ्गठन विस्तार र पार्टी बनाउनका लागि जनतासँग लामो संवाद गर्न सन्देश दिएको बताउनुभयो । “पछिल्लो राजनीतिक परिवर्तनसँगै रास्वपाले जनसमर्थन पाउँछ भन्ने बुझाइ स्थापित गर्न अझ बढी काम गर्नुपर्ने देखियो । त्यो बाँकी काम यथाशीघ्र गरेर अघि बढ्न निर्वाचनबाट सन्देश मिलेको छ ।” उपनिर्वाचनमा आएको मतमाथि विचारविमर्श र समीक्षा गर्ने ठाउँमा आफूहरूलाई पुर्याएको बताउँदै उहाँले नतिजालाई सबै आयामले सोच्नुपर्छ भन्नेमा दलको आगामी बैठकमा छलफल हुने जानकारी दिनुभयो ।
काठमाडौंः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहनुभएका उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेससँग आज भएको भेटवार्तामा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिनुभएको हो । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घले गरेको योगदानको सराहना गर्नुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकमविकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको उपप्रधानमन्त्री यादवले बताउनुभयो । महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गर्नुभयो । उहाँले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । साथै उहाँले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा पनि गर्नुभयो । स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसङ्घीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उक्त नियोगका अनुसार महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेकाले त्यसलाई सम्बोधन गर्न सम्बद्ध पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै नेपालले सहायता पाउनु उसको अधिकार हो भन्नुभयो । हरित ग्यास उत्सर्जनमा नगण्य गोयदान गरेको नेपाललाई ‘जलवायु न्याय’का आधारमा न्यूनीकरण तथा अनुकूलन सहायता प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो । त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने उल्लेख गरेको हो । ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । रास्वपाले पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएको छ । रास्वपाले इलाम क्षेत्र नं. २ का सम्पूर्ण मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दै निर्वाचित उम्मेदवार एमालेका सुहाङ नेम्बाङलाई शुभकामना समेत दिएको छ ।
इलामः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उहाँको सांसद यात्रा प्रारम्भ भएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको हो । सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गर्नुभएको थियो । सुहाङको जन्म वि.सं. २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा काठमाडौंमा भएको थियो । काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गर्नुभएका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गर्नुभयो। ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया जानुभयो । त्यहाँ दुई वर्ष बसेर उहाँ नेपाल फर्कनुभयो । स्वदेश फर्केर उहाँले काठमाडौं स्कूल अफ लबाट कानुन सङ्कायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गर्नुभयो । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाउनुभएको थियो । सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आउनुभएको थियो । सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्नुहुन्थ्यो । स्कूले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताउनुभएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने भएका खेलकुद प्रतियोगितामा सहभागी हुन थाल्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गर्नुभयो । पछिल्लो समय उहाँ सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गर्नुभएको थियो । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका हुनुहुन्छ । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाउनुभएको थियो । यद्यपि उहाँ राजनीतिक गतिविधिबाट भने टाढै हुनुहुन्थ्यो । सुहाङले यसअघिसम्म कुनैपनि निर्वाचनमा मतदान समेत गर्नुभएको थिएन । आफ्नै बुबा उम्मेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाउनुभएको थिएन । राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाएपनि खासै रुचि भएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर बुबाको सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि उनलाई पार्टीले टिकट दिलायो र निर्वाचितसमेत हुनुभयो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाउनुभएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाउनुभएको छ । सालिन एवम् बौद्धिक नेताको छवि बनाउनुभएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रुपमा सुहाङले बुबाको बिरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ । आफू विजयी हुँदैगर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्धा इलामको नागरिकको साझा भएको उहाँको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उहाँको भनाइ छ । उहाँ आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउनुहुन्छ । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उहाँको भनाइ छ । हाल सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँका एक दाजु, एक दिदी र एक बहिनी हुनुहुन्छ । उहाँको दिदी सुसाङ पेशाले डेण्टल सर्जन हुनुहुन्छ भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै हुनुहुन्छ ।
मनाङ: मनाङमा लुलुगाई हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले लुलुगाई हत्या आरोपमा निजहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार डोल्पाको काकोट गाउँपालिका–९, का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट गाउँपालिका–१, का ३५ वर्षीय सोमबहादुर गुरुङ र ५८ वर्षीय माहिला गुरुङलाई नियन्त्रणमा लिइएको छ । उनीहरू ङिस्याङमा ज्याला मजदुरी गर्दै आएका छन् । उनीहरुले आइतबार साँझ डिस्याङ–६ माथिल्लो मनाङमा ढुक्टा गुरुङको लुलु प्रजातिको गाईलाई कामीबहादुर गुरुङको घरमा लगेर मासु खाने प्रयोजनका लागि हत्या गरेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । उनले भने, “जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक कारबाही गरिनेछ ।” लुलुगाई लोपोन्मुख अवस्थामा रहेको छ ।
काठमाडौंः सरकारले काठमाडौंमा आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ समापन भएको छ । आइतबारदेखि सुरु भएको सम्मलेन सोमबार पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समापन गर्नुभयो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन सचिवालयका संयोजक सुशील भट्टका अनुसार सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको बताउनुभयो । सम्मेलनबाट नेपालमा लगानीका लागि महत्वपूर्ण प्रतिबद्धता प्राप्त भएको उहाँले दाबी गर्नुभयो । “तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो प्राप्त गरेका छौँ । ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रहरूमा हाम्रा प्राथमिकता र सम्भावित परियोजना प्रदर्शन गरेर नेपाललाई एक रुचाइएको तथा आकर्षक लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्न सफल भएका छौँ”, भट्टले भन्नुभयो, “आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डका नौ परियोजनासहित कूल एक सय ५४ परिरयोजना प्रस्तुत गरिएको थियो । यसबाहेक विभिन्न चरणमा रहेका अरू परियोजना पनि प्रदर्शन गरेका छौँ ।” सम्मेलनका क्रममा लगानीकर्ताहरुसँग महत्वपूर्ण छलफल भएको पनि प्रमुख कार्यकारी अधिकृत भट्टले बताउनुभयो । “प्रधानमन्त्री र अर्थमन्त्रीसँग लगानीकर्ताको प्रत्यक्ष छलफल र साक्षात्कार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मात्र एक दर्जनभन्दा बढी प्रत्यक्ष बैठक बसेका छन्”, उहाँले भन्नुभयो, “विश्व बैङ्क समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त गरेका छन् ।” यो सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा स्वीकार गरेको जिकिर पनि प्रमुख कार्यकारी अधिकृत भट्टले गर्नुभयो । लगानीकर्ताहरु नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उहाँको भनाइ छ । “लगानी सम्मेलका क्रममा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउन लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको छ । यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका छन्”, उहाँले भन्नुभयो । सम्मेलनका क्रममा आयोजना भएका विभिन्न सत्रले नेपालको लगानी परिदृश्य उजागर गरेका गरेको उहाँको भनाइ छ । “सम्मेलनका क्रममा पहिचान र सृजना भएका व्यावसायिक अवसरले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचुर सम्भावना पेस गरेको छ । लगानीसम्बन्धी ऐनमा सुधारका लागि अन्तर्राष्ट्रिय तथा स्वदेशी लगानीकर्ताहरूको निरन्तर चासो र अनुरोधलाई सम्बोधन गर्न सरकारको प्रतिबद्धतालाई ध्यानमा राख्दै सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनलगायत लगानीसम्बन्धी ऐन संशोधन गरेको छ भन्ने सन्देश हामीले दिएका छौँ,” भट्टले भन्नुभयो, “सम्मेलनको माध्यमबाट विश्व लगानी समुदायका लागि नेपालमा उपलब्ध प्रचुर सम्भावनामा लगानी आकर्षित गर्ने क्षमता मात्र होइन, सुधारिएको लगानीको वातावरण पनि प्रदर्शन गरेका थियौँ ।” समापन सत्रमा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पाटी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको विकास र समृद्धिको साझा आकाङ्क्षा पूरा गर्नका लागि लागि सबै राजनीतिक दलको साझा प्रतिबद्धता रहको बताउनुभयो । नेपाल लगानीका लागि नयाँ गन्तव्यका रुपमा स्थापित हुँदै गएको उल्लेख गर्नुहुँदै उहाँले लगानीको सुरक्षा प्रत्याभूतिका लागि नेपाल सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । नयाँ नीति र लगानीका सम्भावनाबारे लगानीकर्तालाई विस्तृतमा जानकारी दिन यो सम्मेलन सफल भएको धारणा उहाँले राख्नुभयो । समापन सत्रमा बोल्नुहुँदै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लगानी वातावरण बनाउनका लागि नेपालले गरेका नीतिगल सुधारबारे लगानीकर्तालाई जानकारी दिन र उनीहरुका सुझाव तथा प्रतिक्रिया लिन यो सम्मेलन सफल भएको बताउनुभयो । सम्मेलनमार्फत सरकार र प्रतिपक्ष दलबाट पनि नेपालमा लगानी वातावरण सुधारका लागि उच्च राजनीतिक प्रतिबद्धता प्राप्त भएको बताउनुभयो । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्नुभयो । “आर्थिक विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको सन्देश दिन सफल भएका छौँ । लगानीको समग्र पारस्थितिक प्रणालीमा सहजीकरण गर्न, लगानीको सुरक्षा प्रत्याभूति तथा सजिलै लगानी फिर्ता लैजाने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको छ”, उहाँले भन्नुभयो । सबै लगानीका क्षेत्रमा समन्वय र सहजीकरणका लागि सरकारका तर्फबाट प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।