म्याग्दी: म्याग्दीका जनप्रतिनिधिको टोलीले जिल्लाका दुरगामी महत्वका विकास आयोजनामा बजेट व्यवस्थापनका लागि आज प्रधानमन्त्री र विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठसँगको भेटमा सङ्घीय सरकारमार्फत म्याग्दीमा सञ्चालित आयोजना निर्माणलाई गति दिने विषयमा पनि छलफल भएको छ । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का म्याग्दी जिल्ला संयोजक रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, माओवादी केन्द्रका युवा नेता नगेन्द्र केसी सहभागी भएका थिए । माओवादी केन्द्रका केन्द्रिय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्मा र गण्डकी प्रदेशसभाको संसददीय दलका नेता हरिबहादुर चुमानसमेत सहभागी प्रधानमन्त्री दाहालसँगको भेटघाटमा गण्डकी प्रदेशमा नयाँ सरकार गठनका विषयमा पनि छलफल भएका प्रदेशसभा सदस्य भण्डारीले बताए । “भेटघाटका क्रममा म्याग्दीका विकास आयोजना कार्यान्वयनको अवस्था, थप आयोजना, नीति निर्माण र राजनीतिक विषयमा छलफल भयो,” उनले भने, “बेनी अस्पतालको भवन, मालढुङगा–बेनी, बेनी–जोमसोम सडक, बृहत पिप्ले–भगवती, घोप्टेखोला खानेपानीलगायत सङ्घीय सरकारमार्फत सञ्चालित योजनामा भएको ढिलाइका विषयमा ध्यानाकर्षण गराएका छौँ ।” बृहत पिप्ले–भगवती खानेपानी आयोजनाका लागि खानेपानी मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव स्विकृत गर्न अर्थमन्त्री पुनलाई अनुरोध गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताए । प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठलाई बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन– रुकुम पूर्व जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउन प्रस्ताव गरिएको उनले बताए । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट व्यवस्था मिलाउन पनि अर्थमन्त्रीलाई टोलीले अनुरोध गरेको टोलीले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग बेनी बजार संरक्षण आयोजनालाई पूर्णता दिन थप बजेट व्यवस्थापन, बगरफाँट, सिङ्गा, तातोपानी, बाबियाचौर, दरवाङ, गलेश्वर, तिप्ल्याङ, भुरुङ्ग–तातोपानी, पोखरेबगरलगायत तटीय बस्ती संरक्षणका लागि नयाँ आयोजना माग, निर्माणाधिन राहुघाटलगायत जलविद्युत, विद्युतिकरण र प्रशारण लाइन आयोजनालाई गति दिने विषयमा छलफल भएको थियो । टोलीले सहरी विकास मन्त्री धनबहादुर बुढा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठ, खानेपानी मन्त्री राजेन्द्र राई, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङसँग पनि भेटघाट गरेर विकास आयोजनामा बजेट व्यवस्थापनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ ।
पोखरा: नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन पोखरा समागृहमा जारी छ । नयाँ नेतृत्वका लागि सहमति जुटाउने प्रयासभएपनि संभावना नदेखिएपछि आज (मंगलबार) दिउँसो साढे १ बजेदेखि मतदान हँुदैछ । आज हुने चुनावमा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरूङको प्यानल खडा गरेरै चुनावी मैदानमा उत्रिएका छन् । यद्यपी गुट उपगुट नभएको भन्दै यसलाई प्रजातान्त्रिक पद्धतीको परिभाषा दिइएको छ । तर यो चुनाव दुई गुटबीच हुँदैंछ । जसलाई केआर र पिएस नामबाट सम्बोधन गर्ने गरिएको छ । के आर समूहबाट अध्यक्ष पदका लागि बैन बहादुर क्षेत्री चुनावी मैदानमा छन् भने पिएस गुटबाट माधव बास्तोलाले टक्कर दिदैंछन् । यस्तै सचिवमा के आरको समूहबाट लेख बहादुर (दर्शन) लामा तामाङ उम्मेदवार छन् भने पिएस समूहबाट सुरेन्द्र गुरुङ उम्मेदवार छन् । विद्युतीय मेसिनबाट मतदान गराउने तयारी रहेको निर्वाचन कमिटीले जनाएको छ । १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नका लागि कुल ९ सय ३५ जना प्रतिनिधिले मदतान गर्नेछन् । यस्तो छ प्रचार समाग्री:- बैन बहादुर क्षेत्री दर्शन लामा माधव बास्तोला सुरेन्द्र गुरुङ
म्याग्दी: म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी(मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिनुभयो । “नदीजन्य निर्माण सामग्रीको अभावले २०७९ कात्तिकदेखि करिब १५ महिना निर्माण सुस्ताएको थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य सामग्रीको व्यवस्थापन गर्न सहजीकरण भएपछि निर्माणले तीव्रता पाएको छ ।” सडक फराकिलो, पानीको निकासका लागि नाली र पर्खाल निर्माण धमाधम भइरहेको तथा मालढुङ्गाबाट फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्र गर्न सबबेस बिछ्याउन थालिएको इन्जिनियर पन्तले बताउनुभयो । यो खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र गरिसक्ने लक्ष्य छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा कल्भर्ट निर्माण गरिएको छ । सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण भइरहेको फर्सेबाट लामाखेत खण्डमा पनि यस वर्ष ग्राभेल गर्ने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा सूचना निकालेर क्षतिपूर्ति वितरण गरिने आयोजनाका प्रमुख ध्रुव झाले बताउनुभयो । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभाव भएको जनाउँदै २०७९ कात्तिकदेखि सुस्त गतिमा काम गरेको थियो । कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो । विसं २०८० असोजमा म्याद सकिएको यस सडक योजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोजसम्मका लागि ठेक्काको म्याद थपिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “सामान्य अवस्थामा २० मिनेटमा बेनीबाट मालढुङ्गा पुगिन्थ्यो, अहिले एक घण्टा लाग्छ”, उहाँले भन्नुभयो “धुलो, हिलो र साँघुरो भएकाले बेनी–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्नुपर्दा गाडी र ढुवानी भाडा बढेको छ ।” यो सडकबाट म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । बेनी–मालढुङ्गा, बेनी–जोमसोमलगायत म्याग्दीका दूरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाजले सहजीकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरलानाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर फराकिलो पारेर कालोपत्र गर्न लागिएको हो ।
पोखरा: पोखराको सहारा क्लबले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई व्यवस्थापन गर्ने भएको छ । पोखरा १७ दोभिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौंथो ब्याजको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लबले जनाएको छ । एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरुको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लबले सार्वजनिक गरेको हो । कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु मध्य बुवा वा आमा गुमाएको वा दुवै गुमाएको, बुबाआमा अपांगता भएको, प्रशिक्षार्थी बालक २०८० चैत मसान्तरमा १० वर्ष पूरा भएर १२ वर्ष ननाघेको, जन्म मितिः २०७० बैशाख देखि चैत्र सम्म जन्म भएको तथा कक्षा ५ वा ६ उत्तिर्ण गरेको हुनुपर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो । शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त भएको, नजिकको नातेदार वा बालक आश्रित संघ संस्थाको आवेदन, बालकको बुवाआमाको वा नजिकको नातेदारकी नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी, स्थानीय निकायको सिफारिसको सक्कल, जन्मदर्ताको प्रमाणपत्र (हस्पिटलको जन्म दर्ता समेत), सम्बन्धित बालकको चलअचल सम्पत्ति भए सोको निस्साको फोटोकपी, बालकको हालसालै खिचेको फोटो २ थान सहित आवेदन फाराम यही चैत मसान्तर भित्र बुझाउनु पर्ने क्लवले जनाएको छ । सहारा एकेडेमीमा हाल ७ जिल्लाका १३ जना बालकहरु रहनु भएको छ ।
काठमाडौं: नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
पोखरा: नेपालको पर्यटन राजधानी पोखरामा राष्ट्रिय स्तरको “प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८०” सफलता पूर्वक सम्पन्न भएको छ । प्रतियोगिताको ५ सय मिटर तर्फ वाटर स्पोर्टस् नेपालको समूह प्रथम भएको छ । विजेता समूहले नगद रु २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा नारा पोखरा द्धितिय र नेपाली सेनाको समूह तेस्रो भएका छन् । उनीहरूले क्रमशः रु १ लाख र रु ६० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना भएको वेगनासताल डुङ्गा व्यवसायी समितिले नगद रु।२५ हजार प्राप्त गरेको छ । प्रतियोगिताको २ सय मिटर तर्फ पुरुष समूहमा नारा पोखरा प्रथम भएको छ भने, वाटर स्पोर्टस् समूह दोस्रो भएका छन् । यस्तै हर्पन पोखरा मच्त्छ्य सहकारी समूह तेस्रो भएको छ । खास्टे न्युरेनी समूह सान्त्वना भएको छ । २ मिटर तर्फको विजेताले नगद रु १ लाख, उपविजेताले रु।७५ हजार, तेस्रोले रु।४० हजार प्राप्त गरेको छ । यसै गरी २ सय मिटर महिला तर्फ बेगनास व्यवसायी मत्स्य समिति प्रथम भएको छ । वेगनासताल डुङ्गा व्यवसायी समिति दोस्रो र जलारी दिदी बहिनी समूह तेस्रो भएका छन् । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट सङ्घ गण्डकी र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सह(आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा १३ समूहको सहभागिता रहेको थियो । प्रतियोगिताले पर्यटन राजधानी पोखराको पर्यटन प्रवर्द्धन तथा वाटर स्पोर्टस् विकासमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले महानगरको नीति तथा कार्यक्रम मै समावेश गरी व्यवस्थित रूपमा वाटर स्पोर्टस् सञ्चालनका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो । पोखरामा रहेका आकर्षक तालहरूको संरक्षण तथा सौन्दर्यीकरणका लागि पोखरा महानगरपालिका योजनाबद्ध ढङ्गले लागिरहेको बताउँदै उहाँले खास्टे र न्युरेनी तालको विकास तथा संरक्षणका लागि डिपिआर समेत भएर प्रक्रियामा अघि बढेको बताउनुभयो । खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माणमा समेत महानगर योजनाबद्ध रूपमा लागिरहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा वाटर स्पोर्टस्को विकास, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक सहकार्य गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । नेपालको पर्यटन राजधानी पोखरामा प्रत्येक वर्ष राष्ट्रिय स्तरको ड्रागन डुङ्गा दौड प्रतियोगिता आयोजना गर्ने र प्रत्येक २–२ वर्षमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसअघि नै जनाएको प्रतिबद्धतामा महानगरपालिका प्रतिबद्ध रहेको प्रवक्ता तिम्सिनाले बताउनुभयो ।
पोखरा: सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले मैत्रीपूर्ण अवलोकन भ्रमण गरेको छ । नुवकोट जिल्लाको नुवाकोट दरवार, ऐतिासिक धार्मिक स्थल देवि घाट, वनदेवि मन्दिर, जिल्ला प्रहरी कार्यालय रसुवा, धुन्चे, नेपाल चीनको सिमाना रसुवागढीका महत्वपूर्ण ठाउँहरुको अवलोकन गरिएको थियो । केन्द्रले हरेक वर्ष गरेका कार्यक्रमको अनुभव आदानप्रदान र त्यस क्षेत्रमा रहेका सामुदायिक र प्रहरी कार्यालयका गतिविधि वारे जानकारी लिने उद्देश्यले अवालोकन भ्रमण गर्दै आएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । ‘विशेष गरी ती जिल्लामा भएका सामुदायिक सेवा केन्द्रका बारेमा जानकारी लिइ अनुभव साटासट गर्ने उद्देश्यले अवलोकन भ्रमण रहेको थियो’ अध्यक्ष अधिकारीले भने, ‘धेरै जिल्लामा सामुदायिक सेवा केन्द्र गठन हुन नसेको भएका पनि सक्रियता नभएकाले सामुदायिक सेव केन्द्र स्थापन र सक्रिया बढाउन आवश्यक रहेको छ ।’ त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय रसुवामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक सुवाष वुढाथोकीले कास्की जिल्लाम सामुदायिक प्रहरीको सक्रियता अरु जिल्लाले पनि सिको गर्नु पर्ने बताए । ‘कास्की जिल्लामा गठन भएका सामुदायिक प्रहरी सेवाको सक्रियताबारे नजिकबाट नियाल्ने अवसर मिलेको थिएन आज रसुवामा नै आएर त्यहाँको वारेमा जानकारी लिने मौका मिल्यो’ प्रहरी उपरीक्षक बुढाथोकीले भने, ‘समुदायक सँग प्रहरीको समन्वय गर्नका लागि हरेक जिल्लामा सामुदायिक सेवा केन्द्र आवश्यक रहेको छ ।’ रसुवामा सामुदायिक सेवा केन्द्र नरहेको उल्लेख गर्दै उनले समुदायसँग नजिक हुनका लागि प्रत्येक घरमा प्रहरीको महत्वपूर्ण फोन नम्वर सहितको स्टिकर टास्ने अभियान गरिएको जानकारी दिए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले सामुदायिक सेवा केन्द्र वगरले गरेका गतिविधि जानकारी दिए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी पूर्व अध्यक्ष तथा सल्लाहकार जीवन अधिकारीले समुदाय र प्रहरी वीचको समन्वमा समाजका विकृति विसंगती न्यूनिकरण गर्न सहजता हुने बताइन् । अवलोक भ्रमणमा ३४ जनाको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण बहादुर तामाङले जानकारी दिए । कार्यक्रमको सहजिकरण प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का सांसद कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् ।
काठमाडौं: आयरल्यान्ड वल्भसविरुद्ध दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित दर्ता गरेको छ । नेपालले आइरिश टोलीविरुद्ध ६ विकेटको जित दर्ता गरेको हो । आयरल्यान्डले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा ४ चौका सहित सर्वाधिक ३७ रनको अविजित इनिङ खेले । यस्तै दिपेन्द्र सिंह ऐरिले १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे । सन्दिप जोराले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए । आयरल्यान्डको पहिलो शिकार ओपनर ब्याटर आसिफ शेख रहेका थिए । चौथो ओभरमा उनी ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाएर ग्यारेथ डीलेनीको बलमा आउट भएका थिए । सोहि ओभरमा कप्तान रोहित पौडेल २ बल खेल्दै शुन्यमा पेभेलियन फर्किए । गुलशन झा पाचौ ओभरमा बेन व्हाइटको बलमा ४ रन बनाएर क्याच आउट भए । ३७–३ को अवस्थाबाट ओपनर कुशल भुर्तेल र सन्दिप् जोराले इनिङ सम्हाल्दै चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । सो साझेदारी सन्दिप थोमस माएसको बलमा क्याच आउट भएपछि तोडिएको थियो । आयरल्यान्डका लागि ग्यारेथ डीलेनीले २ तथा बेन व्हाइट र थोमस माएसले समान १/१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आइरिश टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाउन सक्यो । आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । तर अन्य ब्याटर भने चल्न सकेनन् । करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै रस अडेयरलाई बोल्ड गरेका थिए । पहिलो बलमा चौका पर्हार गरेका उनी आउट भएका थिए । चौथो ओभरको अन्तिम बलमा केड कार्मिकाएल ललित राजवंशीको बलिङमा १२ बलमा ८ रन बनाएर एलबिडब्लुमा फसे । मोर्गन टपिङ सातौ ओभरको दोस्रो बलमा गुल्शन झाको बलमा शुन्यमा बोल्ड भए । कप्तान निल रकलाई पनि गुलशनले नै ५ रनमा क्याच आउट गराए । ग्यारेथ डीलेनि ४ रन बनाएर ११औ ओभरमा कुशल मल्लको शिकार बने । त्यसपछि आउट हुने डोहनी थिए । उनी कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिद्वारा क्याच आउट भएका थिए । फियोन ह्याण्ड पनि १७ बल खेल्दै ११ रन बनाएर कुशल भुर्तेलकै शिकार बने । लियम मकार्थी ललितको बलमा १६ रन बनाएर आउट भए । उनले ७ बल खेलेर २ चौका र १ छक्का एलबिडब्लु आउट भए । थोमस मेयस १३ बलमा १६ रन बनाएर १९औ ओभरमा रन आउट भए । इनिङको अन्तिम बलमा म्याथिउ हमफ्रिज ६ रन बनाएको अवस्थामा रन आउट भए भन ११ नम्बरका ब्याटर बेन व्हाइट शुन्यमा अविजित रहे । नेपालका लागि ललित राजवंशी, गुलशन झा तथा कुशल भुर्तेलले समान २/२ विकेट लिए । यस्तै करण केसी र कुशल मल्लले १/१ विकेट लिए । नेपालले ८ बलरको प्रयोग गरेको थियो । जसमध्य सोमपाल्कामी, दिपेन्द्र सिंह ऐरि र अविनाश बोहराले कुनै विकेट लिन सकेनन् । आयरल्यान्ड वल्भसविरुद्ध नेपालका लागि १५ जनाको स्क्वाड मध्य आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव बाहिर रहेका थिए । सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका रहेको छ । नेपाल भोलि अर्को खेल खेलेपछि बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ ।