५ करोड ५० लाखमा पैयूँ गाउँपालिकाको भवन निर्माण
पर्वत | साउन २२, २०८१
पर्वत: दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ ।
पैयूँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो । विसं २०७८ साउन १० गतेदेखि निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भइ सञ्चालनको तयारी गरिएको छ ।
प्रशासकीय भवन साढे तीन तलाको छ । ३८ कोठा र लिफ्टसहितको अत्याधुनिक भवन रु पाँच करोड ४८ लाख ४८ हजार नौ सय ९० लागतमा निर्माण भएको हो । १२ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासकीय भवन निर्माण स्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गा धनीहरुले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।
प्रशासकीय भवन निर्माणको ठेक्का विवेक एन्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले पाएको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि विभिन्न कारणले केही ढिलाइ भएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले जानकारी दिनुभयो ।
निर्माण सम्पन्न भएको उक्त भवन यही साउन २५ गते शुक्रबारदेखि सञ्चालनमा ल्याइने भएको छ । पैयूँ गाउँपालिकाले साउन २५ गते भवनको उद्घाटन कार्यक्रम राखेको छ ।
गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिनुभयो । स्थापनाकालदेखि हालसम्म पैयूँ गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । मासिक रु एक लाख भाडा खर्च हुँदै आएकामा अबदेखि उक्त रकम बचत हुने र पालिकाको अन्य विकासमा खर्च गर्न सकिने रिमालले बताउनुभयो ।
पालिकाको मुख्य प्रशासनिक भवनसँगै वडा कार्यालयहरु धमाधम निर्माण भइरहेको छ । सातवटा वडा कार्यालय रहेको पैयूँमा अधिकांशका सुविधासम्पन्न कार्यालय भवन बनिसकेको र बाँकी वडामा पनि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको पालिका अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।
बागलुङ: तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्त...
पोखरा: पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता अध्ययनरत विद्यार्थीले आइतबार कक्षाकोठाको चारदिवारी बाहिर निस्केर ‘मिडिया भिजिट’ गरेका छन् । स्नातक तहमा आमसञ्चार तथा पत्र...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ता...

