पोखरा:  होटल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि मंगलबार एक दिने अभिमुखिकरण प्रदान गरेको छ ।  एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थ...

पोखरा:     आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ ।  मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् । भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए । यस अगाडि आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग भेट गरेर अवार्ड कार्यक्रमको प्रस्तावना पत्र हस्तान्तरण गरेको थियो ।  आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार दिउँसो १ बजे पोखरा रंगशालाको मिडिया सेन्टरमा अवार्ड कार्यक्रमको लागि गठन भएका ११ वटा उपसमितिको संयोजक तथा सह–संयोजकबीचको छलफल कार्यक्रम राखिएको मुल आयोजक समितिका संयोजक दीननाथ बरालले जानकारी दिए । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको भने साहस स्पोर्ट्सले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने तय भैसकेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो । 

पोखरा:  एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथ आगामी २३ गते (शुक्रबार) हुने भएको छ ।    सो अधिवेशनबाट अधिवेशनले बैन बहादुर अधिकारी क्षत्रीको नेतृत्वमा १२१ सदस्यीय कमिटी निर्वाचित भएको थियो ।   ३ वर्षे कार्यकालका लागि निर्वाचित उक्त कमिटीको पदस्थापना निर्वाचन भएको ९ दिनपछि मिति तय भएको नवनिर्वाचित अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।   उनका अनुसार सो कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी छ ।   एमाले स्याङ्जाको चैत २३–२४ गते हुने नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा जाने क्रममा अध्यक्ष ओली कास्कीको सपथ समारोहमा सहभागी हुने उनले बताए ।

पाल्पा:  पाल्पाको निस्दी गाउँपालिका –६ चिदियामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित टोलस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।   युएफसी युवा क्लबको आयोजनामा नवनिर्मित खेल मैदानको उद्घाटनको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको खेल संयोजक यम बयम्बुमगरले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।    सो प्रतियोगिताको विजेताले नगद रु ३३ हजार ३ सय ३३ रुपैयाको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने टिमले क्रमश, २२ हजार २ सय २२, ११ हजार १ सय ११ र ६ हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछ ।   प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर र लिब्रोलाईपनि जनही १ हजारद्वारा पुरस्कृत गरिनेछ ।     प्रतियोगिता नवनिर्मित मैदानको समुद्घाटन तथा नयाँ वर्षको आयोजना गरिएको क्लबका अध्यक्ष नुनेन्द्र बयम्बु मगरले बताए । उनले विशेषगरी टोलस्तरीय प्रतियोगिता आयोजना गर्दा आपसी सम्बन्ध सुमधुर हुने बताउदै सामाजिक सद्भाव बढ्ने धारणा राखे ।   सो प्रतियोगितामा सहभागि जनाउनका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।  

पर्वत:    पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पती मृत फेला परेका छन् ।  अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मङ्गलबार बिहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए ।  उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । घटनाको बारेमा जानकारी पाएसँगै स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थल पुगेको छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

मकवानपुर:    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की प्रदेशसभा सदस्य रमा आलेमगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न मन्त्रालयका सचिव सहभागी थिए । नवनियुक्त मन्त्री आलेमगर काठमाडौँ क्षेत्र नं १० (२)  बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

तनहुँ:    व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ ।  केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो ।  नगरप्रमुख वैकुण्ठ न्यौपानेले सोमबार विज्ञप्ति जारी गरी वर्षायाम प्रारम्भ हुन धेरै समय बाँकी नभएकाले सडक निर्माणकार्यलाई तीव्र गतिमा अघि बढाउन यही महिनाभित्र सडक किनारका भौतिक संरचना हटाउन अनुरोध गरेको हो । साथै उनले सडक विस्तार आयोजना कार्यालमा सम्पर्क गरी मुआब्जा रकम लिन आग्रह पनि गरे।  “मुख्य बजार खण्डमा घरटहरा नभत्काउँदा काममा ढिलाइ भइरहेको छ । सडक विस्तार, विद्युत् पोल स्थानान्तरण कार्यमा सहयोग गरिदिनुहुनेछ भन्नेमा नगरपालिका विश्वस्त छ,” विज्ञप्तिमा भनिएको छ ।  मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछ । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको मूलद्वार, दुर्गा मन्दिरलगायत संरचना परेका छन् । पैतालीस जनाले पहिलो किस्ताबापतको मुआब्जा रकम बुझिसकेका उनले बताए ।

पोखरा:  अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणका लागि उपयूक्त जग्गाको खोजीमा रहेको प्रदेश खेलकुद परिषद गण्डकीले अन्तत: जग्गा पाउने भएको छ ।   पोखरा महानगरपालिका वडा नं २९ पटनेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि वडा कार्यालय २९ ले सहमति दिएसँगै परिषदले प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन सिफारिस गरेको हो ।   वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले उक्त जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त रहेको बताए ।   उनले भने, ‘कुनै न कुनै रुपले हामीले यो जग्गालाई संरक्षण गर्नुपर्छ भन्नेमा थियौं । तर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको बारेमा हामीले त्यती सोचेका पनि थिएनौं । प्रदेश खेलकुद परिषदले नयाँ योजना ल्याएको छ । हामी त्यसको स्वागत गर्छौं । प्रदेश सरकारले यहाँ रंगशाला निर्माणको योजना अघि सार्छ भने हामी त्यसका लागि तयार छौं ।’   करिब ४ सय ५० रोपनीमा फैलिएको पोखरा २९ पटनेरीको जग्गा विगतमा प्रस्तावित पशुपतीघाट क्रिकेट रंगशालाको उत्तरतर्फ पर्दछ ।   सेती नदीको कारण पशुपतीघाटको निर्माण कार्य अघि नबढेसँगै प्रदेश सरकार विगत तीन वर्षदेखि नयाँ जग्गाको खोजीमा थियो । प्रदेश सरकारले पशुपतीघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि डिपिआरसमेत तयार गरिसकेको थियो ।   परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा परिषदद्वारा गठित अध्ययन टोलीले प्रदेशका विभिन्न जिल्लाको भ्रमण र स्थलगत अवलोकन गरी जग्गाको खोजी गरिरहेको थियो ।   सोही आधारमा प्रदेश सरकारको चैत्र ९ गते भएको मन्त्रिपरिषद्को बैठकले नवलपुर र तनहुँको शुक्लागण्डकीमा गरी दुई ठाउँमा प्रादेशीक क्रिकेट रंगशाला निर्माणको घोषणासमेत गरेको छ ।   सरकारले दिएको जिम्मा पुरा गर्न टोलीले कुनै पनि बाधा अवरोध नभएको जग्गाको खोजी गरिरहेको कार्यकारी सदस्य गौतमले बताए ।   निर्माणका लागि जग्गा खोजीको पहिलो चरण पार भएको बताउँदै उनले भने, ‘सबै हिसावले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयुक्त छ । पोखराको लेखनाथ पर्यटकीय दृष्टिकोणले महत्व राख्ने भएकोले परिषदले निर्माण कार्य अघि बढाउन सिफारिस गरेको छ ।’   यता प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उपयुक्त रहेको बताए ।   ‘मैले पनि स्थलगतरुपमा अवलोकन गरेको छु । जग्गासमेत प्रयाप्त मात्रामा छ । वडा कार्यालय र स्थानियहरु समेत सकरात्मक र उत्सुक छन् । उत्तरतर्फ ३६० डिग्रीमा हिमाल देख्न सकिन्छ, उनले भने, ‘पोखराको लेकसाइड र बेगनासबाटसमेत नजिक छ । त्यो भन्दा पनि पोखरा रंगशालाको क्रिकेट मैदानबाट जम्मा १२–१३ किमिको दुरीमा छ  त्यसैले पोखरालाई क्रिकेटको हब बनाउने हो भने सबै हिसाबले यो स्थान उपयुक्त छ ।’   पोखरा २९ पटनेरीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि वडा कार्यालयबाट सहमति प्राप्त भएसँगै परिषद्ले मन्त्रालयमा सदस्य सचिब श्रीधर शर्माले सिफारिस गरेका छन् ।  

पोखरा:   तनहुँको भिमादमा मोटरसाइकल दुर्घटना हुँदा गण्डकी प्रदेशका भलिबल खेलाडी विवश आलेमगर घाइते भएका छन् ।    तनहुँको भिमादमा जारी स्थानीय प्रतियोगिता खेलेर हिजो (सोमबार) घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा भलिबल खेलाडी आलेमगर घाइते भएका हुन् ।    घाइते भएका आलेमगरको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेशका भलिबल प्रशिक्षक रमेश केसीले जानकारी दिए ।    ‘गण्डकी प्रदेशका भलिबल खेलाडी विवश आलेमगर मोटरसाइकल दुर्घटना हुँदा घाइते भएको खबरपछि हामी अस्पतालमा गएका थियौं’, प्रशिक्षक केसीले भने, ‘खेलाडी आलेमगरको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले अवस्था नर्मल नै भन्नुभएको छ ।’   उनका अनुसार घाइते आलेमगरको रिर्पोट नर्मल नै देखिएको छ ।   ‘अस्पतालमा उपचारत खेलाडी आलेमगरको रिपोर्ट आइसकेको छ । अवस्था नर्मल नै भन्नुभएको छ्, उनले भने, ‘हामी बिहान ४ बजे मात्र कोठामा फर्किएका हौं । भाईलाई केही दिन अस्पतालमै राखेर थप उपचार गर्छौ ।’   प्रदेश खेलकुद परिषद् बागमतीले चितवनको भरतपुरमा चैत २४ देखि २६गतेसम्म आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि जनाउन गण्डकी प्रदेश भलिबल संघले विवश आलेमगरसहित हरि पाण्डेको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ ।    चिकित्सका अनुसार मोटरसाइकल दुर्घटनामा घाइते भएका आलेमगरले एक महिना आराम गर्नुपर्ने भएपछि उक्त प्रतियोगिता गुमाउने छन् । विवश गण्डकीको भलिबल टिमका महत्वपूर्ण खेलाडी हुन् ।

काठमाडौं:    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकले आगामी वैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधिसभा र बझाङ– १ प्रदेशसभाको उपनिर्वाचनमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लगाउने बुझिएको छ । उपनिर्वाचनका लागि अन्य दलहरूले उम्मेदवारको टुंगो लगाइसके पनि कांग्रेस भने छलफलमै रहेको छ । कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् । इलाम-२ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ । यसअघि, सभापति देउवाले हिजो इलाम-२ को सन्दर्भमा रिपोर्ट लिएका थिए । इलामको अध्ययन गर्न महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङदम्बे र कोशी प्रदेश सभापति उद्धव थापा खटिएका थिए ।