पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

पोखरा:   पोखरामा बिहीबार देखि खुल्ला अन्तर विद्यालयस्तरीय मोहन मेमोरियल तथा पोखरा महानगर स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।  पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बैशाख २७–२९ गतेसम्म खुल्ला विद्यालयस्तरीय तथा पोखरा महानगरस्तरीय व्याडमिन्टन प्रतियोगिता हुन लागेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भुवन गुरुङले खुल्ला विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगितामा छात्राछात्र यू–१३, यू–१९ उमेर समूह र पोखरा महानगरपालिकास्तरीयमा एकल र युगल विधामा प्रतिष्पर्धा हुने बताए ।  उनका अनुसार विद्यालयस्तरीय (निमावि)तर्फ यू–१३ उमेर समूह र माध्यमिकतर्फ यू–१९ उमेर समूहका छात्राछात्रले प्रतिष्पर्धा गर्नेछन् ।  यस्तै पोखरा महानगरपालिकास्तरीयमा अन्तर वडा एकल र युगलतर्फ महिला÷पुरुषले प्रतिष्पर्धा गर्नेछन् ।  खुल्ला अन्तर विद्यालयस्तरीय मावि यू–१९ उमेर समूह छात्राछात्रको विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।  यस्तै खुल्ला अन्तर विद्यालयस्तरीय यू–१३ र यू–१९ उमेरसमूहका सर्वोत्कष्ट खेलाडीले साइकल पुरस्कार पाउने फाउण्डेशनका अध्यक्ष गुरुङले बताए । यस्तै यू–१३ का विजेता खेलाडी व्याडमिन्टन खेलका गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।  यस्तै पोखरा महानगरपालिकास्तरीय एकल र युगलतर्फको विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा सञ्चालन हुनेछ । बिहीबारबाट सुरु हुने व्याडडिमन्टन प्रतियोगितामा देशभरबाट करिब ४ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले दावी गरेको छ ।  प्रतियोगिताका उत्कृष्ट खेलाडी वैदेशिक प्रशिक्षणसँगै मैत्रीपुर्ण खेलकुदमा सहभागी पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा गतवर्ष सम्पन्न भएको व्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरुले जापानमा प्रशिक्षणसँगै मैत्रीपुर्ण खेल खेल्ने अवसर समेत पाएका छन् ।  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरुले जापानको नागाकाओ शहरमा प्रशिक्षण र वाकाभा कप र यू–१३ को प्रशिक्षणमा सहभागि समेत हुन पाएको अध्यक्ष गुरुङले बताए ।  ग्रासरुटबाटै खेलाडी उत्पादनमा ध्यान दिएका छौं: अध्यक्ष गुरुङ मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भुवन गुरुङले विद्यालय तथा ग्रास रुटबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।  ‘हामीले फाउण्डेशनबाट कुनै नाफा कमाउनु छैन्, फाउण्डेशनको लक्ष्य व्याडमिन्टन खेलाडी उत्पादन गर्ने हो’, अध्यक्ष गुरुङले भने, ‘प्रतियोगितामा विद्यालयस्तरबाट उमेर समूहको खेलाडी सहभागी गराई खेलको विकास गर्ने उद्धेश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।’ उनले पुरानो व्याडमिन्टन खेलाडीहरु मिलेर मोहन भुगोल व्याडमिन्टन फाउण्डेशनमा अक्षयकोष स्थापना गर्ने योजना समेत अगाडि बढाएको बताए । 

पोखरा:      पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो ।   प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन् ।   पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीको कोखबाट जन्म लिएका थिए । पराजुली २०६१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकबाट विद्यार्थी पत्रकारिता थालेका उनी जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ फागुनदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत छन् ।    नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य उनी मञ्चका पूर्व कार्यसमिति सदस्य तथा संसदीय पत्रकार मञ्च गण्डकीका पूर्व सचिव हुन् । गत वर्षमात्र उनलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट सम्मान गरेको थियो । 

काठमाडौं:   सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।   सभामुखको कार्यालयमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाएर जानुपर्ने बताउनुभएको थियो ।   बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताउनुभयो ।   सभामुख घिमिरेले भन्नुभयो, “विभिन्न समस्या आइरहन्छ, समस्याले सदनलाई अवरोध गर्नु हुँदैन । आजको बसाइँ र छलफलले यही वैशाख २८ गतेदेखि सुरु हुने बैठकलाई सहजरुपमा अगाडि बढाउने महत्वपूर्ण आधार तयार पारेको छ ।”   उहाँले सदनलाई सहजरुपमा सञ्चालन गर्ने दायित्वको राजनीतिक दलको भएकाले ठूला राजनीतिक दल संसद्लाई समस्याको समाधान गर्ने थलोका रुपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।   संसदीय व्यवस्थामा सबै राजनीतिक शक्तिको भूमिका निर्णायक हुने र दलहरुले नै समस्या समाधानका लागि पहल गर्ने सभामुख घिमिरेको भनाइ छ । उहाँले सदनलाई प्रभावकारी बनाउन सबैको साझा र आ–आफ्नो भूमिका रहने जानकारी दिनुभयो ।   बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी समस्या समाधानका लागि द्रुतमार्गमा कानुन निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताउनुभयो ।   कुनै पनि विषयमा प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको र ठगी प्रकरणमा जोडिएका जिबी राईलगायतलाई पक्राउ गर्न सरकार लागीपरेको उहाँले बताउनुभयो ।   बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानविन समिति गठन गर्नुपर्ने विषयलाई पुनःदोहो¥याएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने र छानबिन गर्नुपर्ने आफूहरुको धारणा रहेको बताउनुभयो ।   “हामीले संसदीय छानविन समितिको कुरा राखेको छौँ । हामीले गृहमन्त्रीको राजीनामा मागेका छैनौँ, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौँ । सरकारले समिति बनाउँछ भन्ने हाम्रो विश्वास छ”, नेता लखेकले भन्नुभयो ।   नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सहजतापूर्वक सदनको बैठक सञ्चालनका लागि कांग्रेसले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्रीमाथि प्रश्न उठेका विषयमा सदनमा बोल्न दिनुपर्छ र कांग्रेस सुन्न तयार नभएपनि आफ्नो पार्टी सुन्न तयार रहेको नेता बर्तौलाले बताउनुभयो । सहकारीपीडितबारेमा कुनै कुरा नराखी अरुलाई निषेध गर्ने तरिकाबाट जाने कांग्रेसको तरिका सही नभएकोसमेत उहाँले उल्लेख गर्नुभयो ।   राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आयोजना गर्नुभएको बैठकमा महत्वपूर्ण छलफल भएको र समस्या समाधानमा केन्द्रित रहेको बताउनुभयो । यही वैशाख २८ गतेदेखि सुरु हुन लागेको सङ्घीय संसद्को बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो ।   बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाका विषयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताउनुभएको प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।   बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।  

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ ।  यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नाम समेत सार्वजानिक भइसकेको छ ।  वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मीता थापामगर पर्न सफल भएका छन् । तीनै जना खेलाडी वर्ष ०८० मा पाएका उपलब्धिको आधारमा मनोनयनमा परेका हुन् ।  अनुस्का शेरचन (आर्चरी) अनुस्का उमेरले बल्ल १७ वर्षकी पुगिन् । ११ वर्षको उमेरदेखी आर्चरीमा प्रवेश गरेकी उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भइन् ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत पदक हासिल गरेकी अनुस्का आर्चरीको भविष्य हुन । सानै उमेरमा उदायकी उनले आर्चरीबाट नेपाललाई ठूलै पदक दिलाउने आशा गर्न सकिन्छ । आर्चरीप्रति इच्छा जाहेर गरेपछि परिवारले उनलाई समर्थन गर्दै प्रशिक्षणमै व्यस्त गराएका छन् ।  २०८० मा अनुस्काले इराकको बागदादमा भएको एसिया आर्चरी कपमा सहभागि भई दोस्रो चरणसम्म प्रवेश गर्न सफल भइन् । उनको ०८० को मुख्य उपलब्धि भनेको पोखरामा सम्पन्न ११ औं राष्ट्रिय च्याम्पियनसिपमा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण र मिक्स टिममा स्वर्ण पदक हो । अरुणा शाही (भलिबल)  म्याग्दी जिल्ला हालको रघुगँगा गाउँपालिकाकी अरुणा शाही नेपाली महिला राष्ट्रिय टिमको कप्तान हुन् ।  मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन् । परिवारको बाधाका बिच उनले भलिबललाई नै रोज्दै अघि बढिन् ।  गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएकी थिइन् । त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन् ।  अरुणाले राष्ट्रिय टोलीमा डेब्यु गरेको पाँच वर्षपछि अर्थात सन् २०१९ मा राष्ट्रिय टोलीको कप्तानमा नियुक्त भइन् । नेपाली टोलीको कप्तानी सम्हाल्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई ऐतिहासिक पदक समेत दिलाउन सफल भइसकेकी छिन् ।  अरुणाको कप्तानीमा नेपालले सन् २०१९ मा बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्दै २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधि जितेको थियो ।  उनकै कप्तानीमा रहेको टोलीले ०८० सालमा चीनमा भएको १९ औं एसियाडमा पहिलो पटक सहभागिता जनायो ।  ०८० मै सम्पन्न काभा कपमा कास्य पदक जित्न सफल भयो । ०८० सामा यी दुई प्रतियोगितासँगै अरुणाले राष्ट्रियस्तरको एनभीए कप भलिबलमा एभरेष्ट क्लबको प्रतिनिधित्व गर्दै च्याम्पियन भइन् ।  उनको कप्तानीमा गण्डकी प्रदेशको टोलीले टाइगरकप, अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा रजत र पाल्पामा भएको महिला राष्ट्रिय भलिबल प्रतियोगिता सहभागी भएको थियो ।  सुस्मीता थापामगर (आइटीएफ तेक्वान्दो) वि.स. २०६० सालमा बागलुङको बडिगाड गाउँपालिका वडा नं १० को साधारण परिवारमा जन्मिएकी सुस्मीता थापामगर आएटीएफ तेक्वान्दोकी खेलाडी हुन् ।   गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आइरहेकी सुस्मीताले छोटो समयमै उचाई हासिल गरिसकेकी छिन् ।  कक्षा ६ मा पढ्दा भलिबल खेलेकी उनी विद्यालय स्तरमा प्रतियोगिताहरुमा भाग लिई विभिन्न पदक जितेपनि २०७४ कार्तिकमा उनी पढ्दै गरेको श्री भानु निम्न माध्यामिक विद्यालयमा रवीन्द्र बुढामगरले आईटीएफ टेक्वान्दो दोजाङ सञ्चालन गरे पछि तेक्वान्दो तर्फ आकर्षित भइन् ।  २०७४ मंसिर १६ गते देखि उनले औपचारिक रुपमा गुरुबाट आईटीएफ तेक्वान्दो सिक्न सुरु गरिन्,जुनबेला उनी कक्षा ८ मा पढ्थिन् । छोटो समयमै निगलापनी आईटीएफ तेक्वान्दो डोजाङकै उत्कृष्ट खेलाडी बनेकी उनले आठाँै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हासिल गरिन् । उनले १ स्वर्ण र २ रजत पदक जितेकी थिईन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीलाई २ वटा पदक दिलाउन सफल रहिन् । उनले एक स्वर्ण र एक रजत पदक हासिल गरिन् ।  ०८० सालमा उनी खर्च जुटाएरै काजकिस्तानमा भएको २२ औं वल्र्ड आइटीएफ च्याम्पियनसिपमा सहभागि भइन् ।  ११ औं नेसनल जेनेरल चोइ आइटीएफ तेक्वान्दो डो च्याम्पियनसिप एकलतर्फ १ स्वर्ण, टिम प्यार्टन १ स्वर्ण, व्यक्तिगत १ कास्य हासिल गरिन् भने ८ औँ नेसनल प्रोफेसनल तेक्वान्दो आईटीएफ च्याम्पियनसिप व्यक्तिगततर्फ १ स्वर्ण प्राप्त गरिन् । अवार्ड कार्यक्रममा वर्ष खेलाडी महिला सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका महासचिव राजाराम पौडेलले बताए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, गण्डकी प्रादेशिक क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), कास्की जिल्ला भलिबल संघ, भलिबल संघ गण्डकी, पोखरा १५ वडा कार्यालय, पोखरा ६ वडा कार्यालय,  भिजन उर्जा लुम्बिनी कम्पनी, ज्ञानुबाबा आवासिय मा.वि.,मोबाईल टावर प्रा.लि. लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । 

काठमाडौं:   अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ट्रेलरले फिल्मको कथासार बुझाउँछ।    अन्तरजातीय प्रेम, जातीय विभेद्, जातीय विभेदविरूद्ध तीन पात्रले गर्ने साझा लडाईंको कथा ट्रेलरमा प्रस्तुत गरिएको छ।      दिनेश राउतको निर्देशनमा तयार ‘पुजार सार्की’ मा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारहरूको अभिनय छ।    विकास सुवेदीको लेखन रहेको फिल्मको निर्माता संगीतकार समेत रहेका सुवास भुसाल हुन्। राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा भरत रेग्मीको सम्पादन छ।    पोस्टर, टिजर र गीतबाट राम्रो प्रशंसा पाइरहेको यो फिल्म बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ।

पोखरा:    चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो ।  कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्लसिना पंगेनीले चपस कास्कीले गरेका कामको प्रशंसा गरिन् । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चपस कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए । सिनेमा टुरिजमको विकासमा प्रचारप्रसारको खाँचो रहेको उल्लेख गरे ।  सिनेमा माध्यम पोखरा र आसपासको क्षेत्रको प्रचारप्रसार गर्न सहज हुने हुँदा यसतर्फ प्रभावकारी भएर लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले चपस कास्की क्रियाशिल संस्था भएको बताइन् ।  एक पछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धि गतिविधिलाई बढ्वा दिएको अभिव्यक्ति उनको छ । पत्रकार महासंघ कास्कीका सम्पूर्ण पत्रकारिता सम्बद्ध संघसंस्थाको अभिभावक संस्था भएकाले हरेक गतिविधिमा साथ, समर्थन रहने प्रतिबद्धता उनले व्यक्त गरिन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २०६० सालमा स्थापना भई चपस कास्कीले नेपाली सिनेमाको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको उल्लेख गरे । चपस कास्कीका निवर्तमान अध्यक्ष अरुण गिरीले संस्थाको क्रियाशिलताको तारिफ गरे ।    संस्थाका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए । 

काठमाडौं:    गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् । उनले संविधानको धारा १६८ ९२० अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् । गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पथ्र्यो । सभामुखले असंवैधानिक घोषणा गरेकाले त्यसविरुद्ध सर्वोच्चमा रिट दिएको कांग्रेसका गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले जानकारी दिए ।   रिटमाथि २७ वैशाखमा सुनुवाइ हुने भएको छ ।

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा जेठ ८ गतेदेखि हनि हन्टिङ महोत्सव हुने भएको छ ।  लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले आज (मंगलबार) पोखरामा पत्रकार सम्मलेन गर्दै जेठ ८ गते महोत्सव हुन लागेको जानकारी दिएको हो ।    लान्द्रुक मोदी खोला किनारस्थित कोटेसाङ भीरमा रहेको भीर माहुरीको मह काढ्न यसवर्षपनि हनि हन्टिङ महोत्सव आयोजना गरेको अध्यक्ष सुरेश गुरुङले बताए ।  ‘भीर मौरीको मह वर्षमा दुईपटक काढ्ने गरिन्छ, अहिले वर्षको पहिलो सिजनको मह निकाल्दै छौं’, अध्यक्ष गुरुङले भने, ‘लान्द्रुक मोदीखोला किनारास्थित कोटेसाङ भिरमा रहेको भीर माहुरीको मह निकाल्न जेठ ८ गते हनि हन्टिङ महोत्सव आयोजना गरेका छौं ।’   यो पनि पढ्नुहोस   कोटेसाङ महभीरमा जमेको पौडेल र पुन जोडी उनले मोदीखोला किनारास्थित कोटेसाङ भीरमा करिव १० देखि १२ घारको मह निकालिने समेत बताए ।  ‘हनि हन्टिङ महोत्सवमा हामीले करिव १०देखि १२ घारको मह निकाल्दै छौं’उनले भने, ‘महोत्सवले लान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनसँगै लेकाली महलाई बजारीकरण गर्ने लक्ष्य राखेका छौं ।’ उनले एक लिटर महको ३ हजार रुपैयाँ मूल्य कायम गरिएको समेत बताए ।  यस्तै हनि हन्टिङ महोत्सवमा ३३ वर्ष उमेर माथिको  पौढ भलिबल समेत आयोजना गरेको छ । साविक वडास्तरीय पौढ भलिबल प्रतियोगिताको विजेताले खसी र उपविजेताले बोका मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । महोत्सवमा सास्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।  महोत्सवमा भिरौटेदेखि शिकारी सम्मानित हुँदै लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले भिरौटे, शिकारी र दिवंगत भएका भिरौटे र शिकारीहरुलाई मरणोपरान्त सम्मान गर्ने भएको छ ।  सम्मानित हुनेमा आनन्द पौडेल, खड्गबहादुर गुरूङ, मन बहादुर पुन, घनश्याम चापागाई, नक्कल गुरूङ, मिमबहादुर गुरूङ, अर्जुन गुरूङ, जय पौडेल क्षेत्री लगायत रहेका छन् । भने मरणोपरान्त सम्मान पाउँनेमा जंगावीर क्षेत्री, हवल्दार सेते गुरूङ, प्रताप बहादुर गुरूङ, नन्दलाल भण्डारी, देवीलाल भण्डारी, भवरसिं गुरूङ रहेका छन् । 

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गर्नुभएको छ । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षीत हुने भन्दै यस्तो आग्रह गर्नुभएको हो । ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा यसलाई अत्यन्त विशिष्ट र जटिल बनाएर नियम क्रस गर्न खोजियो भने हाम्रो जीवन चक्र पनि चल्दैन’ उहाँले भन्नुभयो । शरीरमा रोग लाग्न नदिनका लागि आहार विहारमा ध्यान दिए जस्तैगरी ट्राफिक नियमहरू पालना गर्न झन्झट नमानी सरल रुपमा लिनुपर्नेमा उहाँको जोड  छ । दुर्घटनाको मूख्य कारण मानवीय लापर्बाही हुने तथ्यांकले देखाएको भन्दै यसलाई घटाउन सबैजना सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारीचालकको लापर्बाहीका कारण हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो । यसैगरी यात्रुका कारण ८ दशमलव ८२ प्रतिशत, यात्रीका कारण ६ दशमलव ६८ प्रतिशत र सडकका कारण ६ दशमलव ९५ प्रतिशत दुर्घटना भएका छन् । ‘यहाँ दिएको डाटा अनुसार दुर्घटनाका प्रतिशतमा मानवीय लापर्बाही नै प्रदान देखियो, नियम उल्लङ्घन कुराले धेरैं क्षती भइरहेको हुन्छ, नियम र पद्धतीमा चल्यौँ भने कहिल्यै समस्या हुँदैन’ मुख्यमन्त्री अधिकारीले थप्नुभयो । विद्यालयमा अध्ययनरत भाइबहिनीले जागरणको रुपमा लिएर सचेतना प्रदान गर्न भूमिका खेल्न सकेको खण्डमा सभ्य समाज निर्माणमा सहजता हुने उहाँले सुनाउनुभयो । आफ्नो अघिल्लो कार्यकालमा विपद्, ट्राफिक नियम उल्लङ्घन, किशोरीको आत्मरक्षा लगायतको सम्बन्धमा कक्षा ८ र ९ का विद्यार्थीलाई जानकारी दिन पाठ्यक्रम बनाउन सुरु गरेको भन्दै त्यसलाई अब पूर्णता दिएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत मुख्यमन्त्री अधिकारीले जनाउनुभयो ।  जागरणका कार्यक्रमले सभ्य समाज निर्माणमा सहयोग गर्ने उहाँको विश्वास छ । ‘विद्यालयका भाइबहिनीले जागरणको रुपमा लिएको खण्डमा सभ्य समाज निर्माण त्यहींबाट सुरु हुन्छ, असभ्य समाजमा दुर्घटना बढी हुन्छ, नियमहरु तोडिन्छ, हामी असभ्य हुन चाहदैनौ’ उहाँले थप्नुभयो । ट्राफिकका सबै नियम पालना गर्दै उत्कृष्ट प्रदेश बनाउने प्रहरीको अभियानमा आफ्नो सदैव साथ रहने उहाँले बताउनुभयो । सबैको प्रयासका कारण पर्यटकको राजधानी पोखरा ट्राफिक व्यवस्थापनको क्षेत्रमा देशभरकै नमुना ठाउँ बन्ने विश्वास मुख्यमन्त्री अधिकारीले गर्नुभयो ।  गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा ३ सय २२ वटा सवारी दुर्घटना हुँदा १ सय ५५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ । ट्राफिक सप्ताह वैशाख ३१ गतेसम्म चल्नेछ । शुभारम्भ कार्यक्रम अगाडि पोखराको चिप्लेढुंगाबाट सभागृहहलसम्म मुख्यमन्त्री अधिकारीसमेतको सहभागितामा प्रभातफेरी कार्यक्रम भएको थियो ।