विराटनगर: एमाले-माओवादीको गठबन्धले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् । प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्। एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका छन्। एमाले माओवादी गठबन्धनले एमाले संसदीय दलका नेता समेत रहेको हिक्मत कार्कीलाई प्रदेशको छैटौँ मुख्यमन्त्रीको रूपमा दाबी पेस गरेको हो। प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारी गरेका छन् । प्रदेश प्रमुख खापुङले बुधबार साँझ संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए । यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए ।
पोखरा: पोखरामा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधवारदेखि सुरु भएको छ । यससँग सम्बन्धित महानगरपालिकाका कर्मचारी तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि सुरु गरिएको प्रशिक्षण कार्यक्रम शुक्रवार सम्म चल्नेछ । कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले विद्युतीय सेवामा आधारित नागरिक सेवा निकै प्रभावकारी हुने भएकाले घर तथा भवनहरू निर्माणका लागि यस प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । ‘प्रविधिको विकास तिव्रत्तर रूपमा अगाडी बढिरहेको छ, प्रमुख आचार्यले भन्नुभयो, समयको गतिसँगै सेवामा आधुनिकता र प्रविधिको उपयोग अपरिहार्य जस्तै भइसक्यो ।’ विकसित प्रविधिको आत्मसाथ गर्न सकिएन भने वैज्ञानिक ढङ्गले काम वा सेवाको गुणस्तर कायम गर्न नसकिने उहाँले बताउनुभयो । पोखरामा आगामी दिनमा इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम लागु गर्न आवश्यक पूर्वाधार तयार गरिने उहाँले बताउनुभयो । ‘यसमा लाग्ने जनशक्ति र पूर्वाधारको तयार गरी यथाशीघ्र लागु गरिनेछ’, उहाँले भन्नुभयो । ६० वर्षदेखि मापदण्डको पर्खाइमा रहेको पोखरामा निकै मिहिनेत पश्चात् मापदण्ड सम्बन्धी आचारसंहिता जारी गरिएको उहाँले बताउनुभयो । पोखराको भौगर्भिक तथा वैज्ञानिक अध्ययन गरी कुन स्थानमा कस्तो प्रकारको संरचना निर्माण मिल्छ भन्ने कुराको निक्र्यौल पश्चात् उक्त आचारसंहिता जारी गरिएको उहाँले उल्लेख गर्नुभयो । पोखरामा निर्माण हुने भवनहरूलाई ऊर्जा सबलीकरणयुक्त बनाउने सम्बन्धमा युरोपियन युनियनको सहयोगमा बिन परियोजना लागु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । ‘अव पोखरामा बन्ने घर तथा भवनहरू वातावरणमैत्री र ऊर्जा सबलीकरणयुक्त बनाइनेछ ।’ प्रमुख आचार्यले भन्नुभयो, ‘यसका लागि बिन परियोजनाको सहायतामा आवश्यक तयारी गरिनेछ ।’ जलवायु परिवर्तनको असरका कारण जनजीवन तथा वातावरणमा देखिएका अल्पकालीन तथा दीर्घकालीन समस्याहरूको समाधानका लागि पनि दिगो निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो । युएनडिपीको सहयोगमा लागु गर्न लागिएको इलेकट्रोनिक बिल्डिङ परमिट प्रणाली ९इबिपिएस० एक वेबमा आधारित प्रविधि हो । जसलाई युएनडिपीले २०१५ मा निर्माण अनुमति प्रक्रियालाई व्यवस्थित गर्नको लागि विकसित गरेको थियो । यसको प्रयोगले सेवामा जबाफदेहिता, दक्षता र पारदर्शिता बढ्नुका साथै राष्ट्रिय भवन संहिताका प्रावधानहरूलाई एकीकृत समेत गर्दछ । हाल देशभरका १९ नगरपालिकाहरुले यसको प्रयोग गरिरहेका छन् । यसको प्रयोगका लागि युएनडिपीले स्रोत कोड प्रदान गर्नेछ । सूचना प्रविधि विभागले नगरपालिकाहरूलाई ई–प्रणालीहरू इबिपिएस वा राजस्व सम्बन्धित सफ्टवेयर र अन्य निःशुल्क कार्यान्वयन गर्न क्लाउड स्पेस प्रदान गर्दछ । नगरपालिकाहरूको अनुरोधका आधारमा प्रयोगकर्ता नाम र पासवर्ड भने सूचना प्रविधि विभागले उपलब्ध गराउँदछ । विभागले नगरपालिकाहरूलाई क्लाउड स्पेस सहित १ वर्षको परीक्षण अवधिका साथ अपरेटिङ विन्डोज सिस्टम’ पनि उपलब्ध गराउँछ । तिन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा महानगरपालिकाका ३३ वटै वडाका प्राविधिकहरूलाई प्रशिक्षण प्रदान गरिनेछ ।
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ । कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज दिउँसो १ बजे र दलको बैठक २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने तय गरेको थियो । तर, मंगलबार निधन भएका पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सूर्यमान गुरुङको अन्त्येष्टि आज हुने भएकोले बैठक सारिएको कांग्रेसले जनाएको छ । संसदीय दल कार्यसमितिको बैठक अब शुक्रबार ८ बजे र दलको बैठक साढे ८ बजे ल्होत्से हलमै बस्ने कांग्रेसले जनाएको छ ।
काठमाडौं: नेपाल प्रहरीले ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।
काठमाडौं: आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति क्षेत्रमा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिनुभयो । उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको बताउनुभयो । “अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ”, प्रवक्ता अधिकारीले भन्नुभयो । उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् । परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुग्नुभएको छ। बुधबार बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको हो। अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको गरिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । उहाँले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गर्नुभएको थियो ।
पोखरा: बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयलाई पोखरा–१७ विरौटा निवासी समाजसेवी धन कुमारी गुरुङले स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् । विपन्न तथा अव्यवस्थित बस्तीका २ सय ७० बालबालिकाले अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकालाई प्रविधीमैत्री रुपमा अध्यापन गर्न सहज हुने हेतुले टेलिभिजन हस्तान्तरण गरिएको गुरुङले बताइन् । मातातिर्थ औँशीको दिन पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै गुरुङले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गरेकी थिइन् । कार्यक्रममा पोखरा–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकाली, वडा सदस्य नन्दराम गिरी, अग्रज फोटो पत्रकार एवम् विद्यालयका अक्षयकोष दाता सुदर्शन रञ्जित, सञ्चारकर्मी तथा व्यवसायी सपना गुरुङ, विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णु सुवेदीले बोलेका थिए ।
पोखरा: दमौलीबाट पोखरा आउँदै गरेको बस रुपा गाउँपालिका–५ बित्यानीमा दुर्घटना हुँदा एकजना यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा आउँदै गरेको ग १ ख ७८०७ नम्बरको यात्रुवाहक बस रुपा गाउँपालिका–५ बित्यानीमा आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटना हुँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ घर भएका ६० वर्षीय सोमबहादुर परियार घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचनाअधिकारी मिनबहादुर खड्काले जानकारी दिए । घाइते परियारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दमौली–पोखरा सडक खण्ड निर्माणाधिन रहेकाले बस भित्री सडकबाट पोखरा आउँदै गर्दा बित्यानीमा ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ । उनीहरू तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधातर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । यहीं वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा मनोनयनमा पर्ने तीनैजना आ–आफ्नो खेल क्षेत्रमा दख्खल राख्छन् । अर्जुन कुमाल – क्रिकेट गुल्मीको छत्रकोट–५ खज्र्याङ घर भएका अर्जुन कुमालको जन्म भारतको नयाँदिल्लीमा भएको हो । त्यसैले पनि उमेरले १८ टेकेका अर्जुन भारतको क्रिकेट संस्कारबाट अर्जुन टाढा हुन सकेनन् । उनले भारतमा गण्डकीका राहुल शर्मासँग क्रिकेट सिके । अहिले पनि उनी समय मिलाएर राहुलसँग प्रशिक्षण लिन भारत गइरहन्छन् । राहुलको आग्रहमै उनी पोखरा आएर गण्डकीबाट खेल्न सुरु गरे । १३ वर्षकै उमेरमा यू–१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशबाट विकेटकिपरको रुपमा टियुमा खेलेका थिए । २०२१ को प्रधानमन्त्री कपमा विभागीय टोली आर्मीविरुद्ध डेब्यू खेलमै ६ चौकासहित ३६ रन जोड्दै धेरैको ध्यान तानेका थिए । पाँच वर्षअघि यू–१६ हुँदै सुरुआत गरेका उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । २०१९ मा थाइल्याण्डमा सम्पन्न यू–१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटबाट नेपाली क्रिकेटमा सुरुआत गरे । सानै उमेर यू–१९ को विश्वकप खेलेका अर्जुन २०८० सालको प्रदर्शनका आधारमा नै पोखरा स्पोर्ट्स अवार्डमा मनोनयनमा परेका छन् । अर्जुन यू–१९ टोलीमा पुगेको करिब एक वर्ष भइसकेको छ । २०८० सालमा उनले ४ वटा अन्तर्राष्ट्रिय टुर गरे । यो सँगै आयरल्याण्ड र क्यानडासँग नेपाल ‘ए’ बाट खेले । यू–१९ को विश्वकपमा पाकिस्तान, अफगानिस्तान, न्यूजिल्याण्डसँगै नेपाल समुह ‘डि’ मा थिए । जसमा अर्जुनको प्रदर्शन उत्कृष्ट थियो । उनले न्युजिल्यान्डसँग ९० रन प्रहार गरेका थिए । उनकै प्रदर्शनमा विश्वकपको सुपर सिक्समा पुगेको थियो । मलेसियामा आयोजना भएको यू १९ एसीसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्वपूर्ण इनिङ्स खेलेका थिए । त्यहाँ उनले साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार गरे । फाइनलमा यूएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले यू–१९ एशिया कप पनि खेले । जहाँ उनले अफगानिस्तानविरुद्ध ९१ रनको इनिङ्स खेलेका थिए । यो बाहेक उनी २०८० सालमा गण्डकी प्रदेशबाट पिएम कप टि–२० र एक दिवसीय खेल खेलेका थिए । प्रदीप खड्का – टेनिस मनोनयनमा परेका प्रदीप खड्का कास्की बस्छन् । उनी टेनिसका खेलाडी हुन् । २०५० साल वैशाख ७ गते पोखरामा जन्मिएका प्रदीप सानैदेखि टेनिस कोर्टसँग नजिक भए । जुनियर गेम खेल्दै १७ वर्षको उमेरमा उनले छैटौं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिता खेले । अहिले उनी नेपालको टेनिसमा पुरुषतर्फ सिंगल र डबल दुबैमा नम्बर १ मा छन् । उनको यात्रा अहिलेसम्म जारी नै छ । उनले सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल हात पार्दै आफूलाई राष्ट्रिय प्रतियोगितामा उभ्याएका हुन् । त्यसलगत्तै १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल भए । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जिते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण पदक जित्न सफल खेलाडी हुन् । उनले मेन्स सिंगल, मेन्स डबल र टिम इभेन्टमा स्वर्ण पदक जिते । यो विचमा उनले नेपाल र विदेशमा भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । दश जोड २ पूरा गरेका प्रदीप २२ वर्षकै उमेरमा विदेशी प्रशिक्षक बन्नु पनि उनको अर्को सफलता हो । २०८० साल उनका लागि अझै उत्कृष्ट रह्यो । उनी १९ औं एसियन खेलकुदमा नेपालबाट सहभागिता जनाउँदै दोस्रो चरणमा पुगे । बहराइनमा भएको डेभिस कपमा पनि उनी सहभागी बने । दोस्रो सिलीगुरी मनिप्राइजमा सहभागी बनी दोस्रो भए । सोही वर्ष नै उनी १२ औं सहविर मेमोरियल ओपन टेनिसमा सिंगलतर्फ विजेता र डबल्समा उपविजेता भए । छैटौं बुटवल ओपन टेनिसमा विजेता (सिंगल) बने । २० औं माछापुच्छ«े ओपनमा सिंगततफै दोस्रो भए । यस्तै पहिलो राइजिङ स्टार ओपनमा सिंगलतर्फ दोस्रो, तेस्रो विर गणेशमान सिंगल र डबल्समा प्रथम, नवौं सिटीजन बैंक ओपनमा मिक्स डबल्समा पहिलो र सिओएस राष्ट्रिय ओपस टेनिसमा मिक्स डबल्समा पनि प्रथम भएका थिए । हिमाल सुनारी मगर – भलिबल गण्डकी प्रदेशबाट भलिबल खेल्ने हिमाल सुनारी मगरको जन्म २०५५ मंसिर २० गते पाल्पाको निस्दी गाउँपालिका ४ मा भएको हो । अहिले उनी नवलपुरको बौदीकाली ४ आमडाँडा बस्दै आएका छन् । उनको सानैदेखि भलिबलमा औधि रुचि थियो । दाइ होमबहादुर सुनारीको पछिपछि झुम्राको बल लिएर हिड्दाहिडदै उनी पनि भलिबल खेलाडी भए । सानैदेखि टोल, गाउँ, विद्यालय, पालिकाहुँदै जिल्ला स्तरीय प्रतियोगिता खेलेका उनी ६ वर्ष अघि नवलपुरको जिएम समाजसँग जोडिए । त्यसपछि गण्डकी प्रदेश भलिबल टिममा पर्न थाले । उनले २०७८ सालमा दोस्रो टाइगर कप पनि खेले । त्यो प्रतियोगितामा गण्डकीले उपाधि त जित्न सकेन तर, हिमालको क्वीक स्पाइकले सबैको ध्यान तानेको थियो । दोस्रो टाइगर कपमा उपाधि विहिन बनेको गण्डकीले तेस्रोमा भने उपाधि नै उचाल्यो । २०८० साल उनको लागि निकै उपलब्धीमुलक रह्यो । गण्डकीले सहभागिता जनाएको धेरैजसो प्रतियोगितामा उपाधि हात प¥यो । उनको उत्कृष्ट प्रदर्शनमा चितवनमा भएको अन्तर प्रदेश स्तरीय खेलकुदमा भलिबलतर्फ गण्डकीले स्वर्ण पदक हात पा¥यो । त्यहाँ हिमाल सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । यस्तै पोखरा मै भएको लामाचौर कप, मुख्यमन्त्री कप (झापा) र विरजंग कपमा गण्डकी प्रथम भयो । पोखरा भएको चौथो टाइगर कपमा गण्डकी दोस्रो बन्दा उनले उत्कृष्ट सर्भरको पुरस्कार हात पारे । कञ्चनपुरमा भएको मुख्यमन्त्री कप र बुटवलमा भएको मणिमुकुन्द कप गण्डकी द्वितिय भयो । यस्तै, ३४ औं राष्ट्रिय खेलकुद भलिबल र नवलपुरमा भएको जिएम कपमा तेस्रो बनेको गण्की एनभिए कप र बागलुङमा भएको बुकी कपमा चौथो बन्यो । उनले जिल्ला तथा पालिका स्तरीय प्रतियोगिताहरु पनि जितेका छन् । उनी २०८० सालमा दुवै र मलेसिया भलिबल खेल्न कै लागि पुगे । तनहुँ सेवा समाजको निमन्त्रणामा दुबै उत्कृष्ट खेल प्रस्तुत गरे । सगरमाथा क्लबको निमन्त्रणामा मलेसिया खेली उपाधि जित्दै सर्वोत्कृष्ट खेलाडी भएका थिए । अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका महासचिव राजाराम पौडेलले बताए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।