पोखरा: माओवादी केन्द्रले गरेको कारबाही सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि संसदमा फर्किएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन् । आफूलाई सघाउँदा कारबाहीमा पर्दै सांसदसहित मन्त्री पद गुमाएका देवकोटालाई पाण्डेले पुनः ऊर्जा मन्त्रालयमा फर्काएका हुन् । देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् । फ्लोर क्रस गरेर काँग्रेसका पाण्डेलाई गत २८ जेठमा विश्वासको मत दिएर सरकार जोगाइदिएपछि उनले यसअघि २९ जेठमा सोही मन्त्रालयको जिम्मा पाएका थिए । माओवादी केन्द्रले सांसदबाट कारबाही गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पाण्डेले आफैँसँग राखेका थिए । गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद् छ । अझै २ मन्त्री नियुक्ति बाँकी न् छ। कांग्रेसका मुख्यमन्त्रीसहित तीन र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्रीका रूपमा कार्यरत छन् । भोलि सोमबार आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित गर्ने तयारी छ । त्यसपछि राप्रपालाई पनि सरकारमा ल्याउने योजनामा मुख्यमन्त्री पाण्डे छन् । तर, सरकारलाई समर्थन गरेको राप्रपा अहिले नै सरकारमा जाने देखिएको छैन । राप्रपाकै लागि दुई वटा मन्त्रालय खाली राखिएको छ ।
काठमाडौं: भारतले आइसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेको छ । बार्बाडोसमा भएको फाईनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टी–२० विश्वकपको उपाधि जितेको हो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो । भारतको यो दोस्रो टी–२० विश्वकप उपाधि हो । २००७को पहिलो संस्करण जितेयता भारतले उपाधि जित्न सकेको थिएन । यस्तै भारतले ११ वर्षको आइसीसी उपाधिको खडेरी समाप्त गरेको छ । अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो । तर पहिलो बलमा नै डेविड मिलर आउट भए । लङ अफ बाउण्ड्रिमा सुर्यकुमार यादवले सानदार क्याच गर्दै उनलाई पेभेलियनको बाटो देखाएका थिए । दोस्रो बलमा कागिसो रबाडाले चौका प्रहार गरे । तेस्रो बलमा १ बाइ रन आयो । चौथो बलमा केशव महाराजले १ रन लिए । त्यसपछि पाड्याले वाइड बल गरे । २ बलमा ९ रन चाहियेकोमा पाचौ बलमा रबाडा आउट भए । सो विकेट पछि खेल दक्षिण अफ्रिकाको हातबाट टाढा गएको थियो । दक्षिण अफ्रिकाको सुरुवात राम्रो रहेन । जसपृत बुम्राहको दोस्रो ओभरमा ओपनर रिजा हेण्ड्रिक्स ४ रन बनाएर बोल्ड भए । तेस्रो ओभरमा कप्तान एईडन मार्क्रम ४ रन बनाएर अर्शदीप सिंहको शिकार बने । ५८ रनको साझेदारी पछि तेस्रो विकेट अक्षर पटेलले लिए । नवौ ओभरमा उनले ट्रिस्टन स्टब्सलाई बोल्ड गरेका थिए । स्टब्सले २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रन बनाए । चौथो विकेटका रुपमा क्विन्टन डीकक ३१ बलमा ३९ रन बनाएर १३औ ओभरमा आउट भए । उनलाई आर्शदीप सिंहले आउट गरेका थिए । क्लासेन २७ बलमा २ चौका र ५ छक्का सहित ५२ रन बनाएर १७औ ओभरको पहिलो बलमा पेभेलियनको बाटो लागे । १८औ ओभरमा बुम्राहले मारको यान्सनलाई २ रन बनाएको अवस्थामा बोल्ड गरे । भारतका लागि हार्दिक पनड्याले ३ विकेट लिए । बुम्राह र अर्शदिप सिंहले समान २/२ विकेट लिए । अक्षर पटेलको नाममा १ विकेट रह्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको हो । भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाए । सुरुवाती तीन विकेट सस्तैमा गएपछि उनले इनिङ सम्हाल्दै राम्रो इनिङ खेलेका थिए । इनिङको दोस्रो ओभरमा नै भारतले सुरुवाती दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमै बायाँ हाते स्पिनर केशव महाराजलाई दक्षिण अफ्रिकाले बलिङमा ल्याएको थियो । सो ओभरमा उनले भारतका उच्च लयमा रहेका कप्तान रोहित शर्मा र ऋषभ पन्तलाई पेभेलियन फर्काएका थिए । रोहितले ५ बलमा ९ रन बनाउँदा ऋषभ भने शून्यमा आउट भएका थिए । सुर्यकुमार यादव पाँचौं ओभरमा कागिसो रबाडाको शिकार बने । सर्ट बलमा उनी हेनरिक क्लासेनद्वारा ३ रन बनाएको अवस्थामा क्याच आउट भएका थिए । चौथो विकेटका लागि विराट र अक्षर पटेल मिलेर ७२ रनको साझेदारी गरे । सो साझेदारी अक्षर १४औं ओभरमा रनआउट हुँदा टुटेको थियो । अक्षर ३१ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन बनाएर क्विन्टन डीककद्वारा रनआउट भएका थिए । कोहली पाँचौं विकेटको रूपमा मार्को यानसनको शिकार बने । शिभम दुबे १६ बलमा २७ रन बनाएर अन्तिम ओभरको चौथो बलमा आउट भए । रवीन्द्र जडेजा पनि २ रन बनाएर इनिङको अन्तिम बलमा आउट भए । हार्दिक पन्ड्या ५ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ ओभरमा २३ रन खर्चिदै २ विकेट लिए । यस्तै एनरिक नोर्टजेले पनि ४ ओभरमा २६ रन दिएर २ विकेट नै लिए । १/१ विकेट मार्को यानसन र कागिसो रबाडाको नाममा रह्यो ।
पोखरा: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–१ हरिचोक–याम्दी खण्ड निर्माण कम्पनीले निर्माणलाई तीव्रता नदिएपछि महिनौदेखि यहाँका स्थानीयहरु आन्दोलित छन् । हरिचोक–याम्दी सडक खण्ड निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा स्थानीयले हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य भएपछि स्थानीय आजित भएका छन् । निर्माण कम्पनीलाई समयमा नै निर्माण सम्पन्न गर्न तीनै तहको सरकारलाई स्थानीयहरुले विभिन्न कार्यक्रम गरेर दवाव दिएपनि कामले तीव्रता नलिएपछि सिम्पानीका स्थानीयहरुले असार १५ सडकमै धान रोपेर सांकेतिक विरोध गरेका छन् । हरिचोक–याम्दी सडक खण्डमा अन्तर्गत सिम्पानीका स्थानीयले सिम्पानीमा सडक खण्डमा रोपाइँ गरेर सांकेतिक विरोध गरेको त्रि–शक्ति समाज सेवा क्लबका सह–सचिव प्रविन सुवेदीले जानकारी दिए । समयमा नै सडक नबनेपछि उनीहरुले सिम्पानी जाऔं, धान रोपौं अनि संगै, दही चिउरा खाऔं’ भन्न नारासहित सांकेतिक विरोध गरेको स्थानीयहरुले बताएका छन् । विरोध कार्यक्रममा त्रि–शक्ति समाज सेवा क्लब, स्थानीय आमा समूह, टोल विकास संस्थाहरुको सहभागिता रहेको थियो । पर्वतस्थित मध्यपहाडी लोकमार्गको कार्यालय अनुसार काठमाडौंको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले वि.सं.२०७९ साउनमा सडक निर्माण गर्ने जिम्मा लिएको थियो । समयमा नै काम पूरा हुन नसक्ने देखिएपछि ठेक्काको म्याद आउँदो चैतसमम थप भएके कार्यालयले जनाएको छ ।
पोखरा: असार १५ देशभर राष्ट्रिय धान दिवससँगै दही चिउरा खाने दिनको रुपमा मनाइएको छ । गाउँदेखि शहरसम्मनै आज राष्ट्रिय धान दिवससँगै दही चिउरा खाने दिन विशेष रह्यो । शहरको विभिन्न स्थानमा रोपाइँ महोत्सव नै आयोजना गरेर राष्ट्रिय धान दिवस मनाइयो । यसै राष्ट्रिय धान दिवसको अवसरमा प्रत्येक असार १५ मा पर्यटन प्रर्वद्धनसँगै धानबालीको संरक्षणमा पोखरा पर्यटन परिषद्ले पोखराको विभिन्न क्षेत्रमा रोपाइँ महोत्सव आयोजना गर्दै आएको छ । पोखराको बढ्दो शहरीकरण र स्थानीय बासीहरुको बद्लिदो जीवनशैलीलाई रोपाइँ महोत्सवले परम्परागत खेती प्रणालीलाई पुस्तातन्तरण गर्न स्थापित गरेको पोखरा पर्यटन परिषद्को विश्वास छ । पोखराको विभिन्न स्थानमा राष्ट्रिय धान दिवसको अवसरमा १९ वर्षदेखि रोपाइँ महोत्सव गर्दै परिषद्ले यसको वर्षको महोत्सव पोखरा महानगरपालिका–२३ मार्गी स्थित फेवाफाटमा आयोजना ग¥यो । मार्गीस्थित फेवाफाटमा महोत्सव अवलोकनका लागि पुगेकी पोखरा लेकसाइडका सावित्री पहारीले पहिले फेवाफाँटमा नै रोपाइँ गरेको झल्को मेट्न आएको बताइन् । ‘हामीले फेवाफाँटमा यसरी नै पहिले रोपाइँ गरेका थियौं, अहिले रोपाइँ गर्न छोडियो । रोपाइँ महोत्व छ भन्ने थाहा पाएर रोपाइँको झल्को मेट्न आएको, पहारीले भनिन्, ‘अहिले तालको कारण पनि केही फाँटहरु बाँझो हुन पुगेको छ, रोपाइँ गरेको भए राम्रो हुने हो ।’ उनले आफ्नो बच्चा लगायत नयाँ पुस्तालाई रोपाइँबारे जानकारी नभएको बताइन् । ‘खेतबारी बाँझो राखेको राम्रो त होइन । सबैलाई सुखसँगै व्यापार नै गर्नुपर्ने, विदेश जानुपर्ने, उनले भनिन्, ‘हाम्रो बच्चाहरुलाई खेतमा रोपाइँ कसरी हुन्छ भन्ने नै थाहा छैन, जान्दैनन्, चामल कहाँदेखि आउँछ, बोरामा भन्छन्, हलो के हो, गोरु के हो भन्ने चिन्दैनन् । यसका लागि यो महोत्सवले जानकारी दिएको छ ।’ यस्तै पोखरा लेकसाइडकै हरिमाया पहारीले पनि खेतीयोग्य जमिन घर घडेरीमा परिणत भएको भन्दै दुख व्यक्त गरिन् । ‘हामीले पनि यही पामेको फाँटमा रोपाइँ गरेका हौं, अहिले अधिकांस फाटहरुमा घरहरु बनेका छन्, खेती योग्य जमिनमा घर, घडेरी बनेको राम्रो होइन्, पहारीले भनिन्, ‘अहिलेका युवापुस्तामा खेती किसानी केहो भन्ने विषय पुस्तान्तरण गर्न आवश्यक छ, यो महोत्सवले पक्कैपनि कृषिमा लाग्नुपर्छ भन्ने सन्देश दिन्छ भन्ने लागेको छ ।’ पोखराका इतिहासकार सुनिल उलकले रोपाइँ महोत्सवलाई रोपाइँमै केन्द्रित गर्नुपर्ने धारणा राखे । ‘रोपाइँ महोत्सवलाई हामीले महोत्सव बनायौ तर रोपाइँमा नै केन्द्रित गर्न सकेनौं’, उलकले भने, ‘रोपाइँ महोत्सवमा सहभागी भएका सबैलाई रोपाइँमा केन्द्रित गर्न हामीले २०÷२५ रोपनीको प्लट छुट्टयाएर धान रोपाइँमा नै केन्द्रित गर्न सके रोपाइँ महोत्सवको महत्व बढ्छ ।’ उनले महोत्सवमा सहभागी भएकाहरुलाई रोपाइँमा नै केन्द्रित गर्न सकेको भए त्यसले प्रतिफल पाउने बताए । ‘रोपाइँमा हजारौंको संख्यामा सहभागी भएकाहरुलाई रोपाइँमा केन्द्रित गर्न सकेको भए रोपाइँ के हो भन्ने थाहा हुन्थ्यो, उलकले भने, ‘महोत्सवलाई रमाइलोको लागि मात्र प्रयोग ग¥यौ कि भन्ने मलाई लाग्छ ।’ पोखराका बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबुढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेतीयोग्य जमिनको खण्डीकरणले धानकाे उत्पादनमा ह्रास आइरहेको बताइएकाे छ ।
पोखरा: पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ निकासी गरेको आरोपमा प्रहरीले १२ वटा सवारीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा नदीजन्य पदार्थ निकासी भइरहेको सूचनाको आधारमा पोखरा–१९ दशखेतघाट आज बिहान प्रहरीले चेकिङ गर्ने क्रममा १२ वटा सवारी नियन्त्रणमा लिएको छ । दशखेतघातमा अवैध रुपमा नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा १२ सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । प्रहरीले नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा सवारी साधान चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले ग १ क १२१५ नम्बरको टिप्पर, ना १ क ६२१४ नम्बरको टिप्पर, गण्डकी ७ एए ००७६नम्बरको टिप्पर, बा ४ क ३३ २१ नम्बरको टिप्पर, ग २ ख १४५ नम्बरको टिप्पर, ग १ क २४०२ नम्बरको टिप्पर,ग २ ख ३२८ नम्बरको टिप्पर, ग २ ख ११५६ नम्बरको टिप्पर, ग १ क ६३९२ नम्बरको टिप्पर, ग १क ५११३ नम्बरको टिप्पर, ग १ ख ७९९० नम्बरको टिप्पर, ग १ त ७०१२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
पोखरा: प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ । यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए । ‘पहिलो चरणमा पोखरामा विद्युतीय कार, मोटरसाइकल, स्कुटरजस्ता सवारीमार्फत सेवा दिनेछौं । पोखरामा २५ वटा आफ्नै विद्युतीय सवारी सञ्चालनमा ल्याइनेछ’, कार्कीले भने । एक हजार बढी मोटरसाइकल र स्कुटरसँगै भाडाका सवारीसाधन कम्पनीसँग आबद्ध भएको उनले जानकारी दिए । आवद्ध हुन चाहने थप सवारीले एप डाउनलोड गरेर रजिस्ट्रेसन गर्न सक्ने उनको भनाइ थियो । भाडाका सवारीसाधन सरकारले तोकेकै दरमा प्रयोग हुने कार्कीले बताए । उनले थपे, ‘७० वर्ष पूरा भएका वृद्धवृद्धा, अशक्त, अपांग, सुत्केरी, महिला, विद्यार्थी र दैवि प्रकोपमा परेकालाई छुटसहितको सेवा दिनलाई कम्पनी प्रतिबद्ध छ ।’ विद्युतीय एम्बुलेन्स संचालनमा ल्याउने प्रालिको योजना छ । एम्बुलेन्सले गरिव विपन्न वर्गलाई सामाजिक उत्तरदायित्व बहन गर्दै निशुल्क सेवा प्रदान गर्ने तयारीमा छ । यात्रुको सुरक्षालाई ध्यानमा राखेर ई–ड्राइभमा नेभिगेशन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन कहाँ छ ? भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने अध्यक्ष कार्कीले उल्लेख गरे । ‘यात्रुले यात्राका क्रममा आफुलाई असुरक्षित महसुस गरेमा एपबाटै आकस्मिक बटन थिचेर प्रहरी र ई–ड्राइभ कन्ट्रोल रुममा जानकारी दिन मिल्नेछ’, उनले भने, ‘यो एपबाटै ३ जना आफन्तलाई लोकेसन शेयर गर्न मिल्ने फिचरसमेत उपलव्ध छ ।’ ई–ड्राइभ नेपालमा दर्ता भएका सवारी प्रयोग गर्दा यात्रु पूर्ण रुपमा सुरक्षित रहने दाबी गरिएकोे छ । सबै सवारीको नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीमैत्री रहेकोे ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले बताउँछन् । उनका अनुुुसार दुर्घटनाको जोखिमलाई ध्यान दिएर ई–ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख रुपैयाँ बराबरको बिमा गरिनेछ । ७० हजार रुपैयाँसम्मको उपचार खर्चको व्यवस्था कम्पनिले गर्ने उल्लेख गरेको छ । ई–ड्राइभले काठमाडौं उपत्यका र लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा सेवा दिदैं आइरहेको छ । गण्डकी प्रदेशसँगै कोशी प्रदेश र लुम्बिनीको नेपालगन्जमा सेवा विस्तारको चरणमा हो । आम नागरिकलाई सरल, सहज र विश्वसनीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको मास्केले बताए । ‘अर्कोतर्फ नेपालमै बनेको एप भएकाले सेवाग्राहीको डेटा विदेशिने डर हँुदैन । ई–ड्राइभले पाउने सेवा शुल्कको १० प्रतिशत सिधैं सरकारलाई भुक्तानी गर्नेछौैं’, उनले भने, ‘स्वदेशमै निर्मित एप भएका कारण जे जति आम्दानी हुनेछ त्यो विदेशिने छैन । यसले अर्थतन्त्र चलायमान बनाउनुका साथै युवा पलायन रोक्न सघाउने छ ।’ वातावरणमैत्री विद्युतिय सवारीलाई सञ्चालनमा ल्याएर पर्यावरणमैत्री शहर निर्माणमा सघाउने उदेश्य रहेको उनले बताए । ई–ड्राइभ नेपालका अध्यक्ष मास्केले बजारमा भएका ट्याक्सी समितिसँग भिड्न नभइ सहजीकरण गर्न आएको बताए । ‘ट्याक्सी चालकको रोजरोटी खोस्न आए, भिँड्न आए भनेर जुन चर्चा भइरहेको छ । यी कुराहरु नितान्त गलत हो । हामी उहाँहरुलाई सहजीकरण गर्न आएका हौं’, उनले भने । उनले सबै प्रक्रिया पूरा गरेर दर्ता गरेकाले अब सरकारको तर्फबाट बन्ने कार्यविधीको पखाईमा रहेको उल्लेख गरे ।
काठमाडौं: भारतको दक्षिणी राज्य तमिलनाडुको एउटा पटाका कारखानामा शनिबार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका अधिकारीले बताएका छन् । विस्फोट तमिलनाडुको राजधानी चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको थियो । प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए । कारखानामा १५ वटा कोठा रहेको अधिकारीहरूले बताएका छन् । यसमध्ये कम्तीमा तीन वटा आगोले पूर्णरूपमा जलेर नष्ट भएका छन् ।प्रहरीले विस्फोटको अनुसन्धान सुरू गरेको छ ।
काठमाडौं: एसईई परीक्षामा दुई विषय भन्दा धेरैमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै दुइ विषयभन्दा धेरैमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने वातावरण बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको हो । मन्त्रीको निर्देशनपछि बोर्डले लेटर ग्रेडिङ निर्देशिका संसोधनको प्रस्ताव तयार गरेर मन्त्री समक्ष पेश गर्ने मन्त्रालयका प्रवक्ता केशब दाहालले जानकारी दिनुभयो । मन्त्रीको निर्देशन अनुसार काम गर्नका लागि निर्देशिकामा संसोधन आवश्यक रहेकाले सो प्रकृया अघि बढाइने उहाँले जानकारी दिनुभयो । मौका परीक्षामा सहभागी हुने विद्यार्थीलाई तयारीका लागि शिक्षण कार्यको व्यवस्थापन सम्बन्धित विद्यालयले गर्नेगरी आवश्यक व्यवस्था गर्न पनि मन्त्री श्रेष्ठले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको मन्त्रालयले जानकारी दिएको छ । लेटर ग्रेडिङ निर्देशिकामा दुइ विषयसम्ममा एनजी भएका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेकोमा अब निर्देशका संसोधनपछि दुइ भन्दा बढी विषयमा एनजी भएका विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने छन । मौका परीक्षा एक महिनाभित्र हुने गरी तोकिएको छ ।
काठमाडौं: आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ। दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो। भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ। दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। यो विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई सेमिफाइनलमा ५६ रनमा समेटेर विश्वकपमा इतिहाससमेत बनाएको छ। पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५६ रनमा प्याक गरेको हो। बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले ५७ रनको लक्ष्य ८।५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो। दोस्रो सेमिफाइनलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटिएको थियो। भारत र दक्षिण अफ्रिका दुवै टिम समूह चरणमा कुनै हारको सामना नगरी फाइनल पुगेका हुन्। भारत र दक्षिण अफ्रिकाको फाइनल भिडन्त नेपाली समय अनुसार शनिबार राति ८स्१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ।

