काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:    प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो । उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो ।  उहाँले राख्नुभएको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए । 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको समृद्धिका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले समाजवादी क्रान्तिको विश्लेषण गर्दै शक्ति तथा सङ्गठन विस्तारका लागि कार्यदिशा निर्माण गर्न शुभकामना दिनुभयो । भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न भ्रष्टाचारका फाइल अगाडि बढाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “केही भएको छैन भन्ने निराशावादी भाष्य गलत छ, भविष्यमुखी, राष्ट्रको समुन्नतिका लागि प्रतिबद्ध छु ।” प्रधानमन्त्री दाहालले विगतमा एउटै मोर्चामा रहँदा एकीकृत समाजवादी पार्टी र माओवादीबीच एकताबद्धको प्रयास भएको तथा नयाँ र परिमार्जित विचार महाधिवेशनले पारित गर्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकको आवश्यकताअनुसार मार्क्सवादलाई परिमार्जन गर्नुपर्ने उहाँको भनाइ थियो ।

काठमाडौं:     नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ। आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। उहाँले नेपालको संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेण्डा रहेको बताउनुभयो।उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिबद्धताका साथ नेकपा (एकीकृत समाजवादी) ले कार्य गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको छ।नेपालको संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेण्डा हुन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिबद्धताका साथ नेकपा (एकीकृत समाजवादी) ले कार्य गरिरहेको छ।भविष्यमा पनि यसको निरन्तरता हुनेछ भन्ने विश्वास लिएको छु ।” सभापति देउवाले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो।

काठमाडौं:      नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निवास बूढानीलकण्ठमा सोमबार अपराह्न ३ बजे बस्ने गरी सभापति देउवाले बैठक बोलाएका हुन्। पौडेलका अनुसार बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको हो। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएकोजस्ता विषयमा छलफल हुनेछ। कांग्रेसले गत पुसमा ६ महिना भित्र महाधिवेशन गर्ने गरी भ्रातृ संस्थाको म्याद थप गरेको थियो। तर तोकिएको समयमा भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न सकेनन्।   असार १५ गतेदेखि भ्रातृ संस्थाका तदर्थ समितिको म्याद सकिएको थियो। पौडेलका अनुसार भ्रातृ संस्थाका म्याद के गर्ने भन्नेबारे छलफल गरी निर्णय लिनु पर्ने अवस्था पनि छ। यसैबीच सभापति देउवाले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार निवास बालकोटमै पुगेर भेटेका थिए। सभापति देउवा र अध्यक्ष ओलीबीच तीन घन्टा कुराकानी भएको थियो।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । सिंहदरबारमा जारी भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल बताइएको छ । उहाँहरुबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको बताइएको छ । एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीको भेटवार्तामा रास्वपाका अध्यक्ष तथा गृहमन्त्री रवी लामिछाने पनि सहभागि हुनुभएको छ । सिंहदरबारमा अहिले सत्तामा रहेका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ । एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भए लगत्तै आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । हिजो देउवा र ओलीबीच भएका छलफलका विषय सार्वजनिक भने भएका छैनन् ।

गण्डकी:      पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा बर्सेनि झण्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । प्रत्येक वर्षको हिउँद र वर्षातको समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उनले जानकारी दिए । ‘विशेषगरी हिउँदको समयमा सिकारी प्रजातिका चरा पोखराका तालतलैयामा देख्न सकिन्छ, वर्षात्को समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ’, उनले भने, ‘साइवेरियालगायत टाढाटाढा विदेशी मुलुकबाट आएका चरा केही समय बिताएर फर्कने गरेका छन् ।’ पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रुपाताल पनि हो । सुन्दा अचम्म लाग्न सक्छ तर, रुपातालले बर्सेनि झण्डै ५० लाख रुपैयाँ बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ । साविक लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भागले छोएको यस तालमा प्रत्येक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले ५० लाखभन्दा बढीको माछा खाएर जाने गरेको रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए । ‘विशेषगरी पुस माघको समयमा करिब तीन महिना साइबेरियालगायत स्थानबाट रुपातालमा आउने करिब दुई सय ५० सङ्ख्याका जलेवाको आहारा माछा नै हो’, उनले भने, ‘सामान्यतः एउटा जलेवाले दिनभरिमा आधा किलोसम्म माछा खाने गर्दछ ।’ रातको समयमा ताल आसपासको जङ्गलमा बस्ने जलेवा बिहान सूर्योदयदेखि सूर्यास्तसम्म तालमा नै रहने र माछा खाने गरेको उनले जानकारी दिए । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उनले जानकारी दिए । सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट तालको संरक्षण र उपयोगमा जोड दिइएको बताउँदै उनले हाल सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेको बताए । सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारी दिन सकिएको सहकारीले जनाएको छ । सहकारीले वार्षिक करिब रु दुई करोड बराबरको माछा उत्पादन गर्न सफल बनेको जनाउँदै उहाँले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत जातका माछा उत्पादन हुने गरेको बताए । उनका अनुसार तालमा करिब २४÷२५ स्थानीय जातका माछा रहेका छन् । रुपाताल पछिल्लो समयमा जलचर, वन्यजन्तु, पर्यावरण अध्ययन अनुसन्धान गर्ने खुला पाठशाला जस्तै बनेको जनाउँदै उनले वर्षेनी करिब २५ राष्ट्रबाट अध्ययन अनुसन्धानकर्ता आउने गरेको जानकारी दिए । रुपातालमा उत्पादित माछाको बजारका लागि कुनै समस्या नरहेको सहकारीका कर्मचारी रामजी अधिकारीले बताए । रुपातालको माछाको माग बढिरहेको जनाउँदै अधिकारीले मागबमोजिम पुर्‍याउन धौधौ हुने गरेको अनुभव सुनाए । तालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत पूर्वाधार विकासका काम भइरहेका छन् । चरणबद्ध अघि बढ्ने परियोजनाको लागत चार अर्ब ५२ करोड ८८ लाख रुपैयाँ रहेको परियोजनाका सूचना अधिकारी इञ्जिनियर कृष्णबहादुर विकले जानकारी दिए । उनका अनुसार परियोजनाअन्तर्गत जग्गा अधिग्रहणका लागि नौ सय ९५ रोपनी जग्गाको सूचना निकालिएकामा हालसम्म नौ सय ८७ रोपनी क्षेत्रको मुआब्जा वितरण गरिसकिएको छ । मुआब्जा वितरणका साथै तालबेंसीको पुल निर्माण भइसकेको छ भने सडक निर्माण पनि सम्पन्न भइसकेको छ । हाल बाँध निर्माणको काम अघि बढेको उनले जानकारी दिए । बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने उनले जानकारी दिए । रुपातालको जलाधार क्षेत्र आसपासका जङ्गललाई समेटेर खुला चिडियाखाना सञ्चालनमा आउनुले पनि यस क्षेत्रको संरक्षण र विकासमा थप योगदान पुग्ने देखिएको छ । पचभैया प्राणी उद्यान केन्द्रका रुपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साविक लेखनाथ नगरपालिकाका वडा नं ११, १२ र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो । यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको छ । चिडियाखाना परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् । यहाँ आउने पर्यटकले यहाँबाट रुपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् । रुपा तालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोति उत्पादन गर्ने सोच अघि बढाइएको सहकारीका अध्यक्ष अधिकारीले बताए । उक्त विषयलाई हाल परीक्षणका रुपमा अघि बढाइएको बताउँदै उहाँले परीक्षण सफल भएसँगै मोतिखेतीसमेत गरिने जानकारी दिए ।

ताप्लेजुङ:     पहिरोमा परेर घाइते हुनुभएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   वडा कार्यालयले वितरण गरेको राहत सामग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा परेर गम्भिर घाइते हुनुभएका लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नोबेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार शुक्रबार साँझ राहत सामग्री लिएर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोले बगाएको थियो । पहिरोले करिब १५ मिटर तल बगाएर हाङ्खोलामा पुगेका लिम्बूको टाउकोमा गम्भीर चोट लागेको थियो ।  लिम्बूलाई गाउँलेले उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराएका थिए । गएको जेठ ३२ देखि असार ४ गतेसम्मको पहिरोले मामाखेमा धेरै क्षति पुगेको छ । 

काठमाडौं:      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा सरकार सञ्चालन र टीआरसी विधेयकबारे छलफल भएको बुझिएको छ । यस अघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएपछि राजनीतिक वृत तरंगित भएको छ । हालको सत्ता समीकरणमा सरकार विस्तार, बजेटलगायतका विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चितवन:      चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन् । यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।   क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।