पोखरा: पोखरामा पार्किङ गरेर राखेको जेसिबी रोलरमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ । पोखरा महानगरपालिका–९ जनप्रिय स्कुल पछाडि प्रतिभा मार्ग स्थित सडक निर्माणको लागि पार्किङमा राखेको सिम्रन कन्ट्रक्सन प्रालि, महतगौडाको जेसिबी रोलर मेसिनमा हिजो मध्यरातमा आगलागी भएको हो । जेसिबी रोलर मेसिनमा मध्यरातमा आगलागी हुँदा रोलरको फलाम भाग बाहेक पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । रोलर मेसिनमा आगलागी भएको सूचनापछि स्थानीय, नेपाल प्रहरीको दमकलको सहयोगमा साढे १ बजेको समयमा आगलागी नियन्त्रणमा आएको डिएसपी शर्माले बताए । आगालागीको कारण खुलेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ । अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो । यससँगै कूल १४३ वटा भाषामा उल्था गर्ने सुविधा प्रदान गरेको गुगलले ब्लग पोष्टमार्फत् जानकारी दिएको छ । आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक समावेशी र सुलभ बनाएको गुगलले दाबी गरेको छ । सुरुमा गुगलले अंग्रेजी, चाइनिज, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्न थालेको थियो । २०७० सालदेखि नेपाली भाषा पनि थपिएको थियो । ट्रान्सलेट डट गुगल डट कममा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको प्याराग्राफ वायाँतिरको कोठामा राखेपछि दायाँ तिरको कोठामा अनुवादसहित देखाइदिन्छ । नयाँ थपिएका भाषाहरुमध्ये एक चौथाइ अफ्रिकी मुलुकमा बोलिने भाषाहरु छन् । त्यसमध्य क्याटोनिज पनि एक हो, जसलाई लामो समयदेखि अधिक व्यक्तिहरुले अनुवाद सुविधामा समावेश गर्न अनुरोध गरेका थिए । ठूलो चुनौति र अप्ठ्याराहरु झेलेर क्याटोनिजलाई पनि समावेश गरेको ब्लगमा उल्लेख छ ।
पोखरा: कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ । पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो । उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा तृतीय हुने दुई टिम म्याग्दी र बाग्लुङले समान नगद रु ३०–३० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । समापन कार्यक्रममा हालै बंगलादेशमा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाली टिमका सदस्य बाग्लुङ निवासी विशाल थापालाई सम्मान गरिएको थियो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ९ जिल्लाको सहभागिता रहेको थियो
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताउनुभयो । “हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।” जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क।बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गर्नुभएको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उहाँको महत्त्वपूर्ण योगदान गर्नुभएको उल्लेख गर्नुभयो । एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो । स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गर्नुभएको थियो । उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते हुनुभएको थियो ।
काठमाडौं: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताउनुभएको छ । निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर अर्को ठाउँमा बस्ने र नेपालमा मतदाता भएर विदेशमा बस्नेलाई मतदानको अधिकारबाट वञ्चित नगराउने मुद्दा विश्वव्यापी सरोकारको विषय भएको बताउनुभयो । उहाँले विद्यमान संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय तथा कानुनी अभ्याससमेतका आधारमा कानुनी र व्यवस्थापकीय प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । आयोगका सचिव रविलाल पन्थले बसाइँसराइ नागरिकको अधिकार र आवश्यकताको विषय हुने भएकाले विदेशमा रहेका मतदातालाई मताधिकारबाट वञ्चित नगर्ने सवालमा आयोग गम्भीर रहेको बताउनुभयो । उहाँले गत निर्वाचनमा कतिपय जिल्ला र क्षेत्रमा ५० प्रतिशतभन्दा कम मत खसेको पाइएकाले आप्रवासनको समस्याका कारण त्यसो भएको हुनसक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा यससम्बन्धी विज्ञ, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकार भएकाहरुबीच छलफलपछि रायसुझाव तयार गर्ने कार्यसूची छ । सर्वोच्च अदालतले २०७४ चैत १७ गते विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा मतदान दिने कानुनी प्रबन्ध गर्न आदेश दिएपछि आयोग र नेपाल सरकारले कार्यान्वयनका लागि पहल गर्दै आएका छन् ।
पोखरा: देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चौथौ हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा गर्व गराउँदै कृषिमा आकर्षण बढाउने उद्देश्य साथ महोत्सव आयोजना गरिएको हो । महोत्सवले समग्र पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आवागमन बढाउने तथा कृषि क्षेत्रका लागि महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हरीशरण पौडेलले बताए । ‘कृषिमा कृषकलाई प्रोत्साहन: विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ ।जसमा विभिन्न कलाकारले प्रस्तुति समेत राख्नेछन् । प्रतियोगितामा प्रथम तथा द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ। महोत्सव सञ्चालनका लागि करिव रु।७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
काठमाडौं: स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बाप्र ०२७ च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राती खसेका उनको आज बिहान उद्धार गरिएको हो । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्क्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो । पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिनुभएको छ । सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गर्नुभएको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाउनुभएको छ । कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी हुनुहुन्थ्यो । पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ ।
काठमाडौं: इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टी– २० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गयानामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टी– २० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ सय ३ रनमा समेटियो । इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौका सहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए । जोन्नी बेयरस्टो र मोइन अलीलाई पनि अक्षरले सस्तैमा पेभेलियनको बाटो देखाए । स्याम करन कुलदीप यादवको बलमा २ रन बनाएर आउट भए । त्यसपछि केही आशालाग्दो सुरुवात गरेका ह्यारी ब्रुक पनि १९ बलमा २५ रन बनाएर कुलदीपकै शिकार बने । क्रिस जोर्डन १, लियम लिभिङस्टोन ११ र आदील रशिद २ रन बनाएर पेभेलियन फर्किए । जोफ्रा आर्चरले अन्तिम तिर केही विष्फोटक ब्याटिङ गर्ने प्रयत्न गरेपनि बुम्राहको बलमा आउट भए। उनले १४ बलमा २१ रन बनाएका थिए । भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए । जसप्रित बुम्राहले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए । उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे । हार्दिक पन्ड्याले १३ बलमा २७ रन बनाए भए रविन्द्र जडेजा ९ बलमा १७ रनमा नटआउट रहे । अक्षर पटेल १० रनमा अविजित रहे । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए । रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १ विकेट लिएका थिए । भारतले फाइनलमा दक्षिण अफ्रिकासँग आइतबार प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको हो । दक्षिण अफ्रिकाको यो कुनै पनि क्रिकेट विश्वकपमा पहिलो फाइनल हो । सन् २००७ को पहिलो संस्करण जितेको भारतले तेस्रो पटक फाइनल खेल्नेछ ।

