गोरखा: जिल्लाको नारेश्वरमा मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे भएको छ । गोरखा नगरपालिका –५ माने पानी स्वाँरा देखि वडा नम्बर ३ नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने १० किलोमिटर सडकमा प्रिमिक्स प्रविधिको कालोपत्रे भएको हो । वि.सं.२०४५ मा मार्ग खुलेको यो सडक जीर्ण, साँघुरो, बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नारेश्वर–निवेल–ताकुुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने नारेश्वर–पडेनी चौतारा क्षेत्रमा कालोपत्रे गरेर सडक स्तरोन्नति भएको छ । वि.सं. २०४५ मा मार्ग खुलेको सडक कालोपत्रे भएपछि यात्रा अवधि छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुलोबाट मुक्ति मिलेको स्थानीयबासीले बताएका छन् । कृषि उपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ । वि.सं. २०७६ मा रु २५ करोड ६३ लाखमा ठेक्का सम्झौता गरेको रौताह–पिके–गोरखा जेभीले लक्ष्य भन्दा २ वर्ष ढिला गरी सडक कालोपत्रे गर्ने काम सकेको हो । नारेश्वर–निवेल–ताकुकोट सडक आयोजनाको दोस्रो खण्डमा पर्ने पडेनीचौतारा देखि ताकुकोत तर्फ थप १० किलोमिटर सडक कालोपत्रे गर्न संरचना निर्माणको काम भइरहेको छ । गत वर्ष रु २३ करोड ७५ लाखमा ठेक्का सम्झौता गरेको अमर–ग्यानेक्स जेभीले २५ प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय गोरखाका सडक इन्जिनियर दिपक बस्नेतले बताउनुभयो । गोरखा नगरपालिका र बारपाक सुलीकोट गाउँपालिका जोड्ने यो सडकबाट सिरानचोक गाउँपालिकाका बासिन्दा पनि लाभान्वित भएका छन् । मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले यस सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौं आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गएराति फ्लाई दुबईबाट काठमाडौँ आएका दुई जना भारतीयले आफूले लगाएको लुगामा सुन जस्तो देखिने पहेँलो रङको धातु लेपन(पेष्ट गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरिएको छ ।” पक्राउ परेकामध्ये सुरेश कुमारको लुगासहितको उक्त सुन जस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो छ सय ग्राम तथा मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम हुन आएको विमानस्थल सुरक्षा प्रमुख शर्माले जानकारी दिनुभयो । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पोखरा: वर्षातको समयमा फेवातालको माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने जलकुम्भी झार नियन्त्रण गर्न पोखरा महानगरपालिकाले काम सुरु गरेको छ । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा पहिलो दिन भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालिएको छ । आइतबार हजार बढी वातावरण संरक्षणकर्मी अभियान्ताहरु, सुरक्षा निकाय, नगर प्रहरी र स्थानीयहरूको सहभागितामा सो क्षेत्रको झार निकालिएको मुख्य अभियन्ता राम बहादुर पौडेलले बताउनुभयो । ‘फेवातालको भविष्य प्रति हामी निकै चिन्तित छौँ, उहाँले भन्नुभयो, यसको संरक्षण शक्ति केन्द्रहरूको प्रभावका कारण थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।’ नागरिक समाज फेवाताल संरक्षणका लागि जुनसुकै मूल्य चुकाउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । स्वयंसेवी रूपमा सफाइ अभियान सञ्चालन गर्दै आइरहेको महानगरपालिकाले सोमबारदेखि भने स्थानीय जलारी समुदायका ४० जनालाई दैनिक ज्यालादारीमा खटाउने भएको छ । ‘फेवातालमा बगेर आउने जलकुम्भीको नियन्त्रणका लागि नियमित काम गर्ने गरी पहिलो चरणमा ४० जना जलारी समुदायका युवा तथा महिलाहरूलाई काममा खटाइनेछ, नगर प्रमुख आचार्यले भन्नुभयो, यसपछि यो तालको संरक्षण तथा सौन्दर्यीकरण सहित स्थानीय रोजगारीसँग पनि जोडिनेछ ।’ माथिल्लो क्षेत्रबाट बगेर आउने जलकुम्भी झारका कारण फेवाताल बर्सातको समयमा कुरूप देखिने भएकाले यस पटक समयमा नै यसको स्रोत मै व्यवस्थापन थालिएको उहाँले बताउनुभयो । आइतबार नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियन्ता र स्थानीय समेत गरेर हजार बढीले सफाइ अभियानमा सहभागिता जनाएका छन् । पहिलो दिन १५ टिप्पर जलकुम्भी निकालिएको छ । सशस्त्र प्रहरी गण मालेपाटन कालिका गणका प्रमुख, प्रहरी उपरीक्षक अरुण शर्माले ताल तलैया लगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्ने सबैको साझा दायित्व रहेको बताउनुभयो । सशस्त्र प्रहरीको अभियानमा सधैँ साथ रहने उहाँले प्रतिबद्धता जनाउनुभयो । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवातालको संरक्षणका लागि हातेमालो गर्न पर्यटन सम्बद्ध संघसंस्थाहरुलाई आह्वान गर्नुभयो । फेवातालको प्रत्यक्ष फाइदा लेकसाइड र आसपासको क्षेत्रलाई भएको उल्लेख गर्दै उहाँले यसको संरक्षणमा पनि उत्ति कै इमानदार बन्न आह्वान गर्नुभयो । उहाँले सबै सरोकारवालाहरूको हातेमालोले मात्र संरक्षण र विकास अभियानका उद्देश्यहरू पूरा हुने धारणा राख्नुभयो । पोखरा महानगरपालिकाको सहयोगमा एक जलारी घर एक रोजगारी कार्यक्रम अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो । दुई हप्ता बिहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जना सफाइ कार्यमा खट्ने छन् । फेवातालमा जस्तै बेगनास ताल र अन्य तालहरूमा पनि यो अभियान क्रमशः चलाइने अभियान्ताहरुले बताएका छन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.२५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ गरिएको छ । घर घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सुरु गरिएको अभियानको पहिलो दिन ७१ परिवारका एक सय बढी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । प्रयोगशाला परीक्षण सहितको उक्त सेवाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श दिन सहज हुने प्रमुख आचार्यले बताउनुभयो । ‘पाइलट प्रोजेक्टको रूपमा अहिले यो कार्यक्रम वडा नं.२५ बाट सुरु गरिएको छ, प्रमुख आचार्यले भन्नुभयो, यसको प्रभावकारी हेरेर क्रमशः अन्य वडाका अलवा महानगरपालिका भरि नै विस्तार गरिने छ ।’ आफूहरू आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा रहेको बताउँदै उहाँले स्वास्थ्य महानगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण घरघरमा र अन्यको हकमा महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला परीक्षणको सुविधा सहित सेवा प्रदान गरिने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उहाँले अमसरोकारवालाहरु हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकहरूमा स्वास्थ्य सचेतना र सेवा पहुँच आवश्यक रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले यस कार्यक्रमका लागि यसअघि नै घरधुरी सर्वेक्षणको काम सकिएको बताउनुभयो । दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरूको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमितता लगायतका विषयहरू वडाबाट खटिएका स्वास्थ्यकर्मीहरुले जानकारी लिने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरूको प्रेसर, अक्सिजन लेबल, मधुमेह लगायतको परीक्षण समेत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । अध्यक्ष तिम्सिनाका अनुसार यस कार्यका लागि वडालाई तिन वटा क्लस्टरमा विभाजन गरी काम थालिएको छ । दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूलाई घर मै स्वास्थ्य सेवाको पहुँच उनीहरूको जीवनलाई सुखी र खुसी सहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकहरूलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकार कार्यक्रमको थालनी गरिएको हेमजा स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमका क्रममा दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूको नियमित फ्लोअपका लागि सम्बन्धित स्वास्थ्य संस्थाहरूमा जानका लागि उचित परामर्श समेत दिइने उहाँले बताउनुभयो । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक बनाउन प्रभावकारी कदमहरू चालिने उहाँले बताउनुभयो ।
धनुषा: जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उहाँले बताउनुभयो । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको रु ८० लाख लुटिएको थियो । सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट रु ८० लाख रकम निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं: उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहनुभएको यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। आजै बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठक अगाडि नै उनले राजीनामा बुझाएका हुन् । अघिल्लो साता जसपा नेपाल विभाजनसँगै बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि अहिले प्रचण्ड सरकारमै छ ।
पोखरा: पिप्ले बास्केटबल क्लबले यु–२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ । महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यु–२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३–४३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाइभ वाई फाइभ बास्केटबलको पहिलो क्वाटरमा पिप्लेले १८–१२ को स्कोर निकालेको थियो । दोस्रो क्वाटरमा ३०–९, तेस्रो क्वाटरमा १६–१० र अन्तिम क्वाटरमा २५–१२ को स्कोर निकालेको हो । उपाधिसँगै पिप्लेले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता केबिएले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पिप्लेका पुस्कल छन्त्याल प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए । उनले ट्रफी हात पारे । यस्तै केबिएका विपुल गुरुङले सर्वाधिक स्कोररको ट्रफी हात पारे । उनले खेलभर कुल १३ स्कोर गरे । २८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको थियो । शनिबार नै फाइनल खेल हुने भनिएपनि वर्षाका करण खेल आइतबार भएको हो । फाइनल खेलको समापनमा बोल्दै खेलकुद परिषद गण्डकीका उपाध्यक्ष तथा गण्डकी बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले आगामी वर्षदेखि प्रदेशले प्रतियोगितालाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । बास्केटबल पनि लोकप्रिक खेल मध्येकै एक रहेको र यसको प्रतियोगिताहरु हुँदै आइपनि अझ चर्चामा ल्याउन आवश्यक रहेको उनले सुनाए । क्लबका अध्यक्ष आनन्द तझ्याले युवा खेलाडी लक्षित गरेर यु–२३ बास्केटबलको आयोजना गरेको बताए । प्रतियोगितालाई सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले अब महेन्द्रपुल युथ क्लब पुनः जागरण भएको र हरेक वर्ष विभिन्न खेल गतिविधिको आयोजना गर्ने बताए ।
पोखरा: पोखरा महानगरपालिका ३३ बरपाण्डेथुमस्थित शान्ती उदय उच्च माविको कार्यालय,कक्षाकोठा तोडफोड गरी ल्याप्टप लगायत विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले ४ बालकलाई पक्राउ गरेको छ । विद्यालयको कक्षाकोठा, कार्यालय तोडफोड गरेर ल्याप्टप, ईलेक्ट्रोनिक डिभाईसहरु चोरी गरेको आरोपमा प्रहरीले शनिबार ४ बालकलाई पक्राउ गरेको हो । पोखरा ३३ बरपाण्डेथुमस्थित शान्ती उदय उच्च माविको कार्यालय,कक्षाकोठा तथा कम्प्युटर ल्याव शाखाको ढोका फोरी चोरी भएका विभिन्न कम्पन्नीका १० थान ल्याप्टप,७ थान चार्जर, ५ थान माउससहित ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले टोलिले बालकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए । प्रहरीले चार बालको साथबाट बरामद गरेको चोरी भएको सामान । फोटो: कास्की प्रहरी उनका अनुसार बालकहरुले विद्यालयको ल्याप्टप, कम्प्युटर,सिसि क्यामेरा, सिसिटिभि मटिनर, लाईट, प्रोजेक्टर,साउण्ड स्पीकर कन्ट्रोलर,स्टेशनरी कागजातमा समेत क्षति पुर्याएको बताए । विद्यालय तोडफोड गरी ल्याप्टप लगायतका सामान चोरी गरेको आरोपमा प्रकाउ परेका चारै जना बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारप्रति जनताको आशा बढाउनको लागि स्पष्ट योजनाका साथ कार्यसम्पादन गर्नुपर्ने बताउनु भएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आर्थिक वर्ष ०८०/०८१ को कार्य प्रगति विवरण सहितको छलफल कार्यक्रममा बोल्दै उहाँले कर्मचारीलाई कामको गति बढाउन निर्देशन दिनुभयो । ‘प्रदेशको औचित्य पुष्टि गर्ने कुरा तपाईको हातमा छ, कर्मचारीको प्रभावकारी कार्यसम्पादनले जनतामा आशा जगाउँछ’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । यसको लागि मन्त्री, सचिवदेखि कर्मचारीको कार्य प्रगति विवरण आफूलाई चाहिने उहाँले खुलाउनुभयो । प्रि–मनसुन सुरु भइसकेको भन्दै मनसुनका कारण हुने क्षतिलाई न्यूनिकरण गर्न तथा विपद्का घटना भइहालेमा तत्काल उद्धार राहत लगायतका कार्यगर्नको लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । ‘प्रि–मनसुनले खतराको घण्टी बजिसक्यो, मनसुनले सबैभन्दा बढी प्रभाव पार्ने हाम्रो ठाउँ हो’ उहाँले भन्नुभयो । त्यसका लागि ¥यापिड रेसपोन्स टोली सहित ‘सेन्टर एक्सन रुम’लाई सक्रिय बनाउनुपर्ने बताउनुभयो । प्रदेश सरकार अन्तरगतका सबै कार्यालयले गरेको दैनिक कार्यप्रगति विवरण आफूलाई उपलब्ध गराउन उहाँको आग्रह थियो । संविधानले दुईवर्ष सरकार नफेर्ने कल्पना गरेको भएपनि समर्थन गर्ने दलले सर्मथन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भन्ने प्रावधानका कारण स्थिर सरकार बन्न नसकेको बताउनुभयो । दैनिक कार्यमा असर पर्नेगरी कर्मचारीलाई बिदामा नबस्न समेत उहाँको आग्रह थियो । संविधानले सरकार रिक्तताको अवस्था कल्पना नगरेको कारण सेवा प्रवाह कुनैपनि समयमा रोक्न नहुने बताउनुभयो । ‘जनतालाई डेलिभरी दिनसक्नुपर्छ, पारदर्शी ढंगले काम गर्नुपर्छ, परिपक्क नभएका विषयहरु बाहिर लैजानु हुँदैन’ उहाँले भन्नुभयो । मुख्यमन्त्री अधिकारीले साना टुक्रे योजनामा बजेट छुट्याउँदा प्रभावकारी नहुने भन्दै आगामी आर्थिक वर्षको नीति तथा योजना एवं बजेट निर्माण गर्दा विशेष ध्यान दिन निर्देशन दिनुभयो । ‘निर्णय भएका काममा ढिलाई नगरौं, अत्यन्त उच्च मनोबलका साथ काम गरौं, काम गर्दा राजनीतिक रंग नदिनुहोला’ उहाँल थप्नुभयो । मुख्यमन्त्री अधिकारीले फेवातालको बारेमा सर्वोच्च अदालतले गरेको फैसलाको कार्यान्वयनको अवस्थाबारे समेत चासो राख्नुभयो । गण्डकी प्रदेशका प्रम्ुख सचिव लक्ष्मी कुमारी बस्नेत र सूचना अधिकारी राजन भट्टराईले आर्थिक वर्ष ०८०/०८१ को कार्य प्रगति विवरण प्रस्तुत गर्दै विवरणप्रति मुख्यमन्त्री अधिकारीले राखेका जिज्ञासा मेटाउनुभएको थियो । उहाँहरुले प्रदेशस्तरका आयोजना कार्यान्वयनमा कतिपय संघीय कानूनहरुले अवरोध सिर्जना गर्दा आयोजना समयमै सम्पन्न गर्न नसकिएको बताउनुभयो । रोयल्टी र राजस्व बाँडफाँटको विद्यमान कानूनी व्यवस्थ तथा अभ्यास मूलतः नेपाल सरकारको अनुकूल भएकोले प्रदेशले प्राप्त गर्ने समानीकरण र रोयल्टी लगायतको अनुदान एवं राजस्व न्यून हुँदा प्रदेश सरकारलाई स्रोत व्यवस्थापन गर्न कठिनाई भएको समेत खुलाउनुभयो । प्रदेशमा रहेक तथा स्थापना हुने ठूला उद्योग व्यवसाय दर्ता र नवीकरणका लागि प्रदेशस्तरमा सम्बन्धित निकाय नहुँदा कठिनाई भोग्नुपरेको, संघीय विनियोजन ऐनको कारण प्रदेश सरकारले नेपाल सरकारका इकाईलाई सिधै बजेट अख्तियारी प्रदान गरी कामकाज गराउन कठिनाई भएको, प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यालय भवन रहेका जग्गाको स्वामित्व प्रदेश सरकार मातहत ल्याउनुपर्ने लगायतका विषय उहाँहरुले मुख्यमन्त्री अधिकारी समक्ष राख्नुभएको थियो ।